१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

हिमालचुली शिर मेरो कल्ले सक्छ छुन ?

कवि चन्द्रप्रसाद न्यौपानेले लेखेको ‘नेपाली’ शीर्षक कविता कक्षा –३ को नेपाली पुस्तकमा समावेश छ। यसमा कविले नेपाल र नेपालीको गुणगान गाएका छन्। उनले सगरमाथालाई विश्वकै शिर भनेका छन्। हामी नेपाली विश्वकै शिर हौं। अरू सबै तलतलका हुन्। अनि हामी बहादुर छौं भन्ने भाव व्यक्त गर्दछ कविताले।

नेपालमा जन्मेपछि मातृभूमिको गुन हामी आफैंले गाउनु पर्छ भन्ने लाग्छ उनलाई। नेपाली हुन नेपालीकै गुन गाउनु पर्छ। स्वतन्त्र देश नेपाल कहिल्यै परतन्त्र भएन। हामी स्वाभिमानी छौं। हामी नेपालीको पहिचान नै शान्ति हो। शान्तिको अग्रदूत गौतम बुद्ध यहीँ जन्मे। बुद्ध जन्मेको कारणले नै विश्वमा नेपालीले शाान्तिप्रेमीको पहिचान पाएका हुन्। विगतमा नेपालमाथि हमला भएको थियो। तर, हाम्रा बहादुर पुर्खाहरूले तिनलाई भगाए। हामीले हार्नु परेन। न्यौपानेको कविताले यसमा गर्व गरेको छ। हामीसित हिमालको शक्ति छ। चिसो पानीको शक्ति छ। चिसो पानी खानेले कहिल्यै हार्दैन। अर्को कुरा खुकुरी नेपालीको प्रतीक हो। पहिचान हो। कवितामा त्यसको पनि वर्णन छ। 

उनले कवितामार्फत् साम्राज्यवादी मुलुकलाई हाम्रो कोदालीको बिँड जत्ति पनि राइफलको नाल छैन भनेका छन्। नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको गौरवगाथा गाएका छन्। उनीहरूको फलाम खानीभन्दा हाम्रो वनजंगलबाट प्रशस्त जडीबुटी उत्पादन गर्न सक्ने देखेका छन् उनले। उनी जडीबुटी सदुपयोग गर्नु पर्नेमा जोड दिन्छन्। हामी नेपाली पौरखी छौं। हामी सधैं पसिनाको खेतीमा रमाउँछौं।  अब हामी लिच्छविकाल जस्तो स्वर्णयुगमा फर्किनु पर्छ। ‘नेपाली’ कविता पाठ्यपुस्तकमा समावेश हुनुमा रोचक कथा छ। एकपटक उनी घुम्दै पाठ्यक्रम विकास केन्द्र सानो ठिमी, भक्तपुर पुगेका थिए। साथमा कविताको ठेली छँदै थियो। त्यहाँ नेपाली विभागका प्रमुख गणेशप्रसाद भट्टराईले राम्रो स्वागत गरे।

‘अहो, आइपुग्नु भयो। तपाई निकै राम्रा कविताहरू लेख्नु हुन्छ रे। ल्याउनु भएको छ भने एकदुईओटा कविता छोड्नुस’ भट्टराईले भने। उनले केही कविता छाडिदिए। पछि कक्षा– ३ को नेपालीमा उनको ‘नेपाली’ कविता छापियो। पेशाले शिक्षक रहेका न्यौपाने विद्यार्थीलाई बरोबर कविता सुनाउँथे। उनले पाठ्यक्रममा परेको आफ्नै कविता पनि पढाए। ‘आफूले लेखेको कविता आफैंले पढाउनु पाउँदा छुट्टै अनुभूति भयो’, उनले सुनाए। २५ वर्ष पढाएपछि अवकाश लिएका छन् उनले। 

कविता धेरैले मन पराए। विसं २०७५ माघमा मुगु जिल्लामा अवस्थित नेपालकै ठूलो रारातालको यात्रामा थिए कवि न्यौपाने। उनले बाटामा भेटिएका विद्यार्थीलाई सोधे, ‘ए बाबु हो, तिमेरु कति कक्षामा पढ्छौैैै।’ एउटाले ९ मा पढ्छु भन्यो। अर्काले १० मा। त्यसपछि उनले ‘कक्षा –३ को नेपाली किताबमा भएको ‘हिमालचुली शिर मेरो कसले सक्छ छुन, गीत गाउँछु नेपालीको नेपाली नै हुन’ भन्ने कविताका लेखक को हुन् भनेर सोधे। एकजनाले फ्याट्टै भनिदिए, ‘चन्द्रप्रसाद न्यौपाने !’ त्यतिखेर उनलाई कर्म गर्न सके ढिलोछिटो फल प्राप्त हुने रहेछ भन्ने लाग्यो।

