थानकोट काटेर काडमाडौँ पस्दा उनको काँधमा एउटा सानो कुम्लो (बोडिङ) थियो। त्यो कुम्लोभित्र उनकी फुपूद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानका नाट्य विभाग प्रमुख हरिहर शर्माका नाममा लेखिएको एउटा चिर्कटो पत्र थियो। चिनेका कोही थिएननन्। जानेका थुप्रै थिए। तर, जानेकाले उनलाई चिन्दैनथे।
यही मनस्थितिमा बसबाट ओर्लिएर बाटो सोध्दै उनी सरासर नेपाल प्रज्ञा–प्रतिष्ठान पुगे। साथमा बद्री अधिकारी पनि थिए। हरिहर शर्मा आफ्नो कक्षमा विराजमान थिए। तर, उनले तिनलाई चिनेका थिएनन्। सोधे– ‘हरिहर शर्मा को हुनुहुन्छ ?’ कक्षमा विराजमान हरिहरले टाउको उठाएर प्रश्नकर्ताको अनुहारतिर हेरे। ख्याउटे, टिठलाग्दो एउटा किशोर आफूभन्दा थोरै पाको अर्को व्यक्तिसँगै ठिङ्ग उभिएको छ– अपेक्षापूर्ण दृष्टि ओछ्याएर।
‘किन ? कहाँबाट आउनुभयो ?’ हरिहरले ‘डब्लु, एच’ का पाँच–छ प्रश्न लगातार सोधे। अनि उनले विनयशीलताको गहिराइबाट आवाज निकालेर भने– ‘उहाँलाई भेट्नु थियो।’ अनि बल्ल हरिहरले आफ्नो परिचय दिए– ‘मै हुँ हरिहर। ल भन्नूस् अब मैले के सहयोग गर्नुप-यो ?’ उनले कमिजको खल्तीबाट फुपूले लेखेको पत्र उनको हातमा राखिदिए। हरिहरले त्यो सानो चिर्कटोमा लेखिएको व्यहोरालाई पनि निक्कै समय लगाएर पढे या भनौँ अध्ययन गरे। अनि भने– ‘ए !’
‘ए !’ बाट उनलाई कुनै उत्तर निस्किएन। ‘ए !’ आश्चर्य पनि हुनसक्थ्यो, स्वीकार र समर्थनको आश्वासन पनि हुनसक्थ्यो। हरिहरको ढिलो र तौलीतौली शब्दहरू खेलाएर बोल्ने स्वभाव उनलाई थाहा थिएन। त्यसैले उनी असमञ्जसमा परे। तर, त्यसरी नै उभिइरहे, जडवत मुद्रामा अपेक्षापूर्ण दृष्टि ओछ्याएर। अनि केही समयपछि हरिहरले फेरि टाउको उठाएर उनीहरूतिर हेरे र भने– ‘यहाँको नाटक विभागमा प्रशिक्षार्थी कलाकारहरूको दरबन्दी खुल्दैछ, त्यसको अन्तर्वार्तामा सहभागी हुनूस्, उत्तीर्ण हुनुभयो भने एक वर्षे प्रशिक्षणपछि तपाईंहरू यहाँ हुने नाटकमा खेल्न पाउनुहुन्छ।’
सुनील पोखरेल बद्री अधिकारीका बाउला समातेर रंगकर्मको तिर्सना मेट्न यसरी आएका थिए राजधानीमा पहिलोपटक। यो वि.सं. २०३६ को कुरा, आज ४० वर्ष बितिसक्यो। १६ वर्षमा प्रज्ञा छिरेका सुनीलको उमेर पनि अब ६० वर्षमाथिको क्यालेन्डरमा उक्लिसक्यो। र रंगमञ्चका यी ४० वर्षे जवानीमा उनले सधैँ स्मृतिमा बसिरहने नाटक दर्शकलाई उपहार दिएर नेपाली रंगमञ्चलाई नै जवान बनाइदिए। यसको पुरानो भोटो फुकालेर नयाँ र आकर्षक डिजाइनको पोसाक पहि-याइदिए। नाटक पनि सिनेमाजस्तै आकर्षक र हेर्न छुटाउनु नहुने माध्यम हो भन्ने प्रमाणित गरिदिए।
