७ वैशाख २०८१ शुक्रबार
अन्य

‘व्यक्तित्व विकासको प्रमुख आधार फेसन होइन’

नेपाली चलचित्र जगतमा पहिचान बनाउन सफल चर्चित नायिका दिया मास्के पछिल्लो समय रियालिटी सो ‘रोडिज’ मा व्यस्त छिन् । रोडिजमा जजको भूमिका पछि उनी निकै चर्चामा छिन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायिका दिया मास्केसँग नागरिक परिवारका लागि शुष्मा बरालीले गरेको कुराकानी :

हेलो ! नमस्ते, आराम हुनु हुन्छ ?
(हाँस्दै) नमस्ते म एकदम ठीक छु अनि तपार्इंको के छ नि ?
म ठिक छु !  अनि के मा व्यस्त हुनु हुन्छ अचेल ?
खासमा म परिवारसँग नै व्यस्त हुन्छु, कामको कुरा गर्दा भने अहिले रोडिज सो को फर्म्याट अनुसार तयारी पनि गरिरहेकी छु ।

तपाईंको विचारमा फेसन भनेको के हो ?
मेरो विचारमा फेसन भनेको कम्फर्ट पोशाक हो । सिम्पल होस्, स्विट होस्, शरीरअनुसार सुहाउने होस् त्यही नै हो, फेसन । हामी जहिले बजारमा आएका नयाँ ट्रेन्डलाई मात्र फेसन भन्छौँ तर वास्तविकता त्यस्तो होइन । अरुले लगाएको देखेर आफूले पनि त्यस्तै लगाउने ट्रेन्ड निकै छ, जुन गलत हो । फेसनेबल भन्नुको अर्थ फेसन अपडेट हुनु मात्र होइन् । व्यक्तिले लगाएको पहिरन, मान्छेसँग गर्ने व्यवहार, बोल्ने शैली, कुनै पनि विषयलाई बुभ्ने क्षमता सबै फेसनमा नै पर्छ, जुन बाहिरी आवरणले मात्र निर्धारण गर्दैन ।

तपाईं कत्तिको फेसनेबल हुनुहुन्छ त ?
म खास फेसनेबल भन्ने छैन, मलाई सिम्प्लीसिटी नै मन पर्छ । रियल लाइफ र रिल लाइफको पाटो नै फरक हो तसर्थ मेरो व्यक्तिगत जिन्दगीमा मैले लगाउने पहिरन, मेरो जीवनशैली साधारण छ, जुन आम मानिसको हुन्छ । ठाउँअनुसारको पहिरन लगाउन रुचाउँछु, पारिवारिक कार्यक्रम, जमघट वा घर बस्दा लगाउने होस् फरक नै हुन्छ ।

फेसन कन्सियस कत्तिको हुनुहुन्छ ?
फेसनप्रति खास कन्सियस छैन । मैले लगाउने पहिरन साधारण हुन्छ । व्यक्तिगत जीवनको कुरामा कम्फर्ट हुनु पर्‍यो पहिलो कुरा, मेरो पहिरनले मेरो परिवारलाई असर नगर्ने हुन पर्‍यो त्यही हो । बजारमा चलेको, ट्रेन्डिङ आएको, चल्तीका पहिरनभन्दा पनि आफूलाई कस्तो पहिरन गर्नु मन छ त्यही नै गर्छु ।

फेसनमा जोडिएको अनुभव कस्तो छ ?
हामी कलाकार, मिडियामा जोडिएका मान्छेले फेसनको त अनुभव धेरै नै हुने भयो । रिल लाइफ जस्तो देखिन्छु व्यक्तिगत लाइफ ठ्याक्कै विपरीत छ । म व्यक्तिगत जीवनमा कसैसँग घुलमिल हुने, फेसन फलो गर्ने त्यस्तो छैन, भनौँ म निकै लजालु छु तर स्क्रिनको कुरा गर्दा क्यारेक्टरलाई न्याय दिने खालको हुन पर्‍यो । मैले गर्ने काम मलाई चित्त बुझ्ने भएर नै काम गर्ने हो जस्मा म दिया मास्के भन्दा पनि क्यारेक्टरलाई आवश्यक फेसन दिन्छु चाहे त्यो टु पिस होस्, स्विमिङ् कस्ट्युम होस् या अरु मलाई फरक पर्दैन ।

