८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

स्वदेशमै ‘कोल्ड प्लाज्माजेट’

‘प्लाज्मा जेट’ का रुपमा मुसा र क्यान्सरका कोषिकाहरूमा सफल परीक्षण गरियो तर थप काम गर्न आर्थिक स्रोत जुटेन।
पदार्थको चौथो तह भनिने प्लाज्मालाई औषधिका रुपमा विकास गर्न खोजिएको करिब एक दशक भएको छ। यो अवधिमा वैज्ञानिकहरूले दाँतको उपचार गर्न मिल्ने ‘प्लाज्मा ब्रस’, जीवाणु निर्मूल पार्ने प्लाज्मा जेट (पेनसिल), घाउ तथा क्यान्सर कोषिकामा सफल परीक्षण गरिसकेको कुरा विभिन्न वैज्ञानिक लेखोटमा प्रकाशित छन्।

ती विभिन्न वैज्ञानिक लेखोटका आधारमा भन्ने हो भने भौतिकशास्त्रीहरूले विस्तारवान् ब्रह्माण्डमा, ‘प्लाज्मालाई पदार्थको चौथो तह त्यसै भनेका होइनन्,’ किनभने ९९ प्रतिशत प्लाज्मा ‘भिजिवल युनिभर्स’ (दृश्य ब्रह्माण्ड) मा पाइन्छ। तीमध्ये कम प्रतिशत विद्युतीय चार्चयुक्त हुन्छन् भने बाँकी ‘न्यूट्रल’ (तटस्थ) ग्यासको रुपमा पाइने विभिन्न वैज्ञानिक लेखोटमा उल्लेख छन्। पदार्थलाई त्यसै पनि ठोस, तरल र ग्यासका रुपमा वैज्ञानिकहरूले विभक्त गरेका छन्। यद्यपि ‘प्लाज्मा’ ग्याससँग मिल्दाजुल्दा हुन्छन् तर ग्यास भने होइनन्।

वैज्ञानिकहरूका अनुसार हाम्रो सौर्य मण्डलको नजिकको तारा भनेर चिनिने सूर्य सत प्रतिशत प्लाज्माको रुप हो। सरल रुपमा ‘फ्लोरोसेन्ट बत्ती बाल्दा कोठाको तापक्रमअनुसारको ट्यूबभित्र ‘कोल्ड प्लाज्मा’ उत्पादन ‘भै’ काम गर्ने उदाहरणको रुपमा बुझ्न सकिन्छ।

सन् २०१३ मा अमेरिकाको मिजौरी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चिसो प्लाज्माको उच्चतम प्रयोगका रुपमा दाँतको उपचार गर्न मिल्ने ‘प्लाज्मा ब्रस’ बनाएका थिए। त्यसैको आधारमा पछिल्लो समयमा अमेरिकी एक कम्पनी ‘न्यानोभा वायोमेडिकल’ले ‘प्लाज्मा ब्रस’ बजारमा ल्याउने गरी तयार गर्दैछन्। ती कम्पनीले अमेरिकी खाद्य तथा औषधि विभागबाट स्वीकृत लिने क्रममा प्रक्रियामा रहेको उक्त कम्पनीले वेबसाइटमा उल्लेख गरेको छ।

त्यस्तै, विकसित मुलुकले मात्र होइन, अल्पविकसित सूचीमा रहेको नेपालका अनुसन्धानकर्ताहरूले पनि सन् २०१५ मा स्वदेशमै ‘प्लाज्मा जेट’ तयार गरी क्यान्सर रोगका कोषिका ट्रिटमेन्ट गरेका थिए। उनीहरूले जनावरमा परीक्षण उपचार गरे। एकपछि अर्को नतिजा राम्रो आएपछि पछिल्लो समय प्लाज्मालाई कृषिमा प्रयोग गर्ने काम भैरहेको छ।
यी परीक्षणको नतिजा हानिरहित भएमा ‘प्लाज्मा मेडिसिन’ले चिकित्सा विज्ञान फड्को मार्ने अनुसन्धानकर्ताहरुको बुझाइ छ। ‘प्लाज्मा मेडिसिन’ भौतिकशास्त्र, जीव विज्ञान र क्लिनिकल मेडिसिनको समिश्रणको रुपमा विकसित रुप भएको छ।

