९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

आदि शंकराचार्यले नखाएको विष

नेपाल तथा भारतका बौद्ध धर्मावलम्बीहरू हिन्दू धर्मका आदि शंकाराचार्यलाई बौद्ध धर्मविरोधीका रूपमा चिन्छन्। उनीबाट धेरै हानि भएको हिसाबकिताब राख्छन्। शंकरले धार्मिक दिग्विजय गर्ने क्रममा बौद्ध भिक्षुसँग शास्त्रार्थ गरेर हराएको तथा बौद्ध धर्मको नोक्सान गरेको बुझाइ छ। नेपाली बौद्ध धर्मावलम्बीमा पनि शंकराचार्य नेपाल आएको र बौद्ध भिक्षुलाई शास्त्रार्थमा हराएर जबर्जस्ती गृहस्थी बनाएको, बौद्धग्रन्थ जलाएको, मूर्ति फुटाएको भन्ने बुझाइ छ। यो बुझाइ प्राज्ञिक लेख, पुस्तक र सार्वजनिक कार्यक्रममा व्यक्त भएको पाइन्छ।

बौद्धहरूले त्यसरी बुझ्नु र स्वयं हिन्दूहरूले त्यसको खण्डन गर्नुको सट्टा बरु धार्मिक दिग्विजय भनी उल्टो आत्म–प्रशंसा गर्दा धार्मिक अभियानमा त्यस्तो हुनु स्वाभाविकै मान्ने ठाउँ पाइन्छ। तर, यसमा बनावटी कुरा धेरै पाइयो, जुन इतिहाससम्मत होइन। यही प्रसङ्गलाई ऐतिहासिक तथा दार्शनिक दृष्टिबाट नियाल्दा बेग्लै पाटो देखिन्छ।

को हुन् शंकराचार्य ?
भारतका कतिपय क्षेत्र धर्म–दर्शनको चिन्तन, अध्ययन तथा साधनाका लागि केन्द्रका रूपमा हजारौं वर्षदेखि उर्वर भूमिका रूपमा रहँदै आएको छ। वेदमा आधारित वैदिक धर्म वा सभ्यताले राज गरिरहेकै बेला त्यसको विपरीत मूल्य रहेको ‘श्रमण परम्परा’ पनि अस्तित्व थियो। गौतम बुद्धको जन्म कपिलवस्तु राज्यमा श्रमण परम्परामै भएको थियो। २९ वर्षको उमेरमा गृहत्याग गरी आध्यात्मिक साधनामा लाग्दा उनको पहिचान ‘श्रमण गौतम’का नामबाट भयो। गृहत्यागपछि सोझै मगधको राजधानी राजगीर पुगेका थिए उनी। तत्कालीन वैदिक ब्राह्मणहरू मगधलाई दुरस्त प्रदेश, असभ्य समाज र भिक्षा पाउन मुस्किल हुने भएकाले त्यतातिर आँखा पनि नलगाउन भनी समाजमा सुझाव दिन्थे। प्रथम धर्मचक्र प्रवर्तन (इ.पू.५२८)पछि बुद्ध पुनः मगधतिरै फर्केको र संघको विस्तार गरेबाट बुझिन्छ, दार्शनिक विचारका लागि मगध उपयुक्त ठाउँ थियो। यही पृष्ठभूमिमा बौद्ध धर्मको विकास तथा विस्तार भएको थियो। बुद्धको महापरिनिर्वाणपछि पनि उनका शिष्यले बौद्ध धर्मका अनेकौं पक्ष उजागर गर्दै बुद्ध वचनलाई दरिलोसँग स्थापना गरेरै राखे। यस क्रममा अनेकौं सम्प्रदाय तथा उपसम्प्रदायको उदय भयो। बौद्ध आचार्यहरूको संघर्ष आन्तरिक मात्रै नभएर अन्य धर्म–दर्शनसँग पनि हुन्थ्यो। अन्यमा जैन लगायत सम्प्रदाय मात्रै नभएर आजभोलि हिन्दू भनिने वैदिक सम्प्रदायसँग पनि संघर्ष हुन्थ्यो। भनिन्छ, आठौं शताब्दीसम्म आइपुग्दा यो वैदिक वा हिन्दू सम्प्रदाय शैव, वैष्णव, शाक्त, गणपति आदि विभिन्न ८४ सम्प्रदायमा विभक्त थियो। यही पृष्ठभूमिमा आदि शंकराचार्यको जन्म इ.सं. ७८८ मा दक्षिण भारतको एरलाकुलम जिल्लाको काल्दी गाउँमा पिता शिवगुरु र माता आर्याम्वाबाट भएको थियो। बालक विलक्षण प्रतिभाका थिए र अनेक शास्त्रको ज्ञान सानै उमेरमा प्राप्त गर्न सफल भए।

