सुशिला खड्का ‘हसिना’
गाउँलेहरू सानो परिवार, सुखी परिवार भन्थे। आमा र बुबाको जेठो सन्तानका रूपमा जन्मिएकी थिएँ म। बुबाको पुख्र्यौली सम्पत्ति पनि टन्न थियो। बुबा आफै पनि शिक्षक हुनुहुन्थ्यो, आमा गृहिणी। आमाको अनुहारमा चन्द्रमाको चमक हुन्थ्यो भने बुबाको आँखामा गुराँस फुलेको देख्थेँ।
म दश वर्षकी थिएँ। आमासँग बुबाले काठमाडौँ जाने प्रस्ताव गर्नुभयो, आमाले सहजै स्वीकार्नु भयो। हामी काठमाडौँ बसाइ स¥यौ। बुबाले जागिरको सरुवा काठमाडौँकै माध्यमिक विद्यालयमा मिलाउनु भएको रहेछ। गाउँमा जस्तै निरन्तर पढाउन लाग्नुभयो। मलाई पनि आफू पढाउने स्कुलमै भर्ना गरिदिनु भयो। बुबाले हरेक दिन हात समातेर स्कुल लानु हुन्थ्यो, बिदा भएपछि स्कुलबाट घर।
आमाको भन्दा बुबाको प्रिय छोरी बन्न थालेँ। जतिजति म बुबाको प्रिय बन्दै गएँ त्यतित्यति आमाको अनुहार अध्याँरो हुँदै गयो। मिनेट, घन्टा, दिन, महिना हुँदै काठमाडौँ आएको पाँच वर्ष बितेछ। मेरै लागि भनेर बुबाले मोटरबाइक पनि किन्नु भयो। मोटरबाइकमा ओहोरदोहोर गर्न सजिलो हुन्थ्यो। लगभग एक वर्षसम्म हामी बाबु छोरी मात्र ओहोरदोहोर ग-यौ। त्यसपछि एक जना दिदी थपिनु भयो।
दिदी स्कुल छेउकै एउटा सारी पसलमा काम गर्नुहुन्थ्यो। यसै क्रममा मेरो एसएलसी नजिकै आएको थियो। राम्रोसँग पढेर परीक्षा दिएँ। ९० प्रतिशत ल्याएँ। सानैदेखिको इच्छा स्टाफ नर्स बन्ने थियो। स्तुपा कलेजमा स्टाफ नर्सको इन्ट्रान्स दिएँ। पहिलो नम्बरमा नाम निस्कियो। म कति खुसी हुँदै घरमा पुगेर आमालाई सुनाएँ। मात्र आमा ओठ च्यातेर हाँस्नुभयो, तर उहाँको अनुहारमा कुनै खुसीको इन्द्रेनी छाएन। बुबा बेलुका निकै ढिलो घर फर्किनुभयो। म कतिखेर खुसी सुनाउँला भनेर बसेकी थिएँ तर उहाँ पिएर आउनुभएको थियो। मेलै उहाँसँग कुनै खुसी व्यक्त गर्न पाइनँ।
उहाँ ज्याकेट, सर्ट फुकालेर खाना पनि नखाई सुत्नुभयो। ज्याकेट लिएर झुन्डयाउन के खोजेकी थिएँ, एउटा बिल झ¥यो। बिल स्कुटर खरिदको थियो बिल। सायद मलाई उपहार हुनुपर्छ भन्ने सोचेँ–बुबालाई निद्रामै निधारमा चुमेँ।
बुबाले आमालाई अस्पताल लगेर ल्याउनुभएको धेरै दिन भएको थिएन। आमालाई तातो पानी र औषधी खुवाउने जिम्मेवारी मेरै थियो। मैले खाना खुवाएँ, औषधिपानी पनि खुवाएँ र आमालाई आराम गर्नुस् भन्दै म कोठामा गएर सुतेँ। मन बेचैन भयो। अघि बुबाको खल्तीबाट झरेको स्कुटरको बिल झल्झली आँखामा आयो। म दायाँबायाँ कोल्टे फेर्दै लामो सास लिदै थिएँ, त्यत्तिकैमा निदाएछु।
बिहान बुबालाई सोधेँ–बुबा स्कुटर खोई ? बुबा अकमकिएर बोल्नु भयो, कुन स्कुटर ? मैले भनेँ– हजुरको खल्तीमा स्कुटरको बिल थियो त, त्यो पनि हिजोको मितिमा खरिद गर्नुभएको। बुबाको जवाफ–कुन बिल ? कस्तो बिल ? यसले पनि मेरो गिद्दी खान लागी, यति भन्दै झोक्किएर बुबा निस्किएर हिँड्नुभयो। म चकित परेँ।
पन्ध्र दिनपछि मेरो स्टाफ नर्सको पढाइ सुरु हुँदैछ। मैले ड्रेस र किताब कापी तयार पार्नु छ। म आमालाई खाना र औषधि खुवाएर बाहिर निस्किने तयारी गरेँ। आमाले मलाई केही पैसा थैलीबाट झिकेर दिनुभयो र भन्नुभयो, केके चाहिन्छ किन्नु।
पन्ध्र दिन बित्यो, मेरो कक्षा सुरु भयो। आमा पनि अलि ठिक हुनुभयो। आमाले घरधन्दा संहालेपछि मेरो काम पढ्ने मात्र थियो। राम्रो अङ्क ल्याएर हरेक वर्ष उतीर्ण हुँदै गएँ। यसरी नै स्टाफ नर्सको पढाइ सकियो, म गद्गद् भएँ। बीचमा बुबासँगको सम्बन्ध ठिकै थियो। पढ्न खर्च पनि दिनुभयो। बुबा भन्दै हुनुहुन्थ्यो–तिम्रो बिदा होला, मेरो अलिकति लुगा धोइदेऊ है छोरी !
