१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘वडालाई भ्रष्टाचारमुक्त बनाउन काम सुरु गरेका छौं’

गणेश त्यात वडाध्यक्ष चाँगुनारायण नगरपालिका वडा नं. ९

जनप्रतिनिधि भएपछि तपाईंले के–के काम गर्न भ्याउनुभयो ?
पहिलाभन्दा बढी विकास निर्माणका काम भएका छन् । हामी जनप्रतिनिधि हुनुअगाडि वडामा भ्रष्टाचार भएको भन्ने गुनासो थियो । अहिले त्यो पूर्ण रूपमा रोकिएको छ । विकास निर्माणका काम भइरहेका छन् । 

निर्वाचित भइसकेपछि खासमा देखिने गरी काम फैढोकाबाट सौडोल जाने सडक पिच ग¥यौं । पुजारीपाटीबाट हलाल गाउँ जाने सडक ढलान ग¥यौं । विन्धवासिनी सडक ढलान, सिनपा सडकमा ढलान, सौडोलबाट न्हेम्हाफुकी टोल जाने सडकमा नाली निर्माण, खर्कपुलबाट वडा कार्यालय जाने सडक ढलान, साखकर्मी टोलमा नाली निर्माण, पुजारी पाटीमा नाली र वाल बनाउने काम भएका छन् । 
वडाका समस्या के–के देख्नुभएको छ ।
यहाँ खानेपानीको समस्या छ । 

यसको समाधानका लागि केही काम गर्नुभएको छ ?
हामीले यो वडावासीका खानेपानी समस्या समाधान गर्ने हिसाबले बजेट विनियोजन गरेका छौं । सोही अनुसार काम अघि बढिरहेका छन् । हालैको कुरा गर्नुपर्दा हलाल गाउँमा खानेपानीको समस्या समाधान भएको छ । यसैगरी यो वडामा विन्धवासिनी बृहत् लिफ्ट खानेपानी योजना पनि चालू छ । त्यसले धेरै ताथलीवासीको खानेपानी समस्या समाधान हुने अपेक्षा हामीले गरेका छौं । टोलटोलमा विकास निर्माण भएका छन् । पहिलेभन्दा राम्रो तरिकाले काम भइरहेका छन् । 

नमूना वडा बनाउन के–कस्ता योजना बनाउनुभएको छ ?
सुरुमा हामीले वडामा जिम्मेवारी लिनेबित्तिकै नगरपालिकाको बैठकमै पनि सिंगो नगरपालिकालाई नमुना नगरपालिका बनाउने योजना राखेका थियौं । त्यसका लागि सबैभन्दा पहिला भ्रष्टाचारमुक्त नगरपालिकाको अवधारणा पेश गरेका थियौं । हामीले यो वडालाई भ्रष्टाचारमुक्त बनाउँछौं भनेर निर्णय नै गरेका छौं । त्यही अनुसार कामका थालनी भएका छन् । त्यसका लागि वडामा हुन सक्ने भ्रष्टाचारलाई नियन्त्रण गर्ने अभ्यास गरिरहेका छौं । 

त्यो अभ्यासअन्तर्गत के–के काम भएका छन् ?
हामीले सरकारी छाप नभएका नक्सा प्रयोग गर्न दिएका छैनौं । छाप नभएका नक्सा प्रयोग हुँदा राजस्व गुमिरहेको थियो । राजस्व बढ्ने विषयप्रति हामी गम्भीर छौं ।

थुप्रै योजना अघि बढिरहको छ भन्नुभयो, यसबीच के–के समस्या आए त ?
समस्या त धेरै छन् । तर, हामी समस्याभित्रैबाट समाधान खोज्दै अघि बढिरहेका छौं । हिजो गाउँ विकास समिति रहँदा सबै गाउँ विकास समितिको राजस्वकै आधारमा बजेट विनियोजन हुन्थ्यो । अहिले भने उपभोक्ता समितिद्वारा विकास निर्माण भइरहेको छ । योजनाका काम झन्झटिला भएको गुनासो सुनिरहेका छौं । उपभोक्ता समितिका पदाधिकारीले एक दिनमा सकिने कामका लागि पनि दुई–तीन दिन लागेको अनुभव सुनाउँदा तीतो लाग्छ । त्यो गुनासो कम गर्न वडामै हामीले प्राविधिक राखेर काम गरेका छौं । यी समस्याका कारण विकास निर्माण जुन रफ्तारमा हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्यसमा व्यावहारिक कठिनाइ देखिन्छ । 

