गौतम बुद्धका उपस्थापक (निजी सचिव) भिक्षु आनन्दले एकपल्ट सोधेका थिए, ‘भन्ते, महिलाप्रति हामीले कस्तो व्यवहार गर्नुपर्छ ?’। त्यतिबेला बुद्धले जवाफमा भनेका थिए, ‘हेर्दै नहेर्नू।’
भिक्षु आनन्दले पुनः प्रश्न गरे, ‘नहेरे पनि देखियो भने के गर्ने त ?’
बुद्ध, ‘कुरा नगर्नू।’
आनन्द, ‘कसैगरी कुरा गर्नुप-यो भने नि ?’
बुद्ध, ‘कुरा गर्नुप-यो भने होसलाई सम्हालेर राख्नू।’
एक अत्यन्तै सुन्दर गणिका थिइन्, अम्बपाली। लिच्छवि नगर वैशालीको शोभाको रूपमा रहेकी उनी रूप, यौवन तथा मादकतामा अपूर्व थिइन्। सर्वश्रेष्ठ गणिका उनै थिइन्। पूरा वैशाली गौतम बुद्धको शिक्षाबाट प्रभावित भइरहेका बेला अम्बपाली मात्र अपवाद हुने कुरै भएन। छोरा विमल कौण्डन्य पनि भिक्षु भई अर्हत् पद समेत प्राप्त गरिसकेका थिए। अम्बपालीको घरमा आमन्त्रण भएका बेला बुद्ध भोजनका लागि जान्थे भने अम्बपाली पनि बुद्धको उपदेश सुन्न वा भेटघाट गर्न विहारमा बेलाबेला पुग्थिन्। सामान्य अवस्थामा झैं एक दिन बिहारमा धर्म प्रवचन दिइरहेका थिए। त्यहीबेला अम्बपालीको आगमण विहारमा भयो। बुद्धले भिक्षुहरूलाई आँखा चिम्लन लगाए।
माथि वर्णित दुई प्रसङ्गको सार एउटै हो। महिलालाई बुद्धले हेर्न हुने तर अरुले हेर्न नहुने भन्ने के छ भन्ने प्रश्न उठ्न सक्छ। विहारभित्र मात्र होइन, बाहिर पनि महिला र पुरुषका अनेकौं प्रसङ्ग वा सन्दर्भहरू जति भने पनि पाइने अवस्थामा माथिका दुई प्रसङ्ग अवास्तविक, अनौचित्यपूर्ण वा उट्पट्याङ रहेको टिप्पणी भनी हुनु पनि धेरै सम्भव छ। हामीले सदैव ध्यानमा राख्नुपर्ने कुरा हो, मध्यममार्ग। सधैँ यस्तै हुनुपर्छ वा उस्तै हुनुपर्छ भन्ने जड मान्यतालाई बुद्धले कहिल्यै प्रश्रय दिएको पाइँदैन। महिलालाई कहिल्यै हेर्नु हुँदैन, हे-यो भने पाप लाग्छ वा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर न प्रतिबन्ध लगाइन्छ न हेर्नुपर्छ भन्ने मान्यता नै राखिन्छ।
