नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।
आयोजक विशाल लायन्स क्लब उनलाई पुरस्कार थाप्न बाध्य गराउनतिर भन्दा गीत गाउन बाध्य बनाइरहेको थियो। नारायणगोपालले आफू मात्र पुरस्कार नलिने होइनन्, अरुलाई पनि सित्तैमा गीत नगाउन भरमग्दूर प्रयास गरे। जसमध्ये गायिका ज्ञानू राणा, तारा थापा र सुक्मित गुरुङले नारायणगोपालको प्रभावमा परेर गीत नगाउने भए। ताराले त्यो साहसिक कदमका निम्ति त्यतिबेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको जागिरै गुमाइन्।
गीत रेर्कडिङका निम्ति तयारी गर्दै गर्दा नारायणगोपाल अचानक हराए। खबर के आयो– नारायणगोपाल लोकगीत मात्र गाउन यहाँ आएको होइन, सोलो गीत छ भने फर्केर आउँछु नत्र नेपाल फर्कियो भनिदिनू।
नारायणगोपाले त पुरस्कार लिएनन्। तर, त्यही चलचित्र ‘कान्छी’बाट सर्वोत्कृष्ट संगीतकार गोपाल योञ्जन, सर्वोत्कृष्ट गीतकार चेतन कार्की अनि सर्वोत्कृष्ट गायिका अरूणा लामाले पुरस्कार ग्रहण गरे। नारायणगोपालको जीवनमा २०४३ सालको यो घटना जीवनभर अविस्मरणीय बन्यो। नेपाली चलचित्रमा निरन्तर पाश्र्वगायनमा सक्रिय नारायणगोपाल, संगीतकार योञ्जन अनि गीतकार कार्की पहिलोपटक पुरस्कृत भए। त्यतिबेला गीतकारमा कार्कीबाहेक किरण खरेल अर्को सक्रिय नाम थियो भने संगीतकारमा योञ्जनबाहेक रञ्जीत गजमेरको नाम अगाडि थियो। तर, गायनमा नारायणगोपालसित प्रतिस्पर्धामा उनका समकालीन कोही थिएनन्।
निजी क्षेत्रबाट नेपाली चलचित्र बन्न सुरु भएको चार वर्षपछि दिइएको पुरस्कारका निम्ति चलचित्रमा पाश्र्वगायनमा नारायणगोपाल पछि आएका प्रकाश श्रेष्ठ, उदीतनारायण झा मैदानमा थिए। तर, निरन्तर गायनका हिसाबलाई हेर्दा नारायणगोपाल एक्ला देखिन्थे।
नारायणगोपाल र चलचित्र गायन
नारायणगोपालले नेपाली चलचित्रका निम्ति कति गीत गाए। यसको सही रेकर्ड अझै फेला परेको छैन। तर, उनलाई नेपाली चलचित्रको पाश्र्वगायकका निम्ति दिएको पहिलो पुरस्कार योगदानलाई हेरेर उनको गायनको स्तर र शैलीलाई हेरेर दिएको थियो।
नेपाली चलचित्रको पहिलो गायक नारायणगोपाल होइनन्, नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’का पहिलो पाश्र्वगायक शिवशंकर हुन् भने नेपालमा बनेको पहिलो वृत्तचित्रका गायक पनि शिवशंकरै हुन्। शिवशंकरले हीरासिंह खत्री निर्देशित ‘स्वराष्ट्रका हे नायक’ बोलको गीत गाएर श्री ५ महेन्द्रको ४२ औँ जन्मोत्सव नामक वृत्तचित्रमा देखा परे।
नारायणगोपाले आमा नामक चलचित्र बनेकै साल निजी क्षेत्रबाट बन्न लागेको पहिलो चलचित्र माइतीघरका निम्ति गीत रेकर्ड गर्न मुम्बई गए। मुम्बई उनका निम्ति पहिलो सांगीतिक भूमि थियो। यद्यपि उनको सांगीतिक अध्ययन त्यतिबेला बरौदास्थित महाराज सवोएजय संगीत विद्यालयमा भारतमै चल्दै थियो। ०२१ सालमा बनेको त्यो चलचित्रमा जयदेवको संगीतमा नेपालीभाषी प्रेमध्वज प्रधानबाहेक अन्य स्वरकर्मीमा अरूणा लामा, सीपी लोहनी आदिले गाए। तर, नारायणगोपाल त्यही चलचित्रमा फ्याँकिए।
