काठमाडौंको अनामनगरस्थित एसियन पब्लिक स्कुल ०५१ सालमा खुलेको हो। हाल त्यहाँ आठ सय विद्यार्थी अध्ययन गर्छन्। विद्यालयका संयोजक चक्रबहादुर ऐरकाअनुसार विद्यालयले विद्यार्थीको सिर्जनशीलता विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यही विद्यालयमा अध्ययनरत केही विद्यार्थीसँग ‘जूनकीरी’का श्रीराम राईले कुराकानी गरेका छन् :
उद्घोषण
समृद्धि पौडेल
कक्षा –९
कक्षा–३ मा हुँदादेखि नै उद्घोषणमा रुचि जागेको हो। उद्घोषण आफैंमा कला हो। ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भन्ने उखानै छ। आफ्ना कुरा राम्ररी प्रस्तुत गर्न सकियो भने धेरै ठाउँमा सफलता हात पार्न सकिन्छ। उद्घोषणले कार्यक्रम सफल पार्न मद्दत पु¥याउँछ। बोल्ने शैलीको विकास गर्न निरन्तर अभ्यास गर्नु पर्छ। विद्यालयको अतिरिक्त क्रियाकलापहरूमा सहभागी भइरहनु पर्छ। मैले कक्षा–४ देखि ६ सम्मको जुनियर ग्रुप र कक्षा–७ देखि ९ सम्मको सिनियर ग्रुप दुवै उद्घोषण प्रतियोगतामा प्रथम भएकी छु। मैले रेडियो नेपालको ‘बालवाटिका’ कार्यक्रममा पनि सहभागी हुने अवसर पाएकी छु।
गायक
सिमोन लामिछाने
कक्षा –७
म सानैदेखि गीत गाउन मन पराउँथें। मलाई नारायण गोपालका गीतहरू धेरै मन पर्छ। पहिले कार्यक्रमहरूमा अरू गाएको सुन्दा आफूलाई पनि गाऊँगाऊँ लाग्थ्यो। मेरो रुचि बुझेर आमाबाबुले हारमोनियम र गितार किनेर ल्याइदिनु भएको छ। भ्याएसम्म घरैमा अभ्यास गर्छु र विद्यालयका कार्यक्रमहरूमा भाग लिने गर्छु। मैले विद्यालयको महोत्सवमा गीत गाएर पुरस्कार थापेकी छु। धेरैले कति मीठो स्वर भन्दा फुरुङ्ङ हुन्छु। गीतसंगीतले कार्यक्रमको शोभा बढाउँछ। गीत गाउँदा आनन्द महसुुस भइरहेको हुन्छ। पीडाले छटपटाइरहेका बेला मीठो गीत सुन्न पाए मन हलुको हुन्छ।
चित्रकार
दृष्टि श्रेष्ठ
कक्षा– ८
मेरो सानैदेखि चित्रकलामा रुचि छ। मेरो बाबा वासु क्षितिज पनि चित्रकार हुनुहुन्छ। उहाँले चित्र कोर्दा म टुलुटुलु हेरिरहन्थें। अलिक बुझ्ने भएपछि म पनि जानीनजानी चित्र कोर्न थालें। बाबाले ‘अहो कति राम्रो चित्र बनायौ’ भनेर प्रोत्साहन गर्नु भयो। अहिले त फुर्सद् हुनेबित्तिकै बाबासँगै बसेर चित्र कोर्छु। मैले चित्रकला प्रतियोगिता कहिल्यै छुट्याएकी छुइनँ। विद्यालयमा कक्षा– ६ र ७ मा चित्रकला प्रतियोगिता हुँदा प्रथम पुरस्कार हात पारेकी छु। म चुपचाप त्यसै बस्न सक्दिनँ। राम्रो दृश्य देख्नेबित्तिकै चित्र कोरिहाल्छु। हिमाल, पहाड, फूल र परिवारका चित्रहरूले कोठा सजाएकी छु। पाहुनाहरूले कस्तो राम्रो प्रतिभा रहेछ भन्नु हुन्छ। चित्रकला सबैभन्दा राम्रो कला हो। यो मेरो निजी रुचि हो। त्यसैले चित्रकला र पढाइलाई सँगै लैजाने छु। यसले मान्छेको सोचलाई पानामा उतार्न र जनचेतना जगाउन सहयोग पु¥याउँछ। विश्वसुन्दरी र लियोनार्दो दा भिञ्ची जस्तो विश्वविख्यात चित्रकार हुने मेरो लक्ष्य छ।
खेलकुद
सक्षम भुजेल,कक्षा –९
सुरुमा मेरो खेलकुदप्रति पटक्कै रुचि थिएन। स्कुलमा केही साथीहरू बास्केटबल खेलिरहेका हुन्थे। म चाख मानेर हेरिहन्थें। मलाई पनि खेलूँखेलूँ लाग्न थाल्यो। त्यसपछि मौका पाउनेबित्तिकै म पनि खेल्न थालें। हाम्रो विद्यालयले विद्याकुन्ज टोखाले आयोजना गरेको बास्केटबल प्रतियोगितामा तृतीय स्थान हात पार्न सफल भएको थियो। खेलबाटै आफ्नो देशलाई विश्वमाझ चिनाउने लक्ष्य छ। म खेलकुदलाई नै जिउने आधार बनाउने छु। खेलकुदबाटैे राम्रो करियर बनाउन सकिन्छ। खेलकुदबाट राम्रो व्यायाम हुने हुँदा स्वस्थ रहन सहयोग पु¥याउँछ। खेलकुदले अनुशासित र सिर्जनशील बनाउँछ। यसले दिमाग तेजिलो बनाउँछ। खेलकुदबाट मनोरञ्जन प्राप्त हुन्छ। त्यसैले विद्यार्थीहरूका लागि खेलकुद अत्यावश्यक छ।