वडालाई समृद्ध बनाउन थुप्रै सम्भावना छन् होला, तपाईंले के सम्भावना देख्नुभएको छ ?
यो वडाको मुख्य सम्भावना भनेको कृषि, पर्यटन नै हो । हामीले कृषिलाई व्यवस्थित गर्न सक्यौं भने हामी आत्मनिर्भर बन्न सक्छौं । यो कुरालाई सरकारले पनि मनन् गरेको देखिन्छ । जसअनुरूप अहिले यो वडामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यो ठाउँमा ‘आलु जोन कार्यक्रम’ चलिरहेको छ । त्यसलाई अझ व्यवस्थित गर्न बाँकी छ । त्यसअन्तर्गतका कार्यक्रमलाई अझ बढी किसानमुखी बनाउने योजनामा वडा लागिरहेको छ ।
यसैगरी हामीले यो वडामा पर्यटनको पनि प्रचुर सम्भावना देखेका छौं । यहाँ विश्वकै दुर्लभ चट्टान अभिलेख भेटिएका छौं । यहाँ धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदा छन् । तिनीको संरक्षण, संवद्र्धनसँगै उचित किसिमको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ । यही वडाको हलाल गाउँमा हामीले भ्युटावर बनाउने योजना अघि सारेका छौं ।

वडाका केही ठाउँमा अनियमित, अव्यवस्थित तरिकाले बस्ती बस्ने, ठाउँ–ठाउँमा जग्गा प्लटिङ गर्ने काम देखिएको छ, त्यतातिर वडाको ध्यान नगएको जनगुनासो छ नि ?
हो, हामीले पनि त्यस्ता दृष्य देखिरहेका छौं । तर, वास्तविकता के हो भने, ती कामलाई वडाले मात्र नियन्त्रण गर्ने सक्ने अवस्था छैन । सरकारकै तर्फबाट जब कित्ताकाट रोकियो भन्ने कुरा आएका थिए । त्यतिखेर पनि बन्दपत्रको नाममा धेरै कित्ताकाट भएका थिए । त्यही कित्ताकाटका कारण प्लटिङ बढेको हो । मलाई सम्झना छ– एउटै कित्तालाई १४ कित्तासम्म बनाएर वडामा सिफारिस लिन आएका थिए ।

त्यो बेला मैले सोधेको थिए– यो कसरी १४ कित्ता बन्यो ? 
सिफारिश लिन आउनेको भनाइ थियो, ‘लोग्ने स्वास्नीको अंशबण्डा गर्ने ।’ त्यो क्रममा कित्ताका बिजोर जति श्रीमतिको नाउँमा र जोर जति श्रीमान्को नाम हुने गरी कित्ताकाट गरे । यसरी मालपोत, नापी कार्यालयकै कर्मचारीको सहयोगमा प्लटिङ गर्ने बाटो खुलेको छ । यसैले यो विषय गम्भीर हुँदाहुँदै पनि नियन्त्रण गर्न सकिने अवस्था न्यून छ ।

पर्ती जग्गाको संरक्षणमा वडाले कस्तो भूमिका खेलिरहेको छ ?
सार्वजनिक जग्गाबाट माटो व्यापारीले माटो ओसारपसार गर्यो भन्ने धेरै गुनासो आएको छ । त्यो गुनासो आएपछि हामीले नगरपालिकाकै अमिनलाई बोलाएर दुई–तीन ठाउँमा पर्तीको सीमाकंन गरेका छौं । त्यहाँ पर्ती अतिक्रमण गर्ने क्रम रोकिएको छ । पर्ती संरक्षणका लागि वडाअध्यक्ष, वडा सदस्य, वडा समितिकै जिम्मेवारी हो । त्यो जिम्मेवारी हामीले निभाएका छौं । 

