१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

समकालीन यथार्थको प्रस्तुति

आख्यान विधामा चिनिएका बखतबहादुर थापा यस पटक ‘शीर्षकसँगै सरिता’ नामक कथासंग्रह लिएर देखा परेका छन्। २३ ओटा कथा समावेश गरिएको प्रस्तुत संग्रहले उनको कथालेखनीले आत्मसात गरेका समकालीन वातावरणलाई स्पष्ट पारेको छ। विषय विविधता पाइए पनि यहाँ उनको कथाकारले भोगिएको यथार्थलाई केन्द्रविन्दु बनाएको पाइन्छ।
सुरुआती कथा ‘सरिताको आत्मकथा’मा कथाकार बखतबहादुर थापाले नदीनालाको जन्मदेखिको यात्रालाई विषवस्तु बनाएको पाइन्छ। हिन्दू सनातनी दृष्टिकोणबाट विश्लेषणका साथ नेपाली समाजमा आध्यात्मिक भावनाको अवस्थाप्रति व्यंग्य प्रस्तुत गरेको छ । उनले नेपाली समाजमा चलेका परम्परागत धारणाप्रति आधुनिक चेतका माध्यमबाट हेर्ने प्रयास गरेका छन्। यसै सन्दर्भमा ‘काल’ कथामा उनले स्वैरकल्पनाको सहायता लिँदै प्रकृति र मानिसको द्वन्द्वको रोचक चित्रण गरेका छन्। स्वैरकल्पनाकै माध्यमबाट चित्रित ‘जुलुस’ कथामा मानवनिर्मित विकृति र विसंगतिततर्फ यस कथाले संकेत गरेको छ। सर्जकहरू आफ्नो परिवेशसित बढी संवेदनशील रहन्छन् भन्ने तथ्यलाई उनले यहाँ प्रस्तुत गरेका कथाबाट प्रस्ट पारेका छन्। ‘मन’ कथाले वर्तमान नेपालको समसामयिक राजनीतिक परिदृश्य प्रस्तुत गरेको छ। यस कथामा चेतन र अवचेतन मनको प्रभावलाई समेत चित्रण गरेको भेटिन्छ। ‘साथीहरू’ कथामा कलेजस्तरीय विद्यार्थी राजनीतिको अवस्थालाई प्रस्तुत गर्ने र अध्ययनपश्चात विद्यार्थीले भोग्ने आर्थिक समस्या अनि समाधानका लागि गरिने जमर्काको तस्बिर प्रस्तुत गरिएको छ। मैत्रीभावमा आइपर्ने विचलन एवम् एकअर्काप्रतिको त्याग र व्यवहारको ह्रास स्थितिलाई पनि यहाँ चित्रण गरिएको छ।

साहित्यका सबैजसो विधामा मानवीय जीवनलाई सर्वोपरि महत्व दिइन्छ। यस दृष्टिले हेर्दा सर्जकहरू जीवनबाट कच्चा पदार्थ उठाएर मानसिक स्तरमा पकाई जीवनकै लागि प्रस्तुत गर्ने गर्छन्। यस सत्यलाई यस संग्रहमा प्रस्तुत कथाले पुष्टि दिने प्रयास गरेको पाइन्छ। यसै सन्दर्भमा सामाजिक जीवनमा देखा पर्ने विसंगति केलाइएको ‘इज्जत’ कथामा प्रवृत्तिविशेषको चित्रणका कारण राजनीतिक परिदृश्यको पनि छाया पाउन सकिन्छ। २०७२ को भूकम्पका सन्दर्भमा सामाजिक जीवनमा परेका असर र त्यसकै परिधिमा मानवीय नातासम्बन्ध केलाउने काम ‘अशक्त प्याउली, प्रकाश प्रजापति र भुइँचालो’ कथामा गरिएको छ। सो भूकम्पको असरलाई ‘भग्नावशेष’, ‘त्रास’ कथामा पनि केलाइएको पाइन्छ। ‘कामना’, ‘चव्रmव्यूह’ र ‘ज्योतिषी’ कथामा भाग्यमाथि भरोसा गर्नेका दुर्दशाको चित्रण सजीव पारामा गरिएको छ। ‘मातापिताको माया’ कथाले ममत्वको महिमा स्पष्ट पारेको छ। ‘मेरी भाउजू र नागा बाबा’ र ‘फेरीवाला’ कथामा सामाजिक अन्धविश्वासका सन्दर्भमा वास्तविकताको तह खोज्ने प्रयत्न गरिएको छ। ‘सालीभेना’ कथामा नेपाली समाजमा देखा पर्ने नातासम्बन्धको प्रसंग केलाइएको छ। यहाँ परिवेशगत असरले नवपुस्तालाई कसरी नकारात्मक दिशातर्फ पनि धकेल्ने गर्छ भन्ने दृष्टिकोण प्रस्तुत भएको पाइन्छ। ‘सन्देश’ कथामा सामाजिक जीवनका चिन्तनमनन प्रस्तुत गरिएको छ।

