११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

रहस्यमय प्रेम

एन्टन चेखब

ब्रेकफास्टको समय थियो। विभिन्न प्रकारका खानेकुराले टेबुल सजिएको थियो। पाहुनाले खाँदै गर्दा ‘डिनरको लागि के पकाऊ ?’ भन्दै निकानुर आइपुगे। निकानुर मध्यम अग्ला, चुच्चो अनुहार र साना आँखा भएका थिए। उनले मज्जाले दाह्री काटेकाले दाह्री सेभ गरेकोभन्दा पनि उखेलेजस्तो देखिन्थ्यो।

एलोहिनले भने अनुसार यो भान्सेसँग सुन्दर पेलागेयाले प्रेम गर्थिन्। उनी एकदम धेरै रक्सी पिउँथे र पिएपछि हिंसात्मक व्यवहार देखाउँथे। त्यसैले पेलागेया उनीसँग प्रेम गरे पनि बिहे गर्न चाहान्नथिन्। तर, निकानुर एकदम परम्परावादी थिए। र, उनीहरूको संस्कारमा बिहे नगरी सँगै बस्न पाइन्नथ्यो। उनले पेलागेयालाई ‘बिहे गरौं’ भनेर जबर्जस्ती गर्थे। धेरै पिएपछि पिट्थे पनि।  उनी माथिल्लो तलामा लुकेर रुने गर्थिन्।  त्यतिबेला एलोहिन र अरु सहयोगी उनलाई बचाउन त्यहाँ बस्थे। हाम्रो गफ प्रेमतिर मोडियो।

‘प्रेम कसरी जन्मिन्छ ?’ एलोहिनले भने, ‘पेलागेया किन अरुसँग नभएर निकानुरसँग प्रेममा फसिन् ? प्रेममा व्यक्तिगत खुसीको कुन स्थान छ ? यो कुरा अनिश्चित छ। प्रेम ठूलो रहस्य हो। प्रेमको बारेमा लेखिएका र भनिएका सबै कुरा समाधान होइनन्। ती सबै प्रश्न हुन्, जुन अनुत्तरित छन्। प्रेमको व्याख्या व्यक्तिको जीवनपिच्छे फरक हुन्छ।’ ‘यो एकदम सत्य हो,’ बर्किनले भने।

‘प्रेमको मामिलामा हामी रसियन एकदम कमजोर छौं। प्रायःजसो प्रेमलाई काव्यिक उपमा दिइन्छ। रातो गुलाफले सजाइन्छ। बुलबुल चरीको गीत ठानेर गुनगुनाइन्छ। तर, हामी रसियन प्रेमलाई व्यर्थ प्रश्नको जञ्जालमा फसाउँछौं। अनि तीमध्ये सबैभन्दा कठोर प्रश्न छान्छौं। म विद्यार्थी हुँदा केही समय मस्कोमा बिताएको थिएँ। मसँग एक सुन्दर केटी बस्थिन्। उनलाई म लामो समयसम्म अँगालोमा लिन्थें। उनको कपाल लामो र मुलायम थियो। घण्टौंसम्म प्रेमले सुम्सुम्याउँथे। उनी पनि मलार्ई चुम्बन गर्थिन। हामी प्रेम गर्दा राम्रो–नराम्रो पक्ष र त्यसको परिणामबारे सोचेर गम्भीर हुन्छौं। यो राम्रो हो कि होइन मलाई थाहा छैन। तर, यो असन्तुष्टि र रिसको स्रोत हो भन्नेमा म निश्चिन्त छु।’

उनी कथा भन्न एकदम इच्छुक भएजस्तो लाग्यो। एक्लो जीवन बिताइरहेका मानिस अवश्य पनि साथी खोजिरहेका हुन्छन्। सहर बजारतिर केटाहरू गफ गर्नको लागि रेस्टुरेन्टतिर जान्छन्। अनि चाखलाग्दा कथा सुनाउँछन्। रेस्टुरेन्टमा बसेर झ्यालबाहिरको दृश्य हेर्दा मन फुरुंग हुन्छ। न्यानो घामले धर्तीका सिर्जनामा स्पर्श गरिरहेको हुन्छ। यस्तो माहोलमा प्रेमको बारेमा कुरा गर्न र कथा सुन्न खुब मज्जा आउँछ। 

