८ वैशाख २०७८ बुधबार
अन्य

यल पञ्चदान

भिक्षादान वा दान ग्रहणको परम्पराले दान लिने वा दिने दुवैको धार्मिक तथा आध्यात्मिक समुन्नति भई मोक्ष प्राप्त हुन्छ। यसैक्रममा पाटनमा बर्सेनी मनाइने यल पञ्चदानको चर्चा गरौं। यल पञ्चदान वा पञ्जरा बौद्धमाग्रीले श्रावण शुक्ल अष्टमीका दिन मनाउँछन्। यस पर्व नेपाल सम्बत ७९९ देखि शुरू भएको देखिन्छ। बौद्धमार्गी नेवारमा यो चाड उदास (उदाय्), शाक्य (वरे), बज्राचार्य (गुभाजु)हरूमा प्रख्यात छ। बज्राचार्य र शाक्यमा व्रतबन्ध र चूडाकर्म गरिसकेका सवैले कम्तीमा पनि सात घरबाट भिक्षा लिनु पर्छ भन्ने मान्यता हुन्छ।

प्राचीनकालदेखि नै काठमाडौ विशेष गरी बौद्ध तथा हिन्दू धर्म र संस्कृतिका लागि उर्वर रहिआएको छ। लिच्छविकालदेखि नै हिन्दू तथा बौद्ध धर्मले यहाँ फुल्ने अवसर पाए। त्यसभन्दा पहिले नै निर्मित मानिने स्वयम्भू महाचैत्य, विहार, वहावही, चीवा चैत्य लगायतका प्रमाणले उहिल्यैदेखि बौद्ध धर्म उन्नत अवस्थामा रहेको प्रमाणित हुन्छ। लिच्छविकालका अभिलेखमा बौद्ध धर्म र यससँग सम्बन्धित जात्रा, पर्व र दान परम्पराको प्रसंग पाइन्छ।

नेपालको धर्म र संस्कृति वैदिक ग्रन्थ र लौकिक अनुश्रुतिमा आधारित छन्। नेवार लोक परम्परामा प्रचलित आख्यानमा पञ्चदानको पनि वर्णन पाइन्छ। एउटा प्रख्यात जनश्रुति अनुसार पाटनमा भिक्षाटनका लागि आएका भिक्षु दीपंकरलाई तत्कालीन राजाले धेरै दान दिए पनि उनले ग्रहण गरेनन्। तर पाटनको गुइत विहारमा बस्ने लक्ष्मी थकु नामकी गरिव महिलाले श्रद्धापूर्वक दिएको भिक्षा प्राप्त गरी दीपंकर कृतार्थ भएछन्। यो घटना सुनेपछि राजाले पनि सुनारका रूपमा कामगरी आर्जित धनले विभिन्न वस्तु संग्रह गरी दीपंकरलाई समर्पण गरेछन्।

उल्लेखित आख्यान अनुसार पञ्चदान पर्वका मुख्य देवता दीपंकर हुन्। बौद्धमार्गी नेवारले पञ्चदान महिमा मनन गर्दै दीपंकरको भव्य पूजा गर्छन्। दिपंकरले पाटनमा दान लिएको सम्झनामा मनाइने यस पर्वमा पञ्चदानका मुख्य वस्तुहरू धान, पैसा, नुन, अन्न मिठाइ आदिलाई गृहस्थीले आजुलाई समर्थन गर्छन्।

पञ्चदान पर्वका मुख्य देवता दीपंकर हुन्। बौद्धमार्गी नेवारले पञ्चदान महिमा मनन गर्दै दीपंकरको भव्य पूजा गर्छन्।

नेपाल भाषामा पञ्जराँ भनिने पञ्चदानको अर्थ ५ वटा वस्तुको दान भने नभई पुण्यदान अर्थात् पुण्यजा वा पिण्डजा भन्ने भावार्थ डा. रञ्जना बज्राचार्यले आफ्नो पुस्तक ‘पञ्चदान र बौद्ध पर्व’मा उल्लेख गरेका छन्। पञ्जराको मुख्य अर्थ खीर भएकाले यस दिन नेवार जातिले खीर पकाएर पिण्डपात्रमा राखी बुद्धलाई चढाउने र सबैलाई खुवाउने चलन छ।

जीवनको सार्थकतालाई कामना गर्दै परलोक प्राप्त गर्ने उद्देश्यले दान गरिन्छ। भक्तपुर, काठमाडौं, ललितपुर र अन्य स्थानमा फरक–फरक तरिकाले पञ्चदान मनाइने संस्कृतिविद् हरिराम जोशीले उल्लेख गरेका छन्। भक्तपुरमा पञ्चबुद्ध प्रर्दशनी गरेर, साँखुमा खड्गयोगिनीलाई सहरमा ल्याएर र पनौतिमा नमरा बुद्ध भगवानको खट जात्रा गरेर मनाइन्छ।

यसरी पञ्जरां मनाउने दिनको अघिल्लो दिन अर्थात् द्वादशीका दिन बौद्धमाग्रीले आफ्नो घर, छिमेक वा आफ्नो जिम्मामा रहेका भगवान, सुनले लेखेका ग्रन्थहरू, अन्य सम्बन्धित सामग्री वहावहीमा प्रदर्शनका लागि राख्छन्। यसमा पञ्चदानमा दिने सामग्री पनि प्रदर्शन गरिन्छ। पञ्चदान गर्दा आवश्यक सामग्री यस प्रकार छन्।
१) अन्न सामग्री– धान, चामल, गहुँ, गेडागुडी, चना, सिमी, केराउ, बोडी आदि।
२) ज्ञानका सामग्री– सिलौट, कापी, कलम, किताब, आदि।
३) फलफूल सामग्री– काँक्रो, नासपाती, स्याउ, आँप आदि।
४) पेय पदार्थ– गाईको दुध, दुध, चिया आदि।
५) सम्पतिहरूमा– घर, खेत, दक्षिणा, लुगा, कपडा, सियो, धागो आदि।

यसै सन्दर्भमा द्वापरयुगमा दीपंकर तथागतले वाराणसीमा भिक्षाटन गरेको दिनको सम्झनामा  ललितपुरमा श्रावण शुक्ल अष्टमीका दिनमा पञ्चदान गर्ने परम्परा रहिआएको विश्वास पनि जनमानसमा देखिन्छ। लिच्छविकालीन अभिलेख्य साक्ष्य अनुसार विभिन्न राजाले बौद्ध विहार र भिक्षु संघहरूलाई सम्यक दान र नवदान दिएको पाइन्छ। मल्लकालमा आएर बौद्धधर्मले अत्याधिक मात्रामा फुल्ने र फल्ने अवसर पायो। काठमाडौं उपत्यकामा यत्रतत्र फैलिएका चैत्य र विहारले यसै तथ्यलाई प्रमाणित गर्छन्।

नेवार बौद्ध संस्कृतिको अमूर्त र जीवन्त परम्पराका रूपमा रहेको पञ्चदान पर्वले दुःखित मनमा मानवताको मलहम लगाउँछ। अर्कोतिर शील, शान्ति, प्रज्ञा, मैत्रिय भावना, विश्ववन्धुत्वको भावनालाई समेत साझा संस्कृतिका रूपमा व्यक्त गर्छ। नेपालको मौलिक र साझा संस्कृतिका रूपमा रहेका यस्ता सम्पदाको अध्ययन, अन्वेषण र संरक्षण गर्नु सबै नेपालीको दायित्व हो।

प्रकाशित: १४ भाद्र २०७६ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?