यी दुवै अवस्था अतिवाद हो। बुद्ध अतिवादी नभएर मध्यममार्गी हुन्। समय र परिस्थिति अनुसार खुकुलो हुने र बहुजन हित बहुजन सुखायका लागि प्रयत्नरत हुन्थे। माथिका दुवै प्रसङ्ग अर्हत् भइनसकेका भिक्षुका सन्दर्भमा भनेका हुन्। विपरीत लिङ्गप्रति प्राणीको चित्त स्वभावतः आकर्षण हुने र परिणामतः विचलित हुने गर्दछ। तर, अर्हत् भइसकेका पुरुष वा महिला विपरीत लिङ्गमा मात्रै नभएर कुनै पनि सांसारिक कुराबाट अलिकति पनि प्रभावित हुँदैनन्। बुद्धसँग छायाजस्तै पछि लाग्ने भिक्षु आनन्द पनि त्यति बेलासम्म अर्हत् भइसकेका थिएनन्। दोस्रो प्रसङ्गमा पनि त्यति बेला अर्हत् भइनसकेका भिक्षुहरू त्यहाँ थिए। यस अवस्थामा बुद्धले महिलाका सन्दर्भमा त्यस्तो भनेका हुन्। यही सन्दर्भ अर्हत् भइनसकेका भिक्षुणीका लागि पनि लागू हुन्छ अर्थात्, पुरुषलाई नहेर्नू...।
बौद्धजनले दैनिक जीवनमा अनिवार्य रूपमा पालना गर्नुपर्ने भनेर बुद्धद्वारा निर्दिष्ट गरिएको पञ्चशीलमा एउटा काम विषयमा मिथ्याचार नहुने भन्ने पनि छ। यसको अर्थ गृहस्थीहरू आफ्नो श्रीमान् वा श्रीमतीबाहेक अन्यसँग नलाग्ने। भिक्षु तथा भिक्षुणीहरूको हकमा भने काम विषयमा लाग्दै नलाग्ने भनिएको छ। यस सम्बन्धमा गृहस्थका लागि व्यभिचार नहुनु नै ब्रह्मचर्य हुनु भनेर व्याख्या गर्न सकिन्छ भने गृहस्थ जीवन त्याग गरी सन्यासी जीवन धारण गरेका महिला पुरुषका लागि ब्रह्मचर्यले बेग्लै अर्थ राख्छ भनेर बुझ्न सकिन्छ। गृहत्यागीका सन्दर्भमा ब्रह्मचर्य धर्म पालना के कस्तो अवस्थालाई भनिन्छ भन्ने कुरा बुद्धले जाणुस्सोणि ब्राह्मणलाई दिएको जवाफमा पाइन्छ। यो ब्रह्मचर्य सूत्रमा रहेको छ।
जाणुस्सोणि ब्राह्मण बुद्धसँग सोध्छन्, ‘तपाईं आफू ब्रह्मचारी भएको घोषणा गर्नु हुन्छ ?’ बुद्धले यसरी जवाफ दिए, ‘कसैका बारेमा ब्रह्मचर्य भनेको के हो र अखण्डित, छिद्ररहित, धब्बा नलागेको, दागरहित परिपूर्ण, परिशुद्ध ब्रह्मचर्य केलाई भनिन्छ भनेर भन्नुपर्दा मेरै बारेमा भन्दा ठीक होला। हे ब्राह्मण, म अखण्डित, छिद्ररहित, धब्बारहित, दागरहित, परिपूर्ण, परिशुद्ध ब्रह्मचर्य आचरण गर्छ।’
जाणुस्सोणि, ‘ब्रह्मचर्य पनि खण्डित, छिद्र, धब्बा, दाग... भन्ने हुन्छ र ?’
