९ आश्विन २०७८ शनिबार
अन्य

मनसुन साइक्लिङका रुटहरु

राजधानी काठमाडौं नजानिँदो गरी साँघुरो हुँदै गइरहेको छ। मध्यकालीन समयमा टुंडिखेलसमेत शहर बाहिरको भाग थियो। अहिले उपत्यका लगभग भरिएको छ। उपत्यकावासीको दैनिकी दिनानुदिन निक्कै उकुसमुकुस हुँदै गइरहेको छ। अझै पनि मध्य शहरबाट लगभग १० किमी मात्र बाहिर निस्कने हो भने निक्कै रमाइला गन्तव्यमा पुग्न सक्छौं। शहरको कोलाहलबाट एक क्षण भए पनि टाढा रहन सक्छौ। थोरै बेर भए पनि सफा हावा तान्न सक्छौँ।

उपत्यकाका चारै तर्फका डाँडाले कति हिउद कटाए, कति वर्षाद झेले गणना छैन। यी सबै नियमित नै लाग्दो हो यी डाँडाकाँडा, पाखा पखेरालाई। आधुनिक भनिने उपत्यकावासीलाई भने  छापा, अखबार, रेडियो, टेलिभिजन, अनेक सञ्चार माध्यममा हरेक दिन चलेको मौसमको चर्चाले निकै चनाखो बनाएको छ। यसपालिको मनसुन कहिलेबाट सुरु हुने हो। सबैभन्दा बढी चासो त किसानलाई नै हुन्छ। वर्षभरि आफ्नो र अरुको प्राण धान्ने अन्नबाली उब्जाउने चटारो यही मौसमी वायुमा भर पर्छ। किसान नै हाम्रा अन्न दाता हुन्। हालका वर्षमा काठमाडौंमा खेतीपाती लगभग शून्यतर्फ लम्कँदो छ। उत्पादन–बजार– उपभोगको चक्रीय प्रणालीलाई अलि नजिकबाट बुझ्न र बुझाउन घरको संघारबाट पाइला निकालेर डुल्नु निक्कै सहयोगी हुन सक्छ। मनमा आनन्द, शरीरमा स्फूर्ति, कार्य सम्पादनमा चुस्तता बढाउँछ।

उपत्यका वरिपरि हरियाली पोखिएको छ। आउनुहोस् हामी पनि मनसुन मनाऔं शान्त ठाउँमा घुमेर। उपत्यका वरिपरिका गाउँ, बस्ती, जन जीवन र प्रकृतिलाई नजिकबाट बुझौं।

१. हेलिप्याड
ठमेलबाट सिधा उत्तरमा बुढानीलकण्ठको दूरी करिब १० कि.मी छ। ठमेल समुद्र सतहबाट एक हजार तीन सय मिटर उचाइमा पर्छ। शिवपुरी हेलिप्याडको उचाइ करिब सत्र सय मिटर छ। बुढानीलकण्ठ हुँदै जाँदा हल्का उकालो लाग्नु पर्छ। ठमेलबाट बुढानीलकण्ठसम्म पुग्न करिब ४५ मिनेट लाग्छ।

केही वर्षअघिसम्म चक्रपथ बाहिरका क्षेत्रमा देखिने हरियाली घटेर शून्य प्रायः भइसकेको छ। दुवैतर्फ अग्ला घरका पर्खाल बीच १० किमि बाटो छिचोलेपछि बुढानीलकण्ठ मन्दिर पुगिन्छ। यो दूरीमा खासै चाखलाग्दो साइकल चढाइ नहुन सक्छ। 

मन्दिर पुग्न करिब २०० मि. अगाडिबाट दायाँ लाग्ने सहायक बाटो छ। करिब एक किमी अगाडि हेलिप्याड जाने बाटो आउँछ। ५ किमी उकालोको सामना गरेपछि हेलिप्याड पुगिन्छ। हरेक सय मिटर कटेपछि निकै राम्रो दृश्य देखिन्छ। बुढानीलकण्ठ क्षेत्र, शिवपुरी डाँडादेखि टोखा नागार्जुनसम्मका। बिहानको कलिलो घाममा यहाँको उकालो मा साइकल कुदाउन निक्कै रमाइलो हुन्छ।

