१६ चैत्र २०८० शुक्रबार
अन्य

धारा छ, पानी छैन

धरान उपमहानगरपालिकाअघि पानी मागेर प्रदर्शन तथा घेराउ गर्दै धरानवासी। तस्बिरः रोहित राई/नागरिक

धरान– घरको धारामा पिउने पानी नआएको भन्दै मंगलबार विभिन्न वडाका बासिन्दाले धरान उपमहानगरपालिका घेराउ गरेका छन्।

धरान–१ स्थित लक्ष्मीचोकबाट पानी देऊ भन्ने नारा लगाउँदै उपमहानगरवासीले -यालीसमेत निकालेका थिए। उपमहानगरको मूलगेटअघि उनीहरूले करिब २ घण्टा धर्ना र कोणसभा गर्दै जनतालाई पर्याप्त पिउने पानी नदिएको भन्दै विरोध प्रदर्शन पनि गरे। पानी देऊ दबाब समूहको अगुवाईमा विरोध प्रदर्शन भएको थियो। प्रदर्शनमा वडा १३, १८, १७, १९ लगायतबाट नगरवासी सहभागी थिए। उनीहरूले विभिन्न नारा लेखिएको प्ले कार्डसँगै रित्तो गिलेन र पानीको बोतल पनि प्रदर्शन गरे। घरमा पानी नभएको संकेत स्वरुप खाली गिलेन र बोतल प्रदर्शन गरिएको दबाब समूहले जनाएको छ।

समूहका अध्यक्ष हर्क साम्पाङ राईले सवा २ अर्बभन्दा बढी ऋण र अनुदानमा आएको खानेपानी परियोजनाको म्याद सकिसक्दा पनि जनताले पिउने पानी नपाएकोले आन्दोलनमा उत्रिनुपरेको बताए। जुनै संस्था वा निकायबाट भए पनि जनताको घरमा सहजरुपमा खानेपानी वितरण हुनुपर्ने उनले माग गरे। ‘हामीले शुल्क तिरिरहेका छाैं, जुनै निकायले भए पनि चाँडो पिउने पानी पाउनुपर्छ भन्ने मुख्य माग हो,’अध्यक्ष राईले भने, ‘यो वा त्यो बहानामा जनतालाई काकाकुल बनाउन पाइँदैन।’ उनले घरको धारामा ३ दिन बिराएर मात्र पानी आउने भएकोले निजी ट्यांकरबाट पानी महँगोमा खरिद गरेर पिउनुपर्ने बाध्यता भएको पनि बताए। ‘धारामा पानी नै आउँदैन, ट्यांकरको पानी २ हजारमा किनेर पिउनुपरेको छ, यसरी त कहिलेसम्म सम्भव हुन्छ?’ उनले भने।

दबाब समूहले नियमित, पर्याप्त, सन्तुलित र व्यवस्थित तरिकाले पानी वितरण गर्नुपर्नेलगायत विभिन्न ७ बुँदे मागपत्र पनि उपमहानगरपालिकामा पेश गरेको थियो। समूहका अध्यक्ष राईले उक्त माग पत्र कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई बुझाउँदै उपमहानगरपालिका घेराउ कार्यक्रम समापन गरेका थिए। समूहले पेश गरेको माग पत्रमा सर्दु जलाधार क्षेत्रको मुहानमा वनभोज खाने, नुहाइधुवाई गर्नेलगायत गतिविधि रोकेर सुरक्षित गर्नुपर्ने र भौतिक संरचना निर्माणमा पनि रोक लगाउनुपर्ने माग गरेको छ।

यसैगरी, बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै दीर्घकालीन पानीको स्रोत खोजी गर्न, दीर्घकालीनरुपमा पानीको आपूर्ति गर्न, चुहावट रोक्न साथै नियमित अनुगमन र मर्मत सम्भार गर्न पनि माग गरेको छ। यसैगरी, दूषित र धमिलो पानीले स्वास्थ्यमा असर परेको भन्दै आधुनिक फिल्टर प्रणाली प्रयोगमा ल्याउन र गुणस्तरीय पानी वितरण गर्न पनि दबाब समूहको माग छ।

एडिबीबाट खानेपानी आयोजनाका लागि आएको ऋण के कसरी खर्च भयो, त्यसबारेमा पनि प्रतिवेदन सार्वजनिक हुनुपर्ने समूहको भाग छ। चाँडो समस्या समाधान नभए सशक्त आन्दोलन गर्ने पनि समूहले जनाएको छ । धरानमा खानेपानी अभाव प्रमुख समस्याको रुपमा रहेको छ। यो समस्या हल गर्न भन्दै एसियाली विकास बैंक(एडिबी)को सवा २ अर्ब ऋण तथा अनुदानमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत खानेपानी परियोजना सञ्चालनमा छ। हालसम्म खानेपानी आयोजनाकै लागि १ अर्ब ७७ करोड खर्च भइसकेको परियोजना कार्यालयले बताउँदै आएको छ। यो परियोजनाको समयसीमा गुज्रिसके पनि अहिलेसम्म धराने जनतालाई पर्याप्त पानी वितरण गर्न नसक्दा आयोजनाको औचित्यमाथि नै प्रश्नचिह्न पनि उठ्ने गरेको छ।

मिलेमतोमो सर्दु जलाधार मासेको आरोप

धरानका पूर्वउपमेयर तथा एवं जनसरोकार मञ्च नेपालका संयोजक कृष्णनारायण पलिखेले धरानको खानेपानीको स्रोत सर्दु जलाधार क्षेत्र उपमहानगरपालिका र भूमाफिया मिलेर मासेको आरोप लगाए। मंगलबार पानी देऊ दबाब समूहले आयोजना गरेको उपमहानगरपालिका घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिका र भूमाफियाको मिलेमतोमा नै जलाधार क्षेत्रमा जग्गा किनबेच र प्लटिङ भइरहेको बताए।

सर्दु जलाधार बचाऊ अभियान्तासमेत रहेका उनले खानेपानीको मुहान सर्दु जलाधार क्षेत्र संरक्षण गर्नुपर्ने दायित्व बोकेको उपमहानगरपालिका र धरानका नेताहरूले जलाधारको जग्गा किनबेच र प्लटिङमा साथ दिएको बताए। खानेपानी खुवाउने बहानामा धराने जनतालाई करोडौंको ऋण बोकाएर जलाधार नष्ट गर्न भूमाफियाहरूसँग उपमहानगर र नेताहरू मिलेको पलिखेको भनाइ थियो। ‘सर्दु जलाधार क्षेत्र धरानको खानेपानीको मुख्य स्रोत हो, तर यसको संरक्षण गर्नुपर्नेमा उपमहानगरपालिका आफैं भूमाफियासँग मिल्यो र प्लटिङ, किनबेच गर्न लाग्यो,’ उनले भने, ‘जलाधारलाई बेचेर सक्नुमा ठूलो ग्राण्ड डिजाइन छ, भ्रष्टाचार छ। हामीले पानीको विरोध गरेको होइन, यही भष्टाचार र मिलेमतोको विरोध गरेको हो।’

प्रकाशित: २५ वैशाख २०७६ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App