४ वैशाख २०८१ मंगलबार
अन्य

रातीमा झिमझिम गर्दैन बत्ती

उपत्यकाका सडकमा लेन छुट्याउन राखिएका क्याटआइज (जुनकिरी बत्ती) बल्न छाडेको छ। सडक विभागले नियमित मर्मतसम्भार नगर्दा उक्त सडक सुरक्षित बनाउन राखिएका बत्ति बल्न छाडेका हुन्।

डिभाइडरको काम र ट्राफिक अनुशासनमा लेन छुट्याउनको लागि विभागले २०७१ सालबाट तीव्रताका साथ नयाँ बानेश्वर, कोटेश्वर, पुल्चोक, रातोपुललगायतका सडकमा उक्त बत्ती हालेको थियो। तर, सोलारको शौर्य शक्ति कम भएपछि जुनकिरी बत्ती झिमभिम गर्न छोडेको छ। कतिपय बत्तीहरु सवारी साधनले फुटाएको छ। दिनभर सोलारबाट चार्ज हुने र राति झिमझिम गर्दै बत्ती बल्ने गर्छ। यो बत्तीले रातीको समयमा ट्राफिक नियमको काम गर्ने गर्छ। तर, सरोकार निकायले समयमा यसको मर्मतसम्भार नगर्दा रातीको समयमा सवारी चालकलाई ट्राफिक अनुशासनमा ल्याउन समेत गाह्रो भएको ट्राफिकको गुनासो छ।

बत्तीहरु बल्न छोडेपछि बेलुकाको समयमा ट्राफिक व्यवस्थापनमा  समस्या आउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटा बताउँछन्। ‘विभागले बत्ती हालेपछि रातीको समयमा कडकको लेन छुट्याउन सजिलो भएको थियो,’ उनले भने, ‘अहिले अधिकांश ठाउँको बत्ती झिमझिम गरेको छैन। हामीलाई रातीको समयमा धेरै गाह्रो परेको छ। त्यसैले यी बत्ती  विभागले चाँडै मर्मत गर्नुपर्छ।’ उनका अनुसार रातीको समयमा सडकको अवस्थाको जानकारी पाइन्थ्यो। सडकमा बत्तीहरु नभएकाले सडकको बायाँ र दायाँ कहाँ छन् भनेर थाहा पाउन सवारी चालकलाई पनि सजिलो भएको थियो। अहिले बल्दै गरेका जुनकिरी बत्तीबाट सवारी चालकले ट्राफिक नियम पालना गर्नुपर्ने उनले बताए।

बत्ती र सोलार ब्याट्रीको आयु सकिसकेकाले अहिले सडकमा हालिएको जुनकिरी बत्ती बल्न छोडेको सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ बताउँछन्। ‘सडकको लेन छुट्याउनलाई बत्ती राखेका थियौं।  ट्राफिकलाई पनि सजिलो भएको थियो। सोलारको चार्जबाट बत्ती बल्ने हो,’ उनले भने, ‘ती सोलारले सञ्चित गर्न सक्ने शौर्य शक्ति सकिसकेको छ। त्यसैले बत्ती बल्न छोडेको छ। रिफ्लेक्टिभ बत्ती हाल्ने योजना भएकाले यी बत्ती मर्मत गरेका छैनौं।’ उनका अनुसार यो बत्ती प्रभावकारी मानिए पनि महंगो पर्छ। एउटा बत्तीकोे १२ सयसम्म पर्छ। त्यसैले यो उपयोगी मानिएको छैन। ‘दिन र रातमा पनि सडकको काम गर्ने रिफ्लेक्टिभ पेन्ट देखिने राखिन्छ,’ उनले भने, ‘यो टल्किने हुँदा सवारी चालक र ट्राफिक अनुशासनमा पनि सहज हुने छ। कुनै ठाउँमा यो बत्ती राख्नुपरेमा जुनकिरी बत्ती हालिन्छ।’ उक्त बत्ती सडक मर्मत गर्दा जोसुकैले फुटाउने, चोरी गर्ने भएकाले यसको संरक्षण गर्न समेत नसकेको उनले बताए। सोलारको प्लेटमा नियमित धुलो हुने भएकाले यो बत्ती राख्न उपयोगी नमानिएको उनको भनाइ छ। ‘सकेसम्म रिफ्लेक्टिभ पेन्ट नै राखिने छ। कुन बत्ती राख्दा उपयोगी हुन्छ भनेर  हामी छलफल गर्दैछौं,’ उनले भने।

विभागका अनुसार उपत्यकामा जुनकिरी बत्ती हाल्नुअघि उपत्यकाबाहिर पृथ्वी राजमार्गको धादिङ खण्ड, बुटवल, पोखरालगायत क्षेत्रमा लेन छुट्याउन उक्त बत्ती हालिसकेको थियो। अहिले पनि कुनै–कुनै क्षेत्रमा भने सञ्चालनमा छन्। नमुनागत रुपमा उपत्यकाबाहिर सुरु गरेपछि उपत्यकामा पनि जुनकिरी बत्ती हालिएको थियो। बाहिर देशमा भने जुनकिरी बत्तीबाट सवारी चालकहरुले राम्रोसँग अनुशासन पालना गर्ने गरेको पाइन्छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल उक्त बत्तीको विषयमा ट्राफिकसँग छलफल भइरहेको बताए। ‘रातीको समयमा सजिलैसँग सडकको लेन छुट्याउन सकिने भएकाले हामी सम्बन्धित निकायहरुसँग सहकार्य गर्न खोजेका छौं,’ उनले भने,  ‘जेब्रा क्रसिङ, ट्राफिक लाइट, आकाशेपुलमा बत्ती राख्नको लागि हामी छलफल गर्दै आएका छौं। सहरको सौन्दर्यसँगै ट्राफिकहरुलाई सहयोग गर्नको लागि हामी लागी पर्नेछौं।’

प्रकाशित: १८ माघ २०७५ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App