३० वैशाख २०७८ बिहीबार
अन्य

शिक्षकविरुद्ध जुलुस

‘केटाकेटीको गोठालो लागेर आउँदै छु’, बाटोमा भेटिएका अर्को व्यक्तितिर आफ्नो बोली सम्प्रेषित गर्दै थिए एक शिक्षक। गाउँको सरकारी विद्यालयमा पढाउँदापढाउँदै उनको टाउकोभरि काँस फुलिसकेका थिए। झट्ट सम्झेँ, ‘केटाकेटी’ त गैँडाका बच्चालाई पो भनिन्छ त। तर कथ्य रूप न हो व्यापक क्षेत्रफलमा फैलने क्रममा एउटै भाषाभित्र पनि स्थानीय भेदहरू हुन्छन्। कथ्य सन्दर्भ र स्थानीयताका कारण शब्दकोशद्वारा परिभाषित अर्थहरू पनि कतिपय अवस्थामा अतिक्रमित हुन पुग्दा रहेछन्। ती शिक्षक बालबालिका भन्ने अर्थ बुझाउन नै ‘केटाकेटी’ शब्दको प्रयोग गर्दै थिए। अनि गोठालो?

गोठालो लाग्ने भन्नाले सामान्यतया चौपाया या गाईवस्तु चरिचरनमा लैजाँदा गरिने कर्म बुझिन्छ। वस्तुभाउलाई उपयुक्त ठाउँमा चराउन लैजाने, बाटो वरिपरि र चरनक्षेत्र नजिकका बालीनाली खान नदिने, भीरपाखातिर जान नदिई लडेर मर्नबाट जोगाउने र हिंस्रक जङ्गली जन्तुको शिकार हुनबाट बचाउने काम गोठालोको जिम्मेवारीभित्र पर्छ। यति नै थियो मैले चिनेको र बुझेको गोठालो। ती शिक्षक आफूलाई कस्तो गोठालो भन्दै थिए? अब मैले बुझेको गोठालो शब्दले दिने अर्थभन्दा अलि पर पुगेर अर्कै अर्थ खोज्नु पर्ने अवस्था आयो। साहित्यशास्त्रमा शब्दशक्तिको तीन प्रकार उल्लेख गरिएको छ, अभिधा, लक्षणा र व्यञ्जना। अभिधाबाट व्यक्त हुने सोझो अर्थबाट नबुझिएका कुराका लागि अन्य अर्थगत भेदहरूको सहायता लिनुपर्ने हुन्छ।

बालबालिकाको गोठालो भन्ने कुरालाई एउटा मार्गदर्शकका रूपमा अथ्र्याउन सकिन्छ एकातिर भने अर्कोतिर बालबालिका र वस्तुभाउ तुलनीय हुने कुरा कल्पनासम्म पनि गर्न सक्दिन म। अनन्त सम्भावनाका ज्योति बालबालिका। देश, समाज र सभ्यताका भावी कर्णधार।

म तल्ला कक्षामा पढुन्जेल प्रायः शिक्षकका हातमा सानातिना सिप्कना र लौरा देखिरहन्थे। लाग्थ्यो, शिक्षकको एउटा अभिन्न अङ्ग पो हो कि लौरो। लौरोबिनाका त्यति बेलाका शिक्षक त एउटा अधुरो बिम्बजस्तो। अबोध बालमनोविज्ञानमाथि कस्तो भयाक्रान्त छायाँले शासन गर्न खोज्थ्यो कुन्नि? जस्तै महसुर बालबालिका पनि शिक्षकको सम्मुख पर्दा डरले थुरथुर काम्थे।

सबै शिक्षकले धेरथोर पिट्न त पिटेकै हुन्थे, विद्यार्थीलाई अनुशासित र योग्य बनाउने नाउँमा। तर घानमा पारियो ओली सरलाई। सबैभन्दा राम्रो पढाउने, सबैभन्दा योग्य शिक्षकका विरुद्ध जुलुस लाग्नुलाई अनौठो पनि माने कतिले त। अनुमान यस्तो पनि गरियो, माथिल्ला कक्षामा पढ्ने केही विद्यार्थी उमेर अलि छिप्पिसकेका पनि थिए, तिनैसँग कुनै कुरामा प्रतिद्वन्द्विताको बिउ रोपिएको हुनुपर्छ।