आदि शंकराचार्यले भारतको व्यापक भ्रमण गरेको वर्णन पाइन्छ, तर नेपालको होइन। पशुपतिमा आएका शंकराचार्य पनि उनी होइनन्। दिग्विजयका क्रममा पनि बौद्ध समाजमा खासै प्रभाव परेको देखिन्न, किनभने दिग्विजय बौद्ध धर्मावलम्बीमाथि थिएन।

बालक शंकर संन्यास धर्मपालन गरी थप अध्ययनका लागि गुरु गोविन्दपादकहाँ पुगेका थिए। चार वर्षसम्म गोविन्दपादसँग अध्ययन गरी उही गुरुकुलमा अन्य शिष्य पढाउन थालेका थिए। यही समयमा उनी शंकराचार्यका नामबाट चिनिए। उनी धर्मदर्शनसम्बन्धी शास्त्रार्थ गर्दै आफ्नो मतको प्रचारमा लागेका थिए। यसमा उनलाई सफलता प्राप्त हुँदै गरेको कुरा अनेक विवरणबाट थाहा हुन्छ। उनीसँग सम्बन्धित जीवनीग्रन्थ मुख्य रूपमा १४ वटा छन्, सबैमा यही सफलताको वर्णन पाइन्छ। यस सफलतालाई ‘दिग्विजय’को अर्थमा लिएको पाइन्छ।

आदि शंकराचार्यको सन्दर्भमा कतिपयले उनलाई ‘प्रच्छन्न बौद्ध’ अर्थात् नचिनिएका बौद्ध पनि भन्ने गरेको पाइन्छ। एकातिर हिन्दू धर्मको सुधारका लागि अथक प्रयास गर्ने व्यक्तित्वका रूपमा उनी चिनिन्छन् भने अर्कोतर्फ स्वयं हिन्दू समाजले उनलाई ‘प्रच्छन्न बौद्ध’ को आरोप लगाउँछ। रमाइलो के भने, बौद्ध समाजभित्रै पनि उनी बौद्ध धर्म विरोधीका रूपमा चिनिन्छन्। उनले अद्वैत वेदान्तका नाममा बौद्ध दर्शनलाई हिन्दू धर्ममा छिराएको आरोप लरतरो कुरा नभएर दार्शनिक रूपमा गम्भीर विषय हो। 

सबैले जानेकै कुरा हो, आदि शंकराचार्यका गुरु गोविन्दपाद बौद्ध दर्शनबाट प्रभावित थिए। गोविन्दपादका पनि गुरुले बुद्धको प्रशंसा आफ्नो ग्रन्थमै गरेका छन्। शंकराचार्यले बौद्ध दर्शन गुरु परम्पराबाटै प्राप्त गरेको बुझ्न सकिन्छ। संस्कृत भाषा र साहित्यका प्रकाण्ड पण्डित एवं सम्पूर्णानन्द विश्वविद्यालयका ‘वेदान्त विभाग’का वरिष्ठतम् प्राध्यापक जगन्नाथ उपाध्यायका अनुसार शंकराचार्यले अद्वैत वेदान्तका नाममा बौद्ध दर्शन नै अघि सारेका हुन्। उपनिषद्मा वर्णित ‘ब्रह्म’को ठाउँमा आचार्य नागार्जुनले भनेको बौद्ध दर्शनअनुसारको ‘शून्य’लाई प्रत्यारोपण गर्दा दर्शनको दुनियाँमा गोलमाल हुन पुगेको हो। उपाध्यायका कुरा मनन गर्दा एउटा अर्को कुरामा दृष्टिगोचर हुन्छ। जब ‘शून्यवाद’को कुरा चल्छ, वेदान्ती वा उपनिषद्वादी ‘यो ब्रह्म हो र ब्रह्मको कुरा उपनिषद्मा आइसकेकाले गौतम बुद्ध उपनिषद्बाट प्रभावित’ भएको भनिहाल्छन्। ‘शून्य’लाई ब्रह्मका रूपमा प्रस्तुत गर्नु उपाध्यायका अनुसार शंकराचार्यको गल्ती हो र यसले उपनिषद्मा वर्णित ‘ब्रह्म’ अर्थ नै अनर्थ हुन पुग्यो।

