coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

यस्तो पो दाइ !

दाइपछि लगत्तै म नजन्मिएको भए, मेरो जीवन यति रोमाञ्चक हुने थिएन होला। बाल्यकालदेखि नै उहाँसँगका प्रत्येक अन्तरक्रिया अत्यन्तै रोचक बने। गाउँले परिवेशसुहाँउदो रमाइला पौरख हरेक पल अलगअलग तर्जुमा गर्नसक्ने उहाँको अद्भूत क्षमता, बाल्यकालीन रोमाञ्चकताको मूल चुरो थियो।

डेढ महिनाको वर्खे स्कुल छुट्टीमा हाम्रो रमाइलो झनै उत्कर्षमा पुग्दथ्यो। वर्षापछि उर्लने पहरीखोलाको गड्गडाहट छालसँग  सामीप्य जोड्ने अनि जतिसक्दो चिच्याएर आफ्नो उन्माद पोख्ने कला सिकाउने गुरु उहाँ नै हो। छाल मत्थर भएको एकदुई दिनपछि खुलेका तालतलाउमा पौडीका लागि उहाँसँगै हामी पनि हेलिन्थ्यौ। माछाझै पौडेर लोभलाग्दो कौशल देखाउने क्रम प्रत्येक वर्ष उहाँ डोहो¥याउनु हुन्थ्यो। आफ्नो विशेष सीपद्वारा संकलित खोलाका भुरा माछा भुतभुते आगोमा पिल्साएर अनुपम स्वाद दिलाउन पनि उहाँ माहिर। जति ठूला भए पनि उहाँले चढ्न नसक्ने कुनै रुख थिएन। एक रुखबाट अर्कोमा फड्कने कलामा समेत उस्तै निपुण। चउरतिरका विशाल आँपवृक्षको हाँगाहाँगामा पुगेर बररर आँप झारिदिने अनि तल केटाकेटीले रोजीरोजी खाएको दृश्य हाँगामै उपरखुट्टी लगाएर मन्त्रमुग्ध पाराले हेर्ने शैली अलौकिक लाग्थ्यो।

वर्षे बिदामा उहाँकै नेतृत्वमा बनमकै (हरियो मकै पिकनिक) आयोजना हुन्थे, नाचगान हुन्थ्यो, उहाँले नै बनाएको तीनपांग्रे काठेबग्गी उहाँलाई बोकेर चउरको सिरानबाट फेदतर्फ सवार हुने गर्दथ्यो। यी गतिविधिमा सरिक हुँदा निम्तिने अनेक तनावसँग पनि सामना गर्नुपथ्र्यो उहाँले। एक त हरेक जोखिम गतिविधिमा आफू र आफूभन्दा सानाको सुरक्षित अवतरणको गरौं जिम्मेवारी, अर्को बुबाआमा र दिदीहरूको दिनप्रतिदिनको गाली।

‘आफू पनि बिग्रियो, बैनीहरूलाई पनि बिगार्ने भयो’, दिनभरको  चर्तिकला सकेर साँझ गृहप्रवेश गर्नेबेला हरपल उहाँले सुन्नैपर्ने वाक्य हुन्थ्यो त्यो।

बाललीला मात्र हैन, जिम्मेवारीका प्रत्येक तहमा समेत उहाँ आदर्श नै सावित हनुहुन्छ। चित्रकला, खेलकुद, संगीत, वाद्यवादन, कविता, नाटक लेखन आदि सबैतर्फ दरो जम्नसक्ने उत्तिकै संभावना थियो तर कलेज सुरु हुनासाथ कमाउने र व्यवहार धान्ने क्रम चल्दा उहाँका ती प्रतिभाले जुर्मुराउने मौका पाएनन्। एसएलसी सकेर क्याम्पस पढ्न थालेसँगै आर्थिक अभिभारा स्वतःस्फुर्त ग्रहण अनि थोरै अन्तरालमा समग्र घरायसी जिम्मेवारीको बोझ बोक्ने तत्परता उहाँकै स्वविवेक थियो। स्नातक अध्ययन थालेसँगै सबै खाले पारिवारिक दायित्व बुबाको टाउकोबाट उतारेर आफैमा समाहित गर्नु चानचुने कुरा थिएन। यो मामिलामा बुबालाई संसारभरकै भाग्यमानी व्यक्ति ठान्दछु म, सन्तानको शिक्षादिक्षा तथा विहेबारी कुनै पक्ष पनि बेहोर्नु नपर्ने गरी उहाँलाई जवानीमै मिलेको उन्मुक्तिको कारक दाइ नै हुनुहुन्छ।