‘मैले लामो समयसम्म सोफियानोमा खेती गरेर बिताएँ,’ एलोहिन बोल्न सुरु गरे, ‘युनिभर्सिटीमा मैले ग्रयाजुएसन सकेको थिएँ र किताब पढ्न धेरै मन पराउँथे। तर, खेतीपातीको काम पनि गर्नैपर्र्ने थियो। मेरो बुबाले मलाई ऋण लिएर पढाउनुभएको थियो र ऋणमुक्त हुनको लागि किसानी गर्नु मेरो बाध्यता थियो। साथीसँग काम गर्दा पनि मन रमाएन। काम गर्दा म थाक्थें। शरीरका सबै पुर्जा दुख्थे। अनि म आराम गर्नको लागि सुत्थें।

म प्रत्येक रात ओछयानमा पल्टिएर द मेसेन्जर अफ युरोप पढ्थें। जब म अदालतमा काम गर्न थालें तब लुगानोभिचसँग भेट भयो। उनी पनि त्यही काम गर्थे। हाम्रो चिनजान हुनासाथ लुगानोभिचले मलाई उनको घरमा खाना खानको लागि बोलाए। जुन कुराको मैले आशा गरेको थिइनँ। किनकि लुगानोभिचमा अलि बढी औपचारिक स्वभाव थियो। म लुगानोभिचको निम्तोलाई स्वीकार्दै उनको घर पुगें। उनकी श्रीमती एन्ना एलेक्जिएभ्नासँग भेट्ने मौका पाएँ। उनी २०÷२२ वर्षकी थिइन्। त्यतिबेला उनको पहिलो बच्चा ६ महिनाको थियो। पहिलो भेटमै उनी मलाई एकदम मन प¥यो। उनी जवान, सुन्दर, दयालु, बुद्धिमान र आकर्षक थिइन्। मैले त्यस्तो महिला जीवनमा पहिलो पटक भेटेकी थिएँ। अनि पहिलो भेटमै उनी मेरो एकदम नजिक भएझैं लाग्यो। अनि पहिलादेखि नै चिरपरिचित भएको जस्तो लाग्यो। जब मैले उनको मुहार नियाले तब ती निर्दोष आँखा मैले बाल्यकालमा देखेको आमाका आँखाझैं मायालु थिए।

आगलागीको अभियोगमा चार यहुदी केटालाई अभियोग लगाइएको थियो। मेरो विचारमा उनीहरू बेकसुर थिए। डिनर गरिरहेको बेला म आफूले भनेको कुरा थाहा पाइरहेको थिइनँ। किनकि म एन्नाको निकटतामा मदहोस भइरहेको थिएँ। टाउको हल्लाउँदै एन्नाले आफ्नो श्रीमान्सँग प्रश्न गरिन्, ‘डिमिट्री, यो कसरी हुन सक्छ ?’

अभियोग लागेर एक पटक अदालत गइसकेको मानिसलाई लुगानोभिचले दोषी ठान्थे। उनले शान्त स्वरमा एलेक्जिएभ्नालाई भने, ‘तिमी र मैले आगलागी गराएका होइनौं। र, हामी तारिखमा जेलमा पनि छैनौं।’

श्रीमान् र श्रीमती दुवैले मलाई भरपुर खान र पिउनको लागि अनुरोध गरे। आफ्नो वाक्य नटुंगिकन उनीहरू एक–अर्काको भाषा बुझ्न सक्थे। हामीले सँगै कफी पियौं। मलाई लाग्यो– उनीहरूको जीवनमा शान्ति र मेलमिलाप छ। अनि अतिथि सत्कार गर्न पाउँदा दुवैैलाई खुसी लाग्दोरहेछ। डिनर सकिएपछि उनीहरूले पियानो बजाए। रात छिप्पिएपछि म आफ्नो निवासस्थानतिर फर्किएँ।

