३० असार २०७७ मंगलबार
अन्य

बस नचढी विद्यालय

सहरका कुना काप्चादेखि मूल सडकसम्मका चोकचोकमा यसो फन्का मारौँ त। बिहानै विद्यालय पोशाकमा सजिएर ससाना बाबुनानीहरू विद्यालयको बस कुरिरहेका भेटिन्छन्। बिहान सात बजे नै विद्यालयका लागि बस कुर्नुपर्ने नियतिमा बालबालिकालाई पु-याएर यो समाजले कस्तो शैक्षिक गुणस्तर खोजेको हो ? सबेरै आँखा मिच्दै बडेमानको झोला पिठिउँमा बोकेर विद्यालय गएका बाबुनानी घर फर्कँदा झम्के साँझ पर्नै आँटेको हुन्छ। बिहान विद्यालयको गाडी चढाउन र साँझ गाडीबाट ओराल्न अभिभावक चोक कुरेर बस्नु पर्ने बाध्यता छ सहरमा। यो दृश्य हेर्दा सामान्य लागेता पनि बालबालिकाको क्षमता विकासमा यसले निकै ठूलो समस्या खडा गरेको छ। काखका सन्तानलाई समुदायकै काखको विद्यालयमा गुणस्तरीय शिक्षा दिन सक्ने सम्भावना हुँदाहुँदै निकै परका विद्यालयमा पठाउनु भनेको अभिभावकले नदुखेको कपाल आफैँ डोरी लगाएर दुखाउनु भनेजस्तै हो।

बालबालिकालाई गुणस्तरीय शिक्षाका नाममा समुदायभन्दा निकै पर गाडी चढाएर पठाउँदा देखिने समस्याका बारेमा यहाँ थोरै चर्चा गरिएको छ।

खानपानमा समस्या
अधिकांश घरमा बालबालिकाले समयमा खाना नखाएको गुनासो सुन्न पाइन्छ। कतिपय अभिभावकले त शिक्षक र प्रधानाध्यापक समेतलाई फोन गरेर बाबुनानीले खाना नखाएको गुनासो गर्दै सम्झाइदिन आग्रह गरिरहेका भेटिन्छन्। गृहकार्य गर्दागर्दै रात ढल्किसकेको हुन्छ, एकछिन टेलिभिजन हेर्ने अवसर समेत छैन उनीहरूलाई। अनि निद्रा पु-याउन बिहान अलि अबेरसम्म सुत्नुपर्ने बाध्यता हुन्छ। तर थोरै ढिला हुनासाथ विद्यालयको गाडी छुट्ने डर ! कारणवश विद्यालयको गाडी छुट्यो भने बाबुनानीका खुसी, धैर्य, आशा, अभिभावकको माया आदि धेरै कुरा एकसाथ छुटिसकेका हुन्छन्। बालबालिका र अभिभावक बिहानबिहान गाडी छुट्छ कि भन्ने चिन्तामा भान्सादेखि राजमार्गसम्म तनावमा देखिन्छन्। यसरी विद्यालय उमेरका बालबालिका भएका हरेक घरको दैनिकी तनाबबाट सुरु हुन्छ।

टाढाका विद्यालयमा जानु पर्दा न विद्यार्थीहरू न मज्जाले सुत्न पाउँछन्, न खेल्ने समय पाउँछन् न राम्रोसँग समाज बुझ्न सक्छन्। अभिभावक र विद्यार्थी दुवैलाई तनाव हुन्छ। त्यसैले घर नजिकैका विद्यालयमा विद्यार्थीलाई पढाऔं।
 

ओछ्यान छाडेर उठ्नासाथ खाना खानुपर्ने बाध्यतामा बालबालिका हुने हुँदा त्यसले बालबालिकाको खानासँगको मित्रताभन्दा पनि दुस्मनी बढ्न थाल्छ। एकातिर उठ्नासाथ भोजन ग्रहण गर्नका लागि पेट तयार हुँदैन अर्कातिर हतारमा बालबालिका पेटले मागेको परिमाणको खानासमेत नखाई उठ्न बाध्य छन्। परिणाम उनीहरूको स्वास्थ्य दिउँसोको खाजामा निर्भर रहन्छ। बिहानै तयार पारेर घरबाट पठाएको खाजा होओस् वा विद्यालयमै बनाइएको खाजा, बालबालिकाको स्वास्थ्यका लागि त्यति हितकर हुन सक्तैन जति घरमा बनेका ताजा खानेकुरा हुन्छन्। खानपानले नै व्यक्तिको स्वास्थ्य निर्धारण गर्छ। हुर्कने उमेरका बालबालिकाको खान्की नै व्यवस्थित र सन्तुलित हुन सकेन भने स्वास्थ्य कसरी मजबुत बन्न सक्छ ? स्वास्थ्य नै बिगारेर शिक्षा केका लागि ? अभिभावकले ठन्डा दिमागले सोच्नुपर्ने बेला आएको छ।