सबैतिर सफाइ अभियान चलिरहेको अवस्थामा यो वडामा के छ ?
हामीले सफाइ अभियानकै रूपमा यो वडाका दुई– तीन ठाउँमा अभियान चलिरहेका छौं ।

यो वडामा धेरै इँटाभट्टा देखिन्छन् । तिनीका कारण प्रदूषण भएको देखिन्छ नि ?
इँटाभट्टाका कारण हुने प्रदूषण न्यूनीकरण हुनुपर्छ भनेर हामीले पटकपटक पत्राचार गरेका छौं । वडामै बोलाएर पनि सम्बन्धित उद्योगी, व्यावसायीलाई भनिरहेका छौं । व्यावसायीले इँटाभट्टाबाट धुँवा नभएर बाफ आइरहेको बताउँछन् । इँटाभट्टाबाट हुने प्रदूषण तुलनात्मक रूपमा न्यूनीकरण भएको छ ।
तर, इँटाभट्टाका गाडी गुडेर, धुलो उडिरहेको हामीले अनुभव गरेका छौं । त्यसलाई व्यवस्थित गर्नुपर्छ भनेर भनिरहेका छौं । ताथलीमा माटो खानी पनि भएका कारणले पनि नाला सडकमा बढी धुलो उडिरहेको देखिन्छ । यो विषयमा नगरपालिकाले ध्यान दिनुपर्छ । एकमुस्ट रूपमा नगरपालिकाले इँटाभट्टाबाट कर उठाइरहेको अवस्था छ । माटो ओसारपसारका लागि ५५ लाखभन्दा बढी रकमको ठेक्का लगाएको छ । त्यसकारण पनि प्रदूषण बढाएको छ । त्यसलाई व्यवस्थित गर्नतिर नगरपालिकाले ध्यान दिएको भने छैन ।

यो वडाका ठाउँठाउँमा काँचो इँटा उत्पादन गर्ने, बिक्री वितरण गर्ने गरिएको देखिन्छ, तिनीहरू करको दायरामा पनि छैनन् भनिन्छ नि ?
त्यसरी व्यवसाय गर्ने व्यक्ति, कम्पनी, समूहले प्रतिरोपनी पाँच सय रूपैयाँ लिने भनेर नगरपालिकाले गत वर्ष निर्णय गरेको थियो । नगरपालिकाले त्यो निर्णय कार्यान्वयन नै गर्न सकेन । कर उठाउने जिम्मा लिएको नगरपालिकाले त्यतातिर ध्यानै दिएन । अहिले माटो ओसारपसारको ठेक्का दिएपछि तिनीहरू करको दायरामा आएको भनियो । तर, इँटा व्यवसायीजस्तै तिनीहरू करको दायरमा आएका छैनन् ।

यहाँ भइरहेका विकास निर्माण, योजनाकोे अनुगमनको काम हुन्छ ?
हुन्छ, नगरपालिकामा उपमेयरको संयोजकत्वमा अनुगमन समिति छ । त्यो समितिले कसरी अनुगमन गरिरहेको छ ? भन्ने कुरा वडावासीलाई र जनप्रतिनिधिलाई समेत थाहा छैन । हामीले यो कुरा कार्यपालिका बैठकमा राखेका छौं । वडामा आउँदा कम्तिमा पनि वडा समितिलाई पनि जानकारी दिनुपर्छ भनेका छौं । सुरुमा त मैले आफूलाई पनि त्यो समितिमा राखेका थिएँ । तर पछि अनुगमनको काममा मलाई निमन्त्रणा समेत भएन । किन निमन्त्रणा भएन ? त्यसको जानकारीसमेत दिएको छैन ।

प्रस्तुतिः रेणु त्वानाबासु

प्रकाशित: २७ फाल्गुन २०७५ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App