त्यतिबेला वसन्तयामको सुरुवात हुँदै थियो। मैले वर्षायाम पनि सोफियानोमा बिताएँ। यी महिना विलोवीको सम्झनामा बिते। उनी सुनौलो कपाल भएकी युवती थिइन्। मैले उनको बारेमा सोच्नै नभ्याइकन उनको प्रेमिल छाया मेरो अन्तःस्करणमा सुस्तरी लुकामारी खेलिरहेको थियो। त्यो शायद उनीसँग मेरो प्रेमको सुरुवात थियो।
शरदयामको अन्तिमतिर सहरमा एउटा प्रदर्शनीको आयोजना गरिएको थियो। त्यसको लागि मलाई निमन्त्रणा आएको थियो। अचानक मैले त्यहाँ एन्ना एलिक्जिएभ्नालार्ई देखें। उनी गर्भनरकी श्रीमतीको छेउमा बसेकी थिइन्। पुनः उनको सौन्दर्यले मेरो मनमा तरंग उत्पन्न गरिदियो। अनि मैले फेरि उनीसँग नजिक भएको अनुभव गरेँ। हामी सँगै बस्यौं। अलि बेरपछि बाहिर निस्कियौ।

‘तपाई त दुब्लाउनुभएछ। बिरामी हुनुभयो ?’ उनले प्रश्न गरिन्। मैले जवाफ दिए ‘हो, मेरो कुममा बाथ भएको थियो। अनि पानी परेको बेला म दुखाईको कारण बढी सुत्ने गर्छु।’

‘तपाईं निराश देखिनु’भा छ। तपाईं मेरोमा डिनरमा आएको बेला जवान देखिनुहुन्थ्यो। मैले वर्षायाममा पनि तपाईंलाई सम्झिएँ। आज साँझ थिएटरमा आउन तयार हुँदै गर्दा मनमा तपाईंसँग भेट हुन्छ कि भन्ने पूर्वाभास भइरहेको थियो,’  उनी मुस्कुराइन्। मुस्कुराहटले उनको सुन्दरतामा अझ निखारता थपिरहेको थियो।
‘तर, यो रातमा तपाईं निराश देखिँदै हुनुहुन्छ,’ उनले फेरि दोहो-याइन्, ‘यो उदासीले तपाईंलाई बूढोजस्तो देखाइरहेको छ।’

धेरैबेर आँखा नबिसाई हे-यौ एक–अर्कालाई र छुट्टियौं।
भोलिपल्ट म उनकोमा लन्चको लागि गएँ। लन्चपछि उनीहरूको वर्षायाम बिताउने सानो घरमा गयौं। म उनीहरूसँगै सहर फर्किएँ र मध्यरातमा घरेलु वातावरणमा हामीले चिया पियौं। आगो बलिरहेको थियो। एलिक्जिएभ्ना आफ्नी सानी छोरीलाई सुताउने प्रयास गरिरहेकी थिइन। आगोको न्यानो उज्यालोमा म एन्नाको अदभूत रूपलाई प्यासी नजरले पिइरहेको थिएँ। म त्योे ठाउँमा उनीहरूको परिवारको एक सदस्य भएको थिएँ। म कहिलेकाहीँ जान ढिलो गरे भने एन्नाले सोध्ने गर्थिन्, ‘तपाईं यति लामो समयसम्म कहाँ हराउनुभयो ? केही समस्या छ ?’

