२७ श्रावण २०७७ मंगलबार
अन्य

भगवानको रूप

अनुज, नमुना, मुकेश र मनीषा स्कुलबाट बाहिरिंदै गर्दा एउटी जिङ्ग्रिङ्ङ कपाल भएकी फोहोरी बूढी आइमाईलाई हात पसारिरहेको देखे। स्कुलको गेटमा पाले दाइ हुनुहुन्थ्यो। उनी पाले दाइसित हात पसारिराखेकी थिइन्। पाले दाइले  भने छिःछिः दुरदुर गर्दै ती आइमाईलाई हकार्दै थिए, ‘जा भाग, केही पाउन्नस्, बौलाही !’
‘बौलाही, बौलाही !’ केहीबेरमै अनुज, नमुना, मनीषा, मुकेशहरूको मुखबाट पनि स्वस्फूर्त आवाज निस्कियो।

अनुज त झन् अगाडि बढेर ती आइमाईलाई लखेट्न थाल्यो। नमुना, मनीषा र मुकेशले पनि त्यसै गर्न थाले। स्कुल छुट्टी भएर घर फिर्दै गरेका अरू विद्यार्थीहरूले पनि ती आइमाईलाई ‘बौलाही, बौलाही’ भन्दै लखेट्न थाले।

ती आइमाई आत्तिएर भाग्न थालेकी थिइन्। ती आइमाई आत्तिदै  भागेको देखेर केही विद्यार्थीहरूले रमाउँदै ताली पिटे। आज सबै विद्यार्थीहरू खुब रमाएका थिए। निकैबेर लखेटेर टाढा पु¥याएपछि धेरैजसो विद्यार्थीहरू फर्किए।

‘मैले त एक ढुङ्गा हानें,’ अनुजले भन्यो।
‘मैले पनि लट्ठीले हानें,’ मुकेश बोल्यो।

नमुनालाई ढुङ्गा र लट्ठीले हानेको भन्ने कुरा अलिक मन परेन। बौलाहीलाई लखेटेर राम्रो कि नराम्रोे काम गरियो,उसलाई द्विविधा भइरह्यो। जेहोस् घर पुगेर हतारहतार नमुनाले आमालाई सुनाई,‘आमा, आमा, आज हाम्रो स्कुलमा एउटी बौलाही आ’की थिई।’
फेरि भनी, ‘हामी सबैले उसलाई लखेट्यौं। हामीले रमाउँदै ऊ भाग्दा ताली पिट्यौं। कस्तो रमाइलो पो भो  !’
आमा झस्किनुभयो,‘किन लखेटेको ? त्यसरी कसैलाई लखेटेर रमाइलो गर्ने हो त ?’
‘अनि पाले दाइले बौलाही भन्नुभयो त हामीले के गर्ने ?’

‘ ती आइमाईले के गरिन् र बौलाही भन्नुभयो ?’
‘केही गर्न त गरिनँ। तर हात थापेर पैसा मागी ! कस्ती फोहोरी थिई। कपाल जिङ्ग्रिङ्ङ परेको थियो।’
आमा एकछिन टोलाउनुभयो र भन्नुभयो,‘विचरी गरिब आइमाई रहिछिन् ! कति दिनदेखि खान नपाएकी होलिन्। तिमीहरूले उनको बारेमा सोध्यौ त ?’
‘अहँ, कसैले पनि सोधेनन् ! पाले दाइले पनि सोध्नु भएन।’

‘यो पाले दाइ त बदमास पो रहेछ। गरिब माग्ने हुनेबित्तिकै कोही बौलाही हुन्छ ? फेरि लौ कोही बौलाही नै भयो रे। उनलाई किन लखेट्नु ? किन गिल्याउनु ?’
नमुना चुप्प लागी। उसलाई पनि ढुङ्गा र लट्ठीले हानेको कताकता मन परेको थिएन। अहिले बोली, ‘हो त आमा, त्यो आइमाई बौलाही भए पनि मान्छे त हो नि हगि !’
‘हो त, हामी जस्तै मान्छे त हो। किन त्यस्ती फोहोरी र माग्ने भइन् सोध्नु र सहयोग गर्नु त कहाँ हो कहाँ तिमीहरूले त खुब बहादुरी पो देखाएछौ गिल्याएर।’
नमुनाले आमाले भनेका धेरै कुरा बुझी। उसलाई आफूहरूले गल्ती गरेको रहेछ भन्ने लागेर नराम्रो लाग्यो। उसले राम्ररी खाजा पनि खाइनँ। साँझमा सधैँ खेल्न जान्थी। आज खेल्न पनि गइनँ।

आमाले राति बुबालाई सबै कुरा सुनाइदिनुभयो। बुबा पनि रिसाउनु भयो, ‘धत बदमासहरू ! नानी अब तिमीचाहिँ यस्तो नगर्नु है।’ बुबाले सम्झाउनुभयो।
नमुना केही बोलिन। अँध्यारो मुख पारेर बुबातिर याचनाको नजरले हेर्दै क्षमा माग्न आफ्नो कान समाती। बुबाले उसलाई हाँस्दै काखमा राखेर भन्नुभयो, ‘केटाकेटी भनेका भगवान्को रूप पो हुन्छन् त ! भगवान्ले कहीँ एउटी कमजोर आइमाईलाई ‘बौलाही’ भनेर गिल्याउँछन् त ! तर, नानी यसमा तिमीहरूको भन्दा पनि त्यस पाले दाइको दोष छ। पख, भोलि म तिम्रो स्कुल गएर कम्प्लेन गरिदिन्छु अनि चाख्ला त्यसले।’

नमुना ओछयानमा थिई। उसलाई छटपट भइरह्यो। निद्रा लागेन। उसले मनमनै अनुजलाई धेरै सरापी। अनुजले नै पहिले अगाडि बढेर त्यस आइमाईलाई लखेटेको थियो। निकैबेर ओछयानमा छटपट गरेपछि ऊ निदाई। निद्रामा उसले सपना देखी। सपनामा उनै आइमाईलाई देखी। तर, उनी त देवी भगवती जस्ती झलझल उज्यालो अनुहार र महँगो वेशभूषामा सजिएर हाँसिरहेकी थिइन्। उनी नमुनातिरै हेरेर हाँसिरहेकी थिइन्। र नमुना भने छक्क परेर उनको अनुहार हेर्दै थिई।

प्रकाशित: ११ श्रावण २०७६ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App