६ वैशाख २०८१ बिहीबार
अन्य

‘खानेपानीको समस्या समाधानका लागि काम गरिरहेका छौं’

शान्तबहादुर वाइवा वडा अध्यक्ष चाँगुनारायण नगरपालिका वडा नं ६, भक्तपुर

जनप्रतिनिधि भएर कार्यभार सम्हाल्नु भएपछि वडामा के–के उल्लेखनीय काम गर्नुभयो ?
सबैभन्दा पहिला हामीले वडाको विभिन्न समस्यालाई ध्यान दियौं, जस्तै : खानेपानी, पूर्वाधारका रूपमा बाटोघाटो, सिँचाइलाई ध्यान दियौं। यससँगै पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दियौं। वडा, नगरपालिका र सरकारको बजेट मिलाएर विभिन्न काम गर्‍याैं। एक करोड २० लाखको बजेटमा टेकेर चाँगुनारायण नगरपालिका सहयोग र नेपाल पर्यटन बोर्डको सहयोगमा बौद्ध शान्ति स्तुपामा बाल अर्थात् पर्खाल बनाउने काम गर्‍यौं। ठाउँठाउँमा सोलार बत्ती राख्ने काम गर्‍यौं।

वडामा के–कस्ता समस्या देख्नुहुन्छ ?
नगरकोट पर्यटक आकर्षण केन्द्रको रूपमा छ। यसकारण पर्यटन क्षेत्र भएको पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देख्छु। यसमा नगरपालिकाको ध्यान पुगेको छ। यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने मेरो व्यक्तिगत विचार हो। मेयर पनि यसमा तयार हुनुहुन्छ।

त्यस्तै, यहाँबाट सनराइज र सनसेटको दृश्य देखिन्छ। त्यसैले यस क्षेत्रमा भ्यु टावरको कन्सेप्ट बनाएका छौं।
नगरकोटलाई पर्यटकीय आकर्षक बनाउन लाग्नुपर्ने देख्छु। सनसेट पार्क बनाउने योजना छ। बसपार्क, पिकनिक स्पोट बनाउने योजनामा छु। साथै, बन्जीजम्पको अध्ययन भइरहेको छ। यस वडाको दोभानमा यसबारे सम्भाव्यता अध्ययन भइरहेको छ। पर्यटक शौचालय, सडक बत्ती बनाउने योजना छ।

भक्तपुर कमलविनायकदेखि नगरकोट पुग्ने मुख्य सडक असाध्यै अस्तव्यस्त छ, निर्माण सुरु भएको वर्षाै बिते पनि काम सम्पन्न हुन सकेको छैन, के भन्नुहुन्छ ?
हो, तपाईँले भन्नुभएको समस्या छ। बाटो नराम्रो भएकाले पर्यटक घटेको तथ्यांक छ। तर, यो बाटो वडा योजनामा मात्र होइन, राष्ट्रिय योजना पनि परेको छ। बाटो छिटो निर्माण गर्न कराइरहेका छौं। तर, सुनुवाइ भएको छैन। ठेकेदार कम्पनी सैलुन कन्सट्रक्सनका कर्मचारीलाई यसबारे भनेको पनि वर्षाै भइसक्यो। हुन्छ मात्रै भन्छन्। तर, काम गर्दैनन्। त्यसकारण अब सबै मिलेर ज्ञापनपत्र दिन जाने योजनामा छौं।  
साथसाथै तेलकोट डाँडाबाट विकल्पको बाटो बनाउने योजना पनि अगाडि बढाएका छौं। यसका लागि सरकारले दुई करोड रूपैयाँ दिएको छ। यसअघि २०५४ सालमा जनप्रतिनिधिले ट्रयाक खनेका थिए। अब कालोपत्रे गर्ने योजना छ।

जनताले मनपरी कर लिएको गुनासो गरेका छन् नि ?
जनताले गुनासो त गरेका छन्। तर, हामीले लिएको छैनौं। हामीले निकै कम शीर्षकमा मात्रै कर लिएका छौं, जस्तै : मालपोत कर, नामसारी सिफारिस, घरभाडा, चारकिल्ला प्रमाणित आदि।