आमाबुबाको भन्दा बढी आत्मीयता र प्रेम दिदीबहिनीमा खन्याउँदा उहाँमा गजबकै आत्मसन्तुष्टि देखिन्छ। व्यवहारिक थिचाइका सयौं पत्रहरू भित्रैसमेत उहाँ सधैँ प्रफुल्ल, निश्चिन्त, उदार, सम्पन्न र प्रेरणादायी।

आफू र भाइवहिनीको शिक्षादिक्षाको चाँजोपाँजो त छँदै थियो, सहपाठी दिदीको विहेबारीको दायित्वलाई समेत विद्यार्थीकालमै दाइले नै वहन गर्नुभयो। देखावटी काम सम्पन्नको झर्रो सिलसिला मात्र हैन, भावनात्मकता पनि उत्तिकै पोखिन्छ उहाँका हरेक काममा। बिहेको भोलिपल्ट दिदीभिनाजु दुरान फिराउन आउनु भयो। घर फर्कनेबेला दिदीको मेकअप दाइलाई पटक्कै चित्त बुझेन। घर जान ठिक पर्नुभएकी दिदीलाई बेडमा बसाएर पहिला अनुहारको श्रृङ्गार उतार्न तल्लीन हुनुभयो अनि मेकअप ब्रस दिदीको चेहरामा दौडाउन थाल्नुभयो।

दुलही हेर्न/विदा गर्न जम्मा भएका गाउँका महिलाजनलाई दिदी भाइबीचको त्यो भावनात्मक दृश्यले निकै भावुक बनायो। सबैका आँखामा आँसु छचल्किए। केहि क्षणमै दिदीको चेहरा आनकातान फरक देखियो। अघिको तुलनामा निकै सुन्दर हुनुभएकी दिदी, भाइले लगाइदिएको आइलाइनरले सजिएको आँखामा टम्म आँसु भरेर कर्मघर फर्कनु भयो, उहाँसँगै त्यहाँ रहने कसैका आँखा ओभाना भएनन्। चेलीको बिदाइ आफैमा कारुणिक हुन्छ नै तर त्यो परिवेशलाई बढी संवेदनशील दाइको त्यही कृत्यले बनाएको थियो।  

मेरो हकमा दाइँंगको भावनात्मक पक्ष अझ धेरै छन्। क्याम्पस सुरु गर्ने उमंग छाएकै बेला सामान्य दुर्घटनाले दाहिने हात भाँचियो। करिव १ महिनाको प्लाष्टरपछि सबैभन्दा ठूलो सरकारी अस्पतालले कुहिनो मुनिको भाग काट्नु पर्ने बतायो। विकम दोस्रो वर्षको परीक्षाको मध्यमा रहनुभएका दाइको चिन्ता र सक्रियता मेरै कारण चुलियो। आफ्नो परीक्षाभन्दा मेरो हात जोगाइदिने डाक्टरको खोजी उहाँको एक मात्र सरोकार बन्यो, उपचारमा लाग्न सक्ने पैसामा उहाँको मन खुम्चिएन। नामी हाडजोर्नी डाक्टरले निजी अस्पतालमा  अपरेशन गरे तर तिनले भन्न छुटाएनन्– “यो हातले कुनै काम गर्ने आशा नराख्नु, देब्रे हातले लेख्ने अभ्यास थाल्नु, मैले त हात सिंगो मात्र राख्न सकिन्छ कि भनेर हेरेको हुँ, काम गर्ने ग्यारेन्टी छैन यसको।”

डिस्चार्ज हुनेबेला त्यही हातको उपचारका लागि दाइले तिर्नुभएको पैसाको परिमाण थाहा पाएर मेरो मन गरौ भयो, वर्षाको मूलझै केही दिन आँखा रसाइरहे। अपरेशनपछिको ६ महिना मेरो फिजियोथेरापीप्रति दाइ जसरी समर्पित हुनुभयो, त्यो कुनै माध्यमबाट पनि प्रस्तुत गर्न सक्दिन म। जसका कारण डाक्टरले समेत नसोचेको परिणाम हासिल भयो। डाक्टरले बेकम्मा ठानेको हात एक वर्षको अन्तरालमा सबै काम गर्न सक्ने भयो।

