हाम्रो समाज दैनिक रुपमा राम्रा–नराम्रा धेरै कुराहरु घटिरहेका हुन्छन्। कुनै गतिविधिले समाजमा राम्रै असर पारिरहेका हुन्छन् त कुनैले नराम्रो। समाजका यस्तै राम्रा वा नराम्रा गतिविधि पस्कने काम ‘परिवार’को यो पानामा केही वर्षदेखि गर्दै आइरहेकी छु।
गएको महिना ‘उता फर्किनुस् बा !’ शीर्षकको आलेखलाई पाठक वर्गले निकै राम्रोसँग रेस्पोन्स गर्नुभयो। पाएको त्यो राम्रो प्रतिक्रियाले मलाई लेख्न अझ हौसला दिएको छ। यसका लागि पाठक वर्गलाई धन्यवाद दिन चाहन्छु।
यसपालि भने नेपालको सुदूरपश्चिम यात्रामा गएको एउटा सानो अनुभूति लेख्दैछु।
गएको महिना एउटा कामले सुर्खेत गएकी थिएँ। काठमाडौँबाट बिहान ८ः३० बजेको बुद्ध एयरको प्लेन जाँदोरहेछ। ७५ प्रतिशतभन्दा बढी एनजिओ आइएनजिओका कार्यकर्ताले प्लेन भरिएको थियो। प्लेन सुर्खेत एयरपोर्टबाट ओर्लिएर बाहिर हेर्दा सेभ द चिल्ड्रेन, केयर नेपाल, एसोसियसनअफ आइएनजिओका कार्यकर्ता टोयोटाका ठूला गाडीहरुको लस्कर देख्दा खुशी लाग्यो।
खुसी लाग्नुको कारण के थियो भने यसरी सुर्खेत जस्तो ठाउँमा पनि ठूला एनजिओ/आइएनजिओले सर्वसाधारणलाई सशक्तीकरणका लागि ऊर्जा र समय खर्च गरिरहेका छन्। यसरी विदेशी संस्थाको आँखा यहाँको विकासका लागि हरदम गढेको रहेछ भन्ने लाग्यो।
महँगा गाडीको लाइन देख्दा चारै तिरबाट कर्णाली प्रदेशको विकासमा जोड दिइएको होला भन्ने लाग्यो। होटल पुग्दा पनि उसैगरी गाडीको लस्कर देखिन्थ्यो। हामी बसेको होटेलका तीन वटै हल प्याक थिए। एउटामा सेभ द चिल्डे«नले शिक्षाको बारेमा केही सिकाइरहेको थियो। अन्य दुई वटा हलमा पनि केही न केही प्रशिक्षण भइरहेकै थियो।
सक्रियतापूर्वक सबै जना सो प्रशिक्षणमा सहभागी भएका थिए। केहीको भनाइमा त यो सहभागिता यति सशक्त छ कि सोचेको भन्दा बढी प्रशिक्षार्थीको सहभागिता छ।
एक दृष्टिले हेर्दा विकासको गति पक्रन हरेक कुरामा तालिम र प्रशिक्षण दिने काम भइरहेको छ र प्रशिक्षार्थी पनि सक्रियतापूर्वक यसमा पारङ्गत हुन हतारोमा छन्। सोचेको भन्दा सक्रिय सहभागिता यहाँ देखिन्छ। एक हिसाबले यत्तिको सफल प्रशिक्षण त के होला र?
अलि गहिरिएर हेर्दा भने यी प्रशिक्षणको वास्तविकता थाहा हुन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले दिइरहेको यो प्रशिक्षणको प्रतिफल कत्तिको छ त? के आइएनजिओ तथा एनजिओहरुले दिएका यी प्रशिक्षणले कर्णालीका कुनाकाप्चामा प्रसार हुनपर्ने जनचेतनाको पालुवा पलाएको छ त? जनचेतना कुन स्तरमा फैलन सफल भएको छ त? प्रदेशका कुना–कुनामा शिक्षा, स्वास्थ्य, खानपानी पुगेको छ त? के परीक्षार्थीले पूरै फाइदा लिन सकेका छन् त?
यस किसिमको प्रशिक्षणमा हरेक वर्ष करोडौँ रुपयौँ खर्च हुने गरेको छ। खर्च भएका ती करोडौँ र अहिलेसम्म गन्ने हो भने त अर्बौं रुपैयाँ पुग्न सक्छ। तिनले कर्णालीको मुहार फेर्न कत्तिको भूमिका खेलिरहेको छ त?
नेपालका लागि यस्ता संस्थाले दिने गरेका प्रशिक्षण साँच्चिकै गुणस्तरीय छ त? यसको मूल्याङ्कन कसले गर्ने? एनजिओ/आइएनजिओका बारेमा एउटा रोचक कथा प्रचलित छ। सायद तपाईंले पनि सुनिसक्नु भएको होला तर यो सधैँ सुनिरहूँ लाग्ने किसिमको नै छ।
एक पटक एउटा एनजिओका म्यानेजर एउटा गाउँका दुःखीलाई सहयोग गर्न भनेर पुग्छन्। उनीहरुको दुःख देख्न नसकी गाउँलेहरुलाई सोध्छन्, ‘तपाईंहरुको दुःखबाट म द्रवित भएँ, तपाईंहरुलाई म के सहयोग गर्न सक्छु?’