२. छत्रे देउराली
काठमाडौंको मध्य शहरी क्षेत्रबाट नजिकैको छोटो तथा मध्यम दूरीका लागि प्रस्थान बिन्दुको रुपमा मुड्खु परिचित गन्तव्य हो। ठमेलबाट बालाजु बाइपास हुँदै करिब ७ किमी  दूरी तय गरेपछि मुड्खु पुगिन्छ। मुड्खु भञ्ज्याङबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गरेर स्वाना गाउँ चेकपोष्ट, चिलाउने गाउँ, हुँदै छत्रे देउराली पुगिन्छ। मुड्खुबाट छत्रे देउराली लगभग ११ किमीको दूरीमा पर्छ। छत्रे देउरालीबाट लगभग ६ किमी उकालो लागेपछि  भीम ढुंगा पुगिन्छ। भीम ढुंगाबाट करिब ८ किमीको दूरीमा सीतापाइला पुगिन्छ। अधिकांश बाटो ओह्रालो छ। सीतापाइला ठमेल करिब ३ किमीको दूरीमा पर्छ। यसरी यो रुट बाट आधा दिनको साइकल यात्रा को योजना बनाउन सकिन्छ। भर्खर सुरु गर्नेहरुका लागि भने पूरै दिनको चुनौती हुन सक्छ।

३. तीनपिप्ले – चण्डेश्वरी – बुढानीलकण्ठ
तीनपिप्ले झोर टोखा रुट ठमेलबाट साइकल टूरमा जाने  पर्यटकहरु तथा  पर्यटनकर्मीहरुको उत्कृष्ठ रोजाइमा पर्ने छोटो रुटमा पर्छ। ठमेलबाट बालाजु, माछा पोखरी, नेपाल टार धर्मस्थली हुँदै तीन पिप्लेसम्मको दूरी करिव १० किमी हुन आउँछ। तीन पिप्ले पुग्नुअगाडि करिब १.५ किमी बाटो अलि उकालो छ। बाइपासबाट तीन पिप्ले जाने बाटो अलि सजिलो भए पनि फोहोर मैलाका ठूला गाडीले गर्दा साइकल चढाइको आनन्द लिन सकिँदैन।

ठमेलबाट तीनपिप्लेसम्मको दूरी करिब १० किमी दूरी तय गर्न करिब ४५ मिनेटदेखि १ घण्टासम्म लाग्छ। यहाँ  पुगेर  विभिन्न गन्तव्य चयन गर्न सकिन्छ जस्तै ककनी, पाँचमाने, तारकेश्वर। मनमोहक दृश्य हेर्दै साङ्ला पुग्दा करिब ६ किमी दूरी तय हुन्छ। यो दूरी तय गर्न करिब आधा घण्टा लाग्छ।

साङ्लाबाट अर्को आधा घण्टामा सपना तीर्थको दूरी करिब चार किमी छ। सपना तीर्थबाट करिब डेढ किमीको दूरीमा चण्डेश्वरी निस्कन्छ। पिच बाटोबाट बायाँतर्फ लागेर  चण्डेश्वरी जान सकिन्छ। चण्डेश्वरीबाट टोखा गोल्फुटार, बाँसबारी, ठमेल निस्कन सकिन्छ वा टोखाबाट गाेंगबु, बालाजु  हँुदै  ठमेल निस्कन सकिन्छ। साइकल यात्रीको रोजाइअनुसार चयन गर्न सकिन्छ। जाँगर, शारीरिक ताजगी वा इच्छा शक्ति छ भने चण्डेश्वरीबाट छोटो उकालो लागेर बुढानील कण्ठ झर्न सकिन्छ।

४. विशंखुनारायण कोत डाँडा
काठमाडौं उपत्यकाको प्रख्यात चार नारायणमध्ये एक विशंखु नारायण। धार्मिक दृष्टिकोणले हिन्दू धर्मावलम्बिहरुको महŒवपूर्ण तीर्थस्थल। विशंखु नारायणको मन्दिर डाँडाको मद्य भागमा अवस्थित छ।साँघुरो गुफाभित्र नारायणको मुख्य पूजा स्थल छ। मन्दिर भएको डाँडाको प्राकृतिक बनावट निक्केै चाखलाग्दो छ।

