२३ श्रावण २०७७ शुक्रबार
अन्य

त्रिपुरासुन्दरी कि जय

त्रिपुरासुन्दरीको मन्दिर बैतडीको दशरथ चन्द नगरपालिकाको मुख्य बजार गोठालापानीदेखि ३ किमी दक्षिण पश्चिम दिशामा छ। नेपालको पश्चिमी सीमाना महाकाली नदीको आडैमा भए पनि भारतको पिथौरागढतिरबाट हिँडेर आउने हो भने भक्तालुहरूले महाकाली नदीस्थित झुलाघाट तरेर नाकै ठोक्किने उकालो चढ्नु पर्छ। विकल्पमा सानै भए पनि कालोपत्रे सडक छ। दक्षिणाभिमुख पर्वतमालामा अवस्थित  छ मन्दिर। 

त्रिपुरासुन्दरीको उत्पत्ति प्रादुर्भाव कसरी भयो भन्ने किंवदन्ती अनुसार दक्ष प्रजापतिबाट गरिएको अपमान सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा देहत्याग गरेपछि भगवान् शिवले उनको लास बोकेर उत्तराखण्डका अनेक उच्च पर्वतहरूमा भौंतारिने क्रममा सतीदेवीका अंग पतन हुँदै जान थाले। उनका अंग जहाँजहाँ पतन भयो त्यहीँ शक्तिपीठ स्थापना हुन थाले। त्रिपुरासुन्दरी मन्दिर भएको ठाउँमा पनि कुनै अंग विशेष पतन भएको मानिन्छ।

त्रिपुरासुन्दरीलाई रणसैनी पनि भनिन्छ। पौराणिक कथा अनुसार देवासुर संग्राममा भगवती दुर्गाले देवताहरूको पक्ष लिएकी र उक्त संग्राममा देवता विजयी भएको प्रसङ्ग अनुसार रणमा सैन्यको काम गरेकीले उक्त भगवतीको नाम रणसैन्याबाट अपभ्रंश भई बैतडेली भाषामा ‘रणसैनी’ हुन गएको मानिन्छ।


त्रिपुरासुन्दरीलाई रणसैनी पनि भनिन्छ। पौराणिक कथा अनुसार देवासुर संग्राममा भगवती दुर्गाले देवताहरूको पक्ष लिएकी र उक्त संग्राममा देवता विजयी भएको प्रसङ्ग अनुसार रणमा सैन्यको काम गरेकीले उक्त भगवतीको नाम रणसैन्याबाट अपभ्रंश भई बैतडेली भाषामा ‘रणसैनी’ हुन गएको मानिन्छ।

अर्को जनश्रुति अनुसार त्रिपुरासुन्दरीको उत्पत्तिलाई लिएर परापूर्व कालमा कुमाउँ चम्वतका क्षत्रिय जातका मौनी हालको त्रिपुरा मन्दिर वरपर आएर बसोबास गर्न थाले। नयाँ आवाद गरिएको ठाउँमा आशातीत उब्जाउ नभएका कारण पटकपटक बाहिरबाट खाद्यान्न आपूर्ति गर्नुपर्दथ्यो। यसै सिलसिलामा सारङ्ग नाम गरेका मौनी अन्नको खोजीमा तल्लो सोराड (स्वराज) तिर लागे। रोडी देवल भन्ने ठाउँमा पुगी पाँच पाथी जौ किनी भारी बोकेर बैतडीततर्फ फर्के। फर्कने क्रममा नागार्जुन पार गर्नेबित्तिकै मौनीलाई अचानक दिसा लागेछ। एक ठाउँमा भारी बिसाएर दिसा गरिसकेर पुनः भारी बोक्नै लाग्दा ‘तिमी अशुद्ध छौ, नजिकै पानी छ, शुद्ध भएर मात्र भारी बोक’ भन्ने आकाशवाणी भएछ। अन्य बेला पानीको निकै समस्या हुने ठाउँमा त्यस दिन भने साँच्चिकै पानी भेटिएछ। मौनी शुद्ध भएर फेरि भारी बोकेर उकालो लाग्ने क्रममा अहिलेको त्रिपुरासुन्दरी मन्दिर भएको ठाउँमा साँझतिर पुग्दा ‘तिमी मलाई यहीँ छाडेर घर जाऊ, तिम्रो प्रगति हुनेछ, गाउँका मान्यजनलाई म भए ठाउँमा आउनको लागि भन।’ भनेर फेरि अर्को आकाशवाणी आएछ। उक्त भारी त्यहीँ छाडेर गाउँका लब्धप्रतिष्ठित भट्टकाजी (दफ्तरी) लाई सबै घटना सविस्तार सुनाए तर दफ्तरीले कुनै प्रेतात्मा हुनसक्ने ठानेर वास्तै गरेनछ।

