भगवानको रूप
अनुज, नमुना, मुकेश र मनीषा स्कुलबाट बाहिरिंदै गर्दा एउटी जिङ्ग्रिङ्ङ कपाल भएकी फोहोरी बूढी आइमाईलाई हात पसारिरहेको देखे। स्कुलको गेटमा पाले दाइ हुनुहुन्थ्यो। उनी पाले दाइसित हात पसारिराखेकी थिइन्। पाले दाइले भने छिःछिः दुरदुर गर्दै ती आइमाईलाई हकार्दै थिए, ‘जा भाग, केही पाउन्नस्, बौलाही !’ ‘बौलाही, बौलाही !’ केहीबेरमै अनुज, नमुना, मनीषा, मुकेशहरूको मुखबाट पनि स्वस्फूर्त आवाज निस्कियो।