उनको हेराई, कोमल हातको स्पर्श, साधारण पहिरन, रेशमी कपाल, आवाज, हाउभाउ हरेक भेटमा नयाँ लाग्थ्यो, जुन मेरा लागि अमूल्य थियो। हामी घण्टौंसम्म गफ गथ्र्यौं। लामोे मौनता। हेराहेर। पियानोसँग प्रेमको साक्षात्कार। एन्ना कतैै गएको बेला पुगे भने सहयोगीसँग बोल्थे। बच्चासँग खेल्थे। अनि अध्ययनकक्षमा बसेर समाचारपत्र पढ्थे। जब उनी आउँथिन् तब उनले ल्याएको झोला पकडेर राख्न सघाउँथे। जहाँ हाम्रो अनुराग र गम्भीरताको भाव झल्किएको हुन्थ्यो।

म लुगानोभिच परिवारसँग निकट थिए। मलाई केही समस्या आइलाग्यो भने उनीहरू चिन्तित हुन्थे। उनीहरू मैले आफ्नो शैक्षिक योग्यता अनुसारको काम नगरेकोमा नरमाइलो मान्थे। उनीहरूको सोचाइमा म दुःखी थिएँ। अनि मैले आफ्नो पीडा लुकाउन गफ गरेको, हाँसेको र खाएको जस्तो ठान्थें। म खुसी भएको बेलामा पनि उनीहरूले याद गरिरहेका छन् कि जस्तो लाग्थ्यो र सतर्क रहन्थें। तर, विशेषगरी मेरो दुःखमा उनीहरू साथ हुन्थे। मलाई पैसाले अभर परेको बुझेर दुईजना साउती गर्थे अनि  लुगानोभिच मेरोे सामुन्ने आएर भन्थे, ‘पाभेल कोन्स्टान्टिनोभिच, यदि तपाईंलाई पैसाको आवश्यकता भए अफ्ठेरो नमानी भन्नुहोला। मेरी श्रीमती र म सहयोग गर्न तयार छौं।’

त्यतिबेला लुगानोभिचका कान राता–राता भएका थिए। फेरि श्रीमतीसँग झ्यालको छेउमा साउती गरेर राता–राता कान पार्दै मेरो समीप आएर भने, ‘मेरी श्रीमती र मेरो तर्फबाट यो उपहार स्वीकार्नुहोस्।’ उपहारमा दैनिक जीवनको लागि चाहिने सामग्रीहरू थिए। म पनि आफनो खेतीमा उब्जिएका चीजबीज त्यो परिवारलाई उपहार  दिन्थें। मेरो लागि दुवै आँखामा हाल्दा नबिझाउने खालका दयालु थिए। सुरुका दिनमा मैले उनीहरूका हातबाट पैसा पनि धेरै पटक सापट लिएँ।

‘पछिल्ला दिनमा म एकदम चिन्तित हुन थालेको थिएँ। घरमा, खेतमा, छहारीमा जहाँ पनि म उनको बारेमा सोचिरहन्थें। ती सुन्दर स्त्रीले किन निरस लुगानोभिचसँग बिहे गरिन् होला ? मैले रहस्य बुझ्ने प्रयास गरे। लुगानोभिच एन्नाभन्दा धेरै वर्ष जेठा थिए। अनि पार्टीमा आफ्नी श्रीमती र बच्चाको बारेमा गफ दिन्थे। एलिक्जिएभ्नाले पहिला मलाई नभेटेर किन उसलाई भेटिन् होला ? यो प्रश्न बारम्बार मेरो मनमा उब्जिन्थ्यो। जिन्दगीमा समयले किन यति ठूलो गल्ती गरेको होला ?’