स्वदेशमै अनुसन्धान
करिब दस वर्षअगाडि नेपाली अनुसन्धानकर्ताले स्वदेशमै ‘प्लाज्मा जेट’ तयार पार्न सफल भए। त्यसबेला काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले लामो समय निको नभएका घाउको उपचार गर्न मिल्ने ‘प्लाज्मा जेट विधि’ लाई सफलतापूर्वक परीक्षण गरेका थिए। उनीहरूले त्यसको नतिजा इन्टरनेसनल जर्नल अफ इमरजिङ टेक्नोलोजी एण्ड एडभान्स इन्जिनियरिङमा प्रकाशन गरेका छन्। 

अनुसन्धानकर्ताहरूले बलिरहेको ग्यासको प्रयोग जीवित कोषिकामा २ देखि ३ मिनेटसम्म राखी अनुसन्धान गरेका थिए। काठमाडांै विश्वविद्यालय भौतिकशास्त्र प्लाज्मा विभागका अनुसन्धानकर्ता डा. राजेन्द्र श्रेष्ठ भन्छन्, ‘विश्वका अन्य मुलुकमा विकास हुँदै गर्दा हामीले नेपालमा पनि प्लाज्मा जेट विधि तयार पारेका थियौं। तर त्यसलाई उपकरणको रुपमा विकास गर्ने गरी अनुसन्धान गर्न सकिएन।’ त्यसले हामी पछाडि प¥यौं, उनको निचोड थियो ‘त्यो’।

त्यसबेला श्रेष्ठका समूहले उच्च भोल्टेजको करेन्ट ८ सेन्टिमिटर लामो ट्युबको नलीबाट निकालेर लामो समय निको नभएको घाउका कोषिकामा प्रयोग गरेका थिए। त्यसको परिणाम राम्रो आएको श्रेष्ठ भन्छन्।
त्यो सँगै, डायबिटिज अर्थात् चिनी रोगका बिरामीहरूको घाउ भएका बिरामीको कोषमा पनि प्लाज्माको प्रयोग गरी अध्ययन÷अनुसन्धान गरियो। ‘माइस मोडल’ अर्थात् मुसामा गरिने अनुसन्धान थियो त्यो। त्यसबेला आफूहरूले डायबिटिजका रोगी मुसामा उपचार गरेको बताउँछन् कलेज अफ वायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सका अनुसन्धानकर्ता डाक्टर विश्वप्रकाश श्रीवास्तव। डा. श्रीवास्तव  भन्छन्, ‘विशेष गरी चिनीरोग र क्यान्सर भएका बिरामीहरूको खुट्टाका औंलाहरूमा घाउ भएमा लामो समय निको नहुने समस्या हुन्छ। त्यसको दीर्घकालीन समाधान खोज्न प्लाज्मा जेटको उपयोग गरेका थियौं।’ 

उनका अनुसार लेजर र पाराबैजनी किरणहरूबाट गरिने उपचार प्रद्धतिभन्दा प्लाज्मा मेडिसिनको तुलनामा सस्तो हुन्छ। उनी काठमाडाैं विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको सहयोगमा लामो समयसम्म निको नहुने घाउ उपचार गर्न मिल्ने उपचार विधि सफलता मिलेको उल्लेख गर्छन्।

डा. श्रीवास्तव भन्छन्, ‘प्लाज्मा मेडिसिनको बहुउपयोगिता हुने देखिएको छ। यद्यपि प्लाज्मा मेडिसिनभन्दा कतिपय मानिसहरू झुक्किन्छन्। रगतमा हुने प्लाज्मा र यसमा फरक छन्।’

