३० असार २०७७ मंगलबार
अन्य

रुकुमदेखि एमआइटीसम्म

ब्लुम नेपाल स्कुलका संस्थापक एवं अध्यक्ष रामकृष्ण रिजाल। तस्बिरः नागरिक

ललितपुर, महालक्ष्मी नगरपालिकामा अवस्थित पुरानो बजार लुभुबाट दक्षिणतर्फ पर्छ– कोटडाँडा। सानागाउँ (सिद्घिपुर), विष्णुडोल, शंखादेवी हुँदै मनोरम कोटडाँडा पुग्न सकिन्छ। शंखादेवी मन्दिर नजिकैको चारघरेमा ब्लुम नेपाल स्कुल सञ्चालित छ।

केही दिनअघि स्कुल पुग्दा विद्यार्थीको खाजा खाने समय भर्खरै सकिएको थियो। केही विद्यार्थी ‘कम्प्युटर प्रोग्रामिङ’ सिकिरहेका थिए, केही फुटबल खेलिरहेका। केही सिर्जनशील लेखनमा अभ्यासरत थिए, कतिपय आफ्नो किताबी पढाइमा व्यस्त। शुक्रबारको दिन भएकाले विद्यार्थी अलि बढ्ता खुसी थिए। बोडर्स बसेका विद्यार्थी सप्ताहान्तमा घर जाने जाने तर्खरमा थिए।

प्रकृतिको काखमा बसेको स्कुलको वातावरण शान्त र सौम्य छ। काठमाडौंको कोलाहल र प्रदूषणभन्दा पृथक, सुन्दर ठाउँ। सवारी साधनको होहल्ला छैन, धुलोधुँवाको नामोनिसान छैन। त्यहाँ पुग्दा ‘डिटक्सिफिकेसन’ भएजस्तो महसुस भयो। अध्यक्ष रामकृष्ण रिजाल स्कुल परिसरमै भेटिए। त्यहाँ पुग्नुभन्दा पहिले ब्लुम नेपालबारे केही सुनेको थिएँ। बूढानीलकण्ठ स्कुलबाट ‘पासआउट’ भएका त्यहाँका पूर्वविद्यार्थीले सुरु गरेको स्कुल, पठनपाठनको विधि र अन्य क्रियाकलाप बूढानीलकण्ठसँग धेरै मिल्दोजुल्दो छ। अमेरिका, युरोपका प्रतिष्ठित विश्वविद्यालयबाट उच्चशिक्षा पूरा गरेर नेपाल फर्किएका युवाहरूले आफ्नो सम्पूर्ण ऊर्जा स्कुलको विकासका लागि खर्च गरिरहेका छन्। नेपालभरिका मेधावी विद्यार्थी छनोट गरेर त्यहाँ भर्ना लिइन्छ। अतिविपन्न र सिमान्तकृत समुदायका विद्यार्थीलाई स्कुलले छात्रवृत्तिसमेत दिएको छ।

–    पढाइपछि अमेरिकामै बसेर काम गर्ने, पैसा कमाउने अनि विलासी जीवन बिताउने सोच कहिल्यै पालेनन् उनले।
–    विकट गाउँमा विद्यार्थीको रुचिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्न ब्लुम नेपाल स्कुललाई उपत्यकाबाहिर पनि विस्तार गर्ने योजना छ।

स्कुलका संस्थापकमध्येका एक अहिलेका स्कुलका अध्यक्ष रामकृष्णले अमेरिकाको एमआइटीबाट उच्चशिक्षा पूरा गरेका हुन्। रुकुमको दुर्गम बाफिकोट गाउँपालिकाको काँडा गाउँबाट सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा अध्ययनको अवसर पाएका थिए उनले। अमेरिकी विश्वविद्यालयमा उच्च अंकका साथ गणित विषयको पढाइ पूरा गरेपछि उनलाई उत्तै आकर्षक जागिर र राम्रो तलबको अफर नआएको होइन, तर, उनले नेपाल फर्किएर शिक्षा क्षेत्रमै आफूलाई समर्पण गर्ने प्रण गरे।