पाटन मंगलबजारबाट लगनखेल, सात दोबाटो हुँदै करिब ७ किमी दूरी तय गरेपछि बाँणे गाउँ पुगिन्छ। बाँणे गाउँ सिवाली चोकबाट बायाँतर्फको बाटो भएर करिब डेढ किमीको दूरी तय गरेपछि गोदाम चौर पुगिन्छ। गोदाम चौरबाट बायाँतर्फको करिब २ किमी उकालो लागेपछि विशंखु नारायण पुगिन्छ।

विशंखु नारायणको मन्दिरबाट करिब दुई किमी उकालो चढाइपछि रमणीय कोत डाँडा पुगिन्छ। कोत डाँडा समुद्र सतहबाट करिब १७४० मी. उचाइमा रहेको छ। पश्चिमबाट पूर्वतर्फ अग्लिँदै गएको कोत डाँडाको पूर्वतर्फ गाउँको सिरानमा कोत र मन्दिर छ।

कोत डाँडाबाट मौसम सफा भएको बखत खण्ड खण्ड हिमाल, पहाड र काखमा अवस्थित उपत्यकाको मनोरम दृश्यमा आनन्द लुट्न पाइन्छ। सुख्खा मौसममा भने उपत्यकाको अवस्था त्यति उत्साहप्रद देखिँदैन। वायु प्रदूषणको विकराल अवस्था नाङ्गो आँखाले प्रस्ट देखिन्छ।

कोत डाँडाबाट फर्कँदा लामाटार निस्कने  करिब चार किमीको ओह्रालो जंगलको बाटो निक्कै रोमाञ्चक छ। लामाटारबाट ग्वार्खु हुँदै पुनः मंगलबजार आइपुग्दा करिब आठ किमीको दूरी तय हुन्छ। यसरी मंगलबजारलाई आधार मानेर सात दोबाटो, बाँणे गाउँ, गोदामचौर विशंखुनारायण, कोत डाँडा, लामाटार, ग्वार्खु हँुदै पुनः पाटन मंगलबजार आइपुग्दा लगभग २५ किमी दूरी तय हुन्छ। बिहानी पखको साईक्लिङ, छोटो दूरीको साईक्लिङ गर्न रुचाउने, नयाँ साइकल प्रेमी, स्वदेशी विदेशी सबैका लागि उपयुक्त रुट हुन सक्छ।

गोदावरी
विशंखु नारायण पुगेपछि यहाँबाट अर्को रमणीय गन्तव्य चयन गर्न सकिन्छ। मन्दिरबाट थोरै उकालो लागेर दायाँतर्फ मोडिने। डाँडाको बीच भागबाट बनेको बाटोबाट तलपट्टिको सुन्दर उपत्यकाको दृश्य हेर्दै साइक्लिङ गर्न निकै रमाइलो छ। पात्ले छाप हुँदै शिद्धेश्वर कुण्ड पुग्दा करिब ६ किमी यात्रा तय हुन्छ। गोदावरी बसपार्कबाट दायाँतर्फको भित्री बाटो प्रयोग गरेर किटा चौर हुँदै पुनः गोदामचौर निस्कन सकिन्छ।
गादामचौरबाट विशंखु नारायण, पात्ले छाप, शिद्धेश्वर कुण्ड, किटा चौर हँुदै गोदाम चौरसम्म आइपुग्दा लगभग १० कि.मी को एक फन्को बन्छ।

साना गाउँ
विशंखु नारायण पुगेपछि छोटो रमाइलो बाटो रोजेर साना गाउँ हुँदै ग्वार्खु निस्कन सकिन्छ। विशंखु नारायणबाट अलिकति ओह्रालो बाटो फर्किएपछि दायाँ लागेपछि मोडिएर शंखादेवी गाउँ बिष्णुडोल, सिद्धपुर, साना गाउँ, ग्वार्खु हुँदै मंगलबजार आइपुग्दा लगभग १०  किमी दूरी तय गरिन्छ।

