पोखराको चल्तीको र पुरानोमध्येको होटल बाराही समूहका अध्यक्ष हरिप्रसाद पौडेल (६७), हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँद्वारमा जन्मेका पौडेलले स्नातकतहसम्मको शिक्षा भारतको वनारसबाट लिए । पोखरामा २०३० को दशकमा सानो आकारमा पर्यटन व्यवसाय सुरु गरेका पौडेलको नेतृत्वको बाराही समूहले विस्तारित रुप लिँदै जाँदा अहिले बृहत् भएको छ । यो अवधिमा निकै नै उतारचढावको अवस्था पौडेलले बेहोरे । होटल सञ्चालन गर्दाका कठिन दिन उनको सम्झनामा अहिले पनि ताजै छन्, तर ती कठिन दिनलाई पार लगाउँदै चुनौतीका बाबजुद अहिलेको सहज अवस्थामा आएको पौडेलको निष्कर्ष छ । त्यसको फलस्वरुप अहिले बाराही पोखराको लेकसाइड, सराङकोट, चितवन, काठमाडौं र लुम्बिनीमा विस्तार भइरहेको छ । पछिल्लो समय दुईजना छोरालाई व्यापार हस्तान्तरण गरेर अभिभावकत्व लिएका पौडेलसँग परिवार मासिकका लागि सन्तोष पोखरेलले गरेको कुराकानीको सारः
बाराही होटल कसरी जन्मियो ?
२०३१ सालमा म ढिकुरपोखरी (हालको अन्नपूर्ण गाउँपालिका) बाट पोखरा झरेको हुँ । त्यो बेला पोखरामा मेरो फूपू बस्नुहुन्थ्यो । फूपूकै माध्यमबाट मैले लेकसाइडमा एकरोपनी जग्गा किनेको थिए । त्यतिखेर पोखरामा हरेराम, हरेकृष्ण भन्दै भजन गाउने हिप्पीखालका पाहुना आउँथे । ती पाहुनालाई त्यो बेला अहिलेको जस्तो सुविधा पनि चाहिन्नथ्यो र खोज्दैनथे पनि । होटल भने पनि घरमा बसेझैँ थियो, पाहुनाका लागि अतिरिक्त कुनै पनि सुविधा थिएन, हामीले दिन पनि सक्दैनथ्याैं ।
त्यतिखेर पोखरामा होटल पनि निकै नै कम संख्यामा थिए । लेकसाइडमा ३–४ वटा होटल थिए । त्यही अवस्थामा हामीले ५ कोठाको घर बनायाैं, जहाँ अहिले बाराही होटल छ । त्यही ५ कोठाको घरबाट पाहुना राख्न थालेका थियौँ । त्यतिखेर शौचालयसमेत व्यवस्थित थिएन । तातो पानी हुँदैनथ्यो । पाहुनाले तातो पानी मागेमा भाँडोमा तताएर दिन्थ्यौ । पाहुनाले खाना भने रेस्टुरेन्टमा खान्थे । हामीले गेस्टहाउसको रुपमा मात्र सुविधा दिएका थियाैं।
हामीले होटल सुरु गर्दा एउटा कोठाको प्रतिरात ५ रुपैयाँ लिन्थ्यौं । त्यो अवस्थामा एउटा कोठाको ५ रुपैयाँ लिनु पनि ठूलो थियो । ५ रुपैयाँबाट सुरु भएको होटलको कोठाको मूल्य अहिले प्रतिरात २२ हजार रुपैयाँसम्म छ । हाम्रा लागि ५ रुपैयाँ पनि ठूलो थियो । सुविधा नै केही थिएन । बैदाम क्षेत्र (लेकसाइड) का प्रायः घर, धन्सार, कटेरा, भैसींगोठलाई सफा गरेर यहाँ लजको रुपमा सुरु गरेर पर्यटकलाई राख्न थालिएको थियो । बस चढेर आएका पाहुना ती लजमा बास बस्न जान्थे । त्यो बेला बैदाममा भैंसी पनि अंग्रेजी बोल्छ भन्ने उखान चलेको थियो । गोठमा कोठा बनाएर पाहुना राख्ने चलन भएकोले उखानै बन्यो । विदेशी पाहुना आउन थालेपछि लज बनाउन र पाहुनालाई सेवा दिन महिलाहरु निकै नै उत्साही थिए ।
समय क्रमले पाहुनाको संख्या बढ्दै गयो । सुविधा पनि थपिँदै गए । त्यसपछि २०३६ सालतिर प्याराडाइज गेष्ट हाउस बनाएका थियाैं । त्यो कटेराको विस्तारित रुप थियो । प्याराडाइज भनेर १० कोठाको गेस्टहाउस चलाइएको थियो । पर्यटकको संख्या बढ्दै जाँदा त्यो क्षमताले भ्याएन । त्यसपछि बल्ल हामीले बैंकबाट ऋण लिएर २०५० सालतिर होटल बनायौँ । पहिलोपटक २५ लाख रुपैयाँ ऋण लिएर अरु १० कोठाको भवन बनाइयो । त्यो क्रमशः बढ्दै गयो, छोरा (विप्लव पौडेल) ले पनि होटल म्यानेजमेन्ट पढ्दै गएको र पछि पढाइ सकेर सहयोग भएपछि क्षमता विस्तार गर्दै गयाैं । क्षमता विस्तार गर्दै जाँदा साँध जोडिएको जग्गा पनि पाउँदा हामीलाई अरु विस्तारमा सहज भयो । अहिले बाराहीसँग १७ रोपनी जग्गा छ । अहिले बाराहीको यो होटल ८० कोठा क्षमताको छ ।
सानो आकारको त्यो व्यवसाय यति बृहत् होला भन्ने सोच्नुभएको थियो ?