जवाफमा बुद्धले विस्तृत रूपमा ब्रह्मचर्यका बारेमा भनेका थिए। यहाँ संक्षिप्त रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ, श्रमण वा ब्राह्मण आफूलार्इं सम्यक् ब्रह्मचारी हुँ भन्दाभन्दै कोही स्त्रीसँग सहवास त गर्दैनन्, तर स्त्रीबाट मालिश गराउने, नुहाउँदा सहयोग गराउने आदि गरेर आनन्दको अनुभव गर्नु ब्रह्मचर्यमा छिद्र, धब्बा, दाग लाग्नु हो। त्यस्तो गराउँदैन, तर स्त्रीसँग हाँसखेल ठट्टा गर्छ, खेल्छ, मनोविनोद गर्छ र आनन्द लिन्छ भने त्यो पनि त्यहाँ खण्डित, छिद्र, धब्बा, दाग लाग्छ। आँखामा आँखा जुधाएर हेर्दै आनन्द लिनु पनि त्यस्तै हो।
विपरीत लिङ्गप्रति हुने आकर्षण, काम विषय तथा बुद्धका धारणाहरूको उल्लेख भएपछि अब तड्कारो रूपमा उठ्ने प्रश्न हो, बौद्ध विषयक विभिन्न चित्रकला तथा मूर्तिकलामा दर्शाइने नग्न वा मैथुनरत आकृतिहरू के हुन् त ? यी कुरा बुद्ध र बौद्ध धर्मदर्शनको मूल मान्यता विपरीत हुन् वा विकृति भनेर प्रश्न उठ्नु पनि स्वाभाविक हो। यस सन्दर्भमा बौद्ध धर्मदर्शनका सम्बन्धमा जानकारी राख्ने प्रायः लेखक तथा चिन्तकले दिने जवाफमा एउटा समानता पाइन्छ, तन्त्रमा यस्तो चल्छ। बौद्ध धर्मदर्शनको विकास क्रममा तन्त्रमन्त्रलाई स्थान दिँदा बज्रयानको उदय भयो र तन्त्रमा मैथुन लगायतका पञ्च ‘म’कारको प्रयोग हुन्छ।
यस्तो जवाफ दिएर मद्य, मांश, मैथुनजस्ता कुराहरूको औचित्य सावित गर्न खोज्छन्। पञ्च ‘म’ कारले बौद्ध सन्दर्भ यी कुराको अर्थ नदिएको बरु आफ्नो स्वार्थअनुसार अर्थ लगाएको पनि भन्ने गरिन्छ। समस्त बौद्ध जगत्मा बज्रयान भनेको एउटा पक्ष मात्रै हो, यसैलाई समष्टिको रूपमा बुझ्नु गल्ती हो। बज्रयानको विकासपछि बौद्ध धर्ममा विकृति आयो र यसले कमजोर पा¥यो भन्ने आक्षेप वा बुझाइ स्वयं अन्य बौद्ध सम्प्रदाय वा बौद्ध जगत्बाट पृथक् रहेको समाजको पनि हुने गरेको पाइन्छ।
बौद्ध धर्मदर्शन भन्ने कुरा विश्वास, आस्था, भक्ति तथा धारण गर्नका लागि कदापि होइन। गौतम बुद्धले साक्षात्कार गरेको वा बोध गरेको बोधि (ज्ञान) लाई चलनचल्तीको भाषामा बौद्धधर्म वा बौद्धदर्शन भनिएको हो र यसलाई बुझ्नु र अभ्यास गर्नु मुख्य कुरा हो। कसरी बुझ्ने वा कसरी अभ्यास गर्ने भन्ने प्रश्न व्यक्ति वा गुरुसँग सम्बन्धित भएका कारण यो मुख्य कुरा होइन। यस अवस्थामा जसलाई जसरी मनप¥यो वा सजिलो लाग्यो त्यसरी नै अभ्यास गर्न सकिने बुझ्नुप¥यो। स्वयं बुद्धले एउटै कुरा व्यक्ति विशेषको ग्रहण क्षमतालाई ध्यानमा राखेर विभिन्न उपमासहित उपदेश दिने गरेकोबाट यो कुरा निर्धक्कसँग भन्न