८ वैशाख २०८१ शनिबार
अन्य

पर्यटकीय क्षेत्रमा बाटो निर्माणलाई प्राथमिकता दिएका छौं

बुद्धिलाल महर्जन वडा अध्यक्ष चाँगुनारायण नगरपालिका वडा नं ४, भक्तपुर

जनप्रनिनिधिको कार्यभार सम्हाल्नुभएपछि वडामा के–के उल्लेखनीय काम गर्नुभयो ?
हाम्रो वडामा खानेपानीको समस्या थियो। त्यही कारण म वडा अध्यक्ष निर्वाचित भएर आएपछि चाँगुनारायण नगरपालिका वडा नं ४ मा दुई वटा डिप बोरिङ गर्यौं। ठाउँ–ठाउँमा टंकी पनि बनायौं। यो क्रम अहिले जारी पनि छ। साथै कतै पाइप पनि बिछ्यायौं। यसरी म वडामा निर्वाचित भएपछि खानेपानी समस्या समाधानतिर लागिरहेको छु। साथै मनोहरा खोलाको वरिपरि गाउँबस्ती नै जोखिममा थियो। त्यहाँको कुइँकेल गाउँ जोगाउन खोला फर्कायौं। त्यहाँ यो वर्ष बाँध बाँध्नेछौं। 

वडामा के–कस्ता समस्या देख्नुहुन्छ ? 
वडामा धेरै समस्या छन्। बाटोघाटोको समस्या छ, पहिरोको जोखिम उत्तिकै छ।  

वडामा विभिन्न समस्या रहेछन्, तिनको समाधान गर्ने योजना के छ ?
वडाका समस्यालाई विस्तारै समाधान गर्दै लैजाने योजना छ। बाटोको सन्दर्भमा पर्यटकीय क्षेत्रका बाटालाई पहिलो प्राथमिकता दिएका छौं। यसमा भक्तपुर, देकोचादेखि चाँगुको बाटोलाई फराकिलो गर्ने योजना छ। देकोचादेखि चाँगुनारायण हुँदै काठमाडौंको साँखु पुग्ने सडकलाई स्तरोन्नति गर्ने योजना छ। अहिले त्यहाँ सार्वजनिक सवारी चलिरहेको छैन। निकट भविष्यमा त्यो रुटमा सार्वजनिक सवारी चलाउने योजना छ।  

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको जीर्णाेद्धारलाई यथाशीघ्र सम्पन्न गराउन यहाँले कस्तो भूमिका खेलिरहनुभएको छ ?
गएको भदौ ५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बोलाई एउटा कार्यक्रम गरेका थियौं। त्यो बेला मैले उहाँलाई यहाँका मठमन्दिर, पाटीपौवा छिटो पुनर्निर्माण सम्पन्न गर्न भनेको थिएँ। यसरी पुरातत्व विभागलगायत सरोकारवालाहरूलाई घच्घच्याउने काम गर्दै आएको छु। 

चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल बनाउन केही योजना बनाउन भ्याउनुभएको छ ?  
छ, यसको लागि दुवाकोट बसपार्कदेखि चाँगुनारायण मन्दिरसम्म पुग्ने खुट्किलो बनाउने योजना छ। यहाँका नागपोखरी बनाउने योजना छ। त्यसको डिपिआर पनि तयार भइसकेको छ। ठाउँठाउँमा बगैचा बनाउने, चाँगुनारायणलाई चिनाउने, यहाँको चिनारीलाई संरक्षण तथा संवद्र्धन गर्ने, जात्रापर्व तथा बाजागाजा बचाउने योजना छ। यहाँ वार्षिक १५–२० जात्रापर्व चल्छन्, यी जात्रापर्वलाई निरन्तरता दिने योजना छ। बाजा लोप हुनबाट जोगाउने योजना छ। सम्पदा जोगाउने काम गरिराखेको छु। 

बालुवा चोरी निकासीका कारण चाँगुनारायण मन्दिर पहिरोमा फस्ने खतरा भएको भनी लामो समयदेखि सचेत गराइँदै आइएको छ, यसबारे यहाँको ध्यान जान सकेको हो ?
बालुवा चोरी न्यून बनाएको छु। जनप्रतिनिधि भएपछि साउन ७ गते भेला राखी बालुवा चोरीमा प्रयोग गरिएका डोजर तथा गाडी नियन्त्रण लिएका थियौं। अहिले चोरी निकासी बन्द छ।  

नेपालकै चर्चित नेपाल इन्जिनियरिङ कलेज निजी र सार्वजनिक भनी लामो समयदेखि विवाद चल्दै आएको छ, यसबारे यहाँको धारणा के छ ?
नेपाल इन्जिनियरिङ कलेज पहिलादेखि नै सार्वजनिक थियो। तर, २०७४ वैशाख २५ गते तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले प्रालि बनाउन खोजेको देखियो। त्यो थाहा पाउनेबित्तिकै सबै जनप्रतिनिधि मिलेर उनको योजना विफल पार्यौं। सार्वजनिक कलेजलाई कुनै हालतमा निजी बनाउन दिँदैनौ। त्यसका लागि हामी सबै जनप्रतिनिधि निरन्तर सक्रिय छौं। अहिले पछिल्लो समय स्थानीय तहले चलाउने हो कि भन्ने छलफल भएको छ। चाँगुनारायण नगरपालिकाको हालै सम्पन्न चौथौ नगरसभामा मैले त्यसको लागि प्रस्ताव गरेको थिएँ। त्यसमा नगरपालिका सकारात्मक छ।

वडा कार्यालयसँगै जोडिएको दुवाकोट बसपार्क व्यवस्थित देखिँदैन, यसलाई व्यवस्थित पार्ने योजना केही छ ? 
भूकम्पपछि यहाँका धेरै घर भत्केका थिए। ती पीडित बसपार्कमा टहरा बनाएर बसे। अहिले उहाँहरूले घर पनि बनाइसके। त्यसकारण यहाँका अस्थायी टहरा हटाउन सूचना जारी गरिसकेको छु। नहटाए भत्काएर बसपार्क व्यवस्थित पार्ने योजना छ।  

वडाका बाटाघाटा पनि त्यति राम्रो देखिँदैनन्, के भन्नुहुन्छ ?
बजेट अभाव छ। त्यसकारण वडाबाहेक नगरपालिका, प्रदेश ३ अनि केन्द्र सरकारबाट बजेट मागिराखेका छौं। त्यसपछि बाटो सुधार गर्ने योजना छ।  

चाँगुनारायण सामुदायिक वनको संरक्षणको योजना केही छ ?
उपभोक्ता समिति गठन गरिएको छ, म त्यसको संरक्षक छु। यहाँ वन फँडानीलगायत कुनै समस्या छैन। त्यसकारण कसरी व्यवस्थित गर्ने भन्ने कुरा मात्रै हो।

प्रस्तुति : रेणु त्वानाबासु

प्रकाशित: १३ फाल्गुन २०७५ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App