१७ आश्विन २०७९ सोमबार
अन्य

गोठाले बाँसुरीले डो-याएको यात्रा

सानो चिटिक्क कोठा। सुनिँदैन बाहिरको कुनै आवाज। किबोर्डमा एकोहोरो नाचिरहन्छन् औँला। शंकरदेव क्याम्पस अगाडिको गल्लीबाट भित्र छिरेपछि देखिन्छ मालश्री रेकर्डिङ स्टुडियो लेखिएको साइनबोर्ड। त्यहाँदेखि अर्कोपट्टि छेउको घरको सानो कोठाभित्र किबोर्डका बाजा बजाइरहेका हुन्छन् विनोद बाजुरेली।

पछिल्लो समय लोकगीतमा संगीत संयोजकका रूपमा चर्चामा आएको नाम हो विनोद बाजुरेली। विगतमा बाजुराको जंगलमा बाँसुरी फुक्दै बाटोमा धुलो उडाउँदै हिँड्ने एउटा ठिटोका पाइला नजानिँदो पाराले सर्न थाल्छन् सांगीतिक दुनियाँमा। ती निकै संघर्षशील पाइला थिए। उनी भक्कानिन्छन् कहिले कुनै घटनाले त कहिले गीतका पंक्तिले अनि कहिले संगीतको लयले। यही भावमा घोत्लिएर सिँगार्छन् संगीतकारले दिएको डमीलाई।

७ वर्षको उमेरमा बुवा गुमाउँदा थाहा थिएन उनलाई रुनु पर्छ भन्ने। छोएन बुवाको मृत्युले। भावुक बन्दै उक्त घटना सुनाउँछन् उनी, ‘बिमारी भएका बेला दिक्दारी लागेको हुँदो हो उहाँलाई र त भन्नु हुन्थ्यो– यता नआऊ उता जाऊ। बाहिर गएर खेल। अरू बेला पनि कहिलेकाहीँ घरमा किचकिच गर्नु हुन्थ्यो। मलाई त्यस्तो किचकिच मन पर्दैनथ्यो। त्यही भएर होला बुवा मर्नु भो भन्ने थाहा पाउँदा म त एक छिन खुसी पो भएछु।’

आखिर उनी एक अबोध बालक न थिए। आँगनमा राखेको लाश वरिपरि बसेर जब सबै डाँको छाडेर रुन थाले, लाशलाई बाँसको खटालोमा राखेर जब बान्ने तयारी हुन थाल्यो बल्ल रसाएछन् उनका आँखा। चुहाएछन् आँसु बुबाको अन्तिम बिदाइमा।

दिनप्रतिदिन उमेर बढ्दै गयो। कुरा बुझ्दै जान थाले। अनि मनभरी पीर बोकेर बेलाबखत सोच्न थाले, ‘मेरा पनि बा भैदिएको भए ......।’  सानोमा चिलगाडी (हवाइजहाज) बनाउने इच्छा पलाउँथ्यो उनको मनमा। विज्ञान विषय पढ्न खुब मन गर्थे। एकान्तमा फलामका टुक्राटाक्री बटुलेर केके बनाउन खोज्थे। आर्थिक अभाव यतिसम्म थियो कि घरमा खान लाउन समेत मुस्किल पथ्र्यो। २०४४ सालमा गाउँमा जेनेरेटरबाट बत्ती बलेछ।

केटाकेटीहरू बत्ती हेर्न झुम्मिए छन्। विनोदले एक जनालाई सोधेछन्, कसरी बल्छ यो ? उत्तर आएछ –तेल हालेर। फेरि प्रश्न गरेछन्– केमा तेल हाल्ने ? त्यो मान्छेले भनेछ –‘पातमा ससाना फलामका टुक्रा राख्ने अनि त्यसमा तेल हाल्ने।’

  उनी राम्रा गायक, संगीतकार तथा संगीत संयोजक हुन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लीन भैरहने विनोद बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ७ हजार नाघिसक्यो। डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन्।  