‘हामीलाई ब्यान/बेल्काको छाक टार्न मुस्किल छ, त्यो पाए त गज्जब हुन्थ्यो,’ दुःखी गाउँलेले जवाफ फर्काएछन्।
एनजिओको नीतिमा कसैको बिहान र बेलुकीको छाक टार्ने योजना त थिएन। त्यसैले उनले जवाफमा भनेछन्, ‘हाम्रो योजना त त्यस्तो केही छैन। तपाईंहरुले यसै पनि छाक त टारिरहनु भएकै छ। भविष्यका बारेमा सोच्नुस्। भविष्यमा केही साँच्न र कमाएर बचाउन सिक्नुस्। यस्तो भयो भने भविष्य सुन्दर हुन्छ।’
यसका लागि एनजिओका म्यानेजरले गाउँलेलाई एउटा बाख्रो बाँड्ने भए। केही नपाउनु भन्दा बाख्रो नै पाए पनि गाउँलेका लागि खुसीको कुरा थियो। तसर्थ, उनीहरु त्यसमा रमाउँदै सहभागी भए।
बाख्रा बाँडेको छ महिनापछि तिनै म्यानेजर गाउँ डुल्दै पुगेछन्। कसैको गोठमा पनि बाख्रो थिएन। उनलाई आश्चर्य लागेछ। छ महिनामा त बाख्रो यात ब्याउनुपर्ने थियो या यसका पाठापाठी हुनुपर्ने थियो। गोठ नै रित्तो हुनुपर्ने कुनै कारण थिएन।
यसपछि उनले गाउँलेको भेला गराए र सोधे, ‘तपाईंलाई हामीले बाख्रो दिएका थियौँ। तिनले सन्तान जन्माए होलान्। कति वटा बनाउनु भयो त?’
जवाफमा गाउँलेका अगुवाले भने, ‘तपाईंले बाख्रा दिनुभएको केही दिनमै दशैँ आइहाल्यो। अब दशैँ मनाउनु परिहाल्यो। त्यसपछि त बाख्रो ब्याउनै पाएन नि !’
यसपछि म्यानेजरलाई आफ्नो लगानी कसरी खेर गयो भन्ने बोध भयो।
ठीक यस्तै कुरा हाम्रा एनजिओ र आइएनजिओको लगानीका कुरामा पनि लागू हुन्छ। तिनले दिने प्रशिक्षण र प्रशिक्षणमा भेला तथा सहभागी भएका प्रशिक्षार्थीका सन्दर्भमा पनि लागू हुन्छ।
कतिपय संस्थालाई संख्यामा देखाउनुपर्ने हुनाले पनि मानिस भेला पार्ने ठेक्का लिनेहरु जन्मन थालेका छन्। चाहे भेला भएका मानिसहरुले त्यसको उचित मूल्य पाएको होऊन् या नहोऊन्। प्रशिक्षण लिने र भत्ता पचाउने कर्ममा संलग्नहरुले बुझ्न जरुरी छ, तिनको यस्तो क्रियाकलापले साँच्चिकै आवश्यक परेको व्यक्तिको भाग खोसिइरहेको छ।
यस्ता अनेकन विकृति एनजिओ/आइएनजिओ मौलाएका ठाउँ देख्न सकिन्छ। यस्ता विकृतिलाई नियमन गर्न हालै एउटा विधेयक ल्याउने प्रयास नभएको पनि होइन। यसमा अनेक किसिमका समस्या रहेको देखाई गैर सरकारी संस्थाका सञ्चालकहरुले विरोध गरेको पनि पाइएको छ। विरोध मात्र नगरी समस्या कहाँनेर छ, ती समस्यालाई कसरी न्यूनीकरण गर्दै वास्तविक समस्या समाधानमा केन्द्रित हुन सके साँच्चिकै राम्रो काम गर्न सकिने देखिन्छ।
एनजिओ/आइएनजिओमा पनि केही समस्या त अवश्य छ। नत्र सामाजिक अवस्था सुधारका लागि आधा शतकभन्दा बढी समय काम हुँदा पनि किन सोचेजस्तो हुन सकिरहेको छैन? यतिबेला आफैँबारे छलफल र मन्थन गर्ने बेला आएको छ। किन सर्वसाधारण एनजिओप्रति जति सकारात्मक हुनुपर्ने, त्यति छैनन्? किन सधैँ एनजिओहरु रक्षात्मक छन् र आफ्नो कार्यलाई गर्वका साथ अभिव्यक्त गर्न सकिरहेका छैनन्? नियाल्ने बेला भइसकेको छ।
खासमा सबै एनजिओ एकै किसिमका छैनन्। नियत सफा हुने एनजिओले बिना प्रचार चुपचाप काम गरिरहेका पनि छन्। तिनले जनताबाट उत्साहप्रद प्रतिक्रिया पनि नपाएका होइनन् तर कतिपय एनजिओका विवादास्पद क्रियाकलापले पूरै समुदायलाई नै कलंकित तुल्याउने काम भइरहेको छ। यस्तो कुरामा नियमन गर्न ढिला भएन र?
प्रकाशित: ७ श्रावण २०७६ ०८:३२ मंगलबार