coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सम्मान बटुल्दै सेलिब्रिटी

फ्रान्सको कान्समा गत मे १४ देखि २५ सम्म ७२ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१९’ भव्यताका साथ सम्पन्न भयो। विश्वको एक प्रतिष्ठित यो फेस्टिभलमा विश्वका प्रतिष्ठित सेलिब्रेटी अनुहारको उपस्थिति थियो। फिल्म प्रिमियर, प्रदर्शन, रेडकार्पेटसँगै समापनमा प्रदान गरिने ‘पाल्मे डी ओर’ अवार्डसँगै अन्य अवार्डले पनि कान्सको गरिमा बढाएको थियो। विश्वका सेलिब्रेटीहरूको उपस्थिति भइरहँदा यो फेस्टिभलमा नेपालबाट नायिका प्रियंका कार्की सहभागी थिइन्। उनलाई नेपालबाट कान्समा सहभागी हुने पहिलो कलाकार भनेर प्रचार गरिए पनि प्रियंका अघि मोडल अन्जली लामाले सहभागिता जनाइसकेकी थिइन्।

कान्सको सहभागी भएर नेपाल फर्किएकी प्रियंकाले केही सञ्चारमाध्यमलाई कान्स सहभागिता सुखद भएको प्रतिक्रिया दिइन्। ‘फिल्ममेकरका रूपमा मेरो जीवनका लागि सबैभन्दा सुन्दर अनुभव रह्यो। म एकदमै फिल्म मनपराउने मान्छे हुँ। कान्स नेटवर्क, सञ्चार, भेटघाटको हिसाबमा मेरा लागि ज्ञानबद्र्धक रहयो’, उनले भनेकी छन्, ‘म त्यहाँ दुईवटा रेडकार्पेटमा सहभागी भएँ। तर आम दर्शकको चासोको रूपमा रहेको ग्रान्ड रेडकार्पेटमा भने  हामी अहिले नै पुग्न सक्ने अवस्था छैन। किनकि त्यो रेडकार्पेटमा हिँड्नका लागि हामी ग्लोबल स्टार हुनुपर्छ। अथवा तपाईं फिल्मको कुनै सदस्य हुनुपर्छ। वा प्रायोजकको एम्बासेडर हुनुपर्छ। यो मामलामा कुनै पनि कुरामा क्वालिफाइ छैन। तर यो फेस्टिभलमा कुनै दिन नेपाल पनि सहभागी हुनेछ।’

अघिल्लो वर्षको कान्स अर्थात् ‘कान्स फिल्म फेस्टिभल २०१८’मा पहिलोपटक तेस्रोलिंगी मोडल अञ्जली लामाले सहभागिता जनाएकी थिइन्। फिल्म प्रदर्शनीसँगै त्यहाँ भएको फेसन सोमा अञ्जलीले ¥याम्पमा बिरालो चाल चालेकी थिइन्। उक्त फेसन सोमा एसियासहितका सातवटै महादेशका मोडलहरूको सहभागिता थियो। उनले एक भिडियोमा ‘तेस्रो लिंगीले अवसर नपाइरहँदा आफूलाई कान्समा सहभागिताका लागि आएको निम्तोले खुसी बनाएको’ बताएकी थिइन्।

उक्त सोमा लामाको साथमा नेपाली डिजाइनर मिसु श्रेष्ठले पनि सहभागिता जनाएकी थिइन्।

अभिनेत्री प्रियंका र मोडल अञ्जली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाउने नेपालीमा एक उदाहरण मात्र हुन्। उनीहरू जस्तै अन्य नेपाली नायिकाहरूले पनि अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिता जनाइसकेका छन्।

गत वर्षको दशैं छेकोमा अभिनेत्री सिर्जना सुब्बाले सिंगापुरमा भएको ‘साउथ एसियन इन्टरनेसनल फिल्म फेष्टिभल २०१८’ मा फिल्म ‘डाइङ क्यान्डल’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड जितिन्। सिंगापुरमा फेस्टिभल चलिरहँदा सिर्जना राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको एक नाटकको काममा व्यस्त थिइन्।

