८ वैशाख २०८१ शनिबार
अन्य

‘कंक्रिटको सहरमा आत्मीयता अलि पर छ’

सरुभक्त, लेखक

तपाईको  विचारमा सहर भनेको के हो ?
सहरलाई धेरै तरिकाले बुझ्न सकिन्छ। व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो। सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन्। राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ। राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन्। हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा सहर विकास भएको देखिन्छ। अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन्। यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ। अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौं मानिसको बसोबास पनि भइरहेको देखिन्छ। अर्को अर्थमा हामीले सुन्दर गाउँको परिकल्पना गर्छौं नि त्यहीँ ठाउँ सहर बनेको छ। तर, युवाहरू सहरमा हराइरहेका छन्। यो सहरले युवालाई सम्बोधन गर्न सकेको छैन। गरिबका आँसु  बुझ्न सकेको छैन।

‘कंक्रिटको सहरमा आत्मीयता अलि पर हुन्छ। त्यहाँ मानवताको अभाव हुन्छ। त्यसकारण मलाई लाग्छ सहर यान्त्रिक जीवन हो, चाहे त्यहाँ जतिसुकै सुख शान्ति किन नमिलोेस्।’

तपाईंलाई मनपर्ने सहर कुन हो ?
म पोखरामा जन्मेँ, हुर्केँँ।म जन्मदा पोखरा निकै सुन्दर गाउँजस्तो थियो। अहिले त पोखरा पनि निकै भीडभाड भएको छ। भूगर्भविद् ‘टोनी हेगन’ले संसारका सबैभन्दा सुन्दर सहरमध्ये पोखरालाई पनि भनेका छन्। सहरीकरण बढे पनि त्यहाँको प्राकृतिक अवस्थित राम्रो छ। नेपालमा मलाई काठमाडौं र पोखरा ज्यादै मनपर्छ। काठमाडौंको मौसम सदावहार छ। यहाँ हिउँदमा बढी जाडो र गर्मीयाममा बढी गर्मी हुँदैन। तर, अस्तव्यस्तता सम्झँदा काठमाडौं दिक्क लाग्छ। 

काठमाडौं कस्तो लाग्छ ?
यो आफैमा सुन्दर छ। तर, अव्यवस्थित सहरीकरण भयो। जसका कारण सहर अति नै अस्तव्यस्त भएको छ। मानिसले नै सहरलाई कुरूप बनाइरहेका छन्। मानिसकै कारण यहाँका नदीनाला फोहर भएका छन्। सहरको सरकारी संयन्त्र पनि राम्रो भएन। त्यसकारण काठमाडौंलाई राम्रो र सुव्यवस्थित बनाउनका निम्ति यहाँको प्रशासन र राजनीति नेतृत्वले अलि बढी चासो दिन जरुरी छ। 

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ? 
म धेरै देशका सहर घुमेको छु। बेल्जियम, फ्रान्स, कोरिया, चीन, हङकङसँगै भारतको बनारस, अमेरिकाको वासिङ्टन लगायत सहर पुगेको छु। विदेशका सहर कंक्रिटका जंगल हुन्। त्यहाँका सहरको तुलनामा हामी भिन्न छौं। प्रकृतिले हामीलाई संसारमै सम्पन्नता बनाएको छ। तर, मानवीय तवरले गरिएका जति पनि काम छन्, ती राम्रा भएनन्। सहर सुहाउँदो विकासका काम नभएरै नेपालका सहर पछि परेका हुन्। यसलाई बनाउनका लागि नेतृत्व तहकै जग बलियो हुनुपर्छ। गुरुयोजना बनाएर विकासका काम गर्नुपर्छ। 

