२२ असार २०७७ सोमबार
अन्य

तिख्खर व्यङ्ग्य

वंशी श्रेष्ठ

विमल भौकाजीको व्यंग्य संग्रह  आऊ हल्ला गरौँ” प्रकाशित भएको छ । उनका रसिला–तिख्खर व्यङ्ग्य–लेखहरूले प्रत्येक संवेदनशील पाठकका हृदयमा गहन प्रभाव पार्न सक्छन् ।

पुस्तकको पहिलो लेख– ‘अन्तर्राष्ट्रिय दास’का उद्धरण–  हाम्रो भाषाको विकास हाम्रै कारणले हुन सकेको छैन, मातृभाषा बोलियो भने अङ्ग्रेजी बिग्रन्छ...” एउटा आश्चर्य तथा हास्यात्मक–सोच । बौद्धिक–जगत्का स्वनामधन्य तथा छुद्रे विद्वान्हरूको भाषाविरोधी वर्णन तर बहुभाषाविद् विद्वान् भन्छन्– संस्कृत र नेपाली भाषा वैज्ञानिक छ, जब इङ्गलिश र फ्रान्सेलीमा लेखिएका अक्षर पूर्ण रूपमा उच्चारण गरिन्न र अवैज्ञानिक छ, यसै फोनेटिक्स उच्चारण र हिज्जेका लागि भिन्नै शब्द–कोष निर्माण भएको छ । सैद्धान्तिक र मानसिक उपनिवेशवाद ग्रस्त उदाहरण हो ।

‘अवधारणाको बीउ’, ‘राजनीतिक सवारी’, ‘समीकरणको खेल’, ‘सिद्धान्तनिष्ठ लचकता’, ‘सुनको देश’, ‘हजुरआमा, कथा सुन्ने ?’ शीर्षकका लेखहरूमा–०४७ को परिवर्तनपछि नेताहरूको बहुलठ्ठीपन, अहङ्कार, बहुमतको दुरूपयोग वा जिन्दावाद–मूर्दावादको मत्ततामा शक्तिको दुरूपयोग तथा नेताहरूको स्वार्थन्धताको वर्णन छन् । यस्ता लेखको मूल उद्देश्य भनेकै नेतृत्व वर्गको सत्तालोलुपता, स्वार्थन्धता, राष्ट्रिय हितमा नभई पार्टी वा दलगत घेराबन्दीमा निहित भई गरिएका कुकार्यहरूको वर्णन; तार्किक–शिष्ट–सौम्य, सभ्य–सौन्दर्ययुक्त भाव–चेतना हुन्, जुन– नेताहरूले प्रण गरेका, निर्वाचनका घोषणापत्रहरूमा कबूल गरेका कार्यहरू गरेका छैनन् भन्ने लाक्षणिक सङ्केत हो ।

‘आऊ हल्ला गरौँ’ शीर्षकभित्रका संप्रेषण–  हल्लावाला नागरिक, हल्लाको खेती, नयाँ नेपाल, जनताको नाममा मेरो खाने भाँडो...”जस्ता वाक्यांशहरूले स्वार्थन्ध नेताहरू, सत्तासित चरित्रहरूको वैचारिक तथा कार्यहरूको नग्न चित्रण गरिएका छन् । यसै गरी ‘आगलागी’ शीर्षकमा–  प्रधानमन्त्री त सुकला भइसक्नुभो...” तथा ‘आहा कुर्सी, मेरो कुर्सी’मा–  कुर्सी पिसाचको जयगान...” वाक्यांशले देशको वर्तमान राजनैतिक स्थिति नेताहरूको दूषित विचार र कार्य–सम्पादनको तिख्खर व्यङ्ग्य छ । यसै गरी ‘कुर्सी उमार्ने रोपाइ’, ‘ओलम्पिकमा नयाँ खेल’, ‘घोषणापत्र’ शीर्षकका लेखमा प्रयोग गरिएका वाक्यांश– मुलुकमा लोकतन्त्र आइसकेको छ,... समर्थनरूपी रोपाइँ,... लोकतन्त्रप्रति समर्थनको रोपाइँ,... एक दशकभित्रै देशले काँचुली फेर्नेछ...” जस्ता वाक्य–अंशहरूले दलगत नेताहरूको नग्न–सोचाइ, प्रण वा शपथ उल्लङ्घन, देश–जनताप्रति वेवास्ता, गैर–जिम्मेवारी तथा पार्टीगत सङ्कुचित–सोचाइ तथा लोभ–स्वार्थको यथार्थ वर्णन छन् । चकलेट खुवाएर आमजनताको खाद्यान्न तथा भोकको समस्या समाधान गर्ने कार्यप्रति तिख्खर तथा शिष्ट व्यङ्ग्य गरिएको छ ।

विमल भौकाजीका रसिला एवं तिख्खर व्यंग्य लेखहरूले प्रत्येक संवेदनशील पाठकका हृदयमा गहन प्रभाव पार्न सक्छन् ।