फलोअपमा जाँदा डाक्टरले स्वीकारे “यो प्रोपर फिजियोथेरापीकै देन हो, यति राम्रो फिजियोथेरापी मैले अहिलेसम्म पाएको थिइन।” आमाबुबाले जन्म दिनुभयो तर दाहिने हात बचाएर नयाँ जीवन दिने काम दाइकै हो। तसर्थ मेरा आँखाहरूले दाइको आकृतिभित्र  जन्मदाताकैस्वरूप नियालिरहन्छ।  

हाम्रा जेसुकै कामका लागि पनि उहाँ हरदम तयार। कलेज पढ्न थालेपछि समेत कपाल उहाँकै हातबाट काटिन्थ्यो, बोइज, थाई, स्टेप जस्तो भने पनि काटिदिने। एकपटक एउटा प्लाष्टिकको हुक प्रयोग गर्दै मेरो कपालमा आकर्षक जुरो बनाइदिनु भयो। त्यही जुरोमा अफिस गएँ। अफिसमा सबैको ध्यान मेरो जुरोमा अडियो, खुवै बखान भयो। दाइले बनाइदिएको सुनाउँदा अधिकांशलाई विश्वास लागेन।

महिनावारीका बेला बहिनी र म अक्सर पेट दुखेर अररिन्थ्यौं, दाइ खुईय सुस्केरा हाल्दै ममता बर्साउनु हुन्थ्यो– “हे भगवान् ! यिनीहरूको यो सास्ती मैले कसरी हेरिरहनु ?” पढाइको सिलसिलाले बुबाआमाभन्दा दाइकै अभिभावकत्वमा बढी समय गुज्रियो। शिक्षा, संस्कार, अनुशासनको मूलश्रोत आमाबुबा भए पनि फैलाउने र व्यवहारिक कसीमा ढाल्ने काम दाइले नै गर्नुभयो। काठमाडौंमा उहाँको अभिभावकत्वमा रहँदा सबै कुरा निर्धक्क आदानप्रदान हुने वातावरण बनिरह्यो। सबै कुराको असल/खराब पाटो बताइदिने तर बारबन्देज नगर्ने उहाँको गुण यथावत् छ। खाद्य/पेय पदार्थको बारेमा प्रयोगात्मक विधिबाटै सचेतना दिलाउनु भयो, नचाहिँदो कौतुहलता जाग्नै पाएन र गलत बाटो कसैबाट अख्तियार भएन। स्वाद सबैको थाहा पाउनु तर लत÷कुलतमा नफस्नु भन्दै चुरोट, वाइन लगायत पेयपदार्थ उहाँले नै हामीलाई चखाउनु भयो र अन्तमा भन्नुहुथ्यो “न स्वाथ्यलाई राम्रो, न बेहद स्वादिलो, यसलाई केके न ठानेर लुकिछिपी लत बसाल्नुपर्ने केही कुरा छ त ?” यस्तै प्रभावकारी सिकाइ घरघरमा अवलम्बन भए कुलतमा सायद कोही फस्ने थिएनन् !   

दिदीहरूसँग नसकेका कुरा म दाइसग निर्धक्क भन्दथेँ। बिहेको मामिलामा पनि त्यस्तै भयो। पारिवारिक तहबाट केही विहेका प्रस्ताव आए। आफूले दिएको जवाफ केटाको घरसमक्ष पुग्दा मोडिएर अर्कै भैसक्ने रहेछ। जसका कारण एउटा प्रस्तावकको परिवारले २ वर्षपछिसम्म मेरै बाटो कुरेर बसेको सुनेपछि सारै ग्लानी भयो। त्यही असन्तोष दिदीहरूलाई छोडेर मैले दाइसमक्ष पोखेँ। त्योवेला उहाँले भन्नु भएका कुरा मननीय थिए– “विहे नै नगर्ने निर्णय लिन पनि तँ स्वतन्त्र छेस्, गर्ने हो भने उपयुक्त समयमा गर्दाका फाइदा यीयी छन्, स्नातकोत्तर सकेकी छस्, आत्मनिर्भर भैसकिस्, अब विहेबारे सोच्दा नराम्रो हुँदैन तर अहिले मन छैन भने जुनबेला सोचाइ बन्छ, मलाई निर्धक्क भन्नु म प्रक्रिया अघि बढाउँछु। यदि आफ्नै मनले खाको कोही फेला प-यो भने त्यो पनि निश्चिन्त भने हुन्छ, अब विहेका बारेमा कसैसँग स्पष्टोक्ति दिनु या चिन्ता लिनु पर्दैन।” विहे गर्नेतिर नसोचेकोबारे विशेषतः आमा र दिदीहरूबाट असन्तोष खेपिरहेका बेला दाइबाट यति आडभरोसा पाएपछि मेरो चिन्ता क्षणभरमै दूर भएको थियो। समयक्रममा सहकर्मी केटा रोजाइमा प¥यो। रंगीन सपना सँगालेर सोही केटाको प्रसंग दाइसमक्ष पेश गरेँ। उहाँलाई प्रष्ट्याएपछि मैले आमाबुबा÷दिदीहरू कसैसँग अनुनयविनय गर्नु परेन न त उहाँहरूमा जागेका कुनै जिज्ञासा (असन्तोष÷पीर, चिन्ता, द्घिविधा) बारे म आफैले जवाफ दिनुप¥र्यो। उठेका सवै कुरा निप्टारादेखि विधिपूर्वक विहेका सारा जिम्मेवारी दाइबाटै वहन भयो। मैले रोजेको केटासँग लगन कसिदिएर मेरो धोको पूरा गरिदिने दाइको भूमिकाप्रति म उत्तिकै अनुगृहित छु।

