२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पुनर्निर्माणपछि उत्तरबाहिनी मन्दिरमा भीडभाड

जीर्ण र अव्यवस्थित अवस्थामा रहेको काठमाडौं गोकर्णश्वर नगरपालिकाको कान्तिभैरव उत्तरबाहिनी मन्दिर पुनर्निमाण र व्यवस्थित भएपछि भक्तजनको भीड बढ्न थालेको छ।

सो मन्दिरलाई केही वर्षअघि चावहिलको समाजसेवी समूह तथा स्थानीयवासीको पहलमा पुनर्निमाण गरिएको हो। रत्नपार्कबाट करिब ९ किलोमिटरको दुरीमा रहेको सो मन्दिरलाई पितामह तीर्थस्थलका रुपमा चिनिन्छ। सो मन्दिर गोकर्णेश्वर मन्दिरबाट केही दुरीमा रहेको छ। उत्तरगया क्षेत्रको शिरको रुपमा रहेको उत्तरबाहिनी तीर्थको विशेष महिमा छ। कुशे औंशीका दिन यहाँ आएर श्राद्ध गरे मात्र पृत्तिधर्म पूरा हुने प्राचीन विश्वास रहेको छ।

पौराणिक विश्वासअनुसार उत्तर दिशामा कैलास पर्वत हिमालयमा भगवान् महादेवको राज भएको विश्वास रहेको छ। यहाँका मठमन्दिर तथा देवता पनि उत्तर दिशामाम नै पर्दछन्। उत्तर फर्केर बगेकी नदी पवित्र हुने हुनाले पनि उत्तरवाहिनी नदीको महिमा हुन्छ। गोकर्णेश्वरको यस कान्तिभैरव मन्दिरमा पञ्चमुखी हनुमान, पद्यमुक्तेश्वर, जागेश्वर वासुकीनाग, सिताराम, गणेश, मनकामना, गणिनाथ जस्ता देवताहरुको मूर्ति कलात्मक ढंगले राखिएको छ।

मन्दिर व्यवस्थापन समितिले मन्दिरको संरक्षणमा तीव्र रुपमा लागेको छ। मन्दिरमा हरेक दिन दुईदेखि तीन सयसम्म संख्यामा भक्तजनहरुको आउने मन्दिर व्यवस्थापन समितिका संरक्षक सानुकाजी शाक्यले बताए। उनका अनुसार जीर्ण र अव्यवस्थित यस कान्तिभैरव मन्दिरलाई विगतका केही वर्षमा स्तरोन्नती गरिएको हो।हाल मन्दिरमा भक्तजनहरुको आउजाउ बढेको र मन्दिरको आम्दानी पनि बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भैरव श्रेष्ठले बताए। भक्तजनहरुले मन्दिर आसपास सफा बगैंचा, हरियाली वातावरण र मनोरम दृश्य अवलोकन गर्ने पाउँछन्।

मन्दिरमा विवाह, व्रतबन्ध, सुटिङ, श्राद्ध तथा वनभोज हुने गरेको छ। यहाँको स्थान र सेवा लिएबापत मन्दिर व्यवस्थापन समितिलाई निश्चित शुल्क तिर्नु पर्दछ जसले गर्दा मन्दिरको आयआर्जनमा टेवा पुगेको समिति सदस्य सानुकाजी शाक्यले बताउँछन्। मन्दिरमा आउने भक्तजनहरुका लागि समितिले शौचालय तथा खानेपानीको व्यवस्था पनि गरेको उनले बताए।

‘यस मन्दिरमा पञ्चमुखी हनुमान, पद्यमुक्तेश्वर, जागेश्वर वासुकीनाग, सिताराम, गणेश, मनकामना, गणिनाथ जस्ता महत्वपूर्ण देवता छन्। तिनले गर्दा मन्दिरको छुट्टै पहिचान बनेको छ,’ कान्तिभैरव गुरुकुल विद्यालयका सचिव श्रीराम अधिकारीले बताए। यहाँबाट बग्ने नदी उत्तरतिर बग्ने भएकाले यहाँको नाउँ पनि उत्तरबाहिनी भएको उनले बताए। यस्तो नदीमा श्राद्ध तथा तर्पण दिएमा पितृहरु खुसि हुने जनविश्वास रहेको पनि उनी बताउँछन्। यस मन्दिर परिसरमा तपस्पीहरुका लागि ध्यान गर्ने छुट्टै स्थान निर्माण गरिएको अधिकारी बताउँछन्। यहाँ औंसी, पूर्णिमा,चन्द्रग्रहण तथा सूर्यग्रहण, एकादसीका दिन भक्तजनको भीड लाग्ने गरेको अधिकारीले बताए।

प्रकाशित: २५ माघ २०७५ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App