८ वैशाख २०८१ शनिबार
अन्य

‘सवारी र यात्रु देखेपछि बल्छ स्मार्ट लाइट’

ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी थालेको छ। मुख्य सडकमा बत्ती जडानका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा भइसकेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी  योजनाको ठेक्का सम्झौता भइसकेको महानगरले जनाएको छ। 

महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार महानगरले सारेको यो ठूलो योजनाभित्र पर्छ। बत्ती जडान भएपछि ललितपुर क्षेत्रका सडक झिलिमिली हुनेछन्। ‘पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो,’ उनले भने, ‘कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मंगलबजार, एकान्तकुनाबाट बुङमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गरिनेछ।’ 

सडक बत्ती जडानका लागि महानगरले प्राधिकरणसँग गत वर्ष नै सहमति गरेको थियो। सहमति अनुसार पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान सम्झौता भएको महानगरका मेयर चिरिबावु महर्जनले जानकारी दिए। उनका अनुसार यो वर्ष महानगरले सडक स्तरोन्नति र व्यवस्थित बनाउनेतर्फ बढी चासो दिएको छ। ‘हामीले ललितपुरलाई अलि व्यवस्थित बनाइसकेका छौं, यहाँका सडकमा कतै खाल्डाखुल्डी देखिन्न,’ उनले भने, ‘सडक बत्ती जडान गरेपछि अरुतर्फ पनि हाम्रो चासो जान्छ।’ ‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको उनको भनाई छ। स्मार्ट बत्तीका सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्नेछ। यात्रु र सवारी भएको बेला मात्रै बत्ती बल्छ।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App