उनी विगत ६ वर्षदेखि ब्लुम नेपाल स्कुललाई कसरी ‘विद्यार्थीको रुचिमा आधारित शिक्षा’को केन्द्रका रूपमा विकास गर्ने भन्ने परिकल्पना साकार पार्न अहोरात्र खटिएका छन्। स्कुल व्यवस्थापनलाई कसरी चुस्त बनाउने भन्नेतर्फ उनको ध्याउन्न छ। स्कुलको जग्गा, भवन, भौतिक संरचना, शैक्षिक गुणस्तर आदि बढाउन लागि परिरहेका छन् उनी। ‘दक्ष शिक्षक राख्नुपर्छ, विद्यार्थीलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने हाम्रो मान्यता छ। विदेशका अब्बल शिक्षण संस्थाका राम्रा अभ्यासलाई यहाँ कसरी लागू गर्न सकिन्छ भन्नेतिर लागिरहेका छौं,’ उनले सुनाए, ‘स्कुलको समग्र क्षमता अभिवृद्धि कार्यमा हाम्रो टिमले काम गरिरहेको छ।’ राम्रो नतिजा ल्याउन ‘टिमवर्क’ले महत्वपूर्ण भूमिका खेल्नसक्ने उनको अनुभव छ।

रुकुमको विकट काँडा गाउँमा जन्मिएका रामकृष्ण अध्ययनका लागि २०५५ सालमा काठमाडौं आएका हुन्। उनी रुकुमको रत्न प्राथमिक विद्यालयमा प्राथमिक तह अध्ययन गरेका उनी सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा छनोट भए। बूढानील स्कुलमा छानिनु उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो। त्यतिखेर नेपालभरबाट बूढानीलकण्ठ स्कुलका लागि २३ जना विद्यार्थी छनोट भएकामा रामकृष्ण पनि परेका थिएँ।  ‘बूढानीलकण्ठ स्कुल पुगेपछि धेरै कुरा सिकेँ। मेहनत गर्ने बानी बस्यो।  भावी दिनका लागि योजना बनाइ सपना बुन्न थालेँ,’ उनी सम्झिन्छन्, ‘अहिले शिक्षा र उद्यम क्षेत्रमा जसरी म काम गरिरहेको छु, त्यसमा बूढानीलकण्ठ स्कुलको वातावरणको ठूलो हात छ।’ बूढानीलकण्ठ स्कुल र अमेरिकाको एमआइटीमा पढ्दाको अनुभव र सिकाइ ब्लुम नेपालका विद्यार्थीलाई बाँड्न पाउँदा अत्यन्त खुसी लाग्ने उनको अनुभव छ।

कक्षा ६ सम्म रामकृष्णको पढाइ त्यत्ति राम्रो थिएन। बूढानीलकण्ठ स्कुलमा ९९ जना विद्यार्थीमा उनी ७० औं स्थानमा थिए। त्यही वर्ष स्कुलमा अभिभावक भेला भएको थियो। आफ्नो छोराले राम्रो नतिजा ल्याएपछि मेरो बाबुले राम्रो ग¥यो है भनेर खुसी भएर एकजना अभिभावकले धाप मारेको उनले देखे। त्यतिबेला रामकृष्णका बुवा रुकुममै थिए। ‘मेरो बुबा यहाँ नभए पनि मैले बुबाका लागि केही गर्नुपर्छ भन्ने भाव मनमा आयो। त्यसपछि झनै मेहनत गर्न थालेँ। त्यसपछि मेरो ‘¥याङ्किङ’ सत्तरीबाट बढोत्तरी भएर तेस्रो पोजिसनमा पुग्यो। एक वर्षमै कायापलट भयो,’ उनले अलि भावुक अनि खुसी हुँदै थपे, ‘बच्चाले भित्रैदेखि महसुुस ग¥यो भने असम्भव भन्ने केही पनि हुँदैन रहेछ भन्ने थाहा भयो।’