कक्षाकोठाबाहिर निक्लँदा शिक्षकको नजर प-यो कि खुर्र दौडिनु पर्ने। कक्षाबाहिर रहेका बेला शिक्षकको छायाँले छोए मात्र पनि पनि ढाड, तिघ्रा र पिँडुलामध्ये कुनै एक भागले स्वाद चाख्नुपथ्र्याे लौरो वा सिप्कनाको।

गृहकार्य नजानेका दिन होस् कि पूरा गर्न नसकेको दिन। घोक्न लगाएको पाठ खर्र नसुनाएका बेला होस् वा सोधिएका प्रश्नका मौखिक जवाफ नठम्याउँदाको बेला। के चाहिन्थ्यो र लौरोको स्वाद चाख्न अरू बहाना? सजीव भएर चलमलाउँथे लौरा, शिक्षकका हातभन्दा निकै परपर पुग्थे करामत देखाउन। कथम्कदाचित् लौरो नभए हातको बाघेझप्पु त छँदै थियो। त्यसको विकल्प खोजेका बखत कन्सिरी तनाइ या कान चिमोट्याइ।

एक जना तराईबाट आएका शिक्षक थिए, यादव थरका। गणित पढाउँथे। छवि उनको पनि कडा। बालबालिकाका हाउगुजी। सजाय दिने तरिका पनि अरूको भन्दा फरक। तराईतिरको भाषिक लवजमा ‘भुरी फोरिदिन्छु’ भन्दै भुँडी चिमोटेर तान्थे। कहिलेकाहीँ हातको दुई औंलाकाबीचमा पेन्सिन राखेर च्याप्दै घुमाएर छुलछुल मुताउन खोज्ने। होचो शारीरिक कद उनको तर त्रासद छायाँ भने लामो न लामो। निकै परपरसम्म चलमलाएजस्तो भान हुने। छायाँलाई बाहेक उनको अनुहारमा हेर्ने हिम्मत कुन विद्यार्थीको थियो र?

विद्यालय हो कि यातनालय कहिलेकाहीँ त भ्रमित हुन्थे सानासाना मानवमुना। एक, दुई जना अपवाद छाडौं, प्रायः सबै प्रत्येक दिनजसो सजाय र गतिलो हप्काइको भागीदार बन्नु नै पथ्र्यो। कोहीकोही त ‘ड्रप आउट’ हुन्थे सजायको भयले।
पढाउने नाउँमा पढाउँन पाए भयो। बालमनोविश्लेषण बुझ्दैन थियो विद्यालय। त्रुटिविश्लेषणको सिद्धान्त पनि पुग्न बाँकी थियो गाउँमा। अधिकांश त घिसिपिटी पास गरेका, बिनातालिम र बिनाशिक्षणदक्षताका व्यक्तिहरू शिक्षक बन्थे। त्यसको प्रत्यक्ष असर भोग्न विवश हुनुपथ्र्यो कलिलाकलिला दुधमुखे बाबुनानी।

त्यति बेलासम्म गाउँतिर  निकै अभाव थियो शैक्षिक जनशक्तिको। बिनाप्रतिस्पर्धा जो पनि शिक्षक बन्थे। कतिलाई त खोजीखोजी अनुनयविनय गरेर ल्याइएको हुन्थ्यो गाउँमा। एक दुई जना त माध्यमिक तह पूरा नगरेका पनि ‘पुराना गुरु’ बनेर पढाउँदै थिए तल्ला कक्षातिर हामी पढ्ने बेलासम्म।

पीपलभञ्ज्याङ निम्न माध्यमिक विद्यालय। त्यति बेला ताल्ती गाउँ पञ्चायत, हाल बेनिघाट रोराङ गाउपालिका–२, ताल्ती। विद्यालय शिक्षाको प्रारम्भिक चरणमा थिएँ म। एउटै कोठामा बसेर पढेका केही साथीहरूलाई अर्को शैक्षिक वर्ष सुरु हुँदा दुई कक्षामा उकालिए। म र केही साथीलाई भने पुनः एक कक्षामा नै राखियो। किन यसो गरियो? अलमलिएँ म। परिणाम स्पष्ट पार्दै सेतै कपाल फुलेका एक जना गुरुले भने, ‘तिमीहरू चाहिँ शिशु कक्षा पास गरेर बल्ल एक कक्षामा पुग्यौ अब।’ शिशु कक्षा र एक कक्षालाई एउटै कोठामा राखेर बहुकक्षा शिक्षण गरिएको रहेछ क्यारे। हामी कम उमेरकाहरूलाई यस्तो प्रबन्ध गरिएको हुनसक्ने अनुमान गर्छु म। कस्तो अचम्म भने शिशु कक्षामा पढेको भन्ने थाहा नपाएर शिशु कक्षा पढेको रहेछु एक वर्ष। शिशु कक्षा र एक कक्षामध्ये कुनमा पढ्दै छु भनेर झुक्किने अर्को एउटा कारण थियो त्यति बेला, किताब। दुवै कक्षालाई एउटै किताब दिइएको थियो, एउटा महेन्द्रमाला र अर्को गणित। जम्मा दुई किताब। आवरणमा कक्षा एक नै लेखिएको। शिशु कक्षाका लागि छुट्टै किताब र छुट्टै कोठोको व्यवस्था भएको भए हामी त्यसरी झुक्किनु पर्ने थिएनौं कि?

