१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

झुसिलकीरोको पुतली यात्रा

एलपि भानु शर्मा
प्राध्यापक पोखरा विश्वविद्यालय
एवं जीवन विकास विशेषज्ञ

मान्छे कल्पनाशील प्राणी हो। मानिसमा अधिकतम रूपमा उन्नति–प्रगति गर्ने मानवीय स्वभाव हुन्छ। तर चाहना राख्दैमा सबैले सोचे जति प्रगति गर्न किन सक्दैनन् त?

एउटा झुसिलकीराले पुतली बन्न गरेको संघर्ष जस्तै मान्छेले भौतिक एवं आध्यात्मिक तवरबाट कसरी संघर्ष गरी निखारिएर आफू सशक्त बन्ने राम्रो अवसर प्राप्त गर्छ? आजको यस अंकमा यसै विषयमा चर्चा हुनेछ।

हामीले यसमा झुसिलकीरा कसरी पुतली बन्छ भन्ने कथा मात्रै हैन। यो सम्पूर्ण मनुष्यको कथा हो। यसलाई हामीले प्रतिकात्मक विम्बको रुपमा प्रयोग गरेका छौँ। हामी सबैलाई  झुसिलकीराका बारेमा थाहा छ, यो भुइँमा हिँड्ने जीव हो। बिस्तारै–बिस्तारै संघर्षको कथाबाट अगाडि बढ्छ। त्यो संघर्षका दिनहरु पार गर्दै ऊ आकाशमा उड्ने पुतली भएर निस्किएको हुन्छ। संघर्षलाई पार गरी खुला आकाशमा पखेँटा पिँजाएर उड्ने हुन्छ। त्यति मात्र हैन शून्यताको अनुभव पनि गरेको हुन्छ। त्यही झुसिलकीरालाई कुनै दिन पृथ्वीको गुरुत्वाकर्षणले तानेको थियो। जब त्यो पुतली बनेर उड्न थाल्छ गुरुत्वाकर्षण नियमले तान्न त तान्छ तर आकाशमा पखेँटा उडाउन त सक्छ।

प्रक्रिया के हो त?
यसका केही नियमहरु छन्। पहिले यसको प्रक्रियालाई बुझौँ। सबैभन्दा पहिले झुसिलकीरा कुनै बाहिरको शक्तिसँग लडिरहेको छैन। झुसिलकीरामा आफ्नो जुन भविष्य छ त्यो प्राप्त गर्नका निम्ति संघर्ष गरिरहन्छ। उसलाई थाहा छैन ऊ पुतली बन्छ वा बन्दैन। उसका चेतन मनलाई पनि थाहा छैन। तर कतै उसको अवचेतन मनलाई पुतली बन्ने नियती भने थाहा भएको हुन्छ। त्यसकारण ऊ कहीँ कतै नअल्झी परम सौभाग्यको बाटोमा हिँडिरहेको हुन्छ।

दोस्रो जब ऊ पुरानो झुसिलकीराबाट नयाँ पुतली बन्छ अचानक पृथ्वीबाट मुक्त भएर आकाशको प्राणी बन्न थाल्छ। अर्थ के हो भने हरेक संघर्ष आफैँभित्र हुन्छ। संघर्ष बाहिर कहीँ छैन।  हाम्रो जीवनको महाभारत पनि कतै बाहिर छैन। महाभारत आफैँभित्र छ।

मान्छे स्वतन्त्र छ झुसिलकीरा छैन
मानसिक, भौतिक, भावनात्मक संघर्ष गरेर कसरी भौतिक तथा आत्मिक उन्नति–प्रगति गर्न सकिन्छ? जसरी झुसिलकीरा पुतली बन्ने प्रक्रिया हो। मान्छेको उन्नति–प्रगति पनि आत्मिक रुपान्तरणको प्रक्रिया हो। यही नियमलाई हामी भगवान् शिव भन्छाैँ। शिवरात्रिको मूल नियम पनि यसैसँग सम्बन्धित छ। आत्मिक रुपान्तरण नै यसको प्रमुख कुरा हो।

