३१ श्रावण २०७७ शनिबार
अन्य

पोताला दरबार घुमेर हेर्दा...

तिब्बतको पोताला दरबार

फराकिला सडक र गगनचुम्बी महल कुनै पनि देशको आर्थिक विकास र समृद्धिका सूचक हुन्। विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठाउँछ। तर, समाजलाई जीवन्त राख्न आर्थिक विकास मात्र होइन, आफ्नो पहिचान चाहिन्छ। आर्थिक विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठे पनि मौलिक संस्कृति र परम्परा बाँकी रहेन भने अस्तित्व समाप्त हुन्छ। यसलाई चीनले मात्र होइन, उसको स्वशासित क्षेत्र तिब्बतले पनि राम्रोसँग मनन गरेको देखिन्छ। पूर्वाधार निर्माणमा विश्वलाई छक्क बनाइरहेको चीनले वातावरणीय असर कम गर्ने उपाय मात्र खोजिरहेको छैन। आफ्ना गौरवपूर्ण गाथा र संस्कृतिलाई पनि उत्तिकै महत्वका साथ संरक्षण गरिरहेको छ।

हिजोका तिनै धरोहरहरू संरक्षण गरेर आज चीन र तिब्बत विश्वभरका पर्यटकलाई आकर्षित  गरिरहेका छन्। चाहे नयाँ संग्रहालय निर्माण गरेर होस् वा पुराना अवशेषहरूलाई  सुरक्षित गरेर किन नहोस् उसले पितापूर्खा र पुराना अवस्था पनि विश्वलाई देखाइरहेको छ। उसले भनिरहेको देशको विकास त यसरी गर्ने हो। 

हिमालले खाएका पठारमा सुन्दर बस्ती सहितको कृषि उत्पादनदेखि समुद्रमाथिको पुल निर्माण गर्न चाहे असम्भव केही छैन भन्ने चीनले देखाइरहेको छ। उसले नयाँ आविष्कार र निर्माण मात्र होइन, प्राचीन सम्पदा संरक्षणमा पनि उत्तिकै ध्यान पु-याएको छ। बेइजिङमा रहेको पिपुल संग्राहलय होस् वा तियानम्यान चोक स्वदेशी र विदेशीका लागि आकर्षणको केन्द्र छ। एकै दिन ८० हजारसम्मले संग्रहालय अवलोकन गर्न सक्छन्। ग्रेटवाल त्यस्तै पर्यटक रमाउने अर्को केन्द्र हो। पुरातात्विक महत्व राख्ने यस्ता धेरै केन्द्रलाई उसले जीवन्त बनाइराखेको छ। चीनले मात्र होइन, तिब्बत पनि आफ्नो कला, संस्कृति, परम्परा र पुरातात्वक महत्वका वस्तुको संरक्षणमा सक्रिय छ।

विश्वको सबैभन्दा उचाइमा रहेको ल्हासा सहर तिब्बतको राजधानी हो। ३ हजार ४ सय ९० मिटर उचाइमा रहेको सहर गोफेल हिमालको काखमा छ। बौद्ध धर्मावलम्बीको पवित्र स्थल यो सहरका पोतला र नोर्बुहिङ पुराना दरबार हुन् भने जोखा, रामोचे टेम्पल, नाम्को लेक यहाँका आकर्षण हुन्। यस्तै लोखा तिब्बती संस्कृतिको जन्मभूमि हो। यहाँको रमणीयस्थलमा तिब्बती राजाको चिहान, युन्बोल्हाकाङ, सम्या मोनास्ट्री, ट्रान्ड्रुक टेम्पल, चोङ्ए जो क्यासल र लेक याम्जोग युम्को छन्। साम्या मोनाट्री तिब्बती बौद्ध धर्मावलम्बीका लागि समर्पण गरिएको पहिलो विहार हो। सगरमाथा, तास्हिल्हुन्पो मोनास्ट्री, शाक्य मोनास्ट्री, पाल्खोर मोनास्ट्री, सालु मोनास्ट्री, लेक ड्राक्सुम–सो, लुना फरेस्ट, यार्लुङ जाङ्बो ग्रान्ड क्यान्योन र यिगो नेसनल जियोपार्क पनि यहाँका आकर्षण केन्द्र हुन्। तिब्बतलाई उत्तरी तिब्बत उच्च समभूमि, यारलुङ जाङ्बो नदी क्षेत्र, पूर्वी तिब्बत गरी तीन भागमा विभाजन गरिएको छ।