म पढ्न जान थाल्दा मेरा दुई जना दाइ सात कक्षामा पढ्थे, दुवै सँगै। दाइहरूसँगै समूहमा मिसिएर पढ्न जान थालेको थिएँ। नयाँपनको अनुभूति हुन्थ्यो। पुलकित बन्थ्यो मन। साथी नयाँ। शिक्षकशिक्षिका नयाँ। पढिने कुरा नयाँ। शैक्षिक गतिविधि र वातावरण नयाँ। खेल्ने र भुल्ने कुरा पनि नयाँ। सबै नयाँ नै नयाँ। यसैले पो भनेका होलान् संस्कृत भाषाका महाकवि माघले, ‘छिनछिनमा जहाँ नवीनता हुन्छ, त्यही रमाइलो हो।’

एक दिन घरमा एक अपरिचित अनुहार टुप्लुक्क  देखापरे। देखा मात्र परेनन्, हाम्रै घरको सदस्यझैं भएर बस्ने पनि भए। नयाँ शिक्षक रहेछन् उनी त, हाम्रै विद्यालयमा पढाउन खोजेर ल्याइएका। घरमा शिक्षक राखेपछि छोराछोरीको पढाइ सप्रेला भन्ने सोच बुबाको। उहाँले ती नयाँ अनुहारलाई हाम्रै घरमा राख्ने व्यवस्था मिलाउनुभयो। हामीलाई बिहानबेलुका केही बेर पठनपाठनमा सघाएबापत उनलाई खानबस्न निःशुल्क।

उनी ‘वली सर’ भनेर चिनिए, घर सायद पश्चिमतिर। निकै फुर्तिला र हट्टाकट्टा। उच्च शिक्षा पढ्दापढ्दै आएका, हामीलाई जुन विषय पनि पढाउन सक्ने दक्षता थियो उनमा। त्यति बेला यस्ता योग्य शिक्षक गाउँको विद्यालयले पाउनुलाई एउटा संयोग नै मान्नुपर्ने अवस्था थियो। मिजासिला र मिलनसार उस्तै। बाह्य र आन्तरिक दुवै दृष्टिबाट आकर्षक लाग्थ्यो उनको व्यक्तित्व।

‘...हाम्रो भाषा हाम्रो हाम्रो भेष– प्राणभन्दा प्यारो छ, श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव चिरायु रहून्।’ यस्तै तुमुल ध्वनि गुन्जिएको सम्झन्छु विद्यालयमा। राजाको जन्मदिनमा नेपालको एउटा ठूलो राष्ट्रिय झण्डा बोकेर शिक्षक अघिअघि र विद्यार्थी पछिपछि लाग्थे। विद्यालय परिसर परिक्रमा गरेर विदा गरिन्थ्यो त्यो दिन। हामी एक कक्षाका साना केटाकेटीले के बुझ्थ्यौं र यस्ता उत्सवको महत्व? तैपनि रमाइलो लाग्थ्यो। पछिपछि लाग्थ्यौँ। यसबाहेक अन्य केही अतिरिक्त क्रियाकलाप विद्यालयमा भएको थाहा थिएन।