अनिद्रा
कतिपय बालबालिका कक्षामा पढ्दापढ्दै उँघ्ने गरेका भेटिन्छन्। त्यसका विविध कारण हुन सक्छन् तर यसको प्रमुख कारण चाहिँ उनीहरूको रात्रिको निद्रा नपुग्नु नै हो। बालबालिका दिनहुँ दिइने सबै विषयका गृहकार्य सक्नै पर्ने दबाबमा हुन्छन्। गृहकार्य पूरा नगरेमा कक्षामा साथीहरूमाझ बेइज्जत हुने, शिक्षक शिक्षिकाको खप्की खानुपर्ने, उस्तै परे पिटाइ नै खानु पर्ने अवस्था एकातिर छ। अर्कातिर टाढाको विद्यालयबाट फर्कँदा साँझको समय बाँकी रहँदैन। घर आएपछि आमाबाबा र घरमा रहेका सबैजसो अग्रजका मुखबाट ‘होमवर्क सकियो ?’ भन्ने प्रश्नको सामना गर्दागर्दै रात छिप्पिन्छ। यस प्रकारको तनाबले गर्दा केही बालबालिका सपनामा गृहकार्यकै कुरा देखेर बर्बराउने गरेको समेत पाइन्छ।

समय अभावले बालबालिका रुचिअनुसारका कुनै पनि खेल खेल्न पाउँदैनन्। बालबालिकाको उमेर भनेको शारीरिक एवम् मानसिक स्वास्थ्य निर्माणका दृष्टिले अत्यन्त संवेदनशील उमेर हो। खेलकूदमा सक्रिय हुन नपाउने र आवश्यक परिमाणमा निदाउन नपाएपछि बालबालिकाको शारीरिक, मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्छ। बालबालिकाको शरीर र मस्तिष्कमा आराम नपुगे आनन्द प्राप्त हुँदैन। बालबालिकाको आनन्द नै खोसेर शिक्षा केका लागि ? अभिभावक संवेदनशील हुन जरुरी भइसक्यो।

कष्टकर यात्रा
के विद्यालयसम्म पुग्दा गाडीको सिटमा आरामसाथ बस्न पाएका छन् त बाबुनानीहरू ? यसको उत्तर आधाभन्दा बढी बालबालिकाले नकारात्मक दिन्छन्। अपवाद छोडेर अधिकांश विद्यालयका बसले आधाभन्दा बढी बालबालिकालाई उभ्याएरै विद्यालय पु-याएका हुन्छन्। भरियाको भन्दा गह्रौँ भारी बोकेर विद्यालयका लागि तयार भएका बाबुनानी सिन्कीझैँ गाडीमा खाँदिएर बस्नुपर्दा झोलाले कतिसम्म सकस दिँदो हो, सहजै अनुमान गर्न सकिन्छ। उकुसमुकुस हुँदै विद्यालय पुगेका बालबालिकाले कसरी सक्रियतापूर्वक शिक्षणसिकाइ क्रियाकलापमा आफूलाई सहभागी गराउन सक्छन् ? हतारिँदै र पिल्सिँदै कक्षाकोठामा पुगेका विद्यार्थीलाई केही विद्यालयहरू कक्षाकोठामा जासुसी क्यामेरा (सीसी क्यामेरा) झुन्ड्याएर अर्को तनाबको कोर्रा बर्साउँछन्। तनाबै तनाबका बीचमा हामी देशका कर्णधार विद्यार्थी उत्पादन गर्ने सपना देखिरहेका छौँ। यही परिस्थितिमा गुणस्तरीय शिक्षा हावाको महलजस्तै असम्भव लाग्दैन र ?

निजी विद्यालयहरू मात्र होइन हिजोआज सामुदायिक विद्यालयसमेत विद्यार्थीको संख्या बढाउने होडबाजीमा छन्। यसमा थुप्रै सामुदायिक विद्यालयले समेत विद्यालय बस व्यवस्था गरेका छन्। सामुदायिक विद्यालयलाई सवारी किन्न सरकारले राजश्व समेत छुट दिन्छ।

कमजोर समय व्यवस्थापन
गाडी प्रयोग गरी बालबालिका विद्यालय जाँदा उनीहरूले समय व्यवस्थापनमा बढी ध्यान दिनुपर्ने हुँदा सिकाइका लागि अति उपयोगी बिहानीको समय अध्ययनमा उपयोग गर्न पाउँदैनन्। अर्कातिर अभिभावकको समेत बिहान गाडी चढाउन र बेलुका बालबालिकालाई गाडीबाट उतार्न अतिरिक्त समय खर्च भइरहेको छ। यसले सिगो देशको उत्पादनमा प्रत्यक्ष परोक्ष रूपमा असर पारिरहेको हुन्छ।