संसारकै उचाइमा रहेको ल्हासा (३,४९० मिटर) तिब्बतको राजधानी हो। गोफेल हिमालको काखमा थुपुक्क बसेको सहरका पोतला र नोर्बुहिङ पुराना दरबार हुन्। त्यस्तै, अन्य पवित्र आकर्षणहरूमा जोखाङ रामोचे टेम्पल र नाम्को लेक पर्छन्।

७ हजार मिटरका ५० भन्दा तधेरै हिमाल र ११ वटा ८ हजार मिटर अग्ला यहीँ छन्। १७ सय मठ मन्दिरसहित धार्मिक अनुष्ठान रहेको यहाँ ८८ बोन मन्दिर, चार मस्जिद र एउटा क्याथोलिक चर्च छन्।

पोताला दरबार
तिब्बत पुग्नेहरूको आकर्षणको केन्द्र हो, पोताला दरबार। चट्टानमाथि आकर्षक र मौलिक तिब्बती शैलीमा निर्मित दरबार स्थानीय धर्म, कला र संस्कृतिको बेजोड नमुना हो। जोखाङ मन्दिर, पुंग र सेरा गुम्बा पनि यहाँका आकर्षण केन्द्र हुन्। १३ सय वर्षअगाडि बनाउन सुरु गरेको दरबार पछिल्लो समयमा विस्तार भएको पुरातत्वका अधिकारीले जानकारी दिए। १३ तले दरबार सातौँ शताब्दीमा सोग्त्सेन गाम्पोले ल्हासा उपत्यकाको मध्यमा अवस्थित रातो डाँडा नामक पहाडमा खनेर एक गुफा बनाएका थिए रे। पाताल भन्ने शब्दबाट पोताला नामकरण गर्दै पाचौँ दलाई लामाले सन् १६४५ मा यसको निर्माण सुरु गराएको मानिन्छ।

जोखाङ टेम्पल

मंगोलियाका शासक गुश्री खान धेरै पटक ल्हासा आएका थिए। उनलाई यसबाट आध्यात्मिक अनुभूति भएकाले दलाई लामासँग भेटरे खान बुद्ध धर्ममा दीक्षित भएको भनाइ छ। खानको सर्तहीन सहयोगबाट दलाई लामा तिब्बतको दृढ धार्मिक र राजनीतिक शासकका रूपमा उदाएका हुन्। तर, पोताला दरबार बनाउँदा–बनाउँदै उनको अचानक मृत्यु भयो। उनको मृत्यसँगै दरबार निर्माण काम रोकिएला भनेर सहयोगीहरूले १३ वर्षसम्म उनको शव सुरक्षित राखेको पढ्न पाहिन्छ। दलाई लामा कसैसँग नबोल्ने साधना रहेको र कसैलाई पनि नभेट्ने भनेर उनका सहयोगीहरूले अरूलाई काममा खटाइएको पाइन्छ।

दलाई लामाको मुख्य सहयोगी सा गयात्सोले उनको शरीर काठको बाकसमा सिल्क र सुतीको कपडाले बेरेर दालचिनी, केसर, कपुर र नुनभित्र बन्द गरेर १३ वर्षसम्म सुरक्षित राखे उल्लेख छ। पछि पोतालामै ६४ फुटको सुनको फ्रेममा उनको शरीर समाधि गरिएको छ, जुन स्थान देख्न सकिन्छ। त्यही भव्य दरबार १९५९ सम्म दलाई लामाको शिशिर यामको आवासगृह र प्रशासनिक तथा धार्मिक कार्यालय थियो। करिब हजार कोठा रहेको दरबार विश्वसम्पदामा सूचीकृत छ। यसको १३ औं तलामा प्रवेशका लागि युनेस्कोले प्रतिबन्ध लगाएको छ। तिब्बतको धार्मिक, ऐतिहासिक र सांस्कृतिक संग्रहालयमा परिणत भएको पोतालामा लामाहरूका मूर्ति, वस्त्र र कामको उल्लेख छ।