घरको सरसफाइ सकेर आमाको पनि केही लुगा बटुलेँ र लुगा धुन थालेँ। यत्तिकैमा बुबा आत्तिदै धारामा आउनुभयो र भन्नुभयो–त्यहाँ सर्टको खल्तीमा एउटा सामान छ, हेर त छोरी। मैलै सबै खल्ती देखाइदिएँ, कुनै सामान नदेखेर बुबा कता झ¥यो त भन्दै फर्किनुभयो। त्यो सामान अरू केही नभएर सुनको ब्रासलेटको बिल थियो। केही वर्षअघि मेरो आँखालाई धोका दिदै बुबाले स्कुटरको बिल गायब पार्नुभएको थियो। यसपटक मैले यो बिल जतन गरेर बुबालाई धेरै प्रश्न गर्नु थियो।
बुबाले फेरि सोध्नु भयो, ‘तिम्रो र मेरो माया अनि मैले दिएका उपहारहरू ?’ जुना दिदीको जवाफ– माया त शरीरको भोक मात्र थियो र तिमीले दिएको उपहार मेरो योनीको मोल थियो।
लुगा धोइसकेँ। दिनभर मनमा धेरै कुरा चल्यो। बुबाले पिउन भने मेरै अनुरोधमा छोड्नुभएको थियो। बाहिर निस्कने बानी भने दिनदिन बढ्दै थियो। धेरै प्रश्न बोकेर दिनभरि पर्खिएँ तर बुबा आउनुभएन। आमा एक्कासि तल्लो पेट दुख्यो भनेर चिच्याउन लाग्नुभयो। मैले बुबालाई फोन गरेँ, स्वीच अफ थियो। मैले ट्याक्सी बोलाएर आमालाई वीर अस्पताल लगेँ, इमर्जेन्सीमा राखेर सबै जाँच हुन थाल्यो। केही रिपोर्ट आयो। डाक्टरले केही रिपोर्ट आउन हप्ता दिन लाग्ने बताए।
रात पनि बित्यो, आमाको छटपटाइ उस्तै थियो। बुबाको अत्तोपत्तो छैन। फोन गर्दा लाग्दैन। डाक्टरले आमालाई वार्डमा भर्ना गरिदिनुभयो। अलिअलि भएको पैसा पनि सकियो, के गरौ सोच्दै थिएँ। यत्तिकैमा बुबा टुप्लुक्क आइपुग्नुभयो। म बुबालाई देख्नेबित्तिकै डाँको छाडेर रोएँ र भनेँ– तपाई कहाँ हराउनुभएको यत्तिका दिन ? हजुरको मोबाइल के भयो ? हिजोदेखि अस्पतालमा छौं। एक्लै, कत्ति आत्तिएँ। पैसा पनि छैन। घरमुली भएर यही हो हजुरको ताल ?’