उनीसँगको प्रत्येक भेटमा ‘मेरै प्रतीक्षा गरिरहेकी छिन् कि’ जस्तो लाग्थ्यो। हामी कहिले लामो समयसम्म कुरा गथ्र्यौ कहिले चुपचाप एक– अर्कालाई हेरिरहन्थ्यौं। त्यतिबेलासम्म हामीले आफनो प्रेम व्यक्त गरेका थिएनौं। कायरताको साथ लुकाएका थियौ। हाम्रो रहस्य खुल्छ कि भनेर एकदम डराएका थियौ। म उनलाई गम्भीर रूपमा प्रेम गर्थे। तर, हामीसँग परिस्थितिसँग जुध्ने क्षमता नभएमा ‘यो प्रेमले कहाँ पु¥याउला ?’ भन्ने प्रश्नले मलाई एकदम सताउँथ्यो। मेरो दुःखी प्रेमले उनलाई आफनो श्रीमान्, सन्तान र घरबारबाट नखोेसोस् भन्ने चाहान्थे। त्योे परिवारले गरेको प्रेम र विश्वासलाई म भताभुंग पार्न चाहान्नथे। यदि मैले उनीसँग बिहे गरे भने के सम्मानजनक हुन्थ्यो र ? उनले मलाई पछयाउँथिन्। तर, कहाँ ? मैैले सुन्दर र सुखी जीवन बाँचेको भए त सायद प्रसंग फरक हुनेथियो। म उनलाई एउटा दिक्दारलाग्दो जिन्दगीबाट अर्को दिक्दारलाग्दो जिन्दगीमा प्रवेश गराउन चाहान्नथे। हाम्रो खुसी कति दिनसम्म टिक्थ्यो र ? यदि म अचानक बिरामी भए भने, मरे भने र हामीले एक–अर्कालाई प्रेम गर्न छोड्यौ भने के होला ? यस्ता प्रश्नले मेरो दिमागलाई बिथोलिरहन्थे।

उनी पनि म जस्तै द्धिविधाको अवस्थामा थिइन्। उनी पनि आफ्नो श्रीमान्, बच्चा र आमालाई धोका दिन चाहान्नथिन्। उनकी आमाले ज्वार्ई लुगानोभिचलाई छोरा जत्तिकै प्यारो ठान्थिन्। उनले प्रेमलाई रोज्दा सबै कुरालाई त्याग्नुपर्ने थियो। उनी परिवारको लागि प्रेमसँग सम्झौता गरिरहेकी थिइन्। उनी अब मेरो लागि जवान र जोशिलो नभएको ठान्थिन्। अनि आफ्नो श्रीमानसँग मेरो बिहेको बारेमा जिज्ञासा राख्थिन्।

धेरै वर्षपछि म एन्नाको घर पुगें। त्यतिबेला उनले दोस्रो बच्चा पनि जन्माइसकेकी थिइन्। उनका सहयोगीले मलाई आत्मिय व्यवहारसहित स्वागत गरें। ‘अंकल पाभेल कोन्स्टान्टिनोभिच आउनुभयो’ भन्दै केटाकेटीहरू खुसीले चिच्याए। उनीहरू मेरो घाँटीमा झुण्डिए। सबै जना खुसी भए। उनीहरूलाई मेरोे व्यथा थाहा थिएन। त्यसैले म खुसी भएको ठान्थे। उनीहरूको विचारमा म ‘बहादुर मान्छे’ थिएँ। अनि मेरो उपस्थितिले उनीहरूको जिन्दगीमा बहार छाएको अनुभव गर्थें। त्यो भेटमा एन्ना र म हिँडेरै थिएटर पुग्यौं। हामी कुम जोडेर सँगै बस्यौ र नाटक हेर्यौ। त्यतिबेला हामी एक–अर्काबिना बाँच्न नसक्ने स्थितिमा हुन्थ्यौं। तर, समयले र परिस्थितिले छुटाइहाल्थ्यो। हामी एक–अर्कालाई ‘बाइ’ भन्थ्यौ र अपरिचतझैं आफ्नो–आफ्नो बाटो लाग्थ्यौं। सायद हाम्रो सम्बन्धको बारेमा थाहा पाएर सहरका मानिस कुरा काट्थें।