गएको शनिबार उनका चेला प्रवीण खतिवडाले निर्देशन गरेको शंकर लामिछानेको कथा ‘आत्माको मीमांसा’ मा आधारित ‘मीमांसा’ नाटक हेरेपछि यस्तो लाग्यो– सुनील पोखरेललाई रंगकर्ममा कहिल्यै बुढ्यौलीले नगाँज्ने रहेछ। रंगमञ्चको यात्राले कहिल्यै नथकाउने रहेछ।
सरकारले गुरुकुललाई नाट्यशाला बनाउने जग्गा दिने भयो भन्ने कुरा पेण्डोराको भाँडोजस्तो मात्र भयो। आश्वासनबाहेक केही प्राप्त भएन। हरेक सरकारले आश्वासन दिए। कुनै पनि सरकारले गुरुकुलको नाट्यशाला बनाउन जग्गा दिएनन्। आज पनि सरकारले आश्वासनको बल्छी हान्न छोडेको छैन। तर, मलाई लाग्छ– यो कहिल्यै माछा नपर्ने यस्तो बल्छी हो।
र, प्रवीण खतिवडाले शंकर लामिछानेको ‘एब्स्ट्रयाक’ कथालाई जति सरलरूपमा नाट्य रूपान्तरण र निर्देशन गरेका छन्, ‘मीमांसा’ दोहा-याउन मन लाग्छ। यो प्रवीणको स्वक्षमता र शिल्प त हो नै, साथसाथै उनले सुनीलको असल शिष्य हुनुको उदाहरण पनि बढो सफलरूपमा देखाएका छन्।
त्यसबेला उनीसँगै, उनीअघि या उनीपछि रंगमञ्चमा उदाउनेहरू धेरै थिए। सम्भावनाका ढोका खोल्ने सामथ्र्य भएका धेरै अनुहारहरू थिए। ३० को अन्त्य र ४० को दशकभरि नाटकमा लागेर आफ्नो परिचय बनाएका एक दर्जन नाम थिए। अग्रजमा अशेष मल्लबाहेक ती सबै अनुहारहरू अभिनयको अर्कै संसारमा सयर गर्न गए, सुनीललाई एक्लै रंगमञ्चमा छाडेर। तिनीहरूको बाध्यता थियो होला। जीवन र परिवार त चलाउनु सबैले पर्छ। त्यसैले कोही टेलिभिजनको चुम्बकमा टाँसिए। कोही सिनेमाको जादुगरीमा लट्ठिएर। तर, सुनीलले जस्तै प्रतिकूलतामा पनि रंगमञ्चको मियो समाइ नै रहे।
रंगमञ्च त त्यो बेला खडेरी लागेको खेतजस्तो थियो, जति सिँचाइ गरे पनि उब्जनी हुँदैनथ्यो। तर, सुनीलले यही मरुभूमिलाई आफ्नो कर्मथलोका रूपमा रोजे। यसैलाई खनजोत गरे, सकेसम्म मलजल गरे, पानी हाले। उनको अंशबण्डामा परेको यही भूमि थियो। आफ्नो बुता र बर्कतले भ्याएसम्म उनले यसैलाई खनिखोस्री गरिरहे। कहिले ‘आरोहण शनिवार’ चलाए, कहिले बहिराहरूको नाटक गरे। धेरै दुःख र सास्ती व्यहोरेपछि उनले यस मरुभूमिमा ‘आरोहण, गुरुकुल’ नामको एउटा बगैँचा निर्माण गरे। गुरुकुल बनिनुअघि त्यो डाँडो पनि उजाड थुम्को थियो। भूमिका हिसाबले पनि मरुभूमि नै थियो। उनले केही मनमिल्दा अग्रज, समकालीन र अनुज पुस्ताकाहरूको जमात बनाए। त्यसलाई फेरि खनजोत गरे र त्यसमा बाह्रै महिना फुल्ने रंगमञ्चका बिरुवा रोपे। केही समयमै जब ती फुल्न थाले। तिनको सुगन्धले राजधानी मात्र होइन, मोफसलका कुनाकाप्चासम्म मगमगाउन थाले। र, गुरुकुल रंग–प्रस्तुतिको अद्वितीय पर्याय बन्न पुग्यो।