मैले पहिला यस्तो तहमा पुगौँला भन्ने सोचेको पनि थिइनँ । तर जब होटल २० कोठा बनाएँ, अनि पाहुना पनि बढ्दै जाँदा उत्साह जागेको थियो । आसपासका अरु पनि होटल थपिन थाल्यो । अरु होटल पनि थपिन थालेपछि उत्साह बढ्दै गयो । त्यही क्रममा २०४६ सालतिर एकरात यस्तो सपना पनि देखेको थिए कि भव्य होटल बनाएको । भव्य होटल बनाउन पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको बेला मैले त्यो रात सपना देखेको थिए । त्यो सपना अहिले पूरा भएको ठानेको छु ।
होटल सुरु गर्दा खर्च कसरी व्यवस्थापन हुन्थ्यो ?
त्यो बेला व्यापार धान्न सहज थिएन । सुरुमा सामान्य कटेरो थियो, त्यसले गर्दा महँगो पर्दैनथ्यो, त्यो बेला पैसाको अभावको अनुभव गरेनौँ । तर पैसा संकलन भने हुँदैनथ्यो । होटल बढाउने क्रममा बैंकको ऋण तिर्न नै समस्या भयो । सयकडा ५ रुपैयाँको ब्याजदरमा पनि मैले ऋण खोजेर बैंकको किस्ता तिरेको छु । बैंकको ब्याज नतिरेको खण्डमा कालोसूचीमा पर्ने डर थियो । ती तीता घटना पार गरेको छु ।
निकै कठिन अवस्थामा सुरु भएको व्यवसाय चलाउन बीचमा कत्तिको चुनौती आइप-यो ?
मैले यो अवधिमा दुईवटा अप्ठेरा पार गरेको छु । एउटा अप्ठेरो थियो, पाहुना नै कम हुने समयमा हामीले व्यापार सुरु गरेका थियौँ । पाहुना कम हुँदा आफैंमा चुनौती र समस्या थियो । वर्षमा चार महिना मात्र पाहुना आउँथे । अरु महिना त शून्य नै हुन्थ्यो । त्यो अवस्था पनि पार गरेका थियाैं, त्यस्तो कठिन अवस्थामा आर्थिक भार थेग्न निकै नै गाह्रो थियो । त्यसपछि जसोतसो तंग्रिन मात्र थालेका के थियाैं, द्वन्द्वकाल सुरु भयो । त्यसले निकै नै आहत बनायो । त्यस आहतमा २–४ कुराले जोगिन सकियो । मेरो स्वभावले गर्दा अनावश्यक कुरा नगर्ने, आफ्नो काम मात्र गर्ने भएकोले मलाई द्वन्द्वकालमा पनि सहज भयो । त्यो बेला धम्की आउँदा पनि डराइनँ । त्यो अवस्था सम्झँदा कहाली लाग्छ । त्यसले मानसिक मात्र नभई आर्थिक रुपमा पनि चुनौती थपेको हो । मैले यो अवधिमा पार गरेका मुख्य चुनौती नै यिनै दुईवटा हुन् ।
आर्थिक दृष्टिकोणले अहिले बाराही कुन ठाउँमा छ ?
