२९ असार २०७७ सोमबार
अन्य

क्यानोनिङको देश

झरनैझरनाको देश नेपालमा छाँगावरोहण खेलको प्रचुर सम्भावना छ। यसको विकास गर्न सके गाउँगाउँमा पर्यटनको प्रतिफल पुग्छ। छाँगावरोहणको विकासमा नेपाल क्यानोनिङ एसोसिएसन र निजी क्षेत्रका केही तन्नेरीले सकारात्मक योगदान पु-याउँदै आएका छन्। तर, राज्यको प्राथमिकतामा क्यानोनिङ पर्न सकेको छैन। त्यही कारण नेपालमा क्यानोनिङले फड्को मार्न सकेन।

फेदीबाट उकालो चढेर शिखर पुग्नुलाई पर्वतारोहण भनिन्छ। त्यस्तै झरना (छाँगाा) को शिरबाट फेदीमा ओर्लनुलाई छाँगावरोहण (क्यानोनिङ) भनिन्छ। नेपालीका लागि छाँगावरोहण नयाँ शब्द हो। नेपाली झरनामा खेल  अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ भनियो। यद्यपि जनबोलीमा छाँगावरोहण भन्दा क्यानोनिङ शब्द नै चल्तीमा छ।

के हो त क्यानोनिङ ?  
डोरीमा तुर्लुङ झुण्डिएर पानीमा रुझ्दै, ढुंगामा चिप्लिँदै र दहमा ड्राइभ हान्दै खेलिने साहसिक खेल हो। यसका लागि झरनाको शिरमा अंकुश गाडिन्छ। त्यसमा डोरी अड्काइन्छ। गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ।

क्यानोनरमा आँट, विवेक र धैर्य चाहिन्छ। झरनाको शिरमा पुग्नु अघि उसले विशेष पोशाक लगाउनु पर्छ। हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिनु पर्छ। फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र शरीरमा बाँधिन्छ। जुमर डोरीमै हुन्छ।
खेलाडीको हातमा ब्रेक हुन्छ। गति ढिलो गर्न वा झरनामै रोकिएर रुझ्न क्यानोनरले आफैं ब्रेक अठ्याउन सक्छ।

क्यानोनिङ गर्नु अघि गाइडहरुले सिकाउँछन्। जब डोरी समातेर ओर्लिन सुरु हुन्छ, तब आत्मविश्वास बढ्छ। रोमाञ्चक अनुभूति मिल्छ। फेदीमा छिट्टै आइपुगेछु जस्तो लाग्छ।

फ्रान्स, स्पेन र अमेरिकामा क्यानोनिङ फस्टाएको छ। उता यसलाई  ‘एडभेन्चर हिलिङ’का रुपमा ब्राण्डिङ गरिएको छ। क्यानोनिङले तनावबाट मुक्ति र पानीको करेन्टले आनन्द मिल्छ।

नेपाल क्यानोनिङ एसोसिएसन (एनसिए) ले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ। काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, सिन्धुपाल्चोकका जम्बु, काब्रे, हाँडी, गलुङ र फयाङफुङ झरना र धनकुटाको नमस्ते झरनामा व्यावसायिक रुपमा क्यानोनिङ गराइन्छ। त्यस बाहेक स्याङ्जा, मनाङ, धादिङ, ओखलढुंगा र पर्वतका केही झरनामा क्यानोनिङ हुन्छ।

काठमाडौंका कम्पनीहरूले एकदिने प्याकेजको ५५ सय रुपैयाँ लिन्छन्। यसमा यातायात, ब्रेकफास्ट, लन्च र क्यानोनिङ सुविधा हुन्छ।

झरनैझरनाको देश नेपालमा छाँगावरोहण खेलको प्रचुर सम्भावना छ। क्यानोनिङको विकास गर्न सके गाउँगाउँमा पर्यटनको प्रतिफल पुग्छ।  यसको विकासमा एनसिए र निजी क्षेत्रका केही तन्नेरीले सकारात्मक योगदान पु¥याउँदै आएका छन्। तर, राज्यको प्राथमिकतामा क्यानोनिङ पर्न सकेको छैन। त्यही कारण नेपालमा क्यानोनिङले फड्को मार्न सकेन।

विशेषतः मध्यपहाडी क्षेत्रमा क्यानोनिङ फस्टाउन सक्छ। अग्ला हिमालबाट बगेका झरनामा क्यानोनिङ गर्न पाउँदा विदेशी रमाउँछन्। संसारकै लामो दुरीको झरना (२,००० मिटर) लमजुङमा छ भने संसारकै अग्लो उचाइ (५,२१५मिटर)मा मनाङको फु गाउँको लुङगा खोला झरनामा पनि क्यानोनिङको सम्भावना अध्ययन भैसक्यो।  

वर्षमा १० हजार जतिले नेपालका झरनामा क्यानोनिङ गर्छन्। तीनमा एक हजार जति विदेशी हुन्छन्। बाँकी सबै नेपाली। एनसिएका अध्यक्ष राजेन्द्रबहादुर लामाका अनुसार वर्षमा करिब ५ सय विदेशी क्यानोनिङ खेल्नै भनेर नेपाल आउँछन्।

नेपालमा चार दर्जन हाराहारीमा क्यानोनिङ गाइड छन्। तिनमा फ्रान्सबाट तालिमप्राप्त राजेश लामा र कविन्द्र तामाङ अग्रपङ्क्तिमा आउँछन्। अचेल कविन्द्र अमेरिकामा बस्छन्। अन्य राम्रा गाइडहरुमा किशोर शाही, दबिन्द्र तामाङ, भक्त विश्वकर्मा, रत्न तामाङ, वासु गौतम, अन्तिम गुरुङ, बबि, सन्तोष राना, अनु श्रेष्ठलगायतका छन्। हाम्रा कतिपय गाइड अचेल जापानमा क्यानोनिङ र ¥याफ्टिङ गराउँछन्।

क्यानोनिङ खेलप्रति नेपाल सरकार गम्भीर छैन। यहाँ नीतिगत समस्या छन्। दर्ता प्रक्रिया झण्झटिलो भएको एनसिएको गुनासो छ। राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा क्यानोनिङ गर्दा राज्यलाई छुट्टाछुट्टै प्रवेश शुल्क तिर्नुपर्छ। एकद्वार प्रणाली अपनाउनु पर्छ।  

एउटा कुरा–हामीले आफूसँग भएका स्रोत साधन सदुपयोग गर्दै बढीभन्दा बढी फाइदा लिन सक्नुपर्छ। क्यानोनिङ राम्रो पर्यटन प्रोडक्टका रुपमा स्थापित हुन सक्छ। त्यसैले सरकारले पर्यटनमैत्री नीति निर्माण, आवश्यक जनशक्ति उत्पादनलगायतका काम गर्नुपर्ने देखिन्छ।

पानी धेरै हुने बर्खामा क्यानोनिङ जोखिमपूर्ण हुन्छ। त्यतिबेला विशेषज्ञ क्यानोनर मात्र क्यानोनिङ गर्न सक्छन्। अरु बेला सबैले गर्न सक्छन्। हामीले हाम्रा झरनामा पर्यटनको बीउ रोप्न सकेमा वर्षका ९ महिना पर्यटकीय चहल–पहल बढाउन सक्छौं। नेपाललाई क्यानोनिङको देशका रुपमा विश्वमा चम्काउन सक्छौं। त्यसका लागि व्यवसायी, सरकार र नागरिकले हातेमालो गर्नुपर्छ।
bhadgaonle@gmail.com

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App