६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्य

मलको जोहो गर्न भकारो सुधार गर्दै किसान

सिन्धुलीको कमलामाई नगरपालिका–२ चपौलीमा भकारो सुधार योजना अनुगमन गर्दै सरोकारवाला। तस्बिरः अनिल भण्डारी/नागरिक

सिन्धुली– मलको जोहो गर्नका लागि यहाँका किसानहरूले भकारो सुधार गर्न थालेका छन्। पशुचौपायाको मल व्यवस्थापन गरी खेतबारीमा लगाउँदा बाली सप्रने तथा रासायनिक मलको कम प्रयोगबाटै उत्पादन बढाउन सकिने भएपछि भकारो सुधार कार्यक्रम किसानले अगाडि सारेका हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(जुनार सुपर जोन) कार्यालयको सहयोगमा जिल्लाका विभिन्न स्थानका किसानले भकारो सुधार गर्न थालेका हुन्। भकारो सुधार परियोजनाअनुसार चौपायाको गोबर र मूत्रलाई छुट्टाछुट्टै व्यवस्थापन गरी मलको व्यवस्थापन गर्ने गरिन्छ। चौपायाको गोबरलाई समेत छानो बनाएर छानोमुनि गोबर संकलन गर्दा मल कडा हुने र घाममा सुक्दा मलको शक्ति गुम्न सक्ने भएकाले छानो बनाएर संकलन गर्ने गरिएको जुनार सुपरजोन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार भकारो सुधार कार्यक्रमले किसानले लगाएको बालीमा व्यवस्थित मलजल गर्न सकिनेछ। ‘एकातर्फ गाईवस्तु बस्ने व्यवस्थासमेत सहज हुन्छ, खाल्डाखुल्डी हुँदैन’, उनले भने, ‘ढलान गरेको ठाउँमा बस्ने व्यवस्था हुन्छ, त्योसँगै मूत्र र गोबरको व्यवस्थापन छुट्टाछुट्टै हुँदा मलको उचित व्यवस्थापनसमेत हुन्छ।’

चौपायाको गोबर र मूत्रले छुट्टाछुट्टै मलको काम गर्ने भएकाले व्यवस्थित हुने किसानको भनाइ छ। गाईभैंसीको मूत्रले बालीनालीको कीराहरू मार्ने कार्यसमेत हुने भएकाले केही विषादीको कामसमेत सोही मूत्र मलबाट बनाउन सकिने किसानको अनुभव छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयबाट चालु आर्थिक वर्षमा दुई सय वटा भकारो सुधारको कार्यक्रम सञ्चालन भएको र दुई सयमध्ये एक सय ७५ जनाले भकारो सुधार गरी रकमसमेत भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ।

करिब २५ हजार लगानीमा भकारो हुने र सो रकममध्ये १२ हजार कार्यालयले अनुदान दिने व्यवस्था रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। ‘गोठको भुइँ ढलान गर्ने मूत्र संकलन गर्ने तथा गोबर मललाई उचित वातावरणमा कुहिने व्यवस्था गर्ने कार्य नै भकारो सुधार हो’, कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले भने, ‘सोहीअनुसार किसानले काम गरेपछि भुक्तानी दिएका हौं।’

भकारो सुधारले मल व्यवस्थापन हुने र शक्ति बढ्ने किसान लालबहादुर श्रेष्ठले बताए। ‘खेर जाने मूत्रसमेत संकलन गरी सदुपयोग गरेका छौं’, उनले भने, ‘मूत्रबाट समेत राम्रो मलको उपयोग भएको छ।’ बोटबिरुवामा गाईवस्तुको मूत्रले उचित स्याहार बढाउने किसानको अनुभव छ। ‘भकारो सुधार देख्दा सानो काम देखिन्छ, तर हामी किसानका लागि धेरै फलदायी हुने देखियो’, उनले भने, ‘मूत्र छुट्टै संकलन गर्दा चौपाया बान्ने ठाउँसमेत सधैं सफा र ओभानो हुँदो रहेछ।
 

प्रकाशित: २५ असार २०७६ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App