तपार्इंको फेसनलाई फ्यानहरुले फलो गरेको महसुस गर्नु भएको छ ?
खास थाहा नै छैन, फ्यानहरुले मेरो लुगा लगाउने स्टाइल, मैले गर्ने फेसन फलो गरेको भन्दा पनि मेरो कामलाई, मेरो प्रस्तुतिलाई फलो गरेको हो कि ? फलो भन्नाले ठ्याक्कै फलो भन्दा पनि कामको प्रोसेस भन्नु चाहिँ फलो गरेको महसुस हुन्छ ।

नेपालमा फेसनको ट्रेन्ड कस्तो छ ?
नेपालमा अहिले युवा पुस्ताले फेसनप्रति कन्सियस भएको महसुस त गरेकी छु तर फेसनलाई नै बढी प्रायोरिटी दिएको महसुस हुन्छ जुन गलत हो । हो, पहिरनले मान्छेको व्यक्तित्व बढाउन केही मात्रामा मद्दत त गर्छ होला तर प्रमुख आधार फेसन वा उसले लगाएको लुगा, जुत्ता, शरीरमा छर्केको पर्फ्युमले होइन नै । युवा जमात फेसनप्रति उद्धार भएका छन्, निकै अपडेट पनि छन् तर, नलेजभन्दा फेसन आधार हुँदैन भन्ने बुझ्नु जरुरी छ ।

तपाईंंको फेसन के त ? कस्तो फेसन मनपर्छ ?
मेरो फेसन यही भन्ने छैन, म प्रायः जिन्स, लङ टि–सर्ट, कुर्ताहरु लगाउन मन पराउँछु । म शरीरमा फिटिङ हुने ड्रेसअपहरु लगाउन रुचाउँदिन, दैनिक जीवनमा लगाउँदिन पनि अनि स्क्रिनका लागि हो भने छुट्टै कुरा हो ।

कैयौं युवा पुस्ताको नजरमा त तपाईं फेसनेबल हुनुहुन्छ नै, तपाईंकै फेसन फलो गर्नेहरु पनि छन्, फेरि आफू फेसनेबल भने छैन भन्नु हुन्छ ?
खासमा मेरो फेसनलाई नै फलो गरेको भन्ने त नहोला तर मलाई माया गर्नेहरुले, मेरो कामलाई बुझ्नेहरुले गर्नुभएको छ भने त्यो मेरा लागि खुसीको कुरा नै हो । (हाँस्दै)

फेसन भन्ने बित्तिकै के चाहिँ नछुट्याई लगाउनु हुन्छ ?
फेसनभन्दा पनि मेरो ब्याग भने अलिक ट्रेडिस्नल टाइपको हुन्छ, ब्यागमा हल्का खालको मेकअप किड, पर्फ्युम, मोबाइल, वालेट भने कहिल्यै छुट्दैन ।

तपाईंको दराजमा के को कलेक्सन भेट्न सकिन्छ ?
(हाँस्दै) खासमा मेरो श्रीमान् निकै पढ्नु हुन्छ, मेरो दराजमा त किताबै किताबको कलेक्सन देख्नु हुन्छ, तर फेसनको कुरा गर्दा भने मेरो दराजमा साडीहरुको टन्नै कलेक्सन छ । थरीथरीका रंगहरुको साडी भने टन्नै छन् ।

यहाँको मन पर्ने कलर कुन हो नि ?
मेरो एभरग्रिन मनपर्ने रंग कालो हो, क्याजुअल ड्रेसमा कालो नै मनपर्छ भने पार्टिवेयरमा भने कलरफुर लुगा नै मनपर्छ ।

फेसन भन्ने बित्तिकै हामीले लगाउने पहिरनलाई मात्र बुझिन्छ, तपार्इंलाई के लाग्छ ?
नेपालमा फेसन भन्ने बिक्तिकै लुगा, पहिरन मात्र हुनु स्वाभाविक हो भर्खर मात्र फेसन कन्सियस हुँदैछ त्यसकारण फेसन भन्ने बिक्तिकै पहिरनलाई नै मानिन्छ । तर फेसन भन्ने बिक्तिकै जीवन जिउने कला हो, जीवनशैली हो पहिरन त मात्र बाहिरी आवरण हो ।

