९ आश्विन २०७८ शनिबार
अन्य

बाईझाँउ हुम्ला

‘बाई झाँउ हुम्ला’ । तिब्बती साँध सीमामा जोडिएको, उत्तर पश्चिम नेपालको हिमाली जिल्ला हुम्ला । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको महसुस गरेका स्थानीय जागरुक युवाले ‘प्रयत्न नेपाल’ नामक संस्थाको स्थापना गरे ।

गत जेठ १७ देखि १९ गते सम्म ‘बाई झाँउ हुम्ला’  अर्थात् जाऔं है हुम्ला कार्यक्रम हुम्लाको सदरमुकाम सिमीकोटमा भयो । ‘बाई झाँउ हुम्ला कार्यक्रमको आयोजक संस्था प्रयत्न नेपाल’ थियो । कार्यक्रममा आयोजकको निमन्त्रणा मान्न नेपाली चलचित्रका महानायक राजेश हमाल, चर्चित देउडा गायक नन्द कृष्ण जोशीलगायत बीसजना कलाकारहरु सिमीकोट पुगेका थिए । साथमा रञ्जनराजभण्डारी, सुदीप पौडेल, कृष्ण गोपाल श्रेष्ठसहित हामी चारजना साइकलेको समूह पनि मिसियौं ।

हुम्ला सडक सञ्जालले नजोडिएको जिल्ला । पुग्ने विकल्प पैदल यात्रा या नेपालगञ्ज वा सुर्खेतबाट हवाई यात्रा मात्र छन् । हाम्रो योजना साइकल लिएर रारा हुँदै जाने थियो । तर समय निक्कै कम भएकोले हवाई यात्राको विकल्प रोज्यौं । सिमीकोटको उडान प्रायः बिहान मात्र हुन्छ । बास बस्ने गरी हामी नेपालगञ्ज पुग्यौं । साँझको समय बागेश्वरी मन्दिरमा सन्ध्या आरतीमा सहभागी भएर बितायौं ।

बिहान सबेरै नेपालगञ्जको राँझा विमानस्थल तर्फ लाग्दा सम्म ढुक्क चाहिँ थिएनौं । हिमाली भेगको उडान मौसम अनुकूल मात्र हुन्छ । घाम झुल्कँदै गर्दा हामी भाग्यमानी ठहरीयौं । समय मै सिमीकोट उड्ने भयो । फटाफट उडान भर्न विभिन्न कम्पनीका हवाई जहाज चालक दलका सदस्यहरु आतुर देखिन्थे । हवाई जहाजले भूइँ छोड्यो ।

झ्यालबाट अजङ्गका पहाडका बीचबाट अविरल बगिरहने कर्णाली नदीको खोच निक्कै चाखपूर्वक हेरियो । हिमाली भेगको बिचित्रको भूगोल हेर्दै करिब साठी मिनेटको उडानपछि हामी हुम्लाको सिमीकोट पुग्यौं । साइकल अर्को जहाजमा आउँदै गरेको ले केही समय पर्खनु पर्‍यो ।

धावन मार्ग नजिकैको तारबारमा धेरै मानिस निक्कै उत्सुकता पूर्वक उभिइ रहेका थिए । साना भाइ बहिनीहरु भने टाढा आकाशमा देखिएको हवाई जहाज, तारा आयो, ऊ सीता आयो भनेर अन्दाज लगाउँथे । उनीहरुको कुरा निक्कै चाख मानेर सुनिरहेँ ।

हाम्रो साइकल आई पुग्यो । काठमाडौंमा होटल व्यवस्थापन विषयमा स्नातक गर्दै गरेकी डोलकर बहिनीले हामीलाई सहजीकरण गरेकी थिइन् । उनको साथ लागेर हामी विजय होटल तर्फलाग्यौं । बिहानको चियापानपश्चात साइकलका पाटपुर्जा जोड जाम गरेर चढ्न तयार बनायौं ।

विजय होटलमा बिहानको खाजापछि हामी सिमीकोट बजारतिर केहीबेर बरालियौं । बिल्कुल बेग्लै अनुभव थियो हाम्रा लागि हुम्ला भ्रमण । केही घण्टा अघिसम्म हामी हुम्ला पुग्ने कल्पनामा थियौं । अहिले वास्तविकतामा छौ । गाउँघर,बजारको बनावट, भेषभूषा, भाषा, भूगोल, रहन सहन, बोली चाली, सबै रोचक थिए ।