आफ्नो जीवनमा चलचित्रका निम्ति पहिलो गीत गाउन गएका नारायणगोपाल गीतकार साथी प्रदीप रिमालसित रित्तै फर्किए। नारायणगोपालको यो पहिलो असफलता थियो, जसले उनलाई पछिसम्म लखेटिरह्यो।
चलचित्रको गीत गाउन एकदम रुचि लिने नारायणगोपाल हिन्दी चलचित्रका गायक मोहम्मद रफी, मन्ना डे को गायकी हूवहू उतार्न सक्थे, चलचित्रको पाश्र्वगायन उनको रुचि जस्तै देखिन्थ्यो। पत्रकार शरद्चन्द्र वस्तीलाई दिएको एक अन्तर्वार्तामा उनले बलिउडका प्रसिद्ध गायक किशोरकुमार आफ्ना प्रिय गायक भएको घोषणा गरेका थिए।
नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।
नारायणगोपालका कान्छा भाइ लक्ष्मणका अनुसार नारायणगोपाल कुनै समय जयनेपाल हलमा प्रदर्शित बैजु वावराको गीत फिल्म सुरु हुनुअघि हलबाहिर गाएर दर्शकको बाटो अवरुद्ध गरिदिन्थे। आजका चर्चित निर्देशक महेश भट्टका काका विजयले बनाएको बैजु वावरा त्यस समयको सफल सांगीतिक फिल्म मानिन्छ। नारायणगोपालले बैजु बाबराबाहेक गुञ्ज उठी शहनाई, मुगल ए आजम, अनारकली, प्यासा का गीतबाट पनि आफ्नो प्लेब्याक सिँगिङ भ्वाइस बनाएको कुरा उनका अत्यन्त निकटवर्ती मित्र एवम् गीतकार नगेन्द्र थापा सम्झना गर्छन्।
गीतकार नगेन्द्र थापाले नेपाली चलचित्र बद्लिँदो आकाशका निम्ति गीत लेख्दा त्यस फिल्ममा पृष्ठ स्वर दिने गायक थिए, नारायणगोपाल। गोपाल योञ्जनको संगीतमा नारायणगोपालले गाएको गीतमा थापाको शब्द फरक प्रवृत्तिको थियो।
जन्मनुपर्छ हरेक मानिस लिएर नौलो आश
गुराँस बिहान देखाई भन्छु, बद्लिँदो आकाश
नर र नारी विश्वमा सुन्दर ईश्वरको रचना
त्योभन्दा पर जे जस्तो बन्यो मानिसकै कल्पना
विरही गीत, निष्ठुरी रीत समाजको जञ्जाल
मानिस मानिस बीचको नाता रोक्ने पर्खाल
हटाऊ धूलो, चलाऊ चोखो हिमाली बतास
बीसको दशक सुरुवातदेखि नारायणगोपाल, योञ्जन र थापाको सांगीतिक यात्रा सुरु भएको भए पनि चलचित्रमा यिनको त्रैकोणिक सम्मिलन ‘बदलिँदो आकाश’मा आएर मात्र सम्भव भयो। चलचित्रमा नारायणगोपाल बाहेक प्रकाश श्रेष्ठ, विमला राई र तारा थापाले पनि गाएका थिए।
शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित पाँचौ फिल्म बदलिँदो आकाशका निम्ति योञ्जनले पहिलो पटक एकल संगीत गरेका थिए भने योञ्जन र थापाले भाग लगाएर गीत लेखेका थिए। चलचित्रका निम्ति नारायणगोपालले पृष्ठ गीत सुरुदेखि नै रुचि लिएनन्। तर, उनले नेपाली चलचित्र सिन्दूर, कान्छी र दक्षिणामा पृष्ठ गीत गाएका छन्। कान्छीको जुन गीतका निम्ति पृष्ठ गीत गाएर उनी सर्वोत्कृष्ट गायक बने, त्यही चलचित्रका गीतकार चेतन कार्कीको गीतबाटै उनले ०२५ सालमा ‘परिवर्तन’ नामक चलचित्रबाट पाश्र्व गायन सुरु गरेका थिए।