मौनी पुनः आपूmले भारी छोडेर आएको ठाउँमा गएछ। त्यसैबेला ‘तिमी एक पटक फेरि पनि भट्टकाजीलाई सम्झाऊ, त्यसपछि पनि नआएमा म उसलाई दण्ड दिन्छु।’ भनेर फेरि आकाशवाणी आएछ। तर पनि दफ्तरी गएनछ। सजायस्वरूपमा भट्टका २२ वटा भैंसी र एक राँगो नजिकैको मूलेभिरबाट लडेर मरेछन्। त्यस्तो दुर्दशा भोगेपछि भने दफ्तरी हस्याङफस्याङ गर्दै क्षमा माग्न भारी बिसाए ठाउँमा गएछ। शिलाको रूपमा परिणत भैसकेको जौको भारी समक्ष गएर क्षमा मागेछ। त्यही बेला ‘यदि तिमी पहिलो पटकमा नै आएको भए धनधान्य बनाइदिन्थें। अब तिमीलाई सजाय दिन्छु। यात्रा उत्सवमा मेरो डोला निकाल्दा मेरो सेवा गरेका मौनी क्षेत्री अघि लाग्छन् भने तिमी ब्राम्हण नै भए पनि तिमी उसको पछि लाग्नुपर्ने छ।’ भनेर आकाशवाणी आएछ। त्यसै अनुरूप त्रिपुराको मेला (जाँत) मा कश्यप गोत्रिय भट्ट ब्राम्हण पछाडि बसेर डोला बोक्छन्।
मौनीले बोकेर ल्याएको जौको भारी खोलेर हेर्दा त्यसमा भगवतीको मूर्ति भेटिएछ। बैतडेली भाषामा पाँच पाथीको परिमाणलाई रैण भनिन्छ भने पाँच पाथी जौको भारीमा लुकेर (सुतेर) आएकीले त्रिपुरासुन्दरीको नाम रैणसयनी वा रैणसैनी रहन गएको हो भन्ने जन विश्वास छ। जौ को भारी शिलामा परिणत भएको स्थानमा मन्दिर निर्माण गरिएको छ भने भगवतीको वास्तविक मूर्ति भण्डारमा राखिन्छ। मेला उत्सवमा मात्र बाहिर निकालिन्छ।

प्रारम्भमा भगवतीको पूजा आराधना कसरी हुन थाल्यो भन्ने तथ्य प्रमाण भेटिँदैन। एक लोक कहावतअनुसार डोटीतिरका पुरु भाट नाम गरेका निःसन्तान ब्राम्हण बैतडीको बाटो भएर हरिद्वार जाने क्रममा मन्दिर भन्दा अलि तल पुग्दा उसले आँखा देख्न छोडेछ। त्यही बेला ‘हे ब्राम्हण तिमीले मेरो सेवा गर, म तिम्रो भविष्य उज्ज्वल पारिदिन्छु’ भन्ने आकाशवाणी आएछ। यसै निर्देशनअनुरूप पुरु भाट भगवतीको सेवामा लागेछन्। यसैगरी स्थानीय क्षेत्रका मौनी, मार्कण्ड, बोहरा र गुरु थरी क्षत्रियहरूलाई पनि आफ्नो सेवामा लाग्न निर्देशन भएछ। यसरी आजसम्म पनि मन्दिरका व्यवस्थापकहरूलाई दिशानिर्देश गर्ने कार्य राठ शाखाका चन्द ठकुरीहरूबाट भइरहेको छ।

त्रिपुरा माईका सेवा लामो समय बिताएपछि पुरु भाटले माताकै आज्ञामा आठबिसे ग्रामकी गुरु थरकी क्षत्रिय कन्यासँग विवाह भएको र उसबाट जन्मिएका सन्तान क्षत्री भएबाट पूजारीका रूपमा काम गर्न पाएनन्। पूजारीका सन्तान भएकाले तिनीहरूले पुजारा थर लेख्न थाले। पुरु भाट पछि त्रिपुरा माईको पूजाआजा कार्य कुमाउँ चम्पावतबाट आई बैतडी बसोबास गर्दै आएका पाण्डेयहरूबाट हुन थाल्यो। पाण्डेयहरूको सहयोगका लागि स्थानीय भट्ट ब्राम्हणहरूलाई पनि समावेश गराइयो। 

उत्तर दक्षिण भएर करिब ३०० मिटर लामो र ५० मिटर जति चौडा भएको चउरको मध्य भागमा त्रिपुरासुन्दरी मन्दिर निर्मित छ। डोटेली शासक नागी मल्लको शासनकालभन्दा तीन पुस्ता अगाडि नै मन्दिर स्थापित भएको मानिन्छ। सानोतिनो वनसहितको उक्त मन्दिरको परिसरमा भगवान शिव, गणेश, सिंहका मूर्ति एवं नगरा राखिएका छन् भने मन्दिर वरपर भक्तजनहरूको आआफ्नो अभिष्ट सिद्धिका लागि घण्टहरू चढाएको देखिन्छ। मन्दिर बाहिर विशाल काठे झुला (पिङ) राखिएको छ।

प्रत्येक महिनाको सङ्क्रान्ति ,  पूर्णिमा र अमावस्याका दिन सामान्य घुइँचो लाग्दछ भने दसैं ताका आश्विन शुक्ल प्रतिपदादेखि नौरथाभर दुर्गा सप्तसती र दिव्य स्तोत्रहरूको पाठ गरिन्छ। आषाढ शुक्ल नवमी र दशमी तथा कार्तिक शुक्ल नवमी र दशमीका दिन विशेष उत्सव (जाँत) लाग्ने गर्दछ। जाँतका बेला बैतडीबाट अन्यत्र गएका स्थानीय त्यहाँ आउने गर्दछन् भने कुमाउँतिरबाट पनि प्रशस्त मात्रामा भक्तालुहरू आउँछन्। त्यसबेला राँगो वा बोकाको बलि दिने गर्दछन्। कुनैबेला त्यहाँ देउकी प्रथा थियो र उक्त प्रथा हाल हटिसकेको छ।
कसरी पुग्ने – काठमाण्डौबाट ८०९ किमीको दूरीमा बैतडी पुगिन्छ। विकल्पमा काठमाडौंदेखि धनगढीसम्म ७० मिनेट हवाईयात्रा गरी त्यहाँबाट १७६ किमी उत्तरपश्चिम यात्रा गरेर बैतडी पुग्न सकिन्छ।

प्रकाशित: ७ वैशाख २०७६ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App