किशोरावस्थादेखि नै आफ्नै कमाइ थियो। सवारी साधन थियो, मोजमस्तीमा भुल्न चाहेको भए उहाँलाई रोक्ने सामथ्र्य कसको ? तर यतिसम्म कि आफ्नो विहेका लागि केटी रोज्ने जिम्मेवारी समेत हामी दिदीबहिनीमा सुम्पनु भयो। परिवारले चित्त वुझाएको केटीभित्र अरु थप लक्षण नखोज्ने उहाँको अडान व्यवहारमै परिणत भयो। भाउजूलाई उहाँले खन्याउने माया, दिने सम्मान र हरेक काममा पु¥याउने सहयोग समेत उस्तै अद्घितीय छ। उहाँका कतिपय समकालीन अझै पनि पारिवारिक जिम्मेवारीबाट पूर्णतः मुक्त छन्, उनीहरूका अधिकांश समय आफू केन्द्रित मोजमस्तीमा सकिन्छ तर किशोरावस्थाको अन्त नहुँदै सुरु भएको सर्वपक्षीय मूल जिम्मेवारीको जाँतो दाइकै टाउकोमा फनफनी घुमिरहेको छ। यति हुँदा पनि उहाँमा जति सन्तुष्टि म अरुमा पाउँदिन।  आमाबुबाको भन्दा बढी आत्मीयता र प्रेम दिदीवहिनीमा खन्याउँदा उहाँमा गजवकै आत्मसन्तुष्टि देखिन्छ। व्यवहारिक थिचाइका सयौं पत्रहरू भित्रैसमेत उहाँ सधैँ प्रफुल्ल, निश्चिन्त, उदार, सम्पन्न र प्रेरणादायी। अरूहरूलाई आडभरोसा र आत्मविश्वास बढाउने मामिलामा समेत उस्तै अग्रसर। उत्तरदायित्वको भारले उहाँको रमाइलोलाई समेत कम गर्न सकेको छैन। फरक के भने, उहाँको रमाइलोभित्र समग्र परिवार अटाउँछ, नातागोता, चेली कुटुम्व सब अटाउँछन्। आफू एक्लैको रमाइलोले उहाँलाई कहिल्यै सन्तुष्टि दिँदैन।

दाजुभाइ र चेलीवबेटीबीचको सम्बन्ध प्रगाढ नभएको स्थिति जहीँतहीँ देखिन्छ। एकापसको प्रेमको सट्ठा द्घैष र वैमनश्य हावी हुँदा सहोदर बीचको सम्वन्ध नै बोझिलो भएको गुनासो गर्ने प्रशस्तै छन्। चेलीबेटीलाई बोझ मात्र देख्ने दाजुभाइ र दाजुभाइको विवशता नवुझ्ने दिदीबहिनी दुवै पक्षको दायरा फराकिलो भएको समाजभित्रका विभिन्न दृष्टान्तले देखाउँछ। सहोदरीय सम्वन्धबीच चुलिएको कटुताले आवातजावत÷बोलचाल समेत बन्द भएका कतिपय अप्रिय घटना यिनै आँखाले समेत हेर्नुपरिरहेको हुन्छ। म सोच्ने गर्छु– समाजभित्रका सबै दाजुभाइमा मेरै दाजुभाइको विशेषता र चरित्रका केहि बाछिटा मात्र प¥यो अनि सबै दिदीबहिनीले हामीले झै माया र सद्भाव दाजुभाइलाई खन्याए भने घरघरको परिवेश कति मनोरम हुँदो हो !

प्रकाशित: १४ भाद्र २०७६ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App