घरदेखि टाढा छोराछोरी पठाएपछि मुस्किलले एकदुई महिनामा विद्यालय गयो, अर्धपरिचित प्रशासकलाई भेट्यो आफ्नै सन्तानका कमजोरी सुन्यो, आफूले पनि त्यसैमा थपिथपाइ लगायो अनि समस्याका मूल कारकका रूपमा कलिला बालबालिकामाथि दोष थोप¥यो र आफू पानीमाथिको ओभानो बन्यो, बस् !

प्रभावहीन सिकाइ
घरदेखि निकै परको विद्यालयमा विद्यार्थी पढाउँदा शिक्षण प्रभावकारी बन्न सक्तैन। सिकाइ एक मनोवैज्ञानिक प्रक्रिया हो। बालबालिकाको मनोविज्ञान उनीहरूको घरपरिवार, समाज, संस्कृति र रहनसहनका आधारमा निर्माण भएको हुन्छ। निकै परबाट आएका बालबालिकाको पारिवारिक, सामाजिक, सांस्कृतिक अवस्थाका बारेमा जानकार नभइकन शिक्षकले कसरी कक्षाकोठामा उनीहरूलाई प्रभावकारी शिक्षण गर्न सक् छ? अचेल अधिकांश विद्यालयका अभिभावक सन्तानलाई पढाउने शिक्षकलाई देख्नसम्म पाउँदैनन्।

यतिबेला विद्यालयहरू सामाजिक दायित्वबाट बिमुख हुँदै गएका छन्। समाज पढाउन छाडेर विद्यालयहरू बालबालिकालाई पुस्तक मात्र पढाइरहेका छन्। सिकाइ प्रक्रियालाई जीवनसँग प्रत्यक्ष नजोडी विद्यालयहरू येनकेन प्रकारेणः विद्यार्थीलाई माथिल्लो ‘ग्रेडसिट’ उपलब्ध गराउने गैरप्राज्ञिक धन्दातिर उद्धत देखिन्छन्।

विद्यालय तहको शिक्षा आफ्नै समुदायभित्र प्राप्त गर्न पाउने बालबालिकाको अधिकारमाथि विद्यालयहरूले चोकचोकमा पहेँला गाडी कुदाएर धावा बोलेका छन्। आफन्त तथा साथीभाइले विद्यालय खोलेको निहुँमा, गुणस्तरीय शिक्षाका नाममा तथा अनेक बहानाबाजीमा अभिभावकले बालबालिकाका अधिकार र रुचिलाई पूर्णतः उपेक्षा गर्दै घरदेखि निकै परको विद्यालयमा भर्ना गरिदिनु सरासर बालअधिकारको प्रतिकूल कार्य हुन जान्छ।

कक्षाकोठाबाट बाहिर निस्केर फुङ्गाफाल भएर उफ्रन नदिएर बालबालिकाको उमेरका आवश्यकतामाथि निरन्तर खेलबाड भइरहेकोबारे कोही पनि संवेदनशील छैन। अभिभावक स्वयं गृहकार्य नदिएको वा कम दिएको निहुँमा शिक्षकसँग बाझाबाझ गर्न विद्यालय पुग्छन् तर किन आफ्ना सन्तानको रुची र स्वभाव अनुसार सिकाइ गतिविधि भए नभएको बारेमा चासो राख्न पुग्दैनन् ? सिकाइ प्रक्रिया यान्त्रिक बन्न सक्तैन भन्ने बारेमा न अभिभावक सचेत देखिन्छन् न गुणस्तरीय शिक्षाका मन्त्र जप्ने विद्यालयहरू नै।

मेसिनसँगको लामो संगतले सिर्जनात्मक क्षमतामा नकारात्मक असर पुग्छ। स्वास्थ्य विज्ञानले पनि बालबालिका थोरै समय हिँडेर विद्यालय जानु प्रभावकारी रहने बताउँछ। ज्ञान प्रवाहीकरणलाई ध्यान दिने हो भने बालबालिका विद्यालयसम्म हिँडेर पुग्दा बाटोमा धेरै कुरा सिक्ने र सामाजिक गुण विकासमा तीव्र वृद्धि हुने कुरालाई नजरअन्दाज गर्नु हुँदैन।