त्यसो त एक समय राष्ट्रकवि माधव घिमिरको ‘टालाटुली बाटुली, कति राम्रो पुतली’ बालकविता पढेपछि कतिखेर घिमिरेलाई भेटौं जस्तो भएको थियो न्यौपानेलाई पनि। उनको जीवनमा कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना, मीठो नेपाली’, युगकवि सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ कविताले धेरै प्रभाव पारेको छ। त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताका त उनी फ्यानै हुन्। देवकोटाले नेपाली विषयमा लेख्नु प-यो भने युरोपका कुरा पनि समावेश गरेका छन्। जापानको कुरा पनि लेखेका छन्। चीनका भोटेभोटेनीको कुरा पनि लेखेका छन्।

बालसाहित्यमा कलम चलाउने राम्रा कवि हुन् न्यौपाने। उनले दुई सयभन्दा बढी बाल कविता लेखेका छन्। उनको ‘मेरी चरी भँगेरी’ नामक बालकविता संग्रह ०७१ सालमा प्रकाशित छ। यतिबेला न्यौपाने ‘चन्द्रयुग’ शीर्षक महाकाव्य लेखिरहेका छन्। अहिलेसम्मको रेकर्डअनुसार संस्कृतमा लेखिएको ‘महाभारत’को चौरानब्बे हजार छ सय चवालीस श्लोक छ। त्यो अहिलेसम्मको विश्वको ठूलो महाकाव्य हो।

उनको ‘चन्द्रयुग’मा सूत्रै छ। कुन छन्दमा कति अक्षर हुन्छ, कति अक्षर बराबर एक पाउ हुन्छ। कति पाउको एक श्लोक हुन्छ। ‘महाभारत’मा ३२ लाख वर्णहरू समावेश छ। न्यौपानेले पहिलो खण्डमा झन्डै सत्र लाख वर्णहरू समेटेका छन्। श्लोक संख्याका हिसाबले करिबकरिब छपन्न हजार श्लोक छन्। यसमा सिंगो युगको चित्रण हुनेछ।

बृहत्तर काव्य ‘चन्द्रयुग’ खण्डखण्ड गरेर लेख्दै छन् उनी। भर्खरै पहिलो खण्ड पूरा भयो। पहिलो खण्डमै दक्षिण एसियाका भारत जस्ता अन्य धेरै देशहरूको चित्रण गरिएको छ। नेपालको विशेष गरिएको छ। विश्व कीर्तिमान् कायम गरेका नील आर्मस्टङ जस्ता विश्व प्रसिद्ध व्यक्तिहरूको पनि त्यहाँ चित्रण छ। यसरी सिंगो विश्वकै व्याख्या गरेको देखाउँछ। भोलि दुई हजार वर्षपछि अमेरिकाले पनि त्यो पल्टाएर हेर्न सक्छ। अरूले पनि हेर्न सक्छन्। नेपालको मात्रै नभएर विश्वकै पनि होस् भन्ने न्यौपानेको धारणा छ।

कवि न्यौपाने २०२४ साल कात्तिक २८ गते सिन्धुपाल्चोकको  फुलफिङकोटमा जन्मेका हुन्। उनका पिता हिरालाल र आमा अम्बिका हुन्। पितासँग दोस्रो युद्धमा लडेको अनुभव छ। सानैदेखि आँटिलो बन्न मातापिताले प्रेरित गरेका हुन् उनलाई।

निकै आँटिला थिए उनी। अनकन्टार जंगलमा रुखका हाँगा खुट्टाले च्यापेर बाँदर जस्तो उँधो मुन्टो भई फनफनी घुमेर अत्यास खेलाइदिन्थे उनी। हाम फाल्न उत्तिकै सिपालु थिए। तल बेंसी फाँटमा पुछारदेखि सिरानसम्म कान्ला नाघ्दै माथि जान्थें। फेरि मास्तिरबाट तल्तिर फाल हान्दै झर्थे। बीचका गरालाई फाल हानेर फुत्त नाघ्थें। अनेकनअनेकन कल्पना गर्थे।

