१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बुढ्यौलीका दुःखहरू

एक एकल आमा, जो ८१ वर्ष नाघिसक्नु भयो, जिन्दगीको रापताप, संघर्षका पौठेजोरी र नौ सन्तान हुर्काउँदाका भुक्तमान लगायतले उमेरभन्दा निकै बुढ्यौलीग्रस्त देखिनुहुन्छ। तर, जिन्दगी धान्न आवश्यक सवै कुराको जोहो सहित दैनन्दिनका व्यवहारिक चटारो उहाँको टाउकोबाट पन्छिन सकेको छैन।

शारीरिक समस्याले उहाँलाई हुरुक्कै बनाउँछ। अति कमजोर हालत देख्ने जोसुकैलाई लाग्छ, यस्तो अवस्थामा पनि आफ्नो जीवन निर्वाह आफै कसरी गरिरहनुभएको छ ? यथार्थ यही हो कि आफूले जन्माएर कर्मठ बनाएका कुनै पनि सन्तान उहाँको कष्टपूर्ण बुढ्यौलीको सहारा बन्न सकेनन्। लगालग सात छोरी जन्मिए। ऊबेलाको समाज, छोरीलाई पूर्ण सन्तानको दर्जा के दिलाउँथ्यो ?

‘अर्काको भित्तो टाल्ने जात’ (छोरी) त टाढा भइहाल्छन्, न बुढेसकालको सहारा, न बैतर्नी तर्ने मेलो, छोरा नजन्माई त हुँदै हुन्न है,’ यो गाउँलेको सुझाव मात्र थिएन, उहाँहरू दुवैमा छोराप्रति गडेको अन्तरमनको विश्वास पनि। त्यही विश्वासले आशा जगाइरह्यो, अन्ततोगत्वा सात छोरीहरूपछि दुई छोरा जन्मिए।

निश्चिन्त बुढेसकाल र परलोक सुधारको अध्याय सुनिश्चित भएसँगै उहाँहरुमा छाएको खुसी झन् उल्लेख गरिसक्नुकै थिएन। समयक्रममा सबै छोरी ‘अर्कैको भित्तो टाल्न’ माइतिबाट बिदा भए, घर सुनसान भयो। सात छोरी टाढिँदाको आहत मन, दुई वुहारी भित्रिँदा धेरै राहत भयो। त्यतिबेला पनि उहाँहरूलाई लाग्यो, ‘छोराहरु नजन्मिएका भए त बरवाद नै हुने रहेछ।’ तर, विश्वास भत्किन धेरै समय लागेन। जिन्दगीमा जे जति सुखानुभुति भयो, त्यो छोरीहरूको साथ रहँदा मात्र कायम रह्यो। बुढेसकालका सहारा ठानिएका दुबै छोराबुहारीको अपहेलना, तिरस्कार, दिनहुँको करकस र लम्कीझम्की त छदै थियो, अलग बास र एकल जिम्मेवारीबाट जीवन धान्ने क्रम समेत बुढेसकालको प्रारम्भिक खण्डबाटै सुरुवात गरायो।

शरीर चल्ने अवस्थासम्म आमाहरू कहिल्यै फुर्सदिलो बन्न पाउनुहुन्न। नातिनातिनाको हेरचाह, पुजापाठ, बत्ती कात्ने, दुना–टपरी गाँस्ने, केलाइकुलाई, भातभान्सा लगायतका दर्जनौं काम आमाका साथी बनिदिन्छन्। कामको सक्रियतासँगै समय बितेको पत्तो हुँदैन। कामले वेदना भुलाउन पनि सहयोग गर्छ। तर, बुबाहरूको संलग्नता त्यस्ता गतिविधितर्फ प्रायः हुँदैन।

 

एकापसमा प्रगाढ प्रेम नहुँदो हो त, जिन्दगी निराशाको कालो धब्बा मात्र हुन्थ्यो होला। तर, बा–आमाको एक–अर्काप्रतिको भरोसा र समर्पण, गाउँलेको बखानको विषयमात्र थिएन, आफ्नै सन्तानको दर्दनाक प्रहार छेक्ने रक्षाकवचसमेत बनिरह्यो। मार्मिक चोटलाई निस्तेज बनाउँदै बाँच्न सिकाउने मूल आधार पनि त्यही थियो। उमेरले थेग्न नसक्ने हण्डर खेप्दाखेप्दै बाले संसार छोड्नुभयो। आमा विल्कुल एक्ली। त्यो अवस्थामा आइपुगेकी आमाप्रति समेत छोराहरूको मन पग्लेन। चार हातपाउ टेकेर जीवन निर्वाहको जोहो गर्न विवश जन्मदाताप्रतिको कर्तव्यबोध छोराहरूलाई अझै हुन सकेको छैन, न त कोमल ह्दयको रूपमा चिनिने नारीरूपी बुहारीलाई नै यसले असजिलो बनाएको छ।