गायन
अमृतजंग कुँवर
कक्षा –८
मेरी आमाको स्वर निकै राम्रो छ। उहाँ पुराना गीतहरू गाइरहनु हुन्थ्यो। उहाँ गाएको सुन्दा मलाई पनि गाउन मन लाग्थ्यो। आमाले लेखेर गाऊ भन्नु हुन्थ्यो र म लेखेर गीत गाउन थाल्थें। बालबालिकाको रुचि निर्धारणमा आमाबाबुको पनि हात हुँदो रहेछ। म पहिले गीत रियाज गर्छु र त्यसपछि गाउन थाल्छु। आमाको मोबाइल र ल्यापटपको सहयोग लिने गरेको छु। अहिले क्यालेडेस्कोप म्युजिक एकेडेमी, पुतली सडकमा ‘भोकल क्लास’ लिइरहेको छु। अहिले गीतविना बाँच्नै नसक्ने भएकी छु। विद्यालयमका सरम्यामहरूले पनि हौस्याइरहनु भएको छ। म गायनले पढाइ बिगार्छ भन्ने कुराको विपक्षमा छु। धेरैले गायनबाटै करियर बनाएका छन्। गीत गाउँदा आनन्द प्राप्त हुन्छ र अरूलाई पनि आनन्द दिलाउँछ। यो तनावपूर्ण व्यस्त युगमा गीतको महŒव बढ्दै छ। गीतले संयम, शान्त र फुर्तिलो रहन सहयोग पु¥याउँछ। मलाई अन्जु पन्त, तारादेवी, नारायण गोपाल, शिव परियार जस्तो लोकप्रिय हुने रहर छ।
साहित्य
प्रविना भट्टराई
कक्षा –८
साहित्य मेरो सानैदेखिको रुचि हो। आमाले किताबहरू किनेर घरैमा ल्याइदिनु हुन्थ्यो। उहाँले विदाको दिन कविता र निबन्ध पढ्नु पर्छ र लेख्न सिक्नु पर्छ भन्नु हुन्थ्यो। म फुर्सद्मा नेटबाट राम्राराम्रा कविता खोजेर पढ्छु र त्यहीअनुसार लेख्ने कोसिस पनि गर्छु। मैले ‘चिना हराएको मान्छे’, ‘कर्नाली ब्लुज’, ‘ऐना’ जस्ता किताबहरू दोहो¥याएर पढेको छु। भविष्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात र झमक घिमिरे जस्तै हुने लक्ष्य छ। साहित्यले ज्ञानलाई फराकिलो बनाउन र आफ्नो विचार अरूसामु प्रस्तुत गर्न सहयोग पु¥याउँछ। यसबाट राम्रो काम गर्न प्रेरणा मिल्छ। यो प्रतिस्पर्धाको युगमा किताबी ज्ञानले मात्रै हुँदैन। बाहिरी ज्ञान पनि प्राप्त गर्न साहित्य अनिवार्य छ।
राजनीतिज्ञहरू चुनावका बेला यो गर्छु त्यो गर्छु भन्छन्। तर चुनावपछि आफ्नै दुनो सोझ्याउँदै ठिक्क हुन्छन्। उनीहरू दिनैपिच्छे कुर्सीमा झगडा गरिरहेका छन्। देशलाई कङ्गाल बनाएर आफू धनी बन्ने होडमा छन्। देश नरहे हामी कसरी रहन्छौं ? त्यसैले देशलाई नै धनी बनाउनु जाती हुन्छ। देशका लागि खटेपछि सबैले माया गर्छ। असल राजनीतिज्ञ बनेर देशकै लागि केही गर्ने मेरो लक्ष्य छ।
नृत्य
रिया पासवान
कक्षा –८,
म छ वर्षकी हुँदादेखि नै नृत्यमा लागेकी हुँ। जीउ हल्लाउनु मात्र नृत्य होइन। हतपत कसैले नृत्य गर्न सक्दैनन्। राम्रो नृत्य गर्न निरन्तर साधनाको खाँचो छ। एक छाक नखाई बस्न सक्छु तर नृत्य गर्न पाइन भने त्यो दिन के पुगेन, के पुगेन जस्तो असपट्ट लागिरहन्छ। नृत्य गर्दा छुट्टै जोस आउँछ। म विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएको छु। विश्वमाझ आफ्नो देशलाई चिनाउन नृत्यको ठूलो हात हुन्छ। नेपाल अझै नृत्यबाट चिनिएको छैन। त्यसैले म नेपाललाई नृत्यबाट चिनाउन चाहन्छु। कहिलेकाहीँ म चराचुरुङ्गी कराएको र पानी परेको दृश्य हेर्दै नाच्ने गर्छु। कोठामा एक्लै भएको बेला पनि गीत गुनगुनाउँदै नाच्ने गरेकी छु।
देशमा अनेक बेथिति छ। हामी मूर्तिलाई दूध चढाउँछौं। त्यो त्यत्तिकै खेर जान्छ। बरु भोकले प्याकप्याकी परेर मागिरहेकाहरूलाई दिए पेट भरिन्छ। म नृत्यका माध्यमबाट देशमै चिनिन्छु। चिनिएपछि सबैको नजरमा पत्यारिलो भइन्छ र यस्ता अनेक बेथिति हटाउने अभियानमा लागिपर्छु। मलाई वर्षा सिवाकोटी र टाइगर सरार्फ जस्तो हुने चाहना छ।
प्रकाशित: २५ जेष्ठ २०७६ ०३:१२ शनिबार