उनलाई आफ्नै गाउँको वातावरणले लेखक बनायो। उनको  गाउँबाट तल करिब एक घन्टाको बाटोमा बेंसी खेत छ। त्यहाँ मंसिरपुसमा दिनभर धान झाँटेर दाइँ गर्ने चलन छ। बेलुकी सबै दाजुभाइ परालको भारी बोकेर गाउँ फर्किन्थे।  जसको घरमा काम ग¥यो, उसैको घरमा खाना खाने चलन थियो। खाना खाएपछि राति वरिपरि बसेर ‘महाभारत’ सुन्ने चलन थियो। गाउँका नेपाल साँल्दाजु र गनपतिले ‘महाभारत’ पढेको सुन्दा चन्द्रप्रसाद हौसिन्थे। हरिश्चन्द्रका कुरा सुनेपछि उनका आँखाबाट बर्रर आँसु झथ्र्यो।

‘रामायण महाभारत’ जस्तै मीठा कथा उनेर ठूल्ठूला किताब लेखियो भने पछिको मान्छेले यसरी पढ्ने रहेछ। म यस्तै किताब लेख्छु भन्थे न्यौपाने। पछिपछि त्यस्तै लयमा सिलोक लेख्न थाले उनी।  पछिपछि छन्द र हस्वदीर्घको जानकारी लिए। यसरी उनी लेखक बन्ने बाटोमा हिँडे। उनको लेखनयात्रा २०३७ सालदेखि सुरु भयो। त्यतिबेला उनी कक्षा– ५ मा पढ्थे। उनले  ‘सरस्वती वन्दना’ शीर्षक कविता लेखेर खामबन्दी गरी रेडियो नेपालमा पठाए। त्यतिखेर वासुदेव मुनाल रेडियो नेपालमा कार्यक्रम चलाउँथे। उनले त्यो कविता तीनचोटि वाचन गर्दा गाउँभरि उनको नाम चल्यो। उनको पहिलो कृति पालुवा’ खण्डकाव्य २०४६ सालमा छापियो।

प्रविधि र ज्ञानका कारण आजका बालबालिका चाँडै सिक्न सक्छन्। न्यौपाने भन्छन्, ‘मेरी दुई वर्षकी नातिनीले जानेको प्राविधिक कुरा मैले कक्षा– ८ मा हुँदा पनि जानेको थिइन्।’ सन्तानको मनोविज्ञान बुझेर उनीहरूलाई युग र चेतनाअनुुसार हिँडाउनु पर्छ हामीले। पाठ्यक्रम र बालसाहित्य स्थानअनुसारको हुनु पर्नेमा उनको जोड छ। सहरका बालबालिकाले गाउँका कुरा बुझ्दैनन् भने गाउँका कुरा सहरका बालबालिकाले बुझ्दैनन्। काठमाडौंका बालबालिकालाई गाईको कुरा थाहा नहुन सक्छ भने गाउँका बालबालिकालाई सहरमा सिसामा माछा खेलेको कुरा थाहा नहुन सक्छ।
उनले विभिन्न पुरस्कार पाएका छन्। शिक्षा समिति सिन्धुपाल्चोकले त उनलाई ‘द्रुतकवि’ उपाधि नै दिएको छ। उनी सफलताको श्रेय मातापितालाई दिन्छन्। सानैदेखि पढाइ र अन्य गतिविधिमा तीक्ष्ण थिए उनी। कसैले भनेका कुरा ठिक हो कि होइन, आफैंले विश्लेषण गर्न सक्नु पर्छ।

समयअनुसार हिँड्न जानेका छन् कविले। बालबालिकालाई रमाइलो लाग्ने उखानटुक्का भएका, सरल र चित्रात्मक शैलीमा लेखिएका कुरा मन पर्छ। उनले पनि यस्तै लेखनमा जोड दिएका छन्। अर्को कुरा हाम्रा युवालाई स्वदेशमै पसिना चुहाउन प्रेरित गर्ने खालको पाठ्यक्रम आवश्यक छ।

निकै मिहिनेत गरेर पढेका हुन् उनले। घोक्नेभन्दा पनि टिप्ने क्षमता राम्रो हो। टिप्ने दिमाग नै राम्रो हो। बालबालिकालाई घोकन्ते विद्या दिनुको कुनै तुक छैन। उनीहरूलाई खेलाईखेलाई व्यवहारिक ढंगले सिकाउनु पर्छ। यसमा सबैले ध्यान दिन सके राम्रो हुन्छ भन्छन् न्यौपाने।

प्रकाशित: १८ जेष्ठ २०७६ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App