‘शून्य’लाई नै ‘ब्रह्म’ भन्ने क्रममा वेदान्ती दर्शनमार्फत हिन्दू दर्शनमा बौद्ध दर्शन घुस्न पुगेको बुझ्न अब गाह्रो भएन। बौद्ध दर्शन नै ग्रहण गरेर पनि त्यसलाई छोपछाप गरी आफूअनुकूल प्रस्तुत गरेको भन्दै उनलाई ‘दत्तकपुत्र’, तर कृतज्ञ नभएको पनि भनिन्छ। हिन्दूहरूले पनि उनलाई ‘प्रच्छन्न बौद्ध’ भनी आलोचना गर्नुको तात्पर्य यही हुन सक्छ।

शंकराचार्य र तत्कालीन बौद्ध समाज
शंकराचार्यको समयसम्म बौद्ध धर्मदर्शनले निकै मात्रामा कोल्टे फेरिसकेको थियो। बुद्धको महापरिनिर्वाणको १२७१ वर्षपछि जन्मेका शंकराचार्यको ३२ वर्षको उमेरमा निधन भयो। यस अवधिमा बुद्धद्वारा देसित धर्मलाई अनेकौं दृष्टिबाट व्याख्या गर्ने क्रममा अनेकौं मतवादको जन्म भएर पनि कतिपय मतवाद विलय भइसकेको अवस्था थियो। बुद्ध महापरिनिर्वाणको करिब सय वर्षपछि स्थविरवाद र महासांघिक दुई सम्प्रदाय देखापरेको थियो भने त्यसको दुई सय वर्षभित्र मौर्य सम्राट अशोकको समयसम्म विभिन्न १८ वटा निकाय उदय भइसकेको पाइन्छ। यसपछि बल्ल ‘महायान’ बौद्धधर्मको आधारभूमिका रूपमा ‘प्रज्ञापारमितासूत्र’ लगायत ग्रन्थ रचना भएको पाइन्छ। प्रज्ञापारमिताग्रन्थकै आधारमा आचार्य नागार्जुनले इस्वीको प्रथम शताब्दीतिर ‘शून्यवाद’ प्रर्वतन गरेका हुन्। यसपछि पाँचौं शताब्दीतिर विज्ञानवादको विकास भयो। विज्ञानवादको प्रर्वतन भन्नु महायानभित्रैबाट पुनः बज्रयानको विकास हुनु हो। बौद्ध धर्मको यो यात्रामा अनेकौं आचार्यले अध्ययन र चिन्तन–मनन मात्रै गरेनन्, आन्तरिक तथा बाह्य रूपमा शास्त्रार्थ पनि गरे। यस क्रममा बौद्ध धर्मलाई विस्तृत भूमिमा फैलाउने काम पनि भयो।

आठौं शताब्दीमा त बज्रयानी बौद्ध धर्मको विस्तारका लागि तिब्बतमा भारतबाटै बौद्ध पण्डित व्यापक रूपमा जान्थे। यो समयमा सम्पूर्ण भारतको तीन चौथाई भू–भागमा बौद्ध धर्मको प्रभाव थियो। आदि शंकराचार्यको समय यही होे।

सामान्यतः के भन्ने गरेको पाइन्छ भने, बज्रयानको विकासपछि बौद्ध धर्ममा विकृति आयो र कमजोर हुन पुग्यो। यही बेला आदि शंकराचार्य आफ्नो मतवादको प्रचारमा लागिरहेका थिए र उनका अगाडि बौद्ध टिक्न सकेनन्। तर, शंकराचार्यले बौद्धहरूसँग शास्त्रार्थ गरेको उल्लेखनीय घटना पाइँदैन। कहीँकतै भयो होला, त्यसैलाई साधारणीकरण गरेर सम्पूर्ण भारतमा बौद्ध धर्मलाई विस्थापन गरी हिन्दू धर्म स्थापना गरेको भन्नु इतिहाससम्मत होइन। शंकराचार्यको मृत्युको चार सय वर्ष पछिसम्म बौद्ध धर्मकै प्रभाव थियो।