प्लाज्माको स्रोत
उच्च भोल्टेजयुक्त ‘कोल्ड प्लाज्मा जेट’ कम तापक्रम (वायुमण्डलीय चाप) अनुसार काम गर्दछ। कोठाको सामान्य तापक्रममा हुने न्यून चापसरह वा त्योभन्दा केही बढी हुन सक्छन्। किनभने ५० डिग्रीभन्दा माथि कुनै पनि कोषलाई ताप दिँदा त्यो नस्ट हुने सम्भावना प्रबल हुने अनुसन्धानकर्ताहरूको भनाइ छ। त्यसकारण ‘प्लाज्मा जेट’ भनेको आंशिक विद्युतीय चार्ज भएका द्रुत ग्यासका लप्का (शिखा) हुन्। प्लाज्मा बन्ने प्रक्रियामा प्रतिपार्ट पर मिलियन (पीपीएम) अर्थात् प्रतिइकाइ दस लाख ग्यास चार्ज हुन्छन् बाँकी रहेका ग्यास ‘न्यूट्रल’ (तटस्थ) हुन्छन्। 

यो उच्च भोल्टेजको विद्युत दिएर बनेको भए पनि त्यसले मानिसको शरीरमा छुवाउँदा पोल्दैन। ‘आगो ताप्दा तातो महसुस हुन्छ, ताप हाम्रो शरीरले ग्रहण गर्दछ र आगो छुँदा पोल्छ। तर चिसो प्लाज्मा जेटलाई छुँदा त्यसरी पोल्दैन भन्छन् अनुसन्धानकर्ताहरू। प्लाज्मा निहित अद्भूत गुणको प्रयोग पत्ता लगाएको एक सय वर्षमा वैज्ञानिकहरूले त्यसको व्यावहारिक प्रयोग गर्न उद्दत देखिन्छन्। यद्यपि तातो खालका प्लाज्मा भने उच्च प्रविधिको औद्योगिक क्षेत्र, चट्टानबाट बहुमूल्य वस्तुहरू निकाल्न, माइक्रो इलेक्ट्रोनिक्स प्रविधिहरूमा प्रयोग गरिसकेका छन्।

पहिलो ‘प्लाज्मा जेट’ विधि
अनुसन्धानकर्ता श्रेष्ठका अनुसार ‘उच्च भोल्टेजले दिएको विद्युतीय चार्ज र ग्यासको समिश्रण विधिबाट बनेको प्लाज्मा जेट ‘३ मिलिमिटर भित्री र बाहिरी भएका’ क्यापिलरी ट्यूबलाई परिस्कृत गरेर बनाइन्छ। त्यसको मोटाइ ४.५ देखि ५ मिलिमिटरको हुन्छ।’

एउटा डटपेन आकारको ट्यूब उदाहरणको रुपमा लियौं। त्यसमा एक छेउबाट ग्यास पठाउने र बीचमा इलेक्ट्रोड राखिन्छ। त्यसलाई उच्च भोल्टेज दिइन्छ। आर्गन ग्यासको काम भनेको दुईवटा इलेक्ट्रोडको बीचमा प्लाज्मा निकाल्ने र त्यस प्लाज्मालाई नोजलबाट निकाल्ने हुन्छ। आर्गन ग्यास ‘डिस्चार्ज’ हुन्छन्।

त्यसरी आएको ‘प्लाज्मा जेट’ लाई अनुसन्धानकर्ता श्रेष्ठको टोलीले ३ सेन्टिमिटर लम्बाइ र १ सेन्टिमिटर गहिराइको घाउ भएका मुसामा उपचार गरेका थिए। उनीहरूले डायबिटिज रोग लागेका मुसामा पनि उपचार गरेको थियो। डा. श्रेष्ठ, ‘चिनीको मात्रा अत्यधिक भएका मुसालाई बिरामीको रुपमा उपचार गर्दा ९६ घण्टामा ‘डायबिटिज’ घटेको उल्लेख’ गर्छन्।