सकिएको हो। समयको विकास क्रममा अनेकौं विधिको विकास हुनु स्वाभाविक हो। एक समयमा आएर तन्त्रमन्त्रलाई पनि साधनको रूपमा लिएको कुरा यहाँ बुझ्नुपर्छ। बुद्धको समयमा कम्प्युटरजस्ता प्रविधि थिएन थिएन, तर आजभोलि बौद्ध धर्मको प्रचारप्रसार तथा अभ्यासमा यिनै प्रविधिको प्रयोग हुनुलाई जसरी अन्यथा लिनु हुँदैन, त्यसरी नै तन्त्रमन्त्र लगायत साधन वा विधिलाई अन्यथा लिनु न्यायोचित होइन।
बौद्ध दर्शनमा बज्रयानको विकासलाई विकृतिका रूपमा लिनेहरू यसविरुद्ध अनेक लाञ्छना लगाउँछन्। बज्रयानको विकास महायानबाट भएको थियो। उनीहरू महायानलाई पनि विकृतिकै रुपमा लिन्छन्। यस्तो आक्षेप थेरवादी बौद्धका रुपमा चिनाउनेहरूबाट हुने गरेको पाइन्छ। उनीहरूका अनुसार बुद्धको महापरिनिर्वाणको सय वर्षपछि दोस्रो संगायनमा भिक्षु संघ विभाजित हुँदा छुट्टिएर गएको समूह ‘महासांघिक’ हो भने परम्परागत रूपमा रहेको समूह ‘स्थविरवाद’कै निरन्तरता ‘थेरवाद’ हो। तर स्थविरवादकै निरन्तरता थेरवाद हो भन्ने पुष्टि गर्न ऐतिहासिक रूपमा गाह्रो छ। बरु स्थविरवादका अनेक शाखा–प्रशाखामध्ये एउटा थेरवाद पनि हो भन्न सकिन्छ। थेरवादीहरूले आफूलाई मात्र केन्द्रमा राखेर समस्त बौद्ध धर्मको मापन गर्नु आफू मात्रै ठीक, अरु जम्मै बेठीक भनेजस्तै हो। यस्तो मापन साना–ठूला सबैले मात्रै होइन, अन्य धर्मले पनि गर्दै आइरहेको पाइन्छ।
बज्रयानीहरू आफ्नो साधना पद्धतिलाई सकभर गुह्य राख्छन्। यसलाई गुरु–शिष्य परम्परामा आधारित बनाउँछन्। यसको साहित्य सन्ध्या भाषामा लेखिएको हुन्छ भने वर्तमान विश्वमा यसको अभ्यास चीन, जापान, कोरिया, मंगोलिया, भुटान तथा नेपाल र भारतको उत्तरी क्षेत्रमा हुने गरेको छ। नेपाली बज्रयानीहरू यसलाई तुलनात्मक रूपमा अझ बढी गुह्य राख्न चाहन्छन्। तुलनात्मक रूपमा बढी खुला राख्नेहरू (तिब्बत लगायत बज्रयानी) ले पनि मुख्य कुरा गुह्य राखेर प्रकाशन तथा प्रसारणमा ल्याएका हुन्।
सुरुमै नकारात्मक दृष्टिकोण राख्ने थेरवादी परम्पराका बौद्धहरूले बज्रयानका हरेक कुरालाई नकारात्मक रूपमै हेर्नु स्वाभाविक हो। यस वर्गमा लेखक भरत सिंह उपाध्यायले ‘बौद्धदर्शन तथा अन्य भारतीय दर्शन’मा अवलोकितेश्वर तर अन्य बोधिसत्वको नाममा भैरवीचक्रको निर्माण र स्त्री संभोगको प्रारम्भ बौद्ध धर्ममा भयो भनेका छन्। उनका अनुसार यसरी विकास भएको बौद्ध धर्म लोकका लागि अनिष्टकारी भयो। उनको यो आक्षेप गम्भीर र संवेदनशील कुरा हो। उनका अनुसार भैरवीचक्रको निर्माण बौद्ध धर्ममा भयो, तर वास्तविकता यो भैरवीचक्र भन्ने कुरा बज्रयानसँग सम्बन्धित कुरा होइन। तन्त्र हुँदैमा सबै तन्त्र बज्रयानी हुँदैन भन्ने कुरा उनको हेक्कामा नरहेको बुझिन्छ। भैरवीचक्रको विषयवस्तु हिन्दू तन्त्रसँग सम्बन्धित हुन्।