‘नेपालआमा’ कथामा देशको वर्तमान स्थितिप्रति गम्भीर चिन्तन गरिएको छ। ‘झगडाले पु¥यायो इच्छा’ कथामा वर्तमान समयमा युवापुस्ताको विदेशप्रतिको मोहलाई स्पष्ट पारिएको छ। ‘ऊर्जा’ कथाले नेपाली समाजमा हुँदै गरेका आर्थिक विचलनको चिरफार गरेको छ। ‘साला सुगर’ कथामा मानिसका जीवनमा आइपर्ने बिमारीलगायतका समस्याको चित्रण छ। पहाडी भेगका नेपाली सामाजिक जीवनमा स्वास्थ्यप्रतिको उदासीनताका असर केलाउनमा पनि यो कथा सफल देखिन्छ। ‘नीलकण्ठ’ कथाले पछिल्लो समय नेपालले भोग्नुपरेका भूकम्प र नाकाबन्दीका असर केलाइएको पाइन्छ। मानिसका दयनीय क्षणमा कल्पनाको उडान र त्यसबाट तुष्टि लिने प्रवृत्तिको चित्रणमा पनि कथाकार थापाले आफ्नो खुबी देखाएका छन्।
भूमिकाखण्डमा ‘यस संग्रहका प्रत्येक कथा पानी र समय जस्तै गतिशील छन्’ भन्ने धारणा राख्ने कथाकार बखतबहादुर थापाले आफूले टेकेका धरातलमा देखा पर्न थालेका समसामयिक पक्षलाई उनेर कथा बुनेको देखिन्छ। उनको कलमले कतै परम्परागत आस्था, कतै सामाजिक मूल्यमान्यताको दृष्टिकोणबाट वस्तुस्थिति पर्गेल्ने प्रवृत्ति देखाएको पाइन्छ। यति हुँदाहुँदै पनि उनको कथाकारले बद्लिँदो समयका आरोह–अवरोहलाई समेत कथानक उन्ने व्रmममा ध्यान पु¥याएको भेट्न सकिन्छ। यी कथा नेपाली समाजले भोग्दै आएका विविध मोडलाई सविस्तार वर्णनमा केन्द्रित भएकाले सुरुचिपूर्ण बन्न पुगेका छन्।
कथाविधाका लागि कथाकार बखतबहादुर थापाको लगनशीलताले विभिन्न आयाम समेट्दै जाने आस गर्न सकिने प्रशस्त सम्भावना देखा परेका छन्। प्रस्तुतिको रोचकता एवम् विषयवस्तुको सूक्ष्म विश्लेषणका लागि उनी बधाईका पात्र छन्। समग्रमा उनको यस संग्रहका कथा नेपाली समाजका भोगाइको सजीव चित्रण गर्न सक्षम भएकाले पठनीय बन्न पुगेका छन्।

प्रकाशित: ३० चैत्र २०७५ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App