पहिलो चलचित्र, पहिलो गीत
परिवर्तन चलचित्रका निम्ति पहिलो पटक गीत रेकर्ड गर्न कोलकत्ता जाँदाको घटना सम्झिँदै गीतकार चेतन कार्की भन्छन्, ‘मेरो पहिलो चलचित्र परिवर्तनको गीतमध्ये एउटा गीत संगीतकार भी बलसाराको संगीतमा थियो– बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने। नेपाली चलचित्रको पहिलो लोकगीत थियो र नारायणगोपालले गाएको पहिलो लोकगीत पनि। यसमा मीरा राणाको स्वर पनि थियो। यो गीतको रेकर्डिङ गर्न तीर्थ शेरचन, मीरा राणा, नारायणगोपाल लगायत अरु पनि गएका थियौँ। हामी रोयल होटलमा बसेका थियौँ। गीत रेकर्डिङका निम्ति तयारी गर्दैगर्दा नारायणगोपाल अचानक हराए। खबर के आयो भने नारायणगोपाल लोकगीत मात्र गाउन यहाँ आएका होइनन्, सोलो गीत छ भने फर्केर आउँछु नत्र नेपाल फर्कियो भनिदिनू।
यो खबर पाएपछि चलचित्रका निर्देशक हीरासिंह खत्रीले मलाई आग्रह गरे, एउटा सोलो गीत लेख्न। मैले हिन्दी भाषामा रहेको मेरो गीत नेपालीमा अनुवाद गरेर नेपालीमा सुनाएँ। निर्देशक सिंह र संगीतकार बलसारा खुसी भए। नेपाल फर्किंए भनेका नारायणगोपाल त्यही होटलको पाँचतलाको अर्को कोठाबाट भोलिपल्ट झरे। उनले यसरी यो फिल्ममा सोलो गीत जन्माएका थिए। नारायणगोपाल यो गीत र यसको ट्युन सुनेर भावविभोर भए र उनले नै गीत पहिले रेकर्ड गर्ने जिकिर गरे। उनले पर्फेक्ट टाइमिङमा गाए र फेरि एकपटक गाउन मन गरे। निर्देशक खत्रीले फेरि पनि एक टेक लिए र ओके गरे। यो नै नारायणगोपालको नेपाली चलचित्रको निम्ति रेकर्ड भएको पहिलो गीत हो।’
चेतन कार्कीको शब्द र भी बलसाराको संगीतको गीत –
बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो
हजार अर्थ अरुले लाएर के गरुँ ?
मुटु मुटुमा प्रित बनी भरिन सक्छु म
अधर अधरमा गीत बनी छरिन सक्छु म
दोहो¥याइनौं तिमीले मेरो गीत भने
सारा संसारले मिलेर गाएर के गरुँ ?
सेतो बादल जस्तो निरस यो जिन्दगीलाई
लाचार कामनाले विवश जिन्दगीलाई
मुस्कानको इशारा तिमीले दिन सकिनौं भने
संसारको सहारा पाएर के गरुँ ?
राष्ट्रिय निर्देशन मन्त्रालय, प्रचारप्रसार डिभिजनले बनाएको तेस्रो चलचित्र परिवर्तनको यो गीतबाट नारायणगोपालको पाश्र्वगायन यात्रा सुरु भयो। तर, यसको धेरै वर्षपछि नारायणगोपाल र बच्चु कैलाश दुवैले चलचित्रमा संगीत गर्न शाही नेपाल चलचित्र संस्थानमा निवेदन दिए।
अनौठो संयोग, संस्थानको पहिलो चलचित्र ‘मनको बाँध’का निम्ति नातिकाजी र शिवशंकर संगीतकारका रूपमा छानिए भने नारायणगोपाल र बच्चु कैलाश पाश्र्वगायकका रूपमा। बच्चु कैलाशले किरण खरेलले एउटा गीतमा चित्त बुझाए भने नारायणगोपाले यसमा दुइटै लोकलयका गीत गाए– माधव घिमिरे र प्रदीप रिमालको रचनामा।