आफूले अभिनय गरेको फिल्म फेस्टिभलमा छनोट भएर निर्णायकले हेरिरहेको थाहा पाएकी उनी फेस्टिभलको ‘साङ्गे’मा मात्र सिंगापुर पुगिन्। ‘फिल्मका निर्देशक नरेस केसी र सिंगापुर सैनिकमा नेपाली दाजुभाइले त्यहाँ ‘डाइङ क्यान्डल’ हेरे। म चाहिँ नाटकका कारण फिल्म स्क्रिनिङमा सहभागिता जनाउन पाइनँ’, सिर्जनाले भनिन्, ‘त्यहाँको ठूलो हलमा फेस्टिभल भएको थियो। मैले सुनेअनुसार झन्डै १५ सय क्षमता भएको हलमा मान्छे पूरै भरिएका थिए।’

सिर्जनाले सिंगापुर फेस्टिभलको अनुभव आफ्ना लागि राम्रो भएको सुनाइन्। ‘त्यहाँ फिल्म मेकिङ, स्टोरी टेलिङ र प्राविधिक विषयमा ज्ञान लियौं। विश्वका अन्य मुलुकमा राज्यले फिल्मलाई कसरी सहयोग गरिरहेको छ भन्ने थाहा पायौं’, उनले भनिन्, ‘रमाइलो कुरा त के भने त्यहाँ सहभागी भएका एसियन मुलुकका केही प्रतिनिधिले ‘नेपालमा पनि फिल्म बन्छ ?’ भनेर पनि सोधे। मैले उनीहरूलाई वार्षिक रूपमा राम्रै संख्यामा फिल्म बन्छन् भन्ने जवाफ दिएँ। त्यहाँ सहभागी केही प्रतिनिधिले मलाई भारतको कुनै राज्यको व्यक्ति सम्झिएका रहेछन्।’

यो फेस्टिभलमा ‘डाइङ क्यान्डल’बाटै दीपन्कर सिक्देर र रवीन आचार्यले ‘उत्कृष्ट सिनेमाटोग्राफर’को अवार्ड जितेका थिए। यो फिल्ममा सुब्बासँगै सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा, विद्या कार्कीलगायतको अभिनय थियो।

फिल्म ‘पञ्चायत’मा बेजोड अभिनय गरेर तारिफ पाएकी अभिनेत्री नीता ढुंगानाले यही फिल्मबाट अमेरिकामा पुरस्कार जितिन्। अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को सहरमा आयोजित ‘सनफ्रान्सिस्को फिल्म फेस्टिभल’ मा नीताले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ को पुरस्कार जित्दा फिल्मले ‘विदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधाको पुरस्कार पनि पोल्टामा पारेको थियो।

फिल्म ‘सेतो सूर्य’की नायिका आशा मगरातीले पनि ‘भेनस फिल्म फेस्टिभल’, स्वीटजरल्यान्डको ‘फ्रिबर्ग इन्टरनेसनल फिल्म’लगायतका फेस्टिभलमा सहभागिता जनाइसकेकी छन्। उनी यो फिल्मको प्रदर्शनका लागि फिल्मका निर्देशक दीपक रौनियारसँग फेस्टिभलमा पुग्छिन्। यो फिल्मले मुलुकमा विगतमा चलेको सशस्त्र द्वन्द्व र उक्त परिस्थितिले परिवार, समाज र संस्कृतिमा पारेको प्रभावलाई देखाइएको छ। फिल्ममा दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, सुमी मल्ल, अमृत परियारलगायतको अभिनय छ।

अभिनेत्री गौरी मल्ल आफ्नो समयमा कम मात्रामा विदेशी फेस्टिभलमा फिल्म देखाउने गरेको सम्झन्छिन्। ‘मैले जापानमा भएको फिल्म फेस्टिभलमा मुकुन्डो लिएर गएको थिएँ। एसियाली फिल्मकर्मीहरूको त्यहाँको उपस्थिति निकै लोभलाग्दो थियो’, गौरी भन्छिन्, ‘अहिले विदेशमा फिल्म फेस्टिभलको संख्या बाक्लो छ। यसले नयाँ पुस्तालाई राम्रो अवसर पनि दिएको छ।’

विदेशमा फिल्म फेस्टिभल हुनु स्वदेशी फिल्मकर्मीलाई सुखद् कुरा हो। महिनौंसम्म मिहिनेत गरेर निर्माण गरिएको फिल्मलाई विदेशी भूमिमा लगेर प्रदर्शन गर्दै तारिफसँगै अवार्ड पनि कलाकारका लागि खुसीको कुरा हो। खास गरी फिल्मको अन्तर्राष्ट्रिय बजार बुझ्न, फिल्म प्रवद्र्धन गर्न पनि फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेलेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App