१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

बाराका थरीथरी स्वाद

केही युवा गफमा व्यस्त देखिन्थे, केही भने बाराको स्वाद लिँदै। बिकुमाया बज्राचार्य (७२) भने मासको बारा बनाउन व्यस्त थिइन्। उनकी बुहारी ग्राहकलाई बारा पु-याउँदै थिइन्।

यो दृश्य हो, भक्तपुरको आमाको बारा पसलको। बिकुुमायाले बारा पसल सञ्चालन गरेको ४८ वर्ष भयो। मासको पिठोको बारा बनाउनु उनको दैनिकी हो। सुरुवातमा उनले पसलमा विभिन्न परिकार बनाइन्। तर, पछि उनी बारा मात्रै पकाउन थालिन्। उनी भन्छिन्, ‘मैले पसल सुरु गर्दा नेवारी परिकार समय्बजी, छोयला, आलु र बारा लगायतका परिकार बेच्थे। तर, अहिले बारा मात्र पकाउँछु।’ अहिले उनको पसलमा बाराका थरीथरी स्वाद चाख्न पाइन्छ।

उनले बाराको भेराइटी बनाउन थालेको भने ४४ वर्ष भयो। बाराका मात्रै परिकार पाइने भएकाले ग्राहकले नै पसलको नाम नै आमाको बारा पसल राखिदिएको उनी सुनाउँछिन्। भक्तपुरको सुन्दरता नियाल्नेको जमात निकै छ, अझ टौमढीमा रहेको पाँच तले मन्दिर हेर्न आउनेको भीड त जुनसुकै समयमा देख्न सकिन्छ। पर्यटकीय आकर्षणको रूपमा रहेको विश्व प्रसिद्ध पाचँतले मन्दिर हेर्न जोकोही भक्तपुरसम्म आउने गर्छन्। भक्तपुर पौराणिक सम्पदाले मात्र धनी नभएर नेवारी अनेक प्रकारका परिकार खान पाउने भएकाले पनि निकै परिचित रहेको पाइन्छ।

मानिसमा नयाँ स्वाद चाख्ने ट्रेन्ड निकै बढ्दो छ। अधिकांश खाजा घरमा अनेक परिकार भएपछि मात्र ग्राहकको भीड लाग्ने मान्यता आमाको बारा पसलले गलत साबित गरिदिएको छ। एउटै नेवारी परिकार तर अनेक स्वादमा रम्न आउने पारखीको जमात दिनानुदिन बढ्दै छ। आगोमा दाउरा राखेर बारा पकाउने समय सम्झदै उनले भनिन्, ‘अहिले जस्तो त्यो बेलामा कहाँ ग्यास थियो र ? अहिले त जे काम गर्न पनि निकै सहज छ।’ मासको गेडालाई पिठो बनाउन पनि निकै ग्राहो रहेको उनले बताइन्। ‘घन्टौं लगाएर सिलौटोमा हातले मासलाई मसिनो पिठो बनाउनु पर्थो, हात दुखेर निकै पिडा हुन्थ्यो तर, अहिले त एक छिन मै मिक्सरले पिसिदिन्छ,’ उनले हाँस्दै भनिन्। बिकुमायाले घरपरिवार यही आमाको बारा पसलले धानेकी छन्।

पसलमा दैनिक ३ सय ५० जनासम्म ग्राहक आउने उनले बताइन्। बिदाको दिन अन्य समयभन्दा बढी ग्राहक आउने उनी बताउँछिन्। बिकुमाया बिहानै ४ बजे उठेर बारा बनाउनको लागि सर–समानको जोहो गर्छिन्। आमाको बारा पसलमा दिउँसो १२ः३० बजेदेखि बेलुकी ७ बजेसम्म बारा खान सकिन्छ।

भक्तपुरका माधव श्रेष्ठले केही दिनअघि आमाको बारा पसलमा पहिलो पटक बारा खाए। बारा खाएपछि मुड नै चेन्ज भएको उनको अनुभव छ। ‘बारा खाएपछि स्वाद मात्र नभएर भोक नै मेटायो,’ उनले हाँस्दै भने। धेरै ठाउँमा बारा खाइसकेका उनले आमाको बारा पसलमा बेग्लै स्वाद पाएको अनुभव सुनाए। ‘बाराको स्वाद राम्रो लागेर घरको लागि पनि प्याक गर्न लगाएँ,’ उनले सुनाए। उनको बुझाईमा आमाको बारा पसलको बारा नेवारी पिँजा हो।
भक्तपुरमा आउँदा अनिवार्य रूपमा बारा खाने गरेको उनी सुनाउँछन्।

थरीथरी स्वादमा बारा
बारा नेवारी परिकारमा रुचाइने परिकार हो। बारा खान आउनेमध्ये धेरैजस्तो नेवार समुदायका हुने उनले बताइन्। विशेषगरी बनेपा, काभे्र, ललितपुर, काठमाडौं र भक्तपुरबाट ग्राहक आउने उनी बताउँछिन्।

आमाको बारा पसलमा विशेष स्वादको तीन थरीका बारा खान पाइन्छ– सादा बारा, अण्डा बारा र मिक्स बारा (अण्डा वा मासु)।

सादा बारा
आमाको बारा पसलमा पाइने बाराको परिकारमध्ये धेरैले रुचाएको बारा हो, सादा बारा। मासको पिठोबाट तयार पारिने यो बाराको स्वाद सादा हुन्छ। मासु तथा अन्डा नखानेका लागि सादा बारा उपयुक्त हुन सक्छ। चिल्लो कम हुने र मासको पिठोले फाइदा हुने भएकाले धेरैले खान रुचाउने बिकुमाया बताउँछिन्।

अन्डा बारा
अन्डा बारा अन्डा र मासको पिठो राखेर तयार पारिन्छ। अन्डाको फरक स्वाद यो बारामा पाउन सकिन्छ। किमाको स्वाद मन नपराउनेका लागि अन्डा बारा उपयुक्त खान्की हुन सक्छ।

मिक्स बारा (अन्डा, किमा बारा)
मासुको स्वाद खान रुचाउनेले मिक्स बाराको माग गर्ने बिकुमाया बताउँछिन्। मासको पिठोमा अन्डा, किमा राखेर तयार गरिने बारालाई मिक्स बारा भनिन्छ। अन्य बाराभन्दा मिक्स बारा बनाउँदा विशेष सावधानी अपनाउनुपर्ने उनी बताउँछिन्। अधिकांश ग्राहकले यो बारा रुचाउने गरेको उनले बताइन्।

आमाको बारा पसलमा बारासँग खान मरमसला राखेर तयार पारिएको  रस (झोल) पाइन्छ। यो झोल अन्यत्र नपाइने बिकुमाया दाबी गर्छिन्। बारासँग मात्र खानको लागि तयार पारिने यो झोलको स्वाद निकै फरक हुन्छ। बाराको स्वादलाई अझ स्वादिलो बनाउन यो झोलले मद्दत गर्छ।

प्रकाशित: २३ चैत्र २०७५ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App