अलवेर कामु आफ्नो पुस्तक  द रिबेल”मा स्टेट–टेरोरिज्म अर्थात् राज्य वा सत्ता आतङ्कको चर्चा गर्छन्, यसै प्रसङ्गमा शायद भौकाजी ‘पार्टी ठूलो कि राष्ट्र’मा पार्टी ह्वीपको अर्थात् पार्टीका सैद्धान्तिक अनि पार्टीगत राजनैतिक सिद्धान्तको पृष्ठभूमिमा भन्छन्–  राष्ट्रभन्दा पार्टी ठूलो हुन्छ,... ” अर्थात् सत्ताधारी वंश–परम्परावादी सामन्त र तानाशाहको मृत्युपछि नवीन पार्टी तानाशाह वा सामन्तहरू जन्मेर आउँछन्, ह्वीप–हिर्काउनु भन्नुको अर्थ वैयक्तिक–सोच र स्वतन्त्र विचारको हत्या होइन र ? यसै गरी ‘छेपाराको वक्तव्य’ तथा ‘छेपारो संविधान’मा लेख्छन्–  संविधान बनाउने शरीरका नसा–नसामा मान्छेको होइन छेपाराको रगत सलबलाइरहेछ,,...दस्तखत गरिएका कपडाले हाम्रो पार्टीको झन्डा बनाऔँ...” जस्ता तीव्र–तिख्खर–कटु व्यङ्ग्यात्मक वाक्यांश प्रयोग गरिएका छन् ।

यस्तै सन्दर्भमा मलाई एरिक ब्लेयर उर्पm जर्ज अरबेलको किताब  एनिमल फार्म”को उल्लेख गर्नु सान्दर्भिकजस्तो लाग्छ– जहाँ तत्कालीन सोभियत सत्तालाई पशुपालन फार्मसँग तुलना गरेका छन् अनि निरङ्कुश कम्युनिष्ट सत्ताका तानाशाहहरूको चर्चा गर्छन्, तिख्खर तर बौद्धिक व्यङ्ग्य गर्छन्, यसै श्रृङ्खलामा सम्झना गर्न सकिन्छ– बोरिस पास्तरनाकको उत्कृष्ठ कृति  डा. जिभागो” जसले तहल्का मच्चाएको थियो । सोभियतसंघका प्रख्यात लेखक अलेकजान्दर सोल्जेनित्सिनलाई त उनको पुस्तक  आर्किपेलाग गुलाग”का व्यङ्ग्यात्मक लेखाइका लागि निर्वासित गरिएको थियो ।

‘छिमेकीको सम्पत्ति’ शीर्षकमा आपूmलाई सर्वहारा देखाएर सर्वसम्पत्ति परिवारको नाममा देखाएर यसै राष्ट्रका शीर्षस्थ राजनीतिका नामकहरूको चरित्रप्रति सौन्दर्यपूर्ण तर कसिलो तिख्खर व्यङ्ग्य गरेका छन् भने ‘दानव अधिकारीवादी’ शीर्षकमा ह्रिंसक–तानाशाह–सामन्त प्रकृतिका चरित्रहरूको खिल्ली उडाएका छन् । ‘धमिलो–मैलो पानी’ तथा ‘जाममा’ यस राष्ट्रको वर्तमान गतिरोध तथा विकासहीन अवस्थाको ज्वलन्त अवस्था प्रस्तुत गरेका छन् । गतिहीन, प्रगतिशून्य राष्ट्रको वर्तमान वातावरण र अवस्था यस्तै छैन त ?

आधुनिक सभास्थल हो यो सर्कस भवन...”, अनि ‘सपनामा नयाँ नेपाल’मा लेख्छन्–  एउटा भकुण्डो छ सत्ताको,... आपैmँ रेफ्री बनेर... ”, अनि संघीयतालाई पाकेको बेलसँग तुलना गरेर जनताका लागि हर्ष न विस्मातको अवस्था वर्णन गरेका छन् । यसै गरी ‘भेटिएको भाले’मा गणतन्त्रप्रतिको कटु व्यङ्ग्य छ, तथा ‘राष्ट्रिय हिलो खेल’ र ‘मौसम हिलोको’ अनि ‘युद्ध– शिरोमणि’मा जनताको नाममा स्वार्थपूर्ति गर्ने नेताहरू, वैयक्तिक महत्वाकाङ्क्षामा सत्ता र शक्ति दुरूपयोग गरी स्वार्थ लाभ गर्ने राजनैतिक नायकहरूको नग्न–चित्रण गर्छन् ।

व्यङ्ग्यको मूल–उद्देश्य भनेकै महत्वाकाङ्क्षी, स्वार्थी, लोभी, बहुलठ्ठी, सन्की, सत्ता–उन्मादित, शक्ति–पिपासु, घमण्डी, लालची, सामान्य नैतिक निष्ठाहीन, अशिष्ट, पाखण्डी, हठी, गल्ती गरेर पनि भूल नसुधार्ने नायकहरूको चरित्र–व्यवहारको नग्नता उदाङ्गो पार्नु र त्यसका साथै त्यस्ता पात्रहरू सुध्रन, तर्कसङ्गत बन्न सक्छन् भन्ने आश गर्नु हो । यस्तो व्यङ्ग्यात्मक लेखनमा लेखक शिष्ट, सभ्य, शालीन, तर्कसङ्गत, कलात्मक भाषालाई धैर्यपूर्वक ढङ्ग–शैलीमा प्रयोग गरेर त्यस्ता चरित्रप्रति व्यङ्ग्य गर्दै पाठकलाई आनन्दित–तर्कवादी बनाउनु हो ।

भौकाजीका व्यङ्ग्यात्मक लेखहरू रुचि लिएर पढ्न मनलाग्छ । उनले यस सङ्ग्रहभित्र सामान्य–सार्वजनिक–सामाजिक–राजनैतिक–सत्तासिन व्यक्ति वा नेताहरूप्रति व्यङ्ग्य गर्दै देशको अन्यौलग्रस्त सामाजिक–राजनैतिक–प्रशासनिक–वैचारिक अस्वस्थ अवस्थाको वर्णन शिष्ट–सभ्य–सौम्य–सरल–सौन्दर्यपूर्ण भाषा र शैलीमा गरेका छन् ।
यस पुस्तकको प्रकाश डिकुरा पब्लिकेशन हो ।

प्रकाशित: २८ वैशाख २०७६ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App