चलचित्रको पाश्र्व गायनको नारायणगोपालको यो दोस्रो इनिङ थियो। उनले दुवै गीतमा आफूलाई जमाए। तर, चलचित्रको बजारमा राम्रो नभएको कारण उनका गीत हराए। चलचित्रको पाश्र्वगायनमा यतिबेलासम्म नारायणगोपाल मात्र होइन, उनका समकालीन प्रेमध्वज प्रधान, बच्चु कैलाश, माणिकरत्न पनि जम्न सकेका थिएनन्। शाही नेपाल चलचित्र संस्थानले दोस्रो फिल्म कुमारी बनाएपछि गायक माणिकरत्न पाश्र्वगायकमा आए भने प्रेमध्वज प्रधान र बच्चु कैलाश लगभग नेपथ्यमै रहे।
रंगीन सिनेमा र रंगीन आवाजको संगम
नेपालको पहिलो रंगीन चलचित्र कुमारी प्रदर्शन भएपछि नेपालमा निजी क्षेत्रबाट चलचित्र बनाउने कमजोर कदम सुरु भयो। तर, कुमारीको असफलतापछि फेरि यो क्रम सेलायो। शाही नेपाल चलचित्र संस्थानले दोस्रो रंगीन चलचित्र बनायो– सिन्दूर। केशवराज पिँडालीको कथामा प्रकाश थापाको निर्देशन र चेतन कार्कीको लेखनमा बनेको यस सिनेमामा संगीतकारका रूपमा पहिलोपटक गोपाल योञ्जन अग्रज नातिकाजीका साथ संयुक्त रूपमा आए। यस चलचित्रको गीतको बागडोर किरण खरेल र लक्ष्मण लोहनीको हातमा प¥यो।
माइतीघरको गीत रेकर्ड गराउन मुम्बईको असफल यात्रा गरेपश्चात् दोस्रो पटक सिन्दूरका निम्ति नारायणगोपाल पुनः मुम्बई पुगे। सिन्दूर चलचित्रका निम्ति नारायणगोपालले तीन गीत गाए, एक पृष्ठ गीत (सोलो), एक रोमान्टिक गीत (युगल) र अर्को लोकलयको गीत।
तीनमध्ये तेस्रो गीत एक ‘कान्छी नानी नि के छ नि मनको सुर’ फिल्मबाट हटाइयो भने दुई गीत किरण खरेलका शब्दमा सर्वाधिक सफल भए, ‘लुकूँ लुकूँ लाग्यो मलाई र को कसको हो को कसको हो ?’ दुवै गीतको सफल रेकर्डिङले सिनेमालाई पनि सफलताको स्वाद चखाइदियो। सिन्दूर आजसम्म नेपालमा व्यावसायिक रूपले सबैभन्दा चलचित्र मानिन्छ, यो सिनेमा काठमाडौं उपत्यकामा संयुक्त रूपमा ५२ हप्ता चलेको थियो।
सिन्दूरपछि ‘जीवन रेखा’ बन्यो। यसमा प्रेमध्वज प्रधानले कमब्याक गरे। सांगीतिक रूपमा यो पनि सफल सिनेमा मानिन्छ। प्रेमध्वज प्रधानले यसपछि अन्याय, मायालु आदिमा गाए। जीवनरेखाको निर्माण कालमै नेपालमा निजी क्षेत्रबाट चलचित्र बन्ने क्रम सुरु भएपछि जूनी, कान्छी र आदर्श नारीको घोषणा भयो।
गायक उदीतनारायण झा र प्रकाश श्रेष्ठ पनि मैदानमा देखिए। तर, नारायणगोपालले कान्छीमा गाएका दुई सदावहार गीतले उनलाई लार्जर दैन लाइफ बनाई दियो, ती दुई गीत थिए– ‘छोरीको जन्म’ र गोपाल योञ्जनको शब्द तथा संगीतमा ‘हिमाल सरि म आइरहेछु ..।’ कान्छीका निम्ति उनले सर्वोत्कृष्ट गायकको पुरस्कार पाए पनि अस्वीकार गरे। नारायणगोपालले कान्छीपछि ‘बदलिँदो आकाश’मा गाए, जसमा उनका गीत त्यति रिमार्केबल भएनन्। पछि उनको र उनका मीतज्यू गोपाल योञ्जनको बाटो पनि छुट्टियो।