हाम्रो चेतनाले संघर्ष गरिरहेको हुन्छ। त्यो संघर्षबाट निखारिएर जीवनको दिव्यतालाई  स्पर्श गर्न सक्ने हुनुपर्छ। त्यो संघर्ष गरिरहेको चेतनाको अन्तरकथाबाट जीवन जन्मिन्छ। जसलाई हामी शिवत्व पनि भन्छौँ। यो प्रक्रियाबाट मनुष्यले कसरी पाठ सिक्ने? मनुष्य यो प्रक्रियाबाट अछुतो छैन। पृथ्वीको कुनै पनि प्रक्रियाबाट मनुष्य अलग छैन। मनुष्यको जीवनमा यही घटना घट्छ। हामी मिहिनेत त गर्छाैँ। बिहान उठेदेखि नसुतुञ्जेलसम्म हामी कामैकाम भनेर कुँदेका हुन्छाैँ। नाना प्रकारका मिहिनेत गरेका हुन्छौँ। के ती मिहिनेतले हामीलाई झुसिलकीरा पुतली बनेजस्तै हामी पनि परिणत भएका हुन्छौ? पुतली बनेका छौँ या छैनौँ। यसलाई राम्ररी बुझ्नुपर्ने हुन्छ। जीवनलाई केलाएर हेर्नुपर्ने हुन्छ। अरु कुनै पशुपक्षी वा किटपतङ्ग र मनुष्यबीचको वास्तविक फरक बल्ल आउँछ।

प्रकृतिले गर्ने विकासलाई  इभालुएसन भनिन्छ। त्यो इभालुएसन मान्छेमा आएर रोकिन्छ। प्रकृतिले धकेल्दै धकेल्दै मनुष्यसम्म बनाइदियो। रुख हुँदै विभिन्न प्रकारका प्राणी हुँदै कहीँ हामी मनुष्यसम्म आइपुग्यौँ। यहाँ आएर विकासक्रम रोकियो। प्रकृतिले धेरै मिहिनेत गरेको छ। हामी मनुष्य बनिसकेपछि अबको विकास हाम्रो हातमा हुनेछ। हाम्रा धर्मशास्त्रले भनेका छन् कि ८४ लाख योनि पार गरेर मनुष्यको जुनी आएको हो। अन्तिम योनि मनुष्य हो। अब प्रकृतिले हामीलाई केही गर्ने छैन। हाम्रो शरीर हुर्किन्छ अघि बढ्छ तर उन्नति–प्रगति हाम्रै हातमा छ। मृत्युको घडीसम्म त्यसैले हान्छ। तसर्थ मानिस आफ्नो उन्नत–प्रगति गर्ने कि नगर्ने भन्ने कुरामा आफैँ स्वतन्त्र छ तर झुसिलकीरा पुतली नबनी सुखै छैन। मनुष्यलाई के बन्ने नबन्ने भनेर लक्ष्य निकाल्न स्वतन्त्रता दिएका कारण नै आफ्नो लक्ष्य आफैँ खोज्नुपर्छ।

लक्ष्य कसरी पत्ता लगाउने
मनुष्यले आफ्नो लक्ष्य पहिल्याउनु पर्छ। विनालक्ष्य गरेका कुनै पनि कार्य काम लाग्दैनन्। हामी देख्छौँ नि जुन समाजले लक्ष्य निर्धारण गर्न सिक्यो त्यो समाजले अग्रगामी छलाङ मारिरहेको हुन्छ। जुन समाजले जुन व्यक्तिले जीवनको लक्ष्य पत्ता लगाउने तरिका सिकेको छैन प्रक्रियासँग अवगत छैन त्यो समाज र व्यक्ति पछाडि पर्छ।

हाम्रो समाज पछाडि पर्नुको कारण लक्ष्य नभएर हो। जीवनको मूल उद्देश्य खोज्ने जीवनको मूल चेष्टालाई पहिल्याउने काम गरेनौँ। दैनिकी खाने पिउनेमा मात्र ध्यान दियौँ। खानु, पिउनु जीवनको लक्ष्य हैन। जसरी मोटरलाई चलायौँ भने गन्तव्यमा पुग्छाैँ चलाएनौँ भने पुग्दैनाैँ। हाम्रो जीवन पनि मोटर गाडी जस्तै हो। चलायौँ भने काम लाग्छ नत्र काम लाग्दैन। मनुष्यले आफ्नो जीवनको ध्येय पत्ता लगाउनुपर्छ। जीवनको संघर्ष के हो पत्ता लगाउनुपर्छ। प्रयोगहीन जीवनमा राम्रो ‘टाइम पास’ हो। कथोपनिषदमा मृत्युको देवता यमराज बाल नचिकेतालाई भन्छन्, ‘हे ! नचिकेता उठ जाग तिमीभित्रको उद्देश्यले तिमीलाई बोलाइरहेको छ।’

यसर्थ उद्देश्य कहीँ भित्र छ बाहिर छैन। झुसिलकीरालाई धकेल्दै धकेल्दै पुतलीसम्म बनाइदिन्छ प्रकृतिले तर मान्छेलाई धकेल्दै धकेल्दै त्यहाँसम्म पु-याउँदैन। भगवान् बुद्ध बनाउँदैन। यहाँ आएर व्युत्पत्ति रोकिन्छ।