एसएलसी बोर्डमा आठौं 
२०६० सालमा बूढानीलकण्ठ स्कुलबाट एसएलसी परीक्षामा सामेल भएर उनी  नेपालभरिमै बोर्ड आठौं भए। एसएलसीपछि उच्चशिक्षा (ए लेभल) अध्ययनका लागि उनले बेलायतमा छात्रवृत्ति पाए। ‘एसएलसीमा झैं ए लेभलमा पनि मेरो रिजल्ट आयो, त्यसपछि पनि उच्चशिक्षाका लागि राम्रा अवसर पाएँ,’ उनी भन्छन्। उनले अमेरिकाका एमआइटी (म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी)बाट उत्कृष्ट नतिजासहित सन् २०१२ मा गणितमा उच्चशिक्षा पूरा गरे। मेधावी विद्यार्थी भएकाले गर्दा उनलाई अमेरिकामै आकर्षक कामको प्रस्ताव आएका थिए। तर, उनले अमेरिका बसेर उत्तै काम गर्ने, पैसा कमाउने अनि विलासी जीवन बिताउने सोच कहिल्यै पालेनन्।

‘म नेपाल आउनुकै मुख्य कारण स्कुल हो। मैले अमेरिकामै रहँदा स्कुलबारे अवधारणा बनाइसकेको थिएँ,’ रामकृष्णले स्मरण गरे, ‘म दुर्गम ठाउँमा जन्मी–हुर्किएको व्यक्तिले बूढानीलकण्ठमा पढ्ने मौका पाएर शिक्षाको महत्व थाहा पाएँ। अझै पनि दूरदराजका तीक्ष्ण क्षमता भएका विद्यार्थीले विभिन्न कारणले राम्रो शिक्षा पाइरहेका छैनन्। त्यही भएर नेपालभरका विद्यार्थीभित्रको खुबी पहिचान गरेर त्यसको आधारमा पढाउने स्कुलबारे सोच बनाएँ, त्यसकै परिणाम हो, ब्लुम नेपाल।’ विभिन्न रुचि र क्षमताका विद्यार्थीलाई त्यसमै आधारित भएर शिक्षा दिने उद्देश्यले स्कुल सुरु गरिएको उनले स्पष्ट पारे।

 ‘कोही विद्यार्थी गणितमा उत्कृष्ट हुन्छन्, कोही नेपाली, अंग्रेजी अनि भाषामा। कोही नृत्य, गायन, खेलकूदमा तगडा हुन्छन्। त्यसैले उनीहरूको क्षमता पहिचान गरेर त्यसकै आधारमा सिकाइ अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘ उदाहरणका लागि कुनै विद्यार्थीलाई कम्प्युटर कार्यक्रममा रुचि छ भने हामी उसलाई ‘स्ट्रक्चर प्रोग्राम’ उपलब्ध गराउँछौं। उसले शिक्षकसँग कम्प्युटरका धेरै कुरा सिक्न सक्छ। कक्षा १२ सम्म पुग्दा त ऊ कम्प्युटरमा दक्ष भइसक्छ।’

भूकम्पपछि संघर्ष
सन् २०१३ मा स्थापना भएको ब्लुम नेपालमा कक्षा १ देखि १० सम्म पढाइ हुन्छ। भूकम्पअघि १ सय ५० विद्यार्थी थिए। भूकम्पले स्कुल भवन ‘कोल्याप्स’ भयो। त्यसपछि स्कुलको एक वर्षको अवधि  संघर्षमै बित्यो। अहिले स्कुलका १ सय ७० विद्यार्थीमध्ये १ सय २०जना विद्यार्थी होस्टेलमै बस्छन् र ५०  जना घरैबाट आउजाउ गर्छन्।  सुरुका दुई वर्ष स्कुल ललितपुरको एकान्तकुनामा थियो। त्यहाँ साँघुरो भएपछि    गोदावारीमा सारिए पनि भूकम्पले भवन ध्वस्त बनाएपछि अहिलेको ठाउँमा स्थानान्तरण भएको हो।

