१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘प्रदूषण र फोहर सहरको दीर्घरोग’

शिव हमाल, लोक गायक

तपाईँको भोगाइमा सहर भनेको कस्तो ठाउँ रहेछ ?
सहर भनेको गरी खान पनि नदिने र नगरी खान पनि नदिने मानवै–मानवबीचको एउटा जंगल जस्तो लाग्छ।

सहरमा के कस्ता सुविधाहरू हुनुपर्छ ?
स्वच्छ, हरियाली, शान्त र मानवीय भावना सहरमा हुनुपर्छ। अर्को कुरा, सहर सुरक्षित र सुविधासम्पन्न ठाउँ हो। तर, दुःखको कुरा हाम्रा सहरवासीमा शिक्षा भए पनि चेनता छैन। सहरवासीमा पटक्कै जिम्मेवारीपन छैन। सहरलाई व्यवस्थित राख्ने अर्को जिम्मेवारी निकाय प्रशासनिक निकाय पनि हो। हाम्रो प्रशासन पनि त्यति चुस्त भएन।

सहरमा हरेक मानिसका छुट्टाछुट्टै रहर र अभिलाशा लुकेका हुन्छन्, एउटा कलाकारले सहरसँग के चाहेको हुन्छ ?
कलाकारको लागि सहर रहर र फूलबारीजस्तै हो। धेरै मोती टिप्न आउँछन्। तर, सबैले टिप्न सक्दैनन्। यहाँ धेरैको जमात भए पनि सबैखाले सेवा सुविधाहरू हुन्छन्। त्यसकारण पनि गाउँका प्रतिभा सहरसम्म तानिन्छन्। सहरमा आएर फक्रन्छन् र चर्चा कमाउँछन् पनि। सहर हरेक सेवा र सुविधा भएको ठाउँ हो। प्रतिस्पर्धा बढी भए तापनि सहरमा मेहनेत गर्नेलाई ठाउँ र अवसर छ। तर, सहरमा पौडिन जान्नुपर्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई अस्टे«लियाका केही सहर मनपर्छन्। त्यहाँका सहर पर्यावरणीय रूपमा पनि सुन्दर छन्। सहरमा हरियाली छ। हरेक खालका सेवासुविधा छन्। त्यहाँका सहरले मानिसका आवश्यकता र सहरका सर्त पूरा गरेका छन्।

त्यहीँ दाजोमा हाम्रा सहरले न्यूनतम सर्त पूरा गरेका छन् जस्तो लाग्छ ?
मानवीय आवश्यकता र विकासलाई हेर्ने हो भने हामी धेरै पछि छौं। सहरको विकासको अवस्था निम्छरो छ। न्यायपूर्ण विकास भएको छैन। त्यसकारण सहरले सबै पक्ष समेटेको हुनुपर्छ। सन्तुलन राखेको हुनुपर्छ। हरेक निकायबीच समन्वय हुनुपर्छ। सहरी विकासमा नागरिकको उत्साहजनक सहभागिता हुनुपर्छ। सहर सबैको बसोबासको साझा थलो भएकाले त्यसले सबै पक्षको अस्तित्व बोकेको हुनुपर्छ। तर, हाम्रा सहरले मानवीय आवश्यक मुस्किलले पूरा गरेका छन्।

हाम्रा सहर किन बिग्रिए होलान् ?
हाम्रा सहरमा नेतृत्व ठिक भएन। नेताहरूमा दूरदृष्टि भएन। सहरको आवश्यकता अनुसारको योजना भएन। त्यसैले सहर बिग्रिएको हो भन्ने लाग्छ मलाई।

विदेशका सहर किन मनपर्‍यो ?
विदेशका सहर जनसंख्या बढी भएर पनि सुन्दर, सफा र व्यवस्थित छन्। सहरमा हरेक खाले सेवा–सुविधा छन्। राज्यले दिने हरेक सुविधा जनताले सहजै लिन पाएका छन्। सहरवासी पनि आत्मीय व्यवहार गर्छन्। सहरमा बस्ने सबै सहरको सुन्दरताप्रति सजग छन्। हाम्रोमा त्यस्तो छैन।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं हरेक मानिसको रहर र सपना हो। बनाउने हो भने यो संसारको उत्कृष्ट सहर बन्छ। यो सहर साच्चै अनुकरणीय छ। तर, विकासका काम राम्ररी भएनन्। त्यसकारण पनि सहर बिगियो भन्ने लाग्छ। ऐतिहासिक र पौराणिक पक्षलाई हेर्दा काठमाडौं विश्वको नमुना सहर हो। अर्को कुरा, यहाँ हरेक सेवा–सुविधा छन्। यहाँको हावापानी संसारमै पाइन्न। यहाँका धेरै पक्ष ठीक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ। अहिले जताततै फोहोर र व्यवस्थित मात्रै देखिन्छ। सहरभित्र आनन्द लिने ठाउँ छैनन्। माक्स नलगाई हिँड्ने दिन आयो भने काठमाडौं साच्चै नै राम्रो लाग्नेछ।