विशेष व्यक्तित्व र आम मानिसको फेसनमा फरक हुन्छ कि हुँदैन ?
व्यक्तित्वका लागि विशेष र आम मानिस भन्ने हुँदैन । व्यक्तिको फेसनले उसको क्षमता, ज्ञान सीपलाई निर्धारण गर्न सक्दैन । फेसनलाई विशेष मानेर अघि बढ्नुभन्दा पनि आफूलाई सुहाउँदो, आरामदायी र सहज हुने पहिरन लगाउनु पर्छ । पक्कै पनि सेलिब्रेटीहरुलाई धेरैले याद गर्ने भएकाले फलो त हुन्छ नै उनीहरुले के गर्छन्, के खान्छन्, के लगाउँछन् भन्ने चासो त हुन्छ नै तर फेसन नै सफल व्यक्तित्वको पहिलो खुड्किलो भने होइन ।

अब, अहिलेको फेसनको कुरा गरौं । नेपालमा कस्तो फेसन चलेको छ त ?
नेपालमा फेसन भन्ने कुरा जसले जे लगाउँछ, ट्रेण्डमा परेको नै फेसन मान्ने चलन छ, तर खास मिलाएर राम्रोसँग, आफूलाई सहज हुने खालको पहिरन लगाउन सकियो भने त्यो नै फेसन हो । कतिले अरुले लगाएको देखेर लगाउँछन् त्यही फेसन हुन्छ, कतिले आफ्नै डिजाइनको बनाउन पठाउँछन् त्यही फेसन हुन्छ । नेपालमा यही भन्ने छैन, उमेर, ठाउँ अनुसार फरक–फरक छ ।

आफूलाई चाहिने सामान कता किन्नुहुन्छ नि ?
यही ठाउँमा किन्छु भन्ने छैन, हिँड्दै जाँदा मनपर्ने सामान देखेँ भने जहाँ पाउँछु त्यहीँ किन्छु । कसैले कहाँबाट किनेको भनेर सोध्यो भने पनि पसल नै बिर्सन्छु । मलाई आवश्यक पर्ने सामान यहीँबाट किन्छु भन्ने छैन ।

फेसनमा अपडेट सँगै शरीरको स्याहारमा कतिको ध्यान दिनु हुन्छ ?
शरीरको स्याहार त सबैले गर्छन् नै, शरीर स्वस्थ भए तन, मन सबै स्वस्थ हुन्छ । शरीरको स्याहारमा म विशेष स्याहार भने नङको गर्छु । कमजोर नङ भएकाले नेल कियरमा विशेष ध्यान दिन्छु । मेरो नङ अलिक कमजोर छ, त्यो भएर छोटो नै पाले पनि ध्यान दिनु पर्छ ।

फेसनमा अपडेट हुनका लागि के गर्नुहुन्छ ?
फेसन अपडेटलाई खास केही गर्दिन । म आफ्नो रुचिअनुसारको, सुहाउने पहिरन लगाउँछु । मैले लगाएको पहिरनले समाजले के भन्ला भन्ने भन्दा पनि मेरो परिवारलाई कस्तो लाग्ला भन्ने मेरा लागि मुख्य हो ।

किनमेलमा कत्तिको रुचि छ नि ?
खासै छैन, मलाई चाहिने सामान मात्र किन्छु, किन्दा जहिले एकै ठाउँबाट किन्न रुचाउँछु । पसल चाहारेर समय बिताउन सक्दिनँ ।

किनमेल गर्न मनपर्ने कुरा के हो नि ?
मलाई के मन पर्छ भन्दा पनि मेरा लागि के आवश्यक छ भन्ने कुरा प्रमुख हो । आवश्यक हुने हरेक सामान किन्छु ।

अनि, सपिङमा सबैभन्दा अल्छी लाग्ने कुरा ?
सपिङमा कचकच, यो त्यो भन्नै मन लाग्दैन । चित्त बुझ्यो किन्यो बुझेन छोडेर हिँड्यो । पसल चहार्नु भने दिक्क लाग्छ ।

सपिङ गर्न एक्लै मनपर्छ कि साथीहरुसँग मनपर्छ ?
मेरो त्यत्ति साथीहरु छैनन्, प्रायः म परिवारसँगै सपिङ गर्छु, परिवारसँगै मन पर्छ । कहिले आफू एक्लै जान्छु ।

कुन –ब्रान्डको सामान किन्नुहुन्छ ?
ब्रान्ड भन्ने नै छैन । म त मन परेको सामान किन्ने हो, यही भन्ने छैन तर साडी ब्लाउज भने रोयल बुटिकको लगाउँछु ।

प्रकाशित: २२ भाद्र २०७६ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App