बजार घुमाई पछि स्थानीय पथप्रदर्शकका रुपमा खटिए सम्राज बोहरा भाइसँग सिमीकोटलाई साइकलमा एक फन्को मार्न निस्कियौं । बजारका साना भाइहरु साइकलको अघिपछि दौडिएको क्षण भाई बहिनी तथा हाम्रा लागि निक्कै रमाइलो थियो ।

फरक ठाउँका चाल चलन, बोली वचन, रहन सहन फरक । फरक संस्कृतिमा रमाउनु नै यात्राको सुन्दर पक्ष हो । स्थानीय सँग गफिँदै कक्कड पनि तान्यौं । नौला कुरामा रमाएर साइकलमा घुम्दै हामीले सिमीकोट फन्को मार्‍यौं । विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यकम चम्किरहेको थियो ।

हामी साइकल लिएर सांस्कृतिक कार्यक्रममा मिसिन गयौं । कार्यक्रम स्थलमा साना भाइ बहिनीबाट घेरियौं । सबैका साइकल चढ्ने सपना । चढ्न जान्नेले पालै पालो चढेर आफ्नो कौशल देखाए । नजान्नेलाई चढाएर साइकलको स्वाद चखायौं ।

साइकल तर्फ भाइ बहिनीहरुको  भिड बढ्दै गयो । सांस्कृतिक कार्यक्रमको मज्जा त्यति साह्रो लिन सकेनौं । हाम्रो ध्यान सांस्कृतिक कार्यक्रममाभन्दा पनि भाइबहिनीहरुलाई चोटपटक नलागोस् भनेर बढी केन्द्रित भयो । स्थानीय भाइहरुसँग धेरै समय बिताएर कार्यक्रम चलिरहे पनि हामी बाहिरियौं ।  

दोस्रो दिनको यात्रामा निस्कन अलमल भयो । आयोजक संस्थाका अध्यक्ष रविन कुमार बस्नेत, गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, नेपाली कांग्रेस जिल्ला सभापति जयपति रोकायालगायतका विभिन्न क्षेत्रका व्यक्तित्वले साइकलेलाई स्वागत गरे । स्वागत पछि साइकल लिएर मुग्राधारा हुँदै उकालो लाग्यौं नाग्मा तिर ।

हिमालबाट हिँउ पग्लिएर कर्णालीतिर बेग हान्दै गरेका खोल्चा खोल्चिनजिकबाट नियाल्यौं । करिब २ हजार ५ सय मिटर सतहमा उर्लेर बगेको कणाली ३ हजार २ सय मिटर माथिको भीरबाट निक्कै बेर हेर्‍यौं ।

तलपट्टि सानो समथर चौंडिलो भागमा सिम र माथि पट्टि कोट भएकोले सिमीकोट नामकरण गरिएको रहेछ । सिमीकोटबाट अढाई किमी उकालो लागेपछि नाग्मा गाउँ पुगियो करिब ३ हजार ३ सय मिटर उचाइमा । यहाँ हिल्सा सिमीकोट जोड्ने निर्माणाधीन बाटो भेटियो ।

उकालोमा साइकल डोेर्‍याउन हम्मे थियो । अब फराकिलो सडकबाट साइकल हुँइक्याउन थाल्यौं । उकाली, ओह्राली, खोला, साँघु, पहिरो पार गर्दै तोर्पा पुग्यौं । यहाँ सम्म आई पुग्दा करिब १० किलोमिटर दूरी काटियो ।

भूगोल, हावापानी, वातावरणजस्ता विविध पक्षले कला, संस्कृति अनुसार रहनसहन फरक पार्छ । हिमाली भेगका घरहरुको बनावट निक्कै फरक हुन्छ । माटोले छापेका घरका धूरी, झुरुप्प गाउँ । धुरीबाट लिस्नो चढेर कोठा चोटा मा पुगिने घरको बनावट मेरा लागि निक्कै चाखलाग्दो थियो । जोडले भोक लागिरहेको थियो । सम्राट भाइले उनको चिने जानेको घर भित्र पसाए ।

घरको भित्री भाग हेर्ने धोको पुरा भयो । काठले छापेको भान्छा कोठा । बीचमा धुँवा रहित आधुनिक चूल्हो । काठका तखतामा सजाएर राखेका भाँडा । हामी चूल्होको वरिपरि बस्यौं । घर पेटिले कोसी (काठकोभाँडा) मा पिठो र पानी हालिन् ।