नेपालभित्र मनपर्ने सहर ?
उपत्यकाको मनपर्ने सहर पोखरा हो। म सानैदेखि पोखरामा हुर्किएँ। पोखरा भनेपछि अहिले पनि लोभ लाग्छ। मन प्रफूल्लीत हुन्छ। यो नेपालमा देखाउन लायक उदाहरणीय सहर पनि हो। यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। सडक र होटल पनि व्यवस्थित छन्। सबैतिर सफा र शान्त छ। यसबाहेक इलाम पनि मलाई मनपर्छ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर पुग्नुभएको छ ?
अस्ट्रेलिया, मलेसिया, कोरिया र दुबई पुगेको छु। यी देशका सहर अत्यन्तै सुन्दर छन्।

विदेश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
तुलनै हुँदैन। प्राकृतिक हिसाबमा पोखराको तुलना होला। तर, सहरीकरणको र विकासको गति हामीसँग तुलनै हुँदैन। उनीहरू धेरै अगाडि छन्। हामीकहाँ हरेक विकासका काम सुस्त गतिमा भइरहेका छन्। त्यहाँको नीति नियम पनि कसिलो छ। त्यसैले विकासको हिसाबले विश्वका अरु सहर धेरै नै अघि छन्।

कसरी विकास भएका रहेछन् त्यहाँका सहर ?
सहरी ढाँचाको कुरा गर्दा, हरेक देशका सहरको आ–आफ्नै ढाँचा, शैली र विशेषता छ। नेपालकै कुरा गर्दा यो ठाउँ विश्वकै एउटा बेग्लै महत्व बोकेको ठाउँ हो। यहाँ शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए। विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ। अनेकौँ किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यहीँ छन्। मौसम र हावापानी पनि धेरै राम्रो छ।

काठमाडौंको मन नपर्ने पक्ष ?
जताततै फोहरै–फोहर छन्। मास्क नलगाई हिँड्न नसक्ने अवस्था छ। मानिसको पनि उत्तिकै चाप छ। काठमाडौं कंक्रिटको सहर भयो।

काठमाडौं कहिले छिर्नुभयो ?
६० सालमा सहर छिरेको थिएँ।

पहिलोपटक सहर छिर्दा कस्तो लागेको थियो ?
पढ्दा कस्तो होला काठमाडौं भन्ने लागेको थियो। देख्दा पनि रमाइलो लाग्यो। तर, क्रमिक रूपमा बिग्रियो काठमाडौं।

राम्रो लाग्ने पक्ष ?
यहाँका सहरमा लामो इतिहास लुकेको छ। संसारमै नपाइने मौसम छ। कहिल्यै गर्मी महसुस गरिनँ मैले। हामी कुनैबेला संसारको सुन्दर सहरभित्र थियौं। तर, अहिले सुन्दरता मेटिएको सहर भएको छ काठमाडौं। ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
कुनै पनि नागरिकजस्तै भएर बाँचेको देख्न पाउँ। सहरको प्रदूषणबाट आफ्नो जीवन खेर फाल्न नपरोस्। राती १२ बजे पनि सहरमा छु भन्ने महसुस गर्न पाइयोस्। सुन्दर, एकदमै सुुरक्षित, सुविधायुक्त र सहरमा बसेका हरेकले एकैखाले सुविधा लिन पाउने सहरको कल्पना गर्छु। हाम्रो सहरमा असमानता बढेको छ। सहरमा शक्ति र पहुँच हुनेले मात्रै अवसर पाएको छ। साच्चै नै तल्लो र विपन्न वर्गबाट आएका राम्रो मान्छेले पनि जागिर पाएका छैनन्। राजनीतिक दलका नेताहरूले गर्दा नै सहर असमान भएको हो भन्ने लाग्छ।

हाम्रा सहर बिग्रनुको कारण के लाग्छ ?
सहरको विकास नहुनुमा सरकार नै दोषी हो। सरकारले विकासका काम राम्ररी सञ्चालन गर्न सकेन। गुरुयोजना तय गर्न सकेन। त्यसकारण पनि सहर बिग्रिएको हो।

सहरलाई कसरी सफा राख्न सकिएला ?
विकास निर्माणका कामलाई समयमै सक्ने, जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काममा दूरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ।

सहरवासीका बानी कस्तो लाग्छ ?
हामी नागरिक नै चेतनशील भएनौं। हाम्रो चेतनास्तर पनि तलदेखि माथिसम्म उस्तै छ। विदेशमा एउटा रेलमा चढेको यात्रुले रेलको सिट च्यातिएको छ भने सिलाएर छाड्छन्। तर, हामीकहाँ त्यस्तो बानी छैन। सबैले मनलाग्दी गर्छन्। जताततै फोहर मिल्काउँछन्। सरकारी निकायलाई मिलेर घच्घच्याउन सक्दैनन्।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
मलाई नेपालकै कर्णाली भेगका केही भाग घुमेर त्यहाँको जनजीवन बुझ्ने रहर छ।

मिठो लाग्ने खानेकुरा के हो ?
भुटेका मकै र ढिडो मनपर्छ।

प्रस्तुति  : शिवहरि घिमिरे

प्रकाशित: २० फाल्गुन २०७५ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App