 उत्साही हुँदै घर फर्केछन् उनी। त्यो मान्छेले भनेझैं केराको पातमा फलामका टुक्रा राखेर माथिबाट तेल खन्याएर निकै बेर कुरेछन् बत्ती बल्छ कि भनेर। के को बत्ती बल्दो हो र ! निराश बनेर हिँडेछन् अर्कैतिर। कहिल्यै सोचेका थिएनन् सांगीतिक यात्राबारे। हरेक गाउँमा कम्तीमा आठदश जना बाँसुरी बजाउने देखापरेकै हुन्थे। तत्कालीन मार्तडी गाविस–९ बाजुराका जया सनई र पुनी सनईका कान्छा सन्तानका रूपमा ०३८ सालमा बाह्य दुनियाँ देख्न पाएका विनोद बाँसुरीका सौखिन थिए। सुदूर पश्चिमका पहाडी जिल्लामा जङ्गलबाट कानमा ठोक्किन आइपुग्छ बाँसुरीको रन्को। चैतवैशाखमा त अझैं विरहलाग्दो हुन्छ परिवेश। निकै भावुक तुल्याउँछन् बाँसुरीमा घन्किने ठाडी भाकाहरूले। गोठालो जाँदा साथमै हुन्छ बाँसुरी। जसलाई गोठाले बाँसुरी भनिन्छ। विनोदका दाइ र काकासँग पनि थियो गोठाले बाँसुरी। बजाउँथे काका र दाइले पनि।

सायद उहाँहरूले बाँसुरी बजाएको देखेर होला ७÷८ वर्षकै उमेरमा चोरीछिनी,जानीनजानी फुक्न थाले उनले पनि दाइ र काकाले बजाउने गरेका तिनै बाँसुरीलाई। १२÷१३ वर्षको उमेरमा त उनी गाउँमा राम्रो बाँसुरी वाद्यकका रूपमा दर्ज भैसकेका थिए।

गाईवस्तु चराउन वनमा जादा बाँसुरीकै माध्यमबाट पोखिरहे मनको बह। सानोमा रमाएको गाउँघर, वनजंगल साथीभाइ आइरहन्छन् अचेल पनि सम्झनामा। ती दिन सम्झिदै उनले सुनाए, ‘रुख चढ्न डर लाग्थ्यो। काफलको रुखमा चढेका साथीभाइलाई हाँगा भाँचेर भुइँमा खसाल्न भन्थेँ र रुखमुनि बसेर खान्थे।’

उनी पढ्ने मालिका माध्यामिक विद्यालयमा सांगीतिक वातावरण थियो। वाद्यवादनमा जिल्लामै चिनिएको विद्यालय थियो मालिका। संगीत शिक्षक थिए विन्देश्वर थापा। विद्यालयमै सिके उनले हार्मोनियम बजाउन पनि। स्कुलस्तरीय सांगीतिक कार्यक्रममा त्यतिखेरै उनी डोटी, डडेल्धुरा र अछाम पुगे। पुरस्कार बटुले। ८ कक्षा पढ्दासम्म सधंै प्रथम हुने विनोद बढी समय वाद्यवादनतिर दिन थाले। रिहर्सल गर्नु पर्ने हुँदा हापटाइम पछिका कक्षामा उनी प्रायः अनुपस्थित रहन्थे। बिस्तारै पढाइ कमोजोर हुँदै गयो। तर पनि एसएलसीमा जिल्लाभरमै तेस्रो भए। पछि सोही विधालयमा प्लसटुमा भर्ना भए। पढ्दापढ्दै बीचैमा पढाइ छोडिदिए।

०५७ सालमा १९ औं वसन्तमा पाइला टेकिरहेका बेला घरमा पाण्डुसैनकी १४ वर्षे अनिशासँग बिहे गर्ने कुरा चलिसकेको थियो। त्यो थाहा पाएपछि उनले सुटुक्क चिनजान गरे उनै अनिशासँग। चिनजान भएको केही दिनमै लिएर आए घरमा। न बाजा बजाए न त उनको सिउँदोमा औपचारिक ढंगले सिन्दूरै हाले। जीवन संगीनीका रूपमा भित्र्याएर आफ्नो जिन्दगीको यात्रा तय गरे।

बाजुराकै हर्क बोहरा पोखराको पिएन क्याम्पसमा पढिरहेका थिए। जो अखिलको विद्यार्थी राजनीतिमा सक्रिय थिए। तिनै हर्कले उनलाई पोखरा पु¥याए। सुरु भयो उनको मस्तिष्कको, हृदयको अनि जिन्दगीको यात्रा। उनी पिएन क्याम्पसमा आईएमा भर्ना भए। होस्टेलमा बस्न थाले। गुजारा चलाउन साइनबोर्ड तयार गर्न थाले। व्यानरमा सुन्दर अक्षर कोर्न थाले। लगत्तै दोहोरी साँझमा बाँसुरी बजाउने काम पाए। एक दिन दोहोरीमा आएका बेला पोखरा डिजिटल स्टुडियोका टेक्नेसियन जीतमान गुरुङले भनेछन् –‘तपाईको बाँसुरी स्टुडियोमा टेस्ट गराैं न।’