कठिन भोगाइको पराकाष्ठा छँदैछ, त्यसमाथि छोराबुहारीले अनेक बहानामा थोपर्ने टोकसो, लाल्छना र गालीगलौजले आमालाई अझ बढी विक्षिप्त बनाउँछ। साततिर छरिएका छोरीहरूको आ–आफ्ना घरायसी समस्या र दुःख आफ्नै ठाउँमा छ। पति, घरपरिवार सबैको सहमति नजुटी आमाको हितका खातिर तिनलाई पनि कदम चाल्न गाह्रो। चाँजोपाँजो मिलाउन सक्ने छोरीको भरोसा आमालाई बेलाबेलामा मिल्ने गर्छ। तर, दिदीबहिनीले आमाप्रति दर्शाएको माया छोराबुहारीका लागि खपिनसक्नुको आक्रोस बनिदिन्छ। र, त छोराहरूसँग छोरीहरूको सम्बन्ध आफ्नै कारणले बिग्रिएला भन्ने चिन्ताले आमालाई लागिरहन्छ। छोरीहरूको सहयोग र सामीप्यता यसर्थ उहाँलाई अझ बढी बोझ बनिदिन्छ र छोरी पनि आफूबाट टाढै बसुन् भन्ने भावना उहाँमा सधंै जागृत भइरहन्छ। बुढ्यौलीले झन्झन् च्याप्दै लगेको शरीरले अझ बढी सामना गर्नुपर्ने कष्टका चुली सम्झँदै निस्कने सुस्केरा मात्र आमाका हरपलका साथी हुन्। 

अर्की एकल आमा, जो उमेरले साठीको हाराहारीमै हुनुहुन्छ, शिक्षित र कामकाजी बुहारीले गर्ने अमानवीय व्यवहारबाट हरेक दिन पीडित बन्नुहुन्छ। एक प्रतिष्ठित बैंकको राम्रै पदमा काम गर्ने बुहारीले अविवाहित अपांग, आमाजु र सासूलाई गर्ने व्यवहार त्यति तल्लोस्तरको होला भनेर सायद कसैले विश्वास गर्दैनन्। बुढेसकाल सुरु समेत नहुँदै बुहारीले आफूमाथि गर्ने पीडादायी व्यवहार सहने बानी उहाँलाई परिसकेको छ। तर, अपांग छोरीको चिन्ताले आमाको मन नजलेको कुनै पल हुँदैन। आमा र दिदीप्रति पत्नीले गरेको व्यवहारबाट छोरा समेत आजित छन्। तर, पत्नीविरुद्ध बोल्ने हिम्मत उनी पनि जुटाउँदैनन्। कुनै दिन थोरै हिम्मत गरे पनि पत्नीको डिभोर्सको धम्कीसँगै उनी चुपचाप रहन्छन्।

नेपाली ‘आधुनिक’ समाजभित्र उत्तरावस्थाको भोगाईलाई चरितार्थ गर्ने यी दुई नमुना घटना हुन्। अधिकांश परिवारभित्र बा–आमाको अवस्था यस्तै परिणतीभित्र जेलिएको देखिन्छ। अझ आमा गुमाएर एकल बन्नु भएका बुबाहरूको हालत बढी कारुणिक लाग्छ। किनकि जुनसुकै उमेरावस्थाका महिलाकोे कष्टपूर्ण भोगाई हामी सबैलाई सामान्य लाग्छ। तिनका पीडा÷वेदना भु्रणमै अन्तरघुलित भएर आउने तत्वका रूपमा बुझिन्छ। त्यसैले बुढेसकालमा महिलाले भोग्नुपरेका कष्टले समेत मान्छेलाई त्यति छुँदैन, महिलाका स्वभाविक नियति मानेर हरेक व्यक्ति र समाजले त्यसलाई ग्रहण गर्छ। तर, पुरुषको आँशु बिरलै देखिने हुनाले त्यो कसैलाई पनि स्वाभाविक लाग्दैन। अझ बुढेसकालमा त्यस्तो दृश्य दर्दपूर्ण लाग्नु आश्चर्यको विषय पनि होइन।

त्यति मात्र नभएर, शरीर चल्ने अवस्थासम्म आमाहरू कहिल्यै फुर्सदिलो बन्न पाउनुहुन्न। नातिनातिनाको हेरचाह, पुजापाठ, बत्ती कात्ने, दुनाटपरी गाँस्ने, केलाईकुलाई, भातभान्सा लगायतका दर्जनौं काम आमाका अन्तरंगी साथी बनिदिन्छन्। कामको सक्रियतासँगै समय बितेको पत्तो हुँदैन। कामले वेदना भुलाउन पनि सहयोग गर्छ। तर, बुबाको संलग्नता त्यस्ता गतिविधितर्फ प्रायः हुँदैन। लेख्ने/पढ्ने आदत/संभाव्यता भएका बुबाहरू त्यसैलाई सुख–दुखको साथी बनाउन सक्नुहुन्छ। हिँडडुल गर्न सक्दासम्म वरीपरी टहलिने, साथीभाइसँग गफिने क्रमले पनि बुढेसकालको कष्ट भुलाउन मद्दत गर्छ। तर, ती अवस्था विद्यमान नभएका बुबाका हरेक पल बोझिलो भएको देखिन्छ।