दाब्लो (काठ चलाउने) ले फटाफट फिटेर तावामा हालिन् । लगर (तिते फापरको रोटि) तयार भयो । तरकारी सँग भन्दा पनि नुन खोर्सानी सँग औधि मीठो । बाटोको लागि जगेडा लियौं । अझै पनि कतिपय ठाउँका गाउँ घरमा अतिथिले खानाको हिसाब किताब गर्दा अपमान ठान्छन् । हामीले बिस्तारै मनायौं ।

तोर्पाबाट हामी करिब एक घण्टाको बाटो काटेर लिमाटाङ्ग पुग्यौं । लिमाटाङ्ग रलिङ्ग जाने बाटोको अन्तिम गाउँ । साइकल गाउँमै छोडियो । सिबुक चौर हुँदै करिब आधा घण्टाको हिँडाइमा रलिङ्ग खोला पुग्यौं । रलिङ्ग खोलाबाट रलिङ्ग गुम्बा पुग्न करिब दुई घण्टा उकालो हिँड्नु पर्छ । साँझ छ बजे रलिङ्ग गुम्बा पुगियो ।

हामी ओह्रालो लाग्दा साँझ झमक्कै भयो । लिमाटाङ हुँदै तोर्पा आइपुग्दा रात निक्कै छिप्पियो । रात जति छिप्पिदै गयो हामी सँग भएका बत्ती, शारीरिक ऊर्जा निक्कै निस्तज । निश्पट्ट अन्धकारमा मलिनो बत्तीको साहारामा सिमीकोट फर्कदै थियौं हतारमा । विजय होटलमा भोजको निम्ता थियो विजय दाइ र यांकी भाउजूूको । सुदीपजीको साइकल पन्चर भयो । समस्या थपियो ।

साइकल मर्मत गरेर पिलपिले बत्तीको सहारामा मद्य रातमा सिमीकोट आई पुग्यौं । मद्य रातमा पनि विजय दाइ र यांकी भाउजूूले हामीलाई तातो खाना खुवाउनु भयो । निक्कै आत्मीय लाग्यो बिजय दाइ र यांकी भाउजूू ।

रलिङ गुम्बा
हुम्लाको सदरमुकाम सिमीकोटबाट २० किमी पैदल यात्रापश्चात रलिङ गुम्बा पुगिन्छ । सडक बन्ने क्रम जारी छ ।  रलिङ्ग गुम्बा समुद्र सतह बाट ४ हजार मिटरको उचाइमा अवस्थित छ । गुम्बाको छेवैमा गुफा छ । भगवान् शिवले त्यस गुफामा तपस्या गरेको जन विश्वास छ । गुफा भित्र देव देवताका अनेक मुर्ती छन् । गुम्बामा बुद्ध, देवी आदिका मूर्ति छन् ।

किंवदन्ती अनुसार भगवान् शिव गुफामा ध्यान मग्न हुँदा दैत्यहरुले ठूलो ढुंगाले माथि बाट थिच्न खोजे । भगवान शिवले अजंगको ढुंगा शिरले थामेर बसे । तपो बलले एकरातमै कैलास बनाउन लाग्दा दैत्यसँग घनघोर लडाइँ भयो । दैत्यले लडाइँ हारे ।

बनाउँदा–बनाउँदै टुप्पोमा काग बसेर करायो । बिहानी पख टुप्पोमा बसेर काग कराएपछि अपवित्र भयो । त्यहाँबाट अझ माथि गएर मान सरोवर बनाएको किम्बदन्ती छ । यस स्थानलाई खाम भाषामा सेर्मुकाङ्ग भन्छन् । सेर्मुकाङ्गको नेपालीमा अर्थ लगाउँदा कान्छो कैलाश हुन्छ ।

सिमीकोटबाट रलिङ्ग गुम्बा जाँदा हुमाने खोला हुँदै बुराँउसे गाउँ पुग्न करिब एक घण्टा पैदल हिँड्नु पर्छ । बुराँउसे बौद्ध मार्गीहरुको बाहुल्यता छ । यहाँका बासिन्दाले खाम भाषा बोल्छन् । यहाँ घर बास (होम स्टे) को व्यवस्था छ ।  