भारतमा आठौं शताब्दीतिर उल्लेखनीय बौद्ध आचार्यहरूमा शान्तरक्षित, कमलशील, पद्मसंभवलगायत थिए। तिब्बती राजा ख्रि–स्रोङ–देवचनको निमन्त्रणामा सर्वप्रथम शान्तरक्षित तिब्बत पुगेका थिए भने उनकै सल्लाहमा आचार्य पद्मसंभव निमन्त्रण गरिए। यसरी नै चिनियाँ बौद्ध आचार्यसँग शास्त्रार्थ गर्न आचार्य कमलशील तिब्बत पुगे। आजभोलि वर्णन गरिएजस्तो बौद्धमाथि आदि शंकराचार्यको दिग्विजय बौद्ध सन्दर्भ नभएको देखिन्छ। हिन्दू समाजभित्रकै विभिन्न सम्प्रदायभित्र शंकराचार्यले दिग्विजय गरेको र पछि बढाइचढाइ गर्ने क्रममा बौद्धमाथि पनि विजय भन्न पुग्नु धेरै सम्भव छ।

नेपाल आउने शंकराचार्य
शंकराचार्यको जीवनी हेर्दा उनको नेपाल आगमन मिथ्या हो। यही विषयमा अलि घोत्लिँदा एउटा अर्को तथ्य फेला पर्छ, जसले कतिपय कुराको गाँठो फुकाल्न मद्दत गर्दछ। शंकराचार्यको मृत्यु इ.सं. ८२० मा भएको भएको थियो भने उनैले व्यवस्था गरेबमोजिम चार बेग्लाबेग्लै दिशामा स्थापित मठका मठाधीश सबै शंकराचार्य नामबाटै चिनिन्छन्।

नेपालमा अनेकौं शंकराचार्यको आगमन पटकपटक हुने गरेको छ। पहिलोपल्ट इस्वी सम्वत ११०२ मा आएको देखिन्छ र यही अवसरमा तत्कालीन राजकुमार आनन्ददेवलाई नै शिवदीक्षा दिने काम भएको थियो। दक्षिणास्वरूप पाएको धनले काशीमा दुई शिव मन्दिर जीर्णोद्वार गरिएको थियो। राजा, राजकुमार, भाइभारदार तथा सर्वसाधारणलाई पनि शिवदीक्षा दिने तथा प्रभावमा पार्ने काम आदि शंकराचार्यबाट नभएर त्यही परम्पराका अरु शंकराचार्यबाट भएको बुझ्न नसक्दा वंशावलीलगायत माध्यमबाट नेपाली समाजमा व्यापक भ्रम छर्ने काम भयो।

समाजमा प्रभावपूर्ण भूमिका निर्वाह गर्न नसक्नु बौद्धहरूको कमजोरी हो र नोक्सानी व्यहोर्नुप¥यो। शंकराचार्यको नेपाल आगमनका सम्बन्धमा बौद्ध समाज नकारात्मक हुनु स्वाभाविक हो। शंकराचार्यका कारण भएको नोक्सानलाई स्वयं बौद्धहरूले बढाइचढाइ गर्नुमा आश्चर्य छैन। बरु आफूहरूको दुर्गतिको दोष शंकराचार्यलाई दिएर बसे। नेपाली बौद्ध समाजमा यसबाट ठूलो असर पारेकोे अनुमानका आधार लामो समयसम्म त्यसलाई बिर्सन नसक्नु हो। तर, ती शंकराचार्य अरुलाई चाँडै बिर्सेर आदि शंकराचार्य सम्झन पुगेको पाइन्छ। यो भ्रम प्राज्ञिक प्रकाशनमा देख्न पाइन्छ।

निष्कर्ष
आदि शंकराचार्यले भारतको व्यापक भ्रमण गरेको वर्णन पाइन्छ, तर नेपालको होइन। पशुपतिमा आएका शंकराचार्य पनि उनी होइनन्। अझ, दिग्विजयका क्रममा बौद्ध समाजमा खासै प्रभाव परेको पनि देखिन्न, किनभने दिग्विजय बौद्ध धर्मावलम्बीमाथि थिएन। तर, केही भ्रमका कारण उनीमाथि दोष लागेको हो, अर्थात् नखाएको विष लाग्न पुग्यो।

प्रकाशित: २१ भाद्र २०७६ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App