त्यसकारण पहिले आफ्नो जीवनको मूल लक्ष्य पत्ता लगाऊँ। लक्ष्यप्रति कृतसङ्कल्पित हौँ  । मान्छेसँग समस्या छ। झुसिलकीरालाई समस्या छैन। कुनै राम्रा चिज, बस्तु, मान्छेलाई  देख्नेबित्तिकै आफ्नै बनाउँ भन्ने स्वभाव आउँछ र ऊ लक्ष्य प्राप्तिमा अल्झिन्छ तर झुसिलकीरालाई त्यस्तो लाग्दैन। त्यसकारण ऊ पुतली बन्छ।  मान्छे अल्झिन थाल्यो भने लक्ष्यमा नपुग्न सक्छ। मान्छेलाई विचलित गराउने हजारौँ कुरा छन्। आकर्षण धेरै छन्। यी सबै कुराबाट बच्नका लागि मनुष्यले निरन्तर हिँड्ने संकल्प गर्नुपर्छ। आत्म संमयको अग्नि बाल्न थाल्नुपर्छ। विचलित नहुने गरी अगाडि बढाउनुपर्छ।

मान्छेले चाहिनेभन्दा नचाहिने कुरामा बढी समय खर्च गरिदिन्छ। ऊ विवाह, सन्तान उत्पादन, दैनिक जीवनमा अल्झिन्छ। झुसिलकीरामा त्यस्तो अल्झन केही हुँदैन। उसलाई त प्रकृतिले लिकमा हालेको छ तर मान्छेलाई लिकमा हालेको छैन। मान्छे स्वतन्त्र छ। उसले केही गर्न पनि सक्छ नगर्न पनि सक्छ। मानिसले आफू भित्रको भाग्यलाई नखोलिकन मर्न पनि स्वतन्त्र छ। झुसिलकीरालाई प्रकृतिले धकेलेको धकेल्यै गर्छ।

प्रकृतिले मनुष्यको शरीर र मनलाई मात्र आफ्नो हातमा लिएको हुन्छ। अरु स्वतन्त्रता दिएको छ। चेतनागत स्वतन्त्रता दिएको छ। अरुले के भनेका थिए, कस्तो गाली गरेका थिए यस्ता कुरालाई स्वाभाविक प्रक्रियामा लिइन्छ। मनमा पुराना कुराले डेरा हालेपछि त्यो व्यक्तिलाई कहिले नसुध्रिने रोग लाग्छ। त्यसकारण मनुष्य आफैबाट जोगिन आवश्यक छ। 

मनुष्य विगतबाट मुक्त हुन जरुरी छ। बिहान उठ्दा पुराना कुरालाई बिर्सिएर नयाँ हुन जरुरी छ। पुराना कुराले बाटोबाट उल्टो फर्काउँछ। मनुष्यले आत्माको आगो बाल्नुपर्छ। निरन्तर खुसी रहनुपर्छ। निरन्तर खुसी भएन भने चेतना हराउँछ। आन्तरिक खुसी नै प्रगतिको उच्चतम पाइला हो।  आफूले लिएको उद्देश्य पूरा गर्ने भए तपस्या नभए दास पनि हो जीवन।

आफूभित्र आगो बालौँ
आफ्नो ताप आफैँ तताउनु, भित्रबाट आगो बाल्नु, तपस्याको बाटो रोज्नु जीवनको लक्ष्य हो। आफ्नो मनले गरेको कामले जीवन रुपान्तरित हुन्छ। अरुले अराएको र डराएर गरेको  हो भने रुपान्तरण हुँदैन। रोजेको गन्तव्य सुगम हुन्छ। आफूले रोजेको बाटो काम लाग्छ।

जति दुःख पाए पनि ऊर्जा हुन्छ। अरु कसैले गर भनेको हो भने पीडा हुन्छ। झुसिलकीरा पुतली बन्नु आफ्नो रोजाइ हैन। मान्छेको जीवन रोजाइ हो। आफ्नो चेतनाको बाटो हिँड्ने हो भने मनुष्य बुद्ध वा कृष्ण बन्दछ। सँगै लाखौँ व्यक्तिको उद्धार हुन्छ। हामीले बुद्धको उदाहरण लिन सक्छाैँ। आफ्नो खुट्टा पनि आफैँले बनाउने हुनुपर्छ। आँखामा ज्योति आफैँले बाल्नुपर्छ। मनुष्यले बुझ्नुपर्छ यो ब्रह्माण्ड हाम्रो डेरा हो घर हैन। जाग्रताका लागि सम्पूर्ण मनुष्यलाई परम प्रकाशले बोलाइरहेको छ। शान्तिसँग जाउँ। स्वर्णकायाले भरिएको महान् मनुष्य हो।
प्रजु पन्तसँग कुराकानीमा आधारित

प्रकाशित: २४ चैत्र २०७५ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App