मंगल बजार–बज्रबाराही –सन्तानेश्वर – नाग दह
बाँडे गाउँ दक्षिणतर्फ सन्तानेश्वर महादेव स्थानको थुम्को सहजै देखिन्छ। बाँडे गाउँबाट करिब १.५ किमीको दूरी तय गरेपछि सन्तानेश्वर महादेव स्थानको फेदीमा पुगिन्छ। करिब ३५० वटा सिँढी चढेपछि मन्दिरको द्वारमा पुगिन्छ। सन्तानेश्वर महादेव स्थानबाट लगभग २ किमी दक्षिणतर्फ जाने हो भने रमणीय बज्रबाराही पुगिन्छ। मूलबाटो भएर पुराना नेवारी सम्पदा हेर्दै चापागाउँ, ठेँचो, सुनाकोठी हुँदै लगनखेलसम्म आइपुग्दा करिब १० किमी दूरी तय हुन्छ। सन्तानेश्वर महादेव स्थानबाट करिब १.५ किमी पश्चिमतर्फ लाग्ने हो भने नागदह पुगिन्छ। नागदहबाट धापाखेल, सुनाकोठी हुँदै, मंगलबजार आइपुग्दा करिब ९ किमीको दूरी तय हुन्छ।  

लगभग २० किमी साइक्लिङ गर्दा मध्य ललितपुरका ग्रामीण बस्तीका सुन्दरताको आनन्दमा रमाउन सकिन्छ।

५. बालकुमारी–दधिकोट–लाँकुरी भञ्ज्याङ
मंगलबजारबाट मध्यकालीन शहरका गल्ली छिचोलेर पूर्वपट्टि २ किमी दूरी तय गरेपछि मनोहरा पुल पुगिन्छ। पाटन बालकुमारीबाट बालकोट, चित्रपुर, दधिकोट, अनन्तलिङ्गेश्वर पुग्दा लगभग ८ कि.मी को दूरी तय हुन्छ। समय, शक्ति, जाँगरको अभाव छ भने सजिलो रुट छनोट गरी बिरुवा, लामाटार, सूर्य विनायक हुँदै फर्कन सकिन्छ। पाटन मंगलबजारलाई आधार मानेर यी सबै रुटबाट साइक्लिङ गरेर एक फन्को मार्दा लगभग २०–२२ कि.मी दूरी तय हुन्छ। तर अलिकति चुनौतीको सामना गर्ने भए करिब रानीकोट, भकारी डाँडा, लाकुरी भञ्ज्याङ पुग्न सकिन्छ। तर्खगालबाट दक्षिण पूर्वको उकालोको चुनौती सामना गरेर करिब ८ कि.मी साइक्लिङ गर्ने हो भने लाकुरी भञ्ज्याङ पुगिन्छ। लाकुरी भञ्ज्याङबाट थप धेरै रुट छनोट गर्न सकिन्छ। तर छोटो तथा मध्यम दूरीको साइक्लिङ गर्ने भए यात्रा छोट्याएर लाकुरी भञ्ज्याङबाट लामाटार, लुभु हँुदै ग्वार्खो फर्कन सकिन्छ। लाकुरी भञ्ज्याङबाट ग्वार्खोको दूरी करिब १५ किमी छ।

मनसुन टिप्स
वर्षादमा साइक्लिङ गर्दा मौसमको ख्याल गरेर मात्र यात्रा स्थान, समय, दूरी आदि निर्धारण गर्नु राम्रो। यात्रा अवधिमा धेरै ठूलो वर्षा भएमा यात्रा स्थगित गर्नु वेश। वर्षादमा धेरै भिज्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। थाहा नभएको बाटो, खाल्डो, भिरालो ठाउँमा ख्याल पु¥याएर साइकल यात्रा गर्नुपर्छ। भेल आएको बखत खोला, खोल्चा पार गर्दा जोखिम न्यूनीकरणका उपाय अपनाउनु पर्छ।  जहाँ पायो त्यहीँको पानी नखाने। थप अन्य जानकारीका लागि तल दिईएअनुसार गर्दा वेश   
सुरक्षित साइकल यात्राअघि ख्याल गर्नुपर्ने कुराहरु