सामुदायिक विद्यालयले दूरदराजसम्म प्रभावकारी र गुणस्तरीय शिक्षा दिन नसकेकाले ब्लुम नेपालजस्ता स्कुलको आवश्यकता खट्किएको उनको अनुभव छ।‘सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेर सबै बालबालिकालाई गुणस्तरीय शिक्षा लिनसक्ने वातावरण तयार पारेको भए हामी आउनुपर्ने थिएन, अन्य क्षेत्रमा पनि काम गर्न सकिन्थ्यो। तर, शिक्षा नसुध्रिन्जेलसम्म अन्य क्षेत्रको विकास सम्भव नहुने भएकाले हामी यस क्षेत्रमा आएका हौं,’ उनले भने। शिक्षा राज्यको दायित्व भएकाले बालबच्चाले अन्तर्राष्ट्रियस्तरको  शिक्षा पाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको अनुभव बाँड्छन् उनी।

शिक्षाको महत्व कति हुन्छ भन्ने भन्ने उनले व्यक्तिगत जीवनमा महसुस गरेका छन्।  यदि उनी रुकमबाट छात्रवृत्ति पाएर काठमाडौं नआएको भए यस्तो खालको शिक्षा लिन पाउने थिएनन्। ‘शिक्षा पाएर  मेरो जिन्दगी  कायापलट भयो। दुर्गम ठाउँका प्रतिभाशाली विद्यार्थीलाई पहिचान गर्दैन। एउटा बूढानीलकण्ठ स्कुलले मात्र त्यस्ता खालका सबै विद्यार्थीलाई ठाउँ दिन नसक्ने भएकाले मुलुकभर यस्ता खालका गुणस्तरीय स्कुल सञ्चालन  गरिनुपर्छ,’ उनी भन्छन्।

 उनका बुबाको तीन वर्षअघि निधन भयो। आफूले अँगालेको बाटोबाट आमा खुसी हुनुभएको उनी सुनाउँछन्। ‘म अमेरिकाबाट नेपाल नफर्किएको भए घर गाडी हुनेथियो होला, ऋणपानमा जिन्दगी चलाउनु पदैनथ्यो होला,’ उनले भने, ‘तर, मैले गरेको कामबाट आमा खुसी हुनुहुन्छ, त्यो मेरा लागि महत्वपूर्ण कुरा हो।’ उनका दाइ र दिदीहरू छन्। रामकृष्णले हालै वैवाहिक जीवन सुरु गरेका छन्। शिक्षामा बढ्दै गएको व्यापारीकरणप्रति उनी चिन्ता व्यक्त गर्छन्। न्युन आय भएका परिवारलाई छोराछोरी पढाउन एकदम चुनौती थपिएको उनको ठम्याइ छ। क्षमता हुँदाहुँदै आर्थिक कारणले पढाइ अगाडि बढाउन नसकेका विद्यार्थीका लागि विशेष व्यवस्था गरिनुपर्ने उनी बताउँछन्। ‘सरकारले शिक्षामा लगानी बढाउनुपर्छ, निजी स्कुललाई अनावश्यक कडिकडाउ गर्नुभन्दा पनि नियमन गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्कुलले केवल नाफामुखी चरित्र प्रदर्शन गर्नुभन्दा पनि गुणस्तरीय शिक्षा दिएर देश विकासका लागि मद्दत गर्नुपर्छ।’

रामकृष्णले नेपाल सरकारका निकायसँग काम  गरेको अनुभव सँगालेका छन्। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा विभागका उपसचिव, सचिवलगायत उच्च अधिकारीसँग शिक्षाको नीतिबारे काम गरेका छन्। उनले विश्व बैकको कर्मचारीको रूपमा पनि काम गरिसकेका छन्। अहिले पनि उनी विश्व बैंकलगायत विभिन्न संस्थासँग परामर्शदाताको रूपमा काम गर्छन्।

‘सुरुका दिनमा स्कुल चलाउँदा आर्थिक अवस्था मजबुत थिएन, बाहिर काम गरेर आएको पैसा स्कुलका लागि समेत खर्च गर्नुपर्ने स्थिति थियो,’ उनले भने, ‘बूढानीलकण्ठ, बेलायत  र अमेरिका पढ्दा ताकाका साथीहरूले सघाए। भूकम्पपछि स्कुल चलाउन निक्कै गाह्रो भएको र त्यस्तो बेलामा अग्रज, साथीभाइ, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाको सहयोग मिलेको अनुभव छ उनलाई।