विद्यालय तहको शिक्षास मुदायमै
आफ्नै समुदायको विद्यालयमा भर्ना गरी विद्यालयका गतिविधिमा ध्यान दिने हो भने बालबालिकाले बडो रमाइलोसँग खेल्दैखेल्दै अथाह ज्ञान सिक्छन्। फलस्वरूप बालबालिकाले पाठ्यक्रममार्फत् कक्षामा सिकेको ज्ञान तथा सिपलाई सजिलै समाजसँग जोड्न सक्छन्; तुलना गर्न सक्छन् र आफूलाई सुन्दर भविष्यको सपना देख्न सक्ने बनाउँछन्। बालबालिकाका लागि दिउँसो विद्यालय समयमा र अतिरिक्त समयमा खेल्ने साथीहरू पनि एउटै हुन्छन्। यसले उमेर बढ्दै जाँदा भावना साटासाट गर्ने बानीको विकास हुन्छ र बालबालिका सानातिना समस्याको हल आफैँ खोज्न सक्षम हुन्छन्। कक्षाकोठादेखि खेल मैदानसम्म, मेला पर्वदेखि सांस्कृतिक चाडसम्म एउटै समूहमा विभिन्न गतिविधिमा आफूलाई संलग्न गराउने क्रममै बालबालिकाको सोचाइको दायरा फराकिलो बनिसकेको हुन्छ। त्यसरी हुर्केका बालबालिकाले नै समाजका आवश्यकता र समस्या छिट्टै बुझ्न सक्ने सामथ्र्य राख्छन् र देशले चाहेको जनशक्ति बनेर राष्ट्रनिर्माणको प्रक्रियामा आफूलाई सहभागी गराइहाल्छन्।

समाजभित्रै रहेको विद्यालयमा सोही समाजका शिक्षक रहनु अनिवार्य छ। जसले बालबालिकाका वैयक्तिक, पारिवारिक, सामाजिक र सांस्कृतिक मनोविज्ञान बुझिसकेका हुन्छन् र त्यसैअनुरूप शिक्षण सिकाइ क्रियाकलाप कक्षामा प्रयोग गर्छन्। यसो हुन सकेमा शिक्षक र विद्यालयको दायित्व बालबालिकाको प्राप्ताङ्कमा सीमित नरही व्यावहारिक परिवर्तनसँग जोडिन पुग्छ, शिक्षण प्रभावकारी बन्छ र शिक्षामार्फत देशले चाहेको परिवर्तन सम्भव हुन्छ। तसर्थ सबैजना गम्भीर बनेर विद्यार्थीलाई यात्रुका रूपमा टाढाका विद्यालयमा ओसारपसार नगरी जनसङ्ख्याको अनुपातमा समुदायमै विद्यालय सञ्चालन गरेर गुणस्तरीय र व्यावहारिक शिक्षा एकसाथ सुनिश्चित गर्ने कार्यमा लाग्न जरुरी छ।

विद्यालयका विद्यार्थी ओसारपसारका लागि मात्र विद्यालयले गाडी खरिद गर्दा एकातिर संस्थागत व्ययभार बढेको छ भने अर्कातिर राज्यको अरबौँ रकम सजिलै विदेशिएको छ। आर्थिक रूपमा मितव्ययी बन्दै समयसापेक्ष प्राविधिक शिक्षा नदिने हो भने मुलुकको समृद्धि सम्भव छैन। तसर्थ बालबालिकालाई विद्यालय तहको पढाइका लागि नै गाडी चढ्नु पर्ने बाध्यता सिर्जना नगरौँ। बालबालिकालाई यथेष्ट खेल्ने, घुम्ने र समुदायका विविध विषयमा साक्षात्कार गर्ने समयसमेत उपलब्ध गराउँदै शिक्षामार्फत् उनीहरूको क्षमता र सिप विकासमा टेवा पु¥याउन आवश्यक छ। बालबालिकाको विद्यालय तहको शिक्षाप्रति समुदायका बुद्धिजीवीहरूले एकपटक गम्भीर बनेर सोच्न आवश्यक छ। यसो गरेमा समुदायमै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको अधिकार सुनिश्चित गर्न सकिन्छ। पढ्नका लागि गाडी चढ्नै पर्ने बाध्यताको अन्त्य हुन्छ। स्थानीय सरकारले शिक्षा क्षेत्रमा देखिएको विद्यार्थी ओसारपसारको समस्यालाई तुरुन्त रोकेर “शिक्षामा स्थायीत्व ः समुदायको दायित्व” भन्ने मूल नारा दिई समुदायलाई शिक्षाप्रति जिम्मेवार बनाउन आवश्यक नीति बनाई अगाडि बढेमा विद्यालय तहको शैक्षिक गुणस्तरमा देखिएका समस्या समाधानमा उल्लेख्य प्रगति हुने निश्चित छ।

प्रकाशित: ४ श्रावण २०७६ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App