असाध्यै विमारले ग्रसित बुबा–आमाको परिवेश अझ कहालिलाग्दो छ। सन्तान हुर्काउने क्रममा कयौं रात जागै बस्नुपरेको कुरा अभिभावकको मुखबाट कहिल्यै निस्कँदैन। तर, बुबा–आमाको कारण एक रात निन्द्रा विथोलिनु सन्तानका लागि ठूलो गुनासो बनिदिन्छ। सन्तानको उपचारका लागि घरघडेरी समेत बाँकी नराख्ने बुबा–आमा असंख्य हुनुहोला। तर, आफ्नो सामान्य उपचारप्रति सन्तानको तिखो कटाक्ष दैनन्दिन सुन्ने नियतिमा धेरै बुबा–आमा बाँचिरहनुभएको छ। धन भएर पनि मन नहुने सन्तानको निकृष्टता घरभित्र मात्र सीमित छैन। बंगला, गाडीसहित अत्याधुनिक जीवनशैली अंगाल्ने कतिपय सन्तानका अभिभावकको पीडा, आँशु र अवस्थिति धर्मशाला, वृद्धाश्रम तथा सडकमा समेत छरिएको देखिन्छ।

यसो भन्दैमा उत्तरावस्थाका सबै बुबा–आमाको हालत यस्तै कारुणिक छ भन्न खोजिएको होइन। समाजमा त्यस्ता सन्तान पनि छन्, जसले अभिभावकको सेवालाई एक अंश पनि डगमग हुन दिएका छैनन्, अभिभावकको रहर र चाहना भुइँमा समेत खस्न नपाई पूरा हुन्छ, सामथ्र्यले भ्याएसम्मका सुविस्ता, उपचार उपलब्ध गराउन बाँकी राखिएको हुँदैन। परिवारको मियो र निर्णायक भूमिका उहाँहरूमै केन्द्रित हुन्छ। तर, एकाध सुखद् अवस्थाले बहुसंख्यक आमाबुबाले भोग्नुपरेका आर्तनाद कसरी ढाकिन्छ ?

अहिले ‘करियर’प्रतिको एकोहोरो रटानले दोस्रो पुस्तालाई नराम्ररी गाँजेको छ। घरभित्रका कामकाज प्रगतिको ठूलो बाधक सावित छन्, यतिसम्म कि बिहान–बेलुका घरमा खाना बनाउने, खाने स्थिति समेत महाभारत बनिदिन्छ। संस्कार र अनुशासन असह्य जेलनेल। पाहुना/आफन्तको आवतजावत तनावको विषय। अभिभावकको उपचार, रेखदेख गर्नुपर्ने अवस्था समय र सम्पत्तिको क्षयीकरण। यी र यस्तै कारण अशक्तावस्थाका अभिभावक बोझका रुपमा मात्र लिइने क्रम फैलँदो छ। संयुक्त परिवार एकलमा टुक्रिरहेका छन्। यसले बुबाआमाको जिन्दगीलाई कष्टकर बनाएको त छ नै, सन्तान अलग्गिनुको चोटबाट जीवनभर विषादग्रस्त बन्ने अवस्था समेत सृजना गरेको छ।

शिक्षाले मानिसलाई विवेकी बनाउनु पर्ने हो। तर उच्च शिक्षित भनिएकैहरूमा समेत ती गुणको अभाव देखिन्छ। अरु त परैको कुरा, प्राकृतिक मरण भयो भने बुढेसकालबाट कोही पनि उम्कन सक्दैन र आफ्नो पनि विकल्पविहीन त्यही गोरेटो हो भन्ने सामान्य चेत समेत शिक्षित भनिएकामा देखिन्न। हुनत, अभिभावकप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने कुरा कुनै पाठ्यक्रम पढेर मात्र आत्मसात गर्नुपर्ने विषय होइन। तर, पढेरसमेत मान्छे कसरी जिन्दगीको सामान्य सत्यलाई समेत पर्गेल्न सक्दैन, त्यो चिन्ताको विषय हो।

कतै नपढेरै सन्तानप्रतिको जिम्मेवारी पूरा गर्न अभिभावक सामथ्र्यवान हुने तर सर्वस्व सिध्याएर दिक्षित गराइएका सन्तान, त्यसबाट विमुख हुने अन्तरविरोध हाम्रो समाजमा कहिलेसम्म रहला ?

प्रकाशित: ४ श्रावण २०७६ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App