भावी योजना : उपत्यकाबाहिर स्कुल विस्तार
ब्लुम नेपाल स्कुलले यस वर्षदेखि इटहरीमा शाखा विस्तार गर्दैछ। सनसाइन स्कुल किनेर त्यसलाई ब्लुम नेपालको कार्यक्रम अनुसार अगाडि बढाउने योजना छ। इटहरीको २२ कट्ठा जग्गामा भवन निर्माण गरेर यही वैशाखदेखि व्यवस्थित स्कुल सञ्चालन हुँदैछ।   त्यहाँ कक्षा १ देखि १० सम्म पढाइ हुन्छ। ‘हामी ठूलै लक्ष्य लिएर अगाडि बढेका छौं। आगामी दिनमा देशभर ब्लुम नेपालको शाखा खोल्ने योजना छ,’ उनले सुनाए।

  ब्लुम नेपालको जग बसाउन सुरुका दिनदेखि विभिन्न व्यक्तिले योगदान दिएका छन्। ती सबै व्यक्तिलाई सम्झिन चाहन्छन् उनी। संस्थापकमध्येका अजित पोखरेल र अजय  श्रेष्ठ स्कुलमा अहोरात्र खटिरहेका छन्।  पछिल्लो समय सूर्य कार्की र शिक्षाविद् रवीन्द्र  महर्जन ब्लुम नेपालसँग जोडिएका छन्। उनी रवीन्द्र श्रेष्ठ र राजेन्द्रसिंह विष्टको योगदानलाई पनि उत्तिकै सम्झन्छन्। सुरुमा पाँचजनाको समूहबाट स्कुलमा काम सुरु भएको थियो। लामो समयसम्म त्यही समूहले काम गरेको थियो। सूर्यले युडब्लुएस फाउन्डेसनबाट ३० वटा सामुदायिक विद्यालय निर्माण  गरेका छन्। सामाजिक काममा सक्रिय रवीन्द्र महर्जन शिक्षा तथा सामाजिक विकास क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका छन्। ‘हामी स्कुल संस्थापकमा देशका लागि  केही गर्नुपर्छ  भन्ने सोच छ। हामी व्यक्तिगत नाफाघाटा भन्दा पनि बालबालिकालाई कसरी गुणस्तरीय र सिर्जनात्मक शिक्षा दिने भन्नेमा केन्द्रित छौं,’ उनले भने।

  राजधानीबाहिर धेरैभन्दा धेरै ठाउँमा विद्यालय स्थापना गरेर गुणस्तरीय, सिर्जनात्मक र क्षमतामा आधारित शिक्षा गाउँ–गाउँ पु¥याउने लक्ष्य छ ब्लुम नेपाल टिमको।  बालबालिकालाई  सर्वसुलभ ढंगले उत्कृष्ट शिक्षा पु¥याउनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छन् उनी। ‘बालबालिकाले आफ्नो चाहना र रुचि बमोजिम पढ्न–सिक्न पाएपछि खुसी हुन्छन् र, उनीहरूको जिन्दगी सफल हुन्छ,’ उनी भन्छन्, ‘कुनै पनि बालबालिकाले आफू कमजोर छु भन्ने महसुस गर्नुपर्दैन भन्ने म्यासेज दिन खोजेका छौं। यसका लागि समय  चाहिन्छ, लगनशीलता चाहिन्छ। यो रातारात हुने कुरा होइन।’

शिक्षा क्षेत्रमा पूर्ण रूपमा होमिएका रामकृष्ण एउटा सूत्र खोज्दैछन्– ‘जहाँ हरेक विद्यार्थी सफल होऊन्, हरेक विद्यार्थी खुुसी होऊन, हरेक अभिभावकले आफ्नो बालबालिकाप्रति गर्व गर्न सकून्।’ वाह! कस्तो सुन्दर विचार।

प्रकाशित: २५ फाल्गुन २०७५ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App