‘तीनवटा मुसामा अध्ययन गरियो। पहिलो मुसा उपचार गरिएन। दोस्रोलाई एन्टीसेप्टिक दिइएको थियो। तेस्रोलाई ‘प्लाज्मा जेट ट्रिटमेन्ट’ गरेका थियौं। कसैलाई दिनको एकपटक र कसैलाई दुईपटक प्लाज्मा जेट विधिले उपचार गरियो। त्यसमध्ये दिनको दुई पटक—दुई मिनेटको दरले प्लाज्मा ट्रिटमेन्ट गर्दा नतिजा झनैै राम्रो आएको छ, त्यसलाई वैज्ञानिक जर्नलमा प्रकाशन गर्ने तयारीमा छन् श्रेष्ठ।

उनका अनुसार, ‘घाउ निको नहुञ्जेल औषधोपचारमा चिकित्सकले ‘एन्टिसेप्टिक’ दिएको जस्तो ‘प्लाज्मा ट्रिटमेन्ट’ पनि हरेक दिन गर्नुपर्ने हुन्छ।’

‘क्यान्सर सेल’मा उपचार
क्यान्सर उपचारमा नयाँ विधि खोजी गर्न चिकित्सा क्षेत्रका वैज्ञानिकहरू निरन्तर अनुसन्धानमा तल्लीन छन्। त्यो पछ्याउँदै पछिल्लो समय नेपालमा पनि ‘कोल्ड प्लाज्मा’मा काम भैरहेको छ।

सन् २००५ मा काठमाडांै विश्वविद्यालय भौतिकशास्त्र विभागले कम चापयुक्त प्लाज्मा बनाउने काम सुरुवाती चरणमा गरेको थियो। त्यसपछि सन् २००७ मा वायुमण्डलीय चापीय तापक्रममा आधारित प्लाज्मामा काम ग¥यो। अहिले कम चापीय वायुमण्डलीय तापक्रममा पदार्थको सतहको बनावट परिवर्तन गर्ने खालका प्लाज्मामा काम भैरहेको डा. श्रेष्ठ बताउँछन्।

उनका अनुसार पदार्थको सतहमा पानी राख्दा सोस्ने ‘हाइड्रोफोलिक’ बाट पदार्थको सतहमा पानी राख्दा नसोस्ने ‘हाइड्रोफोविक’ र हाइड्रोफोविकबाट हाइड्रोफोलिकबाट बनाउने अनुसन्धान भैरहेका छन्।’

पानी नसोस्ने बनाउन केही रसायन मिश्रण गरेर त्यसलाई पानी नसोस्ने बनाउन सकिन्छ। श्रेष्ठ भन्छन् करकलोको पातमा पानी राख्दा चिप्लनेजस्तो पदार्थ निर्माण गर्ने प्लाज्मालाई हाइड्रोफोविक भनिन्छ।

अहिले अटोमोबाइलको अगाडि सिसामा पानी पर्दा थोपा थोपा बस्छन्। यदि त्यसमा नबस्ने बनाउन सकियो भने गाडी चालकको देख्ने क्षमता बढ्ने हुन्छ। काठमाडौं विश्वविद्यालयले त्यसमा काम गरिरहेको छ।

घाउ उपचार
हाम्रो शरीरमा घाउ लागेमा वा ठोकिएर सुन्निएमा तत्काल कोषिकाहरू सक्रिय हुन्छन्। जसले गर्दा त्यहाँ भएका ‘न्यूट्रोफिल’ निकै सक्रिय हुन्छन्। ती कोषहरू दबाउनका लागि प्लाज्माको भूमिका महत्त्वपूर्ण हुन्छ।