बुबा केही बोल्नु भएन। उहाँ शिर झुकाएर बस्नुभयो। डाक्टरले फेरि थप जाँचका लागि लेखिदिए। म पैसा लिएर आउँछु, तिमी यहीँ बस्नु भनेर बुबा निस्किनुभयो। केहीबेरमा पैसा त लिएर आउनुभयो तर तिर्न पनि नपुग्ने। मैले प्रश्न गरें–हजुरको सञ्चय कोषमा जम्मा भएको पैसा निकाल्नुस्, आमाको जीवनको सवाल छ। बुबाको भर्खरै मात्र पेन्सन भएको थियो।
अस्पतालमा बसेको सातांै दिन भयो। आमाको पाठेघरको क्यान्सर भएको रिपोर्ट आयो। म आमालाई अंकमाल गरेर रुन थालेँ। आमाले भन्नुभयो, ‘मैले भनेकै थिएँ छोरी अब म बाँच्दिन भनेर। तिम्रो बाउको कारण म यस्ती भएकी हुँ।’
‘कसरी आमा’, सोध्दै गएँ। ‘छोरी सात पटक त एब्रोर्सन गरेको, तिमी मात्र पहिलो सन्तान भएर बाँचेकी हौ’, आमा भन्दै जानु भयो, ‘छोरा खोज्दा सात छोरी गर्भमै निमोठिए।’
आमाका कुराले मलाई झट्का लाग्यो। बेलाबेला बुबाले आमालाई हप्काउँदै अस्पताल लगेको त थाहा पाउथेँ। मैलै आमालाई किन अस्पताल जानुभएको भनेर सोध्दा, तिमी ठूली भएपछि थाहा पाउँछ्यौ भन्नुहुन्थ्यो। आमा कुरा थप्दै हुनुहुन्थ्यो– तिम्रो बाउको अफेयर चलेको थियो छोरी, बेलाबेला छोरा पाउने भए पाइहाल नत्र मेरी प्यारी ल्याउँछु भनेर धम्काउथेँ। छोरी तिम्रो बाको लिंगले मेरो पाठेघरको पीडा महसुस कहिल्यै गरेन। लाजमर्दो तिमीसँग यस्तो कुरा गर्नु प-यो।’
अहो, मेरा आँखामा नाच्न थाले स्कुटर र ब्रासलेटको बिल। आमा छोरी कुरा गर्दागर्दै डाक्टर आएर भन्नुभयो, ‘ताराजीको तुरुन्त अप्रेशन गर्नुपर्छ नत्र घाउ फैलिन्छ।’ नाम तारा भए पनि आमालाई तारा जस्तै चम्किलो कहिल्यै देखिनँ। बुबालाई फोन गरेँ, ‘तपाई कहाँ हुनुहुन्छ ? तुरुन्त आइहाल्नुस्। अस्पतालले आमाको अप्रेशन गर्नुपर्छ भन्यो।’
बुबा आइपुग्नुभयो र भन्नुभयो–छोरी मसँग बचत पैसा छैन। तिमी र म एक ठाउँ गएर केही सामान राखेको छु, लिएर आऊँ है। आमाको कुरा सुनेर बुबाप्रति रिस त उठेको थियो। आमाको अप्रेशनका लागि पैसा पनि चाहिएको थियो। रिसलाई दबाएर बुबासँग गएँ। लाजिम्पाट पुगेपछि बुबा एउटा घरभित्र पस्नुभयो र कोठामा ढक्ढक्याउनु भयो। भित्रबाट आवाज आयो–को हो ? मस्ती गर्ने बेला डिस्टर्ब गर्छ।
बुबाले बाहिरबाट भन्नुभयो, ‘म हो प्यारी ढोका खोल न...।’
त्यो ढोका खोल्ने अरू कोही नभएर त्यही सारी पसलमा काम गर्ने दिदी जुना थिइन्। म छक्क परेँ। जुनाले ढोका खोलेपछि अर्को मान्छे पनि ढोकामा आएर भन्दै थियो, ‘को रहेछ डार्लिङ ?’
‘को हुनु यार, मेरो पैसाको रुख......।’
बुबाले थरथर काँप्दै सोध्नुभयो, ‘को हुन् यी मान्छे ?’, जुना दिदीको जवाफ थियो, ‘मेरा हुनेवाला बुढा हुन्।’
बुबाले फेरि सोध्नु भयो, ‘तिम्रो र मेरो माया अनि मैले दिएका उपहारहरू ?’ जुनाको जवाफ– माया त शरीरको भोक मात्र थियो र तिमीले दिएको उपहार मेरो योनीको मोल थियो।
बुबाको मुखबाट ‘कलियुग’ भन्ने शब्द निस्कियो र मलाई ‘हिँड छोरी’ भन्नुभयो। बुबा आफैलाई पनि थाहा छैन कि प्रेमको नाममा प्रेमीले खोक्रो पारेको। अस्पताल पुगेर बुबा आमाको हात समाएर रुन लाग्नुभयो, ‘मलाई माफ गर तारा, मैले तिम्रो माया र त्यागलाई चिन्न सकिनँ। आज सर्वस्व सकिएपछि थाहा भयो, कलियुगमा प्रेमको नाममा लुट चल्दो रहेछ। म नाङ्गिएपछि मेरो आँखा खुलेको छ तारा। हाम्री छोरी छिन् सम्पत्ति। म तिमीलाई जसरी बचाउँछु।’
बुबाले यी शब्द भन्दै गर्दा आमाको अनुहारमा थोरै ज्योति पोतियो। थाहा छैन अब कति दिन धान्छ यो ज्योतिले आमाको मुस्कान अस्पतालको शैयामा।
प्रकाशित: १४ वैशाख २०७६ ०४:१६ शनिबार