हरेक दिन रंगमञ्चीय गतिविधि हुनथाले। के स्वदेशी, के विदेशी– गुरुकुलको नाम नसुन्ने कोही भएन। राज्यले जिम्मा लगाएको नेपाल प्रज्ञा–प्रतिष्ठान हल भाडामा लगाएर रकम असुलिरह्यो, भाडामा चलाएको सुनील पोखरेलको गुरुकुलले रंगमञ्चको खेती गरिरह्यो– अविराम। दुई–दुईवटा नाट्यशाला हरेक मौसम, हरेक याम भरिभराउ हुन्थे नाटक हेर्ने दर्शकको हुलले।
अति ग-यो भने आँखा लाग्छ भनिन्छ। सुनीलले गुरुकुलमा अति नै गरे। दिनहुँ नाटक–मञ्चनको बाढी उर्लेको छ। हरेक शोमा दर्शकदीर्घा ‘हाउसफुल’ भएको छ। एउटा नाटक महिनौँ प्रदर्शनी भएर सकिएको छैन, अर्को नाटक मञ्चनका लागि अभ्यास सुरु हुन थाल्थ्यो। यो अति भएन त ! अनि भूस्वामीका आँखा लागे गुरुकुलमाथि। उनले अनुमान गरे होलान्– यिनीहरूले दिनमै लाखौँ कमाउँछन्। तर, मलाई वर्षमा लाख मात्र दिन्छन्। अनि तिनका आँखा बले। वर्षैपिच्छे थेग्नै नसक्ने भाडा वृद्धि गर्न थाले। जाबो दुई सयको टिकट बेचेर कति नै कमाइ हुन्थ्यो र ? तर भूस्वामीले यो कुरा मरिकाट्टे पत्याएनन्। अकुत भाडा तोके। सामथ्र्यले भन्दा बढी बोक्न कसैले सक्दैन। यद्यपि सुनीलले एक–दुई वर्ष सामथ्र्य बाहिर गएर पनि त्यो भारी बोके। तर, उनको पनि त सीमा थियो। थेग्नै नसकेपछि के गर्ने ? गुरुकुल हेर्दाहेर्दै खण्डहर भयो। पहिला सुनीलले जुन मरुभूमिलाई बगैँचा बनाएका थिए, त्यो बगैँचा फेरि मरुभूमिमा परिणत भयो।
त्यसका छाना उधिनिए, भित्ता भत्काइए। केही अघि मात्र बेहुलीजस्तो चिटिक्क सिँगारिएको गुरुकुल हेदाहेर्दै कंकालजस्तो विरूप देखियो। विरक्तलाग्दो, कहालिलाग्दो कुनै पुरानो खण्डहको कथा भनिरहेको थियो, त्यसबेला गुरुकुलको त्यस दृश्यले। मृत्युपछि शव उठाउँदा जुन सीमासम्मको सन्तापले मन बाँउडिन्छ– त्यही सीमासम्मको शोकले हाम्रा हृदयमा वाण हान्यो। हामी कहालियौँ। तै एउटा आश्वासनले चित्त बुझाउने काम गरिहरेको थियो। सरकारले गुरुकुललाई नाट्यशाला बनाउने जग्गा दिने भयो भन्ने। तर, यो पनि पेण्डोराको भाँडोजस्तो मात्र भयो। कालान्तरमा आश्वासनबाहेक केही प्राप्त भएन। हरेक सरकारले आश्वासन दिए। तर, कुनै सरकारले पनि गुरुकुलको नाट्यशाला बनाउन जग्गा दिएनन्।
आज पनि सरकारले आश्वासनको बल्छी हान्न छोडेको छैन। तर, मलाई लाग्छ– यो कहिल्यै माछा नपर्ने यस्तो बल्छी हो, जुन बल्छी सरकारले छारो हाल्न यस्ता हरेक संस्थालाई बाँडिरहन्छ। आर्थिक वर्ष सकिन लाग्दा धमाधम सडक पिच भएजस्तै हो। पैसा जसरी पनि सिद्ध्याउनुपर्छ विकासका काममा।