सुनको प्रशस्त प्रयोग र कलाकारिताको अनुपम कृति झल्कने पोतालाको भित्री संरचनामा नेपालको मध्यकालीन बौद्धकला, शाक्यमुनि बुद्ध र तिब्बतेली बौद्ध कलाको महत्वपूर्ण संमिश्रण पाइन्छ। आजको युग शाक्यमुनि गौतमको रहेको र यो अझै दुई हजार वर्षसम्म कायम रहने विश्वास गर्ने तिब्बतीको छ। त्यसैले त तिब्बतीहरू ओम् माने पेमे हुँम् भन्दै यसलाई पवित्र मन्दिरका रूपमा परिक्रमा गर्छन्। यहाँ दैनिक हजारौं पर्यटक अवलोकन गर्छन्। नेपाली चेली राजकुमारी भृकुटीलाई यहाँ बौद्ध धर्मको प्रचार र परिमार्जन गरेको भनि तिब्बती श्रद्धा गर्छन्।

भृकुटीको मूर्ति पोतालाका विभिन्न ठाउँमा देख्न सकिन्छ। जोखाङ मन्दिर र भृकुटी बुद्ध धर्म तिब्बतमा फैलाउने तीन धर्म राजा थिए। पहिलो राजा सोन्गत्सेन गाम्पो हुन्। नेपालका अंशुवर्माले मित्रतास्वरूप छोरी भृकुटीलाई एक बुद्ध मूर्तिसहित गाम्पोसं“ग विवाह गरी तिब्बत पठाएका थिए। एक राक्षसनीको शरीरमा तिब्बत फैलिएको हुनाले जबसम्म त्यो राक्षसनीको शक्ति क्षय हुँदैन, बुद्ध धर्म फैलिँदैन भन्ने स्वप्न आज्ञा भएअनुरूप उनले घुँडा, कुइना, कम्मर र काँध परेका तिब्बतका विभिन्न ठाउँमा मन्दिर बनाई ल्हासाको केन्मा बुद्धको मूर्ति स्थापना गरी जोखाङ मन्दिर स्थापना गरे। त्यो मन्दिर तिब्बतीको सबैभन्दा महत्वपूर्ण श्रद्धाको केन्द्र हो।

तिब्बतेली बौद्ध परम्परा र नेपाली कलाको बेजोड नमूना यो मन्दिर तिब्बतेली बौद्ध परम्परा, शाक्यमुनि बुद्ध तथा अन्य बुद्धहरूको संगम रहेको छ। मन्दिर निर्माणमा नेपाली, भारतीय र तिब्बतेली कालिगढको संलग्नता पाइन्छ। रिम्पोछेका मूर्ति र चैत्यहरू सुनले बनाइएका छन्। आधुनिक कालसम्म आइपुग्दा पनि हरेक वर्ष यहाँ केही न केही अंश थपिएको पाइन्छ। यहाँ स्रन्चङ गम्पो नेपाली चेली तथा महारानी भृकुटी तथा तिब्बतेली महारानी वाङचेङको मूर्तिलाई आदरभावका साथ राखिएको छ।