नारायणगोपालले त्यसपछि नेपाली चलचित्रमा नयाँ पुस्तासित सहकार्य गरे। त्यसमा उनले शम्भुजित बास्कोटासित ‘माया’ सिनेमामा ‘आँखैमा कसैको तस्बिर बसेछ...’ र ‘मन्दिरमा छ कि मूर्तिमा माया’ जस्ता गीत गाए। चलचित्रको पाश्र्व गायनमा नारायणगोपालको अर्को यात्रा रञ्जीत गजमेरसित सुरु भयो चलचित्र ‘लाहुरे’बाट। सिक्किमबाट निर्माण भएको लाहुरेका निम्ति नारायणगोपालले चलचित्रमा नयाँ नायक सारजन घिमिरे ( श्रवण) का लागि गाए र यही फिल्ममा उनले पहिलोपटक मराठीभाषी भारतीय गायिका आशा भोँसलेसित गाए।
साप्ताहिक विमर्शका निम्ति पत्रकार हरिहर विरहीलाई दिएको अन्तर्र्वार्तामा नारायणगोपालले भनेका छन्, ‘मेरा पछिल्ला चलचित्रका गीत मैले नगाएको भए पनि हुन्थ्यो।’ उनको यो भनाई सार्वजनिकीकरण भएका बेला उनले रञ्जीत गजमेरको संगीतमा चिनो, कोसेली, दक्षिणाका गीत रेकर्ड गराइसकेका थिए।
चिनोमा उनले फेरि आशा भोँसेलेसित दुई युगल गीत गाए भने कोसेली र दक्षिणामा उनी एकएक।
यसै समय उनले अस्वस्थताका वापजूद पनि युवा पुस्ताका संगीतकार भूपेन्द्र रायमाझीको संगीतमा डा दीर्घसिंह बमको रचनामा ‘विरही माया अधूरो भयो’ नेपालमै रेकर्ड गराए। चलचित्र चोटका निम्ति श्याम राईको निर्देशनमा रेकर्ड भएको यो गीतमा नयाँ नायक विजयसिंह शाहमाथि छायांकन गरिएको थियो।
नारायणगोपालले चलचित्रका निम्ति गाएको पहिलो गीत परिवर्तनमा नायक यज्ञनाथ घिमिरे माथि छायांकन गरिएको थियो भने अन्तिम गीत नयाँ नायक विजयसिंह शाह माथि छायांकन गरिएको थियो। चलचित्रको पाश्र्वगायनमा आजसम्म गत्यात्मकता हेर्दा नारायणगोपालको गायनको आरेख उनी आफ्नो शैलीका कारण भन्दा चलचित्रको पात्र भाव र स्वभाव अनुसार टिकेका छन्। कहिँ सफल कहिँ असफल तर जुन गीतका निम्ति उनले सर्वोत्कृष्ट गायकको पुरस्कार पाए, त्यो त्यतिबेलाको सबैभन्दा लामो गीत थियो रचना र रेकर्डिङका हिसाबले :
छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछे चेली, आँसु समेली, माइतीलाई छोडी यहाँ
न कुनै जन्ती, न दुल्हा राजा, न त कुनै डोली, न पञ्चै बाजा
यो कस्तो विदाई चेलीको आज, रुन्छन् आमाबाबु साथी समाज
यो जन्मेको धर्ती, यो खेलेको आँगन बिर्सेर जाने कहाँ
जाँदैछे चेली आँसु समेली, माइतीलाई छोडी यहाँ।
यही गीतले नारायणगोपाल र ‘कान्छी’ चलचित्रलाई अनि त्यो पहिलो चलचित्र पुरस्कारको इतिहासलाई साक्षी राख्नेछ। कान्छी चलचित्रका निम्ति चेतन कार्कीले लेखेको गीतमा गायिका अरूणा लामाले सर्वोत्कृष्ट गायिकाको पुरस्कार लिएर दार्जिलिङ फर्किइन्। कान्छी चलचित्रमै चेतन कार्कीकै गीतमा नारायणगोपालले सर्वोत्कृष्ट गायनको पुरस्कार लत्याइदिए।
तर, चेतन कार्की भन्छन्, ‘उसले पहिलो पुरस्कार त परिवर्तनको मेरो गीतमै ढम्काइसके नि।’ अनौठो तर आश्चर्यजनक कुरो, कार्कीले निर्देशन गर्न लागेको पहिलो चलचित्र ‘विश्वास’मा नारायणगोपालले सिक्दै गरेको गीत रेकर्डिङ गर्नु अघिल्लो हप्ता गाउँदिन भनेर इन्कार गरिदिए। विश्वास फिल्मको यही गीत गोपाल र नारायणगोपालको अन्तिम निशानी हुन पाएन।
प्रकाशित: ९ चैत्र २०७५ ०७:१३ शनिबार