तर, रंगमञ्च सरकारका मूल्यांकनमा विकास गर्नुपर्ने क्षेत्र नै होइन। ‘कलाकार राष्ट्रका गहना हुन्, यिनलाई सम्मान गर्नुपर्छ’ भन्ने अमृतवाणी प्रायः सबै नेता, मन्त्री, प्रधानमन्त्रीका मुखारविन्दबाट प्रस्फुटित हुन्छ। यस्ता पंक्तिहरू भाषणाको भाषामा बुट्टा भरिदिन अरू नै कसैले लेखिदिएको हुँदा कार्यक्रमस्थलबाट बाहिर निस्केपछि हरेकले आफ्नो दिव्यवाणी बिर्सिन्छन्। आफ्नै मन–मस्तिष्कबाट स्वतःस्फूर्तरूपमा प्रस्फुटित भएको वाणी भए पो यसको मर्म सम्झिन्थे र बोध गर्थे। सुगाले ‘राम राम’ भन्नु र नेता–मन्त्रीले भाषणामा कलाकारको प्रशंसा गर्नु उस्तै हो।
तर, अहिले जनताको महान् बलिदानपछि परिवर्तित ‘महान्’ लोकतन्त्र आएको छ। संस्कृति, कला, भाषा, साहित्यको मर्म बुझ्ने व्यक्तिले यस्ता मन्त्रालयको अभिभारा लिनुपर्ने हो। तर, ‘संस्कृत’ र ‘संस्कृति’, नाटक र ‘नौटंकी’ बीचको भेद छुट्टयाउन नसक्ने महान् व्यक्ति सत्तामा पुगेपछि रंगमञ्चमा सुनील पोखरेलको योगदानको कसरी मूल्यांकन हुन्छ र ? तर, सरकारले साँचो अर्थमा सिर्जना क्षेत्रको महत्व बुझेको छ वा आफ्ना ‘विशिष्ट’ सल्लाहकारमार्फत् बुझ्ने प्रयत्न गरेको छ भने सुनील पोखरेलजस्ता ‘एक जुगमा एक दिन एकचोटि जन्मिने’ प्रतिभाको रंगयात्रा विस्तारका लागि ‘गुरुकुल’ पुनस्र्थापनाका लागि विवेकपूर्ण काम गर्न सक्नुपर्छ। यसले नेपाली आधुनिक समृद्ध रंगमञ्चको शैली र वैशिष्ट्यलाई विश्व–रंगमञ्चसामु सगर्व प्रस्तुत गर्ने अवसर मिल्छ। सुनीलको रंगमञ्चीय शिल्पमा यो विशेषता छ। उनले यो काम ‘गुरुकुल’ अस्तित्वमा हुँदै पनि प्रमाणित गरिसकेका हुन्। फेरि पनि सिद्ध गरेर देखाइदिन सक्छन्। त्यसैले अब ‘गुरुकुल’ पुनस्र्थापनाका लागि हरेक सरकारले दिएका आश्वासनमा थप आश्वासन दिएर कलाकारलाई फेरि पनि कुनै बजारमा नचल्ने गहना बनाउने होइन, यथासम्भव निकास दियो भने यो सरकारको नाम र यश नेपाली रंगमञ्चमै एउटा इतिहास बन्ने छ।
वास्तवमा हरेक सरकारले सुनीललाई बल्छीमा अल्झाए। तर, उनी यस्तो भ्रममा धेरै समय अल्झिएनन्। उनी त रंगमञ्चकै लागि बनिएका व्यक्ति थिए। रंगमञ्चको बीउ छर्नु नै उनको धर्म थियो। अनि ‘ज्ञ’ नामक अर्को गुरुकुल खोले र नयाँनयाँ शिष्यहरू जन्माइरहे। उनले गुरुकुलमा जन्माएका पुराना केही शिष्यहरूले गुरुकुललाई पछ्याउँदै नयाँ नाट्यशाला खोले। घिमिरे युवराजले शिल्पी, राजन खतिवडाले (दयाहाङ राईसँग मिलेर)मण्डला, जीवेश रायमाझीले (विमल सुवेदीसँग मिलेर) थिएटर भिजेल खोले। अनि गुरुकुलकै परम्परालाई पछ्याउँदै आज राजधानीमा मात्रै एक दर्जनभन्दा बढी नाट्यशाला सञ्चालनमा छन्।