भोलिपल्ट गए स्टुडियोमा। उनले बाँसुरी बजाएको रुचाएर काम दिए। त्यतै सिके गीत एरेन्ज गर्न पनि। एक वर्षपछि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा अफिसियल एरेन्जरका रूपमा काम गर्ने मौका पाए। यसरी ०५९ देखि ०६२ सम्म पोखरामै जमे उनी। पिएन क्याम्पसबाटै इन्टर पनि पास गरे। पोखरा बसाइको दौरानमा संगीतकार बीबी अनुरागीसँग उनको चिनजान भयो। सम्बन्ध झ्याँगिदै गयो।  पोखरामा बस्दै गर्दा उनले रेकर्डिङको काम पनि सिकिसकेका थिए। ०६२ मा बीबी अनुरागीले उनलाई काठमाडौं बोलाएर आफ्नै स्टुडियो प्रिज्मा रेर्कडिङमा रेकडिस्टको काम दिएर गुन लगाए। ०६१ देखि ०६७ सम्म बीबीसँगै काम गरे उनले। ०६७ मा गीतकार एकनारायण भण्डारीसँग मिलेर मालश्री रेकर्डिङ स्टुडियो खोले। ०७२ पछि एक्लैले चलाउन थाले उक्त स्टुडियो।

जागिरको दौरानमा जहाँजहाँ पुगे साथै लगे श्रीमती अनिशालाई पनि। दुई छोरी र एक छोराका बा बनिसकेका उनले सकेनन् आमालाई आफूसँगै राख्न। काठमाडौंमा धेरै दिन बस्न मान्नु भएनछ आमा। उहाँलाई मन परेनछ यो सहर अनि सहरिया जिन्दगी। फर्केर जानु भएछ गाउँमै। जेठी छोरी मञ्जुश्रीले एसईको परीक्षा दिएर बसेकी छन्। अर्की छोरी आयुष्मा कक्षा आठमा पढ्दै छिन। छोरा आयुष ७ कक्षामा पुगे। छोराले गीतार बजाउन खोज्छ। छोरी पनि गायन र नृत्यतिर तानिन थालेका छन्। स्टुडियाबाटै कमाएर छोराछोरी पढाउनेदेखि घरखर्च चलिरहेको छ।

गाउँमा छदा गाईवस्तु चराउन जाँदा खूब गाउँथे ठाडी भाका। ती भाकाहरूले भित्रैसम्म छुन्थ्यो उनलाई। डुबाउँथ्यो एकान्तमा शब्दको गहिराइले। भक्कानो फुट्थ्यो छातीमा। आँसुको कुरा गर्दा भन्छन् उनी, ‘म जतिको रुने मान्छे सायदै कमै होलान्। फिल्म हेर्दा समेत आँसु झर्न थालेपछि छोडिदिए फिल्म हेर्न पनि।‘

विनोदको भनाइअनुसार जब गीत रेकर्डि हुन थाले तब गाउँघरका भाका पनि मर्न थाले। कही कसैले सिकाउँदैनथे। अहिलेको जस्तो कम्पोज पनि त हँुदैनथ्यो। कुनै गाउँमा केटाकेटीले गाएको भाका दोस्रो दिन अर्को ठाउँमा गाउँदा केही फरक भैहाल्थ्यो। आठदस ठाउँमा पुग्दासम्म त्यो भाका अर्कै भैसक्थ्यो र अन्य नयाँ भाका पनि तयार भैसक्थे। रेकर्डि भएका गीत बजारमा आउन थालेपछि सबैले तिनै रेकर्डेड भाका रट्न थाले। नयाँ भाका सृजना हुने काम बिस्तारै कम हुँदै गयो। भाका मर्न थाले। रेकर्डिङको क्षेत्रमा पनि खासै सुनिएनन् मनै पगाल्ने खालका सवालजवाफ र जुहारी टाइपका गीतहरू।

संगीतसंयोजनबारे उनी बताउँछन् – ‘खास शब्दले मेलोडी जन्माउने हो। हामीले मेलोडी र शब्द दुवैको गाम्भीर्यलाई मनन् गरेर एरेन्ज गर्नु पर्ने हुन्छ। अन्य भाषा र संस्कतिका स्रोतालाई झुम्ने बनाउने सोच्नु पर्ने हुन्छ। आकर्षित ताल र कडमा विशेष ध्यान पु¥याउनु पर्छ। एरेन्जरले लिगमा हिँड्नु पर्ने हुन्छ। लोकगीत एरेन्ज गर्दा गाउँमै पुगेको हुन्छ मन। अवचेतन मनमा जुन कुरा खेलिरहेका हुन्छन्, घुमिरहेका हुन्छन्। चेतन मनले तिनैलाई बसमा ल्याइराखेको हुन्छ।’
कहिलेकाहीँ त्यही अवचेतन मनमा घुमिरहेका गीतका शब्द र भाका सपनीमा गुनगुनाउँछन् र निद्रा भङ्ग हुनेबित्तिकै कापीमा टिप्न सुरु गरिहाल्छन्। त्यसरी जन्मेका छन् उनका केही शब्द र भाका पनि।