बुराँउसे गाउँबाट करिब पाँच किमी दूरी तय गरेपछि तोर्पा गाउँ पुगिन्छ । तोर्पाबाट करिब चार किमीको दूरी कटेपछि लिमाटाङ्ग गाउँ पुगिन्छ । गाउँबाट हल्का ओह्रालो लागेपछि रलिङ्ग खोला आउँछ । रलिङ्ग खोलाबाट ठेंहे, काँगा शिला हुँदै खार्पुनाथ पुग्न सकिन्छ ।    

तेस्रो दिन खार्पुनाथ जाने योजनाअनुसार हामी साइकलमा रवाना भयौं । शिव मन्दिर, थलहल्ना, स्यामन्ने, कुरिल्ला हुँदै हामी खार्पुनाथ मन्दिरतर्फ ओह्रालियौं । माथिबाट कर्णाली बेगले बगिरहेको प्रस्ट देखिन्थ्यो । हिँउ पग्लिएर उर्लिएको निक्कै सङ्लो खोला तर्नु पर्ने भयो । खोलामा खुट्टा चोपल्दा निक्कै ठिहिर्‍याउने मात्र होइन बेगले लडाउला लडाउला जस्तो ।

खार्पुनाथ पारि नाल्ला गाउँमा सानो बजार छ । स्थानीय रत्नबहादुर शाहीले हामीलाई खाना खुवाए । मन्दिरमा लगेर गुफाको दर्शन गराए । यहाँको प्राकृतिक सौन्दर्यतामा हामी दिनभर हरायौं । साँझपख साइकलमा पुनः सिमीकोट तर्फ उकालियौं ।
खार्पुनाथ

सिमीकोटबाट करिब १२ किमी सडक यात्रा गरेपछि खार्पुनाथ मन्दिर पुगिन्छ । समुद्र सतहबाट करिब २ हजार ५ सय ७० मी. उचाइमा कर्णाली नदी र दुजाम (कर्णाली) नदीको दोभानमा खार्पुनाथको मन्दिर छ । सतिदेवीको दाहिने काँधको पछिल्लो भाग जसलाई  ‘खार’ भन्द्छन । खार पतन भएको शक्ति पीठ भएकोले खारपुनाथको रुपमा पुजिन्छ  ।

मन्दिरको भित्रपट्टि गुफा छ । गुफामा महादेवले तपस्या गरेको बताउँछन् स्थानीय । कैलाश पर्वतको दर्शन गर्नु पहिले खार्पुनाथ, नौमुले, मान सरोवरमा स्नान तथा दर्शन गर्दै जाँदा मात्र तीर्थ यात्रा पूर्ण हुन्छ भन्ने मान्यता छ ।  

कैलाश पर्वत कर्णाली नदीको उद्गम स्थल हो । कैलाश पर्वत चारवटा नदीको उद्गम स्थल हो । ब्रह्मपुत्र, कर्णाली, सतलज र सिन्धु नदी उत्पत्ति भएका छन् । कर्णाली नदीलाई तिब्बतीहरु माप्चा खाम्पा भन्छन् । माप्चा खाम्पा अर्थात् मयुरको मुख । तिब्बती किम्बदन्ती अनुसार कर्णाली नदी मयुरको मुखबाट उत्पत्ति भएको मानिन्छ ।

कैलाश पर्वत उद्गमस्थल भएको कर्णाली नदीको तीरमा भएको शक्ति पीठ खार्पुनाथमा मागेको बर पुग्ने विश्वास छ । स्थानीय हिन्दू धर्मावलम्बीहरुको भनाइअनुसार रलिङ्ग गुम्बा जानुपूर्व खार्पुनाथको दर्शन गरे मात्र दर्शन पूर्ण हुन्छ भन्ने छ ।

माघे संक्रान्तिमा खार्पुनाथमा ठूलो मेला लाग्छ । पौष मसान्तको रात भक्तजनहरु  भेला भएर भजनकीर्तन गर्छन् । देउडा खेल्छन् । संक्रान्तिको दिन बिहान स्नान गरेर घर फर्कन्छन् । त्यसैगरी स्वस्थानी पूर्णिमामा श्रद्धालु भक्तजनहरुको भीड लाग्छ ।

समय बलवान् । हामी बस्ने होटल बाहिर साना भाइहरुको सानो तिनो भीड नै लाग्थ्यो हाम्रो प्रतिक्षामा । साइकल चढ्न व्यघ्र भाइहरु हाम्रा साइकल लिएर नजिकैको चौरमा निक्कै मज्जा लिन्थे । सिकारु साइकवाला मध्ये कसैले चढ्दा लडाएछन् ।