अनि सुनीलले ‘ज्ञ’ का प्रशिक्षार्थीहरूलाई अभ्यास गराएर कहिले शिल्पी, कहिले मण्डलामा नाटक प्रस्तुत गरिरहे। ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै सुनीललाई आफ्नो नाट्यशाला नहुनुको अभावले नाटक मञ्चन गर्न पटक्कैै छेकेन। गुरुकुलको नाट्यशाला भत्काएर कंकाल पारिरहेका बेला मेरा आँखा जसरी रसाएका थिए, सुनीलकै शिष्य प्रवीण खतिवडाले सुनीलकै शैलीमा सुनीललाई नै मञ्चमा उतारेर उनका अर्का शिष्य राजकुमार पुडासैनीसँगै मण्डला थिएटरमा ‘मीमांसा’ प्रस्तुत गरिरहँदाको दृश्य देखेर मेरा आँखा फेरि एकपटक सजल भए। तर, यो खुसीको आँसु थियो। सुनील रंगमञ्चबाट कहिल्यै पलायन हुँदैनन् भन्ने उदारहणमा बगेको आँसु थियो र उनी जीवनको कुनै वाद्र्धक्यमा पनि रंगकर्मबाट ‘रिटायर्ड’ हुदैनन् भन्ने भरोसाको आँसु थियो।
जुनसुकै नाटकलाई पनि उनी बडो सहजशैलीमा आकर्षक ढंगले निर्देशन–प्रस्तुति गर्न सक्छन्। कुनै भूमिकामा अभिनय गरिरहेको अभिनेता कथम्कदाचित त्यस दिन नाटकमा खेल्न सकेन भने त्यो भूमिकामा सुनील त्यतिकै जीवन्तरूपमा प्रस्तुत हुनसक्छन्। यी यावत् कुरामा भने खुसीका आँसु बगाइरहनु पर्दैन। यो सुनीलको विशेषता हो। कयौँपटक उनले यस्ता भूमिका निर्वाह गरिसकेका छन्।
३० वर्षअघि थानकोट काटेर काडमाडौँ पस्दा सुनीलको काँधमा एउटा सानो कुम्लो (बेडिङ्) थियो। त्यो कुम्लोभित्र उनकी फुपूद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानका नाट्य विभाग प्रमुख हरिहर शर्माका नाममा लेखिएको एउटा चिर्कटो पत्र थियो। चिनेका कोही थिएननन्। जानेका थुप्रै थिए। तर, जानेकाले उनलाई चिन्दैनथे। आज सुनीलको काँधमा सिंगो रंगमञ्चको भारी छ। उनको एउटा सिफारिसले जोकोही पनि एकपटकलाई रंगकर्मी हुनसक्छ (राम्रो ग-यो भने सधैँलाई हुन्छ।) रंगमञ्चमा मात्र होइन, आजको सिनेमामा पनि सुनीलकै शिष्यहरूको बाहुल्य छ। र आज नेपाली रंगमञ्चको संसारमा उनलाई नचिन्ने कोही छैनन्। बरू उनले नचिन्ने धेरै छन्। पाँच–छ भन्दा पनि धेरैपटक भेटेपछि मात्र नाम र अनुहार खुट्टयाउन सक्छन्। रंगमञ्चको भीड यति बाक्लो भयो कि आफैँले सँधाएका र धेरैपछि भेटेका अनुहारहरूलाई पनि उनी कहिलेकाहीँ चिन्न सक्दैनन्। यो बेग्लै कुरा हो। तर, रंगमञ्चलाई उनी कुनै पनि सर्त र मनस्थितिमा भुल्न सक्दैनन्।
यो एउटा राज्यसत्ता र परिस्थिसितबाट सधैँ पीडित एक रंगकर्मीको कथा हो। जस्तै अप्ठ्यारो परिस्थितिमा पनि रंगमञ्च उनका लागि नशा हो, लत हो र धर्म हो। यो कुरा फेरि ‘मीमांसा’ले प्रमाणित गरेको छ।
प्रकाशित: १८ श्रावण २०७६ ०२:२८ शनिबार