तिब्बत शक्तिशाली राष्ट्रका रूपमा त्यतिबेला उदायो जब सम्राट स्रङचङ गम्पोले सातौं शताब्दीतिर यार्लुङ नदीको समथल भूभागस्थित विभिन्न नामका रजौटालाई एकीकृत गर्दै विशाल साम्राज्य विकास गरेका थिए। उनले तय गरेको तिब्बतको नक्सा लामो समय टिक्न नसके पनि आफ्नो साम्राज्यलाई दिगो र समृद्ध बनाउन सम्राट गम्पोले दुवै छिमेकीसँग पारिवारिक सम्बन्ध गाँसेको पाहिन्छ। लिच्छविकालीन नेपालकी छोरी भृकुटी र त्यही समयतिर चीनका शक्तिशाली शासक ताङ वंशकी छोरी वाङचेङसँग विवाह गरी आफ्नो देशको सीमालाई पारिवारिक सम्बन्धले बाँधेका उनले अंशुबर्माकालीन नेपालमा रहेको कला, कौशल र सीपको वैभव तिब्बत भित्र्याएका थिए। १३ सय वर्षपहिला भृकुटीले माइती नेपालबाट लगेको ढोका जोखाङ मन्दिरमा छ।

सिगात्से रेल स्टेसन
तिब्बतेली बौद्ध परम्परामा शाक्यमुनि बुद्धलाई अत्यन्तै आदरका साथ पुजिने गरेको बताउँदै मन्दिरका गाइड तोपग्येले भृकुटीले तिब्बतको बौद्ध सम्प्रदायलाई समेटेर नयाँ गति दिएकाले अहिलेसम्म पनि तिब्बतमा शाक्यमुनि बुद्धलाई तिब्बतेली बौद्ध सम्प्रदायको बलियो आधार मान्ने गरेको सुनाए।

आठौं शताब्दीको अन्तिममा सिद्धयोगी पद्मसम्भवले योगबल, शक्ति, जादु, कर्मकाण्ड जस्ता धर्मका बाहिरीभित्री सबै तत्व, आवरण प्रयोग गरेर तिब्बतीलाई प्रभावमा पारेर बुद्ध धर्मको नयाँ संस्करण तिब्बतमा उदाएको बताइन्छ। बुद्ध धर्म र त्यो बेला स्थानीय रूपमा मौलाएको बोन धर्म सुरुमा एक अर्का विरोधी भए पनि केही शताब्दीपछि यी दुई धर्मले समान गुणधर्मका देवता, दर्शन र कर्मकाण्डको समन्वयकारी विकास गर्दै लगे। यो विशेष परिस्थितिलाई सफलतापूर्वक छिचोली बुद्ध धर्म स्थापना गरेको भन्दै तिब्बतीहरू पद्मसम्भवलाई गुरु रिम्पोचे भनी श्रद्धाले पुकार्छन्।

सुन्दर सिगात्से
सिगात्से र तासी ल्हुनपो ल्हासादेखि २ सय ७१ किलोमिटर दुरीको अर्को सुन्दर सहर हो सिगात्से। तिब्बतको बाटो भएर सगरमाथा मात्र होइन कैलाश पर्वत र मानसरोवर जाने पर्यटक पनि यहीँ भएर जाने गर्छन्। फराकिला, चौडा र सफा सडक मात्र होइन सडककै बीचमा फूलका बगैंचा यहाँका आकर्षण। सडक बीचमा लहरै सजाइएका फूलहरूले सिगात्सेलाई अझ सुन्दर बनाएको छ, जहाँ पाञ्चेन लामाको दरबार पनि छन्।

ताशी ल्हुनपो मन्दिर तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेको ड्रोल्मारी माउन्टेनको पहाडमा छ। तिब्बती भाषामा यसको अर्थ सबै ठाउँ र सुख जम्मा गर्ने ठाउँ हो। राज्यको संरक्षणमा रहेको मन्दिर तिब्बती बौद्ध धर्मको गालुग परम्पराको उच्च श्रेणीको तुल्कु वंशको क्रमिक पञ्चेन लामाको परम्परागत सिटका रूपमा मानिन्छ। तिब्बतको गेलुगुपाको छ वटा ठूलो गुम्बामध्ये एक यो १४४७ मा दलाई लामाले स्थापना गरेका हुन्। भव्य खैरो भवन जसमा सुनौलो कौसी र सेता पर्खाल छन् भने भित्र मुख्य भवन मैत्रेय चापल, पञ्चेन लामाको दरबार र केलसंगा मन्दिर छ। दायाँपट्टि रहेका थानका पर्खाल पहिलो दलाई लामाले निर्माण गरेका हुन्। तिब्बतमाथि चीनले धावा बोलेसँगै यहाँका केही भवन नस्ट भएका थिए। केही अवशेष स्थानीयले जोगाएका छन्।