खानेपानी समस्या समाधानका लागि केही योजना बनाइरहनुभएको छ कि ?
नगरकोटमा मात्रै होइन, अन्त पनि पानीको समस्या छ। त्यसका लागि ठाउँठाउँमा पाइप लगाउनुपर्ने अवस्था छ। खानेपानीको समस्या लामा टोलमा विशेष छ यहाँ। यो समस्या समाधानका लागि सांसद् कोषबाट पनि काम गरिराखेको छ। टंकी मर्मत गर्नुपर्ने अवस्था छ। यी सबै काम धमाधम भइराखेका छन्।  
 
तामाङको बाहुल्यता रहेको यस क्षेत्रमा उनीहरूको जीवनस्तर पनि असाध्यै समस्याग्रस्त देखिन्छ, उहाँहरूको जीवनस्तर उकास्नेबारे केही सोच्न भ्याउनुभएको हो ?
यस क्षेत्रमा ७० प्रतिशत तामाङ रहेको तथ्यांक छ। तामाङबाहेक मगर, नेवार, क्षेत्री, बाहुन पनि छन्। तामाङ पछाडि पर्नुको कारण हो– अशिक्षा। त्यसकारण उनीहरूको शिक्षामा जोड दिएका छौं। यसका लागि स्कुल पठाउन घरदैलो कार्यक्रम गरेका छौं। बेसीटोलमा चेतना अभिवृद्धि गर्ने योजना छ। यसकारे स्कुलका प्रधानाध्यापकलाई काम गर्न भनेका छौं। बन्द हुन लागेका स्कुल बचाएका छौं। मर्च गर्नुहुन्न बरु विद्यार्थी बढाउनुपर्छ भनेका छौं।

तामाङ समुदाय शिक्षामा पछाडि हुनुको कारण के हो ?
गरिबी हो। यहाँका तामाङको आर्थिक अवस्था कमजोर छ। उनीहरू पढाइभन्दा कामलाई जोड दिन्छन्, विद्यार्थीलाई पढाउनेभन्दा काम गराउनेमा केन्द्रित छन्।

यहाँका शैक्षिक संस्थाको अवस्था कस्तो छ ?
यहाँ दुई मावि छन्। माविसमेत गरी ६ स्कुल छन्। निजीस्तरबाट पनि स्कुल चलेका छन्। बच्चालाई औजार होइन, कलम समाउन दिनुपर्छ भनी चेतना फैलाउने काममा लागेका छौं। त्यसकारण अहिले आएर पढाउनुपर्छ भनी स्कुल पठाउने गरेका छन् सबैले। स्कुल नपठाउने सायदै होलान्। तर, सबै विद्यार्थी प्लस टुपछि विदेश जाने योजना बनाएको देख्छु।

तामाङ समुदाय संस्कृति परम्परामा धनी छन्, उनीहरूको संस्कृति परम्पराको जर्गेनामा यहाँले कतिको ध्यान दिनसक्नुभएको छ ?
हामी कल्चर जोगाउन चिन्तित छौं। सबैको कल्चर जोगाउनुपर्छ भनेर लागेका छौं न कि तामाङको मात्र। हामीले हाम्रो पहिचान देखाउनुपर्छ भनी लागेका छौं।

यहाँको विकासका लागि के गर्ने योजना छ ?
नगरकोट पर्यटक क्षेत्र भएकाले यसलाई विश्वसामु चिनाउन लागेको छु। खानेपानी, बाटोलगायतका समस्या समाधान गर्ने योजना छ। यहाँ रहेका जालपादेवी मन्दिर, शान्तिडाँडा, बौद्ध शान्ति स्तुपालाई राम्रो बनाउने योजनामा छु। यसलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ।

प्रस्तुति : रेणु त्वानाबासु

प्रकाशित: २० फाल्गुन २०७५ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App