विगतमा संगीतकारले लय तयार पारिसकेपछि रेकर्डिङको क्रममा वाद्यवादकसहित  टीमसँगको छलफलबाट बाजा बजाइन्थ्यो, गीतको उठान हुन्थ्यो। अझै भन्नु पर्दा पहिलेका गीतमा नजानी नै संगीत संयोजन भैसकेको हुन्थ्यो। एकै टेकमा गीत गाउनु पर्ने हुन्थ्यो। प्रविधिको विकाससँगै पछिल्ला दिनमा बाजा समेत किबोर्डकै राख्ने गरिन थाल्यो। गीत गाउँदा नि जहाँनेर बिग्रियो त्यहीनेर मात्रै पुनः गाउँदा पुग्ने भयो। सुरुदेखि नै गाउनु पर्ने समस्याबाट गायकगायिका मुक्त हुँदै गए। संगीतकारले लय सिर्जना गरेपछि खोजी हुन थाल्यो एरेन्जरको। यसरी एरेन्जरको खोजी हुन थालेको पनि लामो समय भैसक्यो। संगीतकारले सृजना गरेको लयलाई नबिगारी सजाउँछन् एरेन्जरले।

लोकसाहित्य र संस्कृतिका हिसाबले सम्पन्न छ सुदूर पश्चिम। वर्षभरिमा थुप्रै चाडपर्वहरू मनाउन् त्यहाँका मान्छेले।  विनोदलाई औधी मन पर्ने पर्व हो अनन्ते। गौरापछि दसैअघि बीचमा पर्छ यो पर्व। जसमा मुजुराको तालमा गीत गाउँदै रमाउछन् युवाहरू।

हरेक पल आउछ गाउँघरको सम्झना। फरक हुन्छन् भावना र यथार्थका पाटा। अब चाहेरै पनि गाह्रो छ उनलाई गाउँ फर्किन। उनी भन्छन्, ‘कहिले नामको आश, कहिले दामको आश। कहिले सन्ततिको भविष्यको चिन्ता। संसारिक माया मोह। उकाली ओराली यस्तै त रैछ जिन्दगी।’ सुरुसुरुमा राति गीत एरेन्ज गर्न बस्दा थाहा हुँदैनथ्यो रात बितेको। झ्यालबाट भित्र छिरसकेको हुन्थ्यो उज्यालो। उनी सम्झिन्छ गाउँघरको स्वतन्त्र जिन्दगी। यहाँ त तालिकामा चलिरहेछ जिन्दगी। हरेक दिनको तालिका बनाउनु पर्छ। तब न बाँच्न सकिन्छ सहरमा।

उनी राम्रो गायक, संगीतकार तथा संगीत संयोजक हुन्। तर आफूलाई संगीत संयोजक नै भन्न रुचाउँछन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लीन भैरहने बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ७ हजार नाघिसक्यो। डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन् भने २ सयको हाराहारीमा संगीत दिइका छन्।
उनको लय तथा एरेन्ज रहेको गीत रुँदैरुँदै जान्छु मेलामा, निकै लोकप्रिय बन्यो। मलाई अमेरिका यैदेखि पछिल्लो समयमा बद्री पगेनी र विष्णु माझीको स्वर रहेको मान्छे फकाएर आफ्नो हुँदैनसम्म थुप्रै लोकप्रिय गीतहरूमा उनैले संगीत संयोजन गरेका हुन्।

संगीतलाई नै जिन्दगी ठान्ने बाजुरेलीसँग छुट्टिने बेला सोधेको थिएँ, कसैले मन्त्री बनाइदिन्छु भन्यो भने के भन्नु हुन्छ ? मन्द मुस्कानका साथ उनले भनेका थिए, ‘त्यस्तो अफर आयो भने सुरुमै सोध्ने छु, ‘के मन्त्रालयमा गीत एरेन्ज गर्न पाइन्छ र ?’

प्रकाशित: २८ वैशाख २०७६ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App