अगाडिको ब्रेक र ट्यूव काम नलाग्ने भयो ।  भोलि पल्ट सिमीकोटबाट रारा झर्ने योजना थियो । साइकलको अवस्थाले त्यति उत्साह दिएन । हामीले यसपटकको यात्रा यहीँ बिसायौं मन मस्तिष्क सिमीकोट मै छाडेर ।

कोशेली
मह, ओखर स्याउ, सिमी, सिस्नु यहाँका कोशेली हुन् । स्थानीय जातका यी उत्पादन निक्कै स्वादिला छन् । मह ७ सय रुपैयाँ प्रति माना, सिमी १५० प्रति किलो, ओखर प्रति दाना ५.१०, स्याउ दानाको १०.१५, सुकाएको स्याउ एक हजार रुपैयाँ प्रति किलोमा स्थानीय बजारमा किन्न पाइन्छ । 

बक्स
रविन कुमार बस्नेत, अध्यक्ष, प्रयत्न नेपाल

हुम्लाको समृद्धिको आधार पर्यटन नै हो । यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका स्थानीय युवा मिलेर प्रयत्न नेपालको स्थापना गरेका हौं । हुम्लामा पर्यटनको सम्भावना प्रचूर छ । तर प्रचार–प्रसारको कमी छ । पर्यटन प्रवर्धनका लागि यहाँ भएका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरु तथा विभिन्न गन्तव्यहरुको पहिचान गरी प्रचारप्रसार गर्न आवश्यक छ ।

सिमीकोटबाट विभिन्न गन्तव्यहरु जस्तै लिमी, साइपाल, चाङ्गला, दुधे दह, लडे दह, रारा, जुम्लाको प्याकेज बनाएर प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

पर्यटन प्रवद्र्धन गर्नकै लागि भनेर हामीले देशका चर्चित कलाकारहरुलाई हुम्लामा अतिथिको रुपमा भित्र्याएका छौं । उनीहरु हुम्लाको पर्यटन सद्भाव दूत हुन् । यहाँबाट फर्किएर गएपछि सामाजिक सञ्जाललगायतका विविध माध्यमबाट हुम्लाको प्रचार हुने विश्वास छ ।

यसको साथै अल्ट्रा म्याराथन दौड, साइक्लिङ्ग, र्‍याफ्टिङ्ग जस्ता विविध साहसिक खेलकूद प्रतियोगिता गर्ने योजना रहेको छ । यसका लगि स्थानीय सरकार, प्रादेशिक सरकार तथा केन्द्रिय सरकारले सहयोग गर्ने अपेक्षा छ ।

यांकी लामा पर्यटन व्यवसायी

२५ वर्षअघि लोकल रेस्टुरेन्टबाट पर्यटन व्यवसाय सुुरु गरे । त्यस बेलादेखि नै आन्तरिक तथा बाह्य पर्यटकहरुमाझ सेवा पस्कँदै आएको छु । सुरुका दिनमा ग्राहकहरुलाई दाल भात, मःम, चाउमिन, थुक्पाले सत्कार गर्थें । समय परिवर्तनसँगै पर्यटकलाई सेवा सुविधा दिने उद्दश्यले तातो पानी सुविधासहितको होटेल सञ्चालन गरेको छु । बेकरीका परिकार बनाउन सिकेँ । अहिले पाहुनालाई यहीँ फल्ने कोदो फापरजस्ता अन्नको प्यान केक, केक विभिन्न परिकार का स्वाद चखाउँछु ।

स्तरीय सुविधायुक्त होटल व्यवसाय चलाउन निक्कै चुनौती छ । दक्ष जनशक्तिको अभाव । आवश्यक पर्ने सामग्रीको ढुवानी महँगो हवाई सेवामार्फत गर्नुपर्ने बाध्यता छ । ढुवानीका लागि मात्र प्रतिकिलो करिब १ सय ५० रुपैयाँ लाग्छ ।

मुख्य पर्यटकीय मौसम भनेको वैशाखदेखि असोजसम्म हो । वैशाखदेखि असोजसम्म हिल्सा हुँदै मानसरोवर जाने भारतीय पर्यटक आउँछन् । पहिलेको दाँजोमा पश्चिमा पर्यटकको संख्या भने घट्दो छ । व्यापारमा प्रतिस्पर्धा बढ्दो छ । व्यवसायमा गरेको लगानी उठाउन चिन्तित छु ।

प्रकाशित: २३ भाद्र २०७६ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App