दसौं पाञ्चेन लामाले १९८५ मा पूर्वजहरूको सम्मानमा नयाँ चैत्य निर्माण सुरु गरेका थिए। २२ जनवरी सन् १९८९ मा यसको निर्माण सकिएको हो। १९८० को दशकदेखि तासी ल्हुनपो मन्दिरका केही भाग सर्वसाधारणका लागि खुला गरिएको छ। जुन आज पर्यटकका लागि आकर्षण केन्द्रमा परिणत भएको छ।

पाञ्चेन लामाको दरबारसँगै मैत्रेय बुद्धको विशाल मूर्ति र थुप्रै बौद्ध गुम्बा संरक्षित गरिएको छ यहाँ। सिगात्से र ल्हासाको बीचमा महत्वपूर्ण सम्बन्ध रहेको छ। ल्हासामा रहेको पोताला दरबारबाट दलाई लामाहरूले तिब्बतमा जब दलाई लामको निधन हुन्छ र अर्को दलाई लामा चयन नहुँदासम्म पाञ्चेन लामाले कार्यवाहकको जिम्मेवारी निर्वाह गर्छन्। तिनै पाञ्चेन लामाले दलाई लामा छनोट गर्ने तिब्बतीयन राजनीतिका जानकारहरू बताउँछन्। यद्यपि १९५९को परिवर्तनपछि तिब्बत र त्यहाँका केही परम्परा फेरिएका छन्। दलाई लामा भारत निर्वासनमा छन्। १० औं पाञ्चेनले स्वदेशमै बसेका थिए। 

चीन सरकारलाई सहयोग गरेर पाञ्चेन बसेको आरोप दलाई लामाका समर्थकले लगाउने गरे पनि चिनियाँ कम्युनिष्ट शासकका तर्फबाट पटकपटक यातना पाएको उनका अनुयायीको तर्क छ। यद्यपि उनको १९८९ मा निधन भइसकेको छ। त्यसपछि पाञ्चेन लामाको नियुक्ति विवादमा पर्दै आएको छ। पश्चिमको मैत्रेय मन्दिरमा ३० मिटर अग्लो मैत्रेय बुद्ध विशाल कमल सिंहासनमा छ।

मुख्य जप हल भव्य छ। त्यहाँ एकै पटक २ हजार बढी मानिसले जप गर्न सक्छन्। त्यहाँ शाक्यमुनि र उनका ज्येष्ठ शिष्य, संस्थापक र चौथो पञ्चेन लामाका मूर्ति छन् भने चारै कुनामा भिक्षुका दर्जनौ मूर्ति छन्। ७० हेक्टरमा रहेको गुम्बामा ८ सय भिक्षु रहेको जानकारी दिंदै वरिष्ठ भिक्षु तथा पुरातात्विक विज्ञ छिरिङ दोर्जेले दैनिक १४ सय बढी पर्यटक आउने जानकारी दिए। त्यहाँ रहेका दुइटा ठूला हल ५ सय ७० वर्ष पुरानो रहेको सुनाउँदै उनले भने, ‘अहिले शाक्यमुनि बुद्धको युग हो। दुई हजार वर्षपछि मैत्रय बुद्धको युग सुरु हुन्छ।’