कस्तो लाग्यो त्यहाँका सहर ?
सबैजसो सहर उस्तै लाग्छन्। युरोपका सहरहरू तुलनात्मक रूपमा अलि भिन्न लागेको थियो। बेल्जियम जाँदा रुलजान सहर बसेको थिएँ। त्यो सहर राम्रो लागयो। प्राचीन कुराहरू संग्रहित गरेर राखिएको छ। सहरीकरणसँगै प्राचीन कुरालाई जोगाएर राखिएको छ। हाम्रोमा भएका संस्कृतिले पनि उचित स्याहार पाएका छैनन्। युवापुस्ता पलायन हुने प्रवृत्ति बढेसँगै भोलिका दिनमा यो देशको रक्षा कसले गर्ने भन्ने खालको प्रश्न पनि उठ्न थालेको छ। त्यसैले नेतृत्वले यो विषयमा गम्भीरताका साथ सोच्न र काम गर्न आवश्यक छ। 

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
युरोपका सहर इतिहासले समृद्ध छन्। बनाउने हो भने त्यस्तै होइन, त्योभन्दा पनि सुन्दर बन्न सक्छन्, हाम्रा सहर। तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन। सहर बनाउने सपना बाँडेर सत्तामा पुग्नेहरू आज सहरलाई भुलेका छन्। 

सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सरसफाइ, बाटोघाटो तथा पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम लगायत विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। यी कुरालाई ध्यान दिने हो भने काठमाडौं अरु देशका सहरभन्दा राम्रो बन्छ। नीति–नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो। 

विदेशी र हाम्रा सहरबीच के भिन्नता देख्नुभयो ? 
विदेशका सहर धेरै व्यवस्थित छन्। त्यहाँ हरेक ठाउँका नीति–नियम पालना गरिएका हुन्छन्। नागरिक पनि सहरको विकासमा चनाखो हुन्छन्। कसैले सहरको फोहोर देखिसहन्न। तर, हाम्रो देशमा नागरिक सहरप्रति त्यति संवेदनशील छैनन्। जापानको टोकियो पनि मलाई राम्रो लाग्यो। त्यो गगनचुम्ने सहर हो। मानिसलाई आत्मीय समृद्धि हाम्रा सहरमा छन्। कंक्रिटका सहरमा आत्मीयता अलि पर हुन्छ। त्यहाँ मानवताको अभाव हुन्छ। त्यसकारण मलाई लाग्छ– सहर यान्त्रिक जीवन हो, चाहे त्यहाँ जतिसुकै सुख शान्ति होस्। 

के कारणले हामीकहाँ सहरी विकास हुन सकेन भन्ने लाग्छ ?
सहरवासी, सरकारी निकायकै कमजोरीले गर्दा सहरको रूप बिग्रिएको हो। यदि सरकार र सहरवासी जिम्मेवार हुन्थे भने सहर बिग्रने थिएन। हामीकहाँ त काम नगरेरै सहर बिग्रिएका हुन्। यो कुरा नेतृत्वलाई थाहा छ। तर, काम गर्दैनन्। 

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
भीडभाड नहोस्। कंक्रिटकै जंगल नै भए पनि त्यहाँ मानवीयता भेटियोस्। सबैखाले सुविधा सहजै पाउन सकियोस्। स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधा होस्। सबैलाई स्वच्छ र सुविधायुक्त सहरमा बसेको महसुस होस्।  यति भयो भने सहर अलि आनन्दको छ भन्ने लाग्छ होला।   

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको मौसम र पुराना मठ–मन्दिर मनपर्छ। उपत्यकाका अर्को राम्रो पक्ष हावापानी पनि हो। उपत्यकाको आकर्षण र सौन्दर्य भनेकै यहाँका ऐतिहासिक धरोहर हुन्। यी धरोहरले नेपाललाई नै चिनाउँछन्। तर, भूकम्पका कारण हाम्रा धरोहर ढले। तिनको पुनर्निर्माणमा सरकारले खासै चासो दिएको छैन। सबैको नजर सहरलाई मास्नेतर्फ छ। यसको स्वामित्व स्थानीयले लिएका छैनन्। 

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनुपर्छ। जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ। सरकारले सबैखाले सेवा–सुविधा दिएर सहरवासीको दिक्दारी हटाउन जरुरी छ। धुवाँधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर जिम्मेवार निकायले काम गर्नुपर्छ। 

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १० फाल्गुन २०७५ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App