एन्ना केही समयको लागि आमा र बहिनीसँग बस्न गइन्। त्यतिबेला उनको स्वभाव  बदलिएको थियो। उनी असन्तुष्ट देखिन्थिन र आफ्नो श्रीमान र बच्चाको पनि याद गर्न छोडेकी थिइन्। उनमा मानसिक समस्या देखिन थालेको थियो। उनी मसँग पनि रिसाउन थालेकी थिइन्।

अब हामी जीवनभर छुट्टिने समय आएको थियो। लुगानोभिचलाई कामको लागि पश्चिमी प्रान्तमा पठाइएको थियो। उनीहरूले आफ्ना फर्निचर, घोडा र घर बेचे। मैले अन्तिम पटक त्यो घरको हरियाली छाना र बँगैचा नियालें। एन्ना अगस्टमा उपचारको लागि क्रिमिया जाँदै थिइन्। अनि त्यसपछि लुगानोभिच र बच्चा पश्चिमी प्रान्तमा जाँदैथिए।

एन्नालाई भेट्नको लागि ठूलो भीड जम्मा भएको थियो। जब उनले आफ्नो श्रीमान र बच्चालाई ‘बाइ–बाइ’ गरिन्। तेस्रो घण्टी बज्न एक मिनेट मात्र बाँकी थियो। उनले बिर्सिएको ब्याग लगेर रेलको डिब्बामा राखिदिए। जब हाम्रा आँखा जुधे तब एक–अर्काका मुटु ढुकढुकाउन थाले। मैले उनलाई आफनो अँगालोमा लिए। उनले मेरो छातीमा शिर लुकाइन्। उनले धाराप्रवाह आँशु बहाइन्। मैले उनको कपालमा, मुहारमा, ओठमा, छातीमा चुम्बन गरे। एलिक्जिएभ्नाको आँशुले मेरो छाती लचप्रै भिज्यो। हामी कति अभागी ! मैले उनलाई आफनो प्रेम अभिव्यक्त गरे। मेरो हृदयमा प्रेम दुखिरहेको थियो। हामीलाई प्रेम गर्न रोक्ने नियतिप्रति आपत्ति जनाएँ। प्रेममा तर्कको कुनै स्थान हुँदोरहेनछ। प्रेम नियमभन्दा बाहिर हुँदोरहेछ। मैले आफ्नै प्रेम कथाबाट यो पाठ सिकें।
    
मैले अन्तिम पटक उनलाई चुमे। हात समाए। अनि हामी जिन्दगीभरको लागि विछोडियौं। रेल छुट्न लागेको थियो। म अर्को डिब्बामा गएर बसें जुन खाली थियो। अर्को स्टेसन नआउन्जेलसम्म म रोइरहें। अनि त्यसपछि उजाड मन लिएर सोफियानो फर्किए...।’
    
एलोहिनले कथा भनिसक्दा वर्षा रोकियो र घाम लाग्यो। बर्किन र इभान इभानिच बाल्कोनीमा गए। त्यहाँबाट बगँैचा र नदीको सुन्दर दृश्य हेर्न सकिन्थ्यो। घाम लागेको बेला नदीको पानी ऐनाझैं टल्किइरहेको थियो। उनीहरूले त्यसको प्रशंसा गरे। तर, एलोहिनको कथा सम्झिएर व्याकुल भए। आफू विद्धान भए पनि एलोेहिन प्रेम वियोगले पिँजडाभित्रको सुगाजस्तो भएकोमा गुनासो गरे। उनीहरूले एन्ना र एलोहिनले रेलमा स्वीकार गरेको अवरोधमय प्रेमको बारेमा विश्लेषण गरे। उनीहरूले दुवैको बाध्यतालाई बुझ्ने कोशिस गरे। उनीहरू दुवैले एन्नालाई सहरमा देखेका थिएँ। बर्किन एलिक्जिएभ्नालाई राम्ररी चिन्थे, अनि सोच्थे– एलोहिनले भनेझैं उनी वास्तवमै सुन्दर थिइन्...।

अनुवादक : बालिका थपलिया

प्रकाशित: १८ श्रावण २०७६ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App