यामड्रोक
तिब्बतलाई संसारको छानो र विश्वको तेस्रो खम्बा भनिन्छ। सबैभन्दा अग्लो चार हजार माथिको सहर तिब्बत हिमालय पर्वत र तालको स्रोतका रूपमा हेर्ने गरिन्छ। मानसरोवर नाम्त्सो ताल र यामड्रोक अर्थात् माथिल्लो खर्क यहाँका आकर्षण हुन्। तिब्बत पुग्ने जोकोहीलाई यामड्रोकले लोभ्याउने गर्दछ। यो ताल दक्षिण पश्चिम ल्हासाको नान्गात्से काउन्टिको स्याननमा छ। तालको छेवैमा निर्माण गरिएका फराकिला सडक हुँदै यसको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ। खाम्बा लाबाट यस तालको मनोरम दृश्य देख्न सकिन्छ। त्यति मात्र होइन, यहाँबाट भुटानको सबैभन्दा अग्लो पहाड कुला काीको समेत अवलोकन गर्न सकिन्छ। जिम्नोसिप्रिस प्रेजवालिस्की नामक माछाका लागि प्रख्यात तालको किनार चौरी, भेडाहरूको चरन क्षेत्र पनि हो। पूर्वदेखि पश्चिमसम्म १ सय ३० किलोमिटर लम्बाइ र ७० किलोमिटरसम्म चौडाइमा फैलिएको ताल ४ हजार ४ सय ४१ मिटरमा छ। ताल २० देखि ४० मिटरसम्म गहिरो  छ।

दास प्रथाको नमूना
पाला मनोरम नेसनल टुरिस्ट क्वालिटी इभालुयसन कमिटीले सञ्चालन गर्दै आएको पर्यटक केन्द्र हो। तिब्बतमा पुरानो जमिनदारी प्रथा कस्तो थियो भन्ने यो एउटा उदाहरण हो। विगतको वस्तुस्थिति जीवन्त राखिएको छ। सुन्दर सजावट, अत्याधुनिक फर्निचरसहित लक्जरीसले पाल परिवार र सामन्ती संस्कारको ज्ञान पनि हुन्छ। तिब्बतको राजनीति, संस्कृति र आर्थिक अवस्था अनुसन्धानका लागि यो महत्वपूर्ण मानिन्छ।

गाउँबाट पक्राउ गरेर ल्याएका सर्वसाधारण पाला परिवारका लागि सामान्य खेती–किसानीदेखि पशुपालन मात्र होइन, मदिरा उत्पादन, सिलाइ–बुनाइ, सिलाइसहितका काम कसरी गर्थे भन्ने अहिले पनि देख्न सकिन्छ। प्रत्येक तलामा फरक–फरक ढंगले त्यसलाई निर्माण गरिएको छ। पहिलो दासका लागि, दोस्रो काम दारका लागि र तेस्रोमा पाला परिवार  बस्ने गर्थे। त्यहाँ मनोरञ्जन, बैठक कक्ष, ओछयान सहितका कोठा छन्। पाला परिवारले त्यतिबेला प्रयोग गरेका सामग्रीले उनीहरू कति सम्पन्न थिए भन्ने अनुमान लगाउन सकिन्छ। उनीहरूले प्रयोग गरेको कप, बिस्कुट, बहुमूल्य खजाना, बाघ, मृगका छाला मात्र होइन, आधुनिक व्यायामशाला, नीलमणि, रुबिज, हीरा, चश्मासहितका सामान पनि देख्न पाइन्छ। 

जमिनदारको दुई हजार हेक्टरभन्दा बढी जमिन थियो। तीन हजार सर्व (दास अर्थात् एक किसिमको बँधुवा) थिए। जमिनदार भुटानी मुलका उनका श्रीमती तिब्बती मुलकी। प्रजातान्त्रिक परिवर्तनपछि सबै सम्पत्ति राष्ट्रियकरण गरियो। ल्हासाबाट तीन सय किलोमिटर पश्चिममा रहेको यो ठाउँमा पुरानो अवस्था संरक्षण गरिएको छ। सन् १९५९ मा तिब्बतको राजनीतिक परिवर्तनसँगै उनीहरूलाई त्यहाँबाट विस्थापित गरिएको हो। कोही समुद्रपारि भागे भने कोही ठूला सहरमा।

प्रकाशित: ३२ श्रावण २०७६ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App