‘शरीरको कुनै अंगमा समस्या आएमा शरीरको उपचार गर्ने आफ्नै प्रक्रिया छन्। त्यसमा सबैभन्दा बढी सक्रिय हुने भनेको ‘न्यूट्रोफिल’ हुन्। सुरुमै ‘न्यूट्रोफिल’ सक्रिय हुने प्रक्रिया रोक्न सकियो भने ‘प्लाज्मा मेडिसिन’को उपयोगिता प्रभावकारी हुने डा. श्रीवास्तव बताउँछन्।

डा. श्रीवास्तवसँगै अनुसन्धानकर्ता डा. श्रेष्ठ थप्छन्, ‘बिरामीको ताजा कोषिका ल्याएर अनुसन्धान सुरु गरेका थियौं। उपचार अगाडि र उपचार पछाडिको अवस्था अनुसन्धान गरेर हेर्दा १० सेकेण्डमा झण्डै ७० लाख ‘न्यूट्रोफिल’ घटेको पाइएको थियो ’।

अनुसन्धानकर्ताहरूका अनुसार घाउको ‘इन्फ्लामेसन’ कसरी कम गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो। ‘प्लाज्मा ट्रिटमेन्ट’को काम भनेको खराब कोषिकालाई हटाउने हो। रोग ‘फ्रि’ गर्ने हो।

अनुसन्धानमा बाधा
नेपालमा वैज्ञानिक अनुसन्धान गर्ने संस्कार विकास हुन नसक्दा मौलिक अनुसन्धान भए पनि त्यसले प्रश्रय पाउन सक्दैन भनिन्छ। वास्तवमा ‘प्लाज्मा मेडिसिनमा अनुसन्धान गर्न ‘लेटेस्ट टेक्नोलोजी’ चाहिन्छ तर त्यसलाई किन्ने रकम हुँदैन हामीसँग,’ डा. श्रीवास्तव भन्छन्, ‘प्लाज्मा उत्पादन गर्दा उच्च (मेगा) भोल्टेज दिन सक्ने उपकरणको आवश्यकता पर्दछ। उच्च विद्युत आवश्यकता पर्दछ। त्यसलाई चाहिने प्लाज्मा जेट (पेनसिल) बनाउनुपर्ने हुन्छ। तर रकम अभावले काम हुन सक्दैन। त्यसकारण काम गर्न कठिन हुन्छ नेपालमा।’

डा. श्रीवास्तव मुसामा गरिएकोे कोल्ड प्लाज्मा ट्रिटमेन्ट मोडल उपचार विधि नेपालमा पहिलो हुन सक्ने बताउँछन्। त्यस्तै ‘डायबिटिज रोग मुसामा इन्जेक्ट’ गरी उपचार पनि उनीहरूको समूह पहिले भएको दाबी गर्छन् डा. श्रीवास्तव।

‘नेपालमा स्नातक तहमा वायोमेडिकल इन्जिनियरिङ गर्ने विद्यार्थीहरूले हड्डी भाँचिएको कसरी छिटो ‘हिल’ गर्ने भनेर गरेको अनुसन्धान भारतमा उत्कृष्ट नजिता घोषित हुन्छन्। तर नेपालमा अनुसन्धान गर्ने वातावरण बनाउन सकेको छैन,’ भन्छन् डा. श्रीवास्तव। उनका अनुसार, पछिल्लो समय प्लाज्मा मेडिसिन शरीरभित्र इम्प्लान्ट गर्दा उपयोगीसिद्ध हुने विधि तयार हुँदैछन्। त्यसमा अनुसन्धान अगाडि बढाउन सके, प्लाज्मा मेडिसिनमा विश्वको अन्य मुलुकसँगै नेपालको उपस्थिति हुने देखिएको छ। यथार्थमा आफूहरूले स्वदेशमा मौलिक अनुसन्धान गर्दासमेत आर्थिक अभावले निरन्तर अनुसन्धान अगाडि बढाउन नसकेको अनुसन्धानकर्ताहरूको बुझाइ छ।

प्रकाशित: ११ श्रावण २०७६ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App