  • दुवै चक्काको क्वीक रिलिज लिभर राम्ररी कस्ने।
  • अगाडिपछाडि दुवै ब्रेक प्याडको अवस्था जाँच्ने। प्याड धेरै नै पातलो भएर धातु ले रोटर (डिस ब्रेक भए) वा रिम छुन लागेको भए फेरेर मात्र यात्रा गर्ने।
  • पछाडिको ड्रेलरले जन्जिर (चेन) राम्ररी सार्छ कि सार्दैन जाँच गर्ने।
  • चक्काको हावा जाँच गरी कम भए आवश्यक मात्रा हावा हाल्ने।
  • सिट पोष्टको उचाइ आफूअनुकूल राख्ने।
  • अगाडिको ड्रेलरले जन्जिर राम्ररी सार्छ कि सार्दैन जाँच गर्ने।
  • जन्जिर जाँच गर्ने। फोहोर भए ब्रसले सफा गर्ने। सुख्खा भए हल्का हाल्ने तेल राख्ने।
  • ह्याण्डल र हेड सेट जाँच गर्ने। डग्ने भए राम्ररी कस्ने।
  • अगाडि पछाडिको ब्रेक लिभर थिचेर जाँच गर्ने। जाँच गर्दा ग्रीपसम्म छुने हुनु हुँदैन।
  • आरामदायी तथा सुरक्षित साइकल यात्राका लागि
  • हेलमेट चर्किएको छ छैन जाँच गर्ने। क्लिप जाँच गर्ने। हेलमेट लगाउदा आँखिभौ भन्दा दुई औंलामाथिसम्म छोपिने गरी लगाउने। क्लीप लगाएपछि चिउडो र फित्ता एक आंला छिर्ने भागसम्म खुकुलो राख्ने। दायाँ बायाँ नहल्लने गरी लगाउने।  
  • साइक्लिङ जर्सी लगाउँदा शरीरबाट निष्कासन हुने पसिनाको सहज व्यवस्थापनमा सहयोगी हुन्छ। पसिना तर्काउँछ। वाफ गुम्सन पाउँदैन। हावा सहजरुपमा भित्र बाहिर गर्न सक्ने हुनाले चाडै सुख्खा हुन्छ।
  • साइक्लिङ स्ल्याक्स। यसमा नरम प्याड हुने भएकोले यात्रा आरामदायी बानाउन सहयोगी हुन्छ।
  • साइक्लिङ गर्दा जुत्ता, पञ्जा, मास्क, चस्मा लगाउने। मौसमअनुसार पातलो हावा रोक्ने जाकेट पनि राख्ने।

घाम बाट जोगिन सन लोसन लगाए राम्रो

  • झोलामा के बोक्ने
  • वर्षादी
  • पम्फु
  • पञ्चर टाल्ने सामग्री
  • जगेडा ट््यूब
  • एल एङ्गकी सेट
  • सानो टुक्रा चेन
  • सानो चक्कु
  • प्यारासुट डोरी, ट्वाइलेट पेपर, प्राथमिक उपचारका लागि आवश्यक सानो प्याक
  • लामो दूरीको यात्रा भए एकजोर कपडा र चप्पल
  • पर्याप्त पानी, फलफूल, थोरै खानेकुरा, पैसा

यात्रा अघि र पछि के खाने
पौष्टिक विज्ञका अनुसार साइकल चढ्ने व्यक्तिको उमेर, जिउ डालको आकार, महिला, पुरुष र चढाइ स्तरअनुसार फरक फरक सन्तुलित आहारको आवश्यकता पर्छ। खानामा औसत ५०–७० प्रतिशत कार्बोहाइड्रेट, १५–२० प्रतिशत प्रोटिन र चिल्लो पदार्थयुक्त खाना खानुपर्छ। बजारीया खानेकुराभन्दा आफैँले बनाएको धेरै स्वस्थकर हुन्छ।

यात्रापश्चात् के गर्ने
मनसुनमा यात्रापश्चात साइकललगायतका सामग्री पानीले राम्ररी सफा गर्ने। सफाइपश्चात् राम्ररी सुख्खा बनाउनुपर्छ। साइकलको स्पोकेट, चेनमा तेल हालेर खिया लाग्न तथा अन्य पार्ट खिया लाग्न तथा बिग्रन बाट बचाउनु पर्छ।

प्रकाशित: ११ श्रावण २०७६ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App