अर्को एक दिनको कुरा। एकाएक विद्यार्थीहरूले पङ्क्तिबद्ध भएर विद्यालय घेरे। विद्यार्थीको पङ्क्ति जुलुसमा परिणत भयो। गगनभेदी नारा लगाउँदै जुलुसले विद्यालय वरपरको भूभाग परिक्रमा गर्न भ्यायो। राजाको जन्मजयन्ती मनाउँदा त सबै शिक्षकहरू सँगै हुन्थे तर त्यस दिन कुनै शिक्षक त्यहाँ थिएनन्। माथिल्ला श्रेणीका विद्यार्थीहरू अघिअघि र तल्ला श्रेणीका पछिपछि। अघिअघि उभिने एक जनाले तिनै वली सरका नाम लिन्थे र अरू सबै ‘मुर्दावाद’ भन्थे। फेरि उनै सरको नाम लिइन्थ्यो अनि ‘कारबाही’ गरियोस् भनिन्थ्यो। पछाडि रहेका सानासाना कक्षाका विद्यार्थीलाई न ‘मुर्दावाद’ शब्दको अर्थ थाहा थियो, न त ‘कारबाही’ शब्दको अर्थ नै बुझेका थिए। राजाको जन्मोत्सवजस्तै ठानेर रमाइलोले स्वरमा स्वर मात्र मिलाएका थिए।

कुरा बुझ्दै जाँदा पछि थाहा पाइयो, कक्षा सातका एक विद्यार्थी शिक्षकद्वारा कक्षाकोठाभित्र कुनै कारणवश सजायस्वरूप पिटिएको विरोधमा जुलुस निकालिएको रहेछ। पिट्ने शिक्षक तिनै वली सर। उनलाई विद्यालयबाट हटाउने मागसहित जुलुस। सबै शिक्षकले धेरथोर पिट्न त पिटेकै हुन्थे, विद्यार्थीलाई अनुशासित र योग्य बनाउने नाउँमा। तर घानमा पारियो ओली सरलाई। सबैभन्दा राम्रो पढाउने, सबैभन्दा योग्य शिक्षकका विरुद्ध जुलुस लाग्नुलाई अनौठो पनि माने कतिले त। अनुमान यस्तो पनि गरियो, माथिल्ला कक्षामा पढ्ने केही विद्यार्थी उमेर अलि छिप्पिसकेका पनि थिए, तिनैसँग कुनै कुरामा प्रतिद्वन्द्विताको बिउ रोपिएको हुनुपर्छ।

विद्यालयमा यस्तो उधुम मच्चिएपछि शिक्षकहरूले केही बेर कार्यालयकक्षबाट बाहिर निस्कने आँट गर्न सकेनन्। आपत्कालीन बैठक गरियो होला त्यहीँ। केही बेरपछि बल्ल प्रधानाध्यापक र ती वली सर आन्दोलित विद्यार्थीसामु उभिए। वली सरले आफ्नो त्रुटि सहृदयतापूर्वक स्वीकारे। त्यस्ता घटना नदोहोेरिने प्रतिबद्धता व्यक्त ग-यो विद्यालय प्रशासनले। सहमति भयो। धन्न, ती सरले विद्यालय छोड्न चाहिँ परेन।

यो घटना केही दिन गाउँभरि गफको विषय बन्यो। विषय बहसको केन्द्रमा आइसकेपछि केही न केही निष्कर्ष ननिस्किने कुरै भएन। त्यसपछि शिक्षक र विद्यार्थीबीच कुनै असमझदारी र द्वन्द्व रहेजस्तो महसुस भएन।

वली सर एक गतिशील पात्र। तलाउको पानीझैँ एकै ठाउँ जमेर बस्न मानेन उनको मन। गतिमा नै त हुन्छ रोजेजस्तो जीवन, खोजेजस्तो सम्भावना। लामो समय अडिएनन् उनी हाम्रो विद्यालयमा। राम्रो अवसरले तान्यो होला उनलाई अन्यत्र नै। गाइँगुइँ चल्ने हल्लाले भन्यो, उच्च शिक्षा अध्ययन गर्न उनी विदेशतिर लागे रे। त्यसपछि त न उनका पाइला हाम्रा गाउँमा टेकिए, न उनीबारे खबर बोक्ने बतास नै गाउँसम्म ठोकिन आइपुग्यो।

‘गति रोकियो कि जीवन सकियो’ भन्थे जर्मन कवि तथा नाटककार बर्तोल ब्रेख्त। यदि ती सर पनि अझैं जीवित नै छन् भने ब्रह्माण्डको कुनै विन्दु वरपर गतिमै त होलान्। मेरो चेतनाको प्रथम पृष्ठमा उज्यालो छर्ने उनलाई नमन!

जीवनमा सिकाइ र सच्याइ कहिले रोकिँदो रहेछ र? कहिले गुरुका रूपमा अवतरित भएर होस् वा कहिले शिष्य नै सही।

प्रकाशित: १४ वैशाख २०७६ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?