हिन्दू तन्त्र र बौद्ध तन्त्रबीचको भेद छुट्ट्याउन नसक्दा छ्यासमिस हुन पुग्यो र बज्रयानी बौद्ध धर्मप्रति हेर्ने दृष्टिकोणमा फरकपना आयो। बज्रयानी बौद्ध धर्मलाई ‘जानी दुस्मनी’को रूपमा लिने र अनेक रूपमा आलोचना गर्नेहरू त्यही दृष्टिकोणबाट निर्देशित छन्।
नग्न वा संभोगरत आकृतिमा बनाइएका बौद्ध धर्मदर्शनका चित्र वा मूर्ति सांसारिक विषयसँग सम्बन्धित कुरा होइन। स्त्रीसँग नग्न रूपमा आलिंगन मुद्रामा रहेको एउटा मूर्ति वा चित्रको आकृति बुद्धकै जस्तो देखाइन्छ, तर यो बोधिसत्व समन्तभद्रको ‘संभोगकाय’ मात्रै हो। यसैलाई बुद्ध देख्नु हुँदैन। अनि स्वयं समन्तभद्र बोधिसत्व पनि सांसारिक विषयवस्तु होइन। बज्रसत्वलगायत अन्य पात्रहरू पनि सांसारिक विषयवस्तु होइनन्।
कतिपय काल्पनिक हुन्छन्। ज्ञानको निश्चित तह वा अवस्था देखाउनुप¥यो भने यसरी चित्रकला वा मूर्तिकलाको निर्माण गरेर बुझाउन खोज्ने हो। सम्पूर्ण क्लेशहरू क्षय भइसकेको कुरा प्रतीकात्मक रूपमा देखाउन नग्न आकृति बनाउने हुन्, तसर्थ यसमा अश्लील भन्ने कुरा नै हुँदैन। रंगको प्रयोगले पनि छुट्टाछुट्टै अर्थ दिन्छ। यी जम्मै कुरा बुझ्न अघि भनेजस्तो गुरु–शिष्य परम्परामा मात्रै सम्भव हुन्छ।
बज्रयानी बौद्धजनले गर्ने सबै साधना पद्धति वा अभ्यास सही नै हुन्छन् भन्ने अनिवार्य छैन। समाज हो, व्यक्ति हो, विकृति हुन सक्छन्। तर यसैलाई बज्रयान बौद्ध धर्म भनेर बुझ्न मिल्दैन, बरु बज्रयान बौद्ध धर्मको अभ्यासमा आएको विकृति भन्न मिल्छ। यस्ता विकृतिले ग्रन्थमा ठाउँ पाएका हुनसक्छन्। बज्रयानीमा मात्रै नभएर अन्य सम्प्रदाय र समाजमा पनि यस्तै विकृति हुन्छन्।
११औँ शताब्दीमा खण्डित तिब्बतको एक भागका राजा ‘ल्हा लामा यस्से ह्वे’ ले बौद्ध धर्मको अभ्यासमा विकृति आएको भन्दै सुधार गर्ने चाँजोपाँचो मिलाएका थिए। त्यतिबेला त्यहाँ अन्य नभएर बज्रयानी बौद्ध धर्म थियो। सुधारका लागि अन्य धर्म गुरु नभएर बज्रयानकै धर्मगुरु अतीशा दिपंकर श्रीज्ञानलाई भारतबाट आमन्त्रण गरेका थिए। तिब्बतको यो ऐतिहासिक घटनावलीबाट अझ स्पष्ट हुन्छ, बज्रयानी अभ्यासमा सुधार बज्रयानी धर्मगुरुबाट नै भएको थियो अर्थात् धर्म र धर्मको अभ्यास दुई बेग्लाबेग्लै कुरा हो। यसलाई पर्गेल्ने काम बुद्धद्वारा देशित मूलभूत दर्शनलाई कसीका रूपमा राखेर पर्गेल्नुपर्छ।
प्रकाशित: ११ आश्विन २०७६ ११:५५ शनिबार