होटल सुरु गर्दा र बीचमा आइपरेका अप्ठेरोका बाबजुद अहिले हामी निकै नै माथि पुगेका छाैं। ‘नमरी स्वर्ग देखिन्न’ भने जस्तै पर्नेलाई मात्र थाहा पीडा थाहा हुन्छ । त्यो पीडा मैले भोगेको छु । तर, अहिले निकै नै माथि उठेका छाैं । बाहिरबाट अरुले हेर्दा धेरै देख्छन्, तर, त्यसको पीडा आफूलाई मात्र थाहा हुने रहेछ । कहिल्यै पुग्दो रहेनछ । तर, म यसमा सन्तुष्ट नै छु ।
तपाईंले सोचेअनुसार अहिले राजनीतिक, आर्थिक अवस्था अघि बढेको छ कि छैन ?
पहिलेको तुलनामा २०४६ पछि परिवर्तन भने भएकै हो । २०६२/६३ सम्मको अवस्था देख्दा त निराशाजनक नै थिएँ । त्यसपछि केही सुधार भएको छ । बाहिरबाट हेर्दा केही भएको छैन भन्न सक्लान्, तर धेरै परिवर्तन भएका छन् । सकारात्मक परिवर्तन भएको छ । हाम्रो मानसिकता कस्तो छ भने अहिलेको अहिल्यै हुनुपर्ने रहेछ । आजको भोलि नै हुनुपर्ने हामी खोज्छाँै । धेरै दुःख कष्ट भोगेका मान्छे भएकोले हामीले अहिलेको भोलि नै परिवर्तन खोजि गर्छाैं। अहिले धेरै सकारात्मक काम भएको छ । उदाहरणका लागि भनौँ, बैंकबाट ऋण लिन खोज्दा त्यो बेला निकै नै कष्ट थियो । बहुदलीय प्रजातन्त्रपछि जब निजी बैंक खुले, लगानीको वातावरण सुरु भयो । अनि सबैतिर विकास खुल्यो । यो सबै देख्दा मलाई नै अनौठो लाग्छ । म ८ वर्ष हुँदा रेडियो देखेको हुँ । गाउँका धनाढ्य ती व्यक्तिको घरमा मैले रेडियो देखेको थिएँ, त्यो रेडियो देख्दा मलाई नै अचम्म लागेको थियो, कहाँबाट मान्छे बोलेका होलान् भन्ने लागेको थियो । बाल कार्यक्रममा केटाकेटी कति धेरै अटेका होलान् यति सानो रेडियोमा भन्ने लाग्थ्यो । बिजुली, शौचालय भन्ने थाहा थिएन, खानामा एकथरी तिहुन (तरकारी) र भात वा ढिँडो मात्र खाएर हुर्केको मान्छे हुँ । लगाउने पनि भोटोबाहेक केही हुँदैनथ्यो । त्यो अवस्था बिताएर आएको मान्छे भएकोले अहिलेको अवस्थामा मैले मलाई नै गौरवान्वित ठान्छु । यस्तो पनि देख्न र अनुभव गर्न पाएँ । मेरो अहिलेको जस्तो अवस्था निकै नै कम मान्छेलाई प्राप्त हुन्छ ।
अहिले रिटायर्ड समय के मा व्यस्त हुनुहुन्छ ?
म एक किसिमले रिटायर्ड जस्तै हुँ । व्यवसाय सबै छोराहरु (विप्लव र वैभव) ले सम्हालेका छन् । म सल्लाहकारको रुपमा छोराहरुलाई सल्लाह दिन्छु । मैले छोराहरुको काममा हस्तक्षेप पनि गर्दिन । उनीहरुले सोधेको अवस्थामा सल्लाह दिन्छु । नत्र, हस्तक्षेप हुँदैन । हाम्रो पारिवारिक र सबैको सरसहयोगले यहाँ पुगेका हाैं । सबै काममा पारिवारिक सल्लाह हुन्छ । अहिले हामीले काठमाडौं, चितवन, लुम्बिनीमा पनि व्यापार विस्तार गर्दैछौँ । अरु पनि योजना बनिरहेका छन् । म फुर्सदिलो भएकोले महिना दिनमा ती योजनामा पुग्दा पनि दिन बितिहाल्छ, त्यो बाहेक म सामाजिक काममा पनि लाग्छु । पत्रपत्रिका अध्ययन, रचना पढेर दिन बिताउँछु ।
यतिबेलाको अर्थतन्त्रका चुनौती हेर्दा अहिलेको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिलेको समयलाई त मैले सुनौलो देखेको छु । जता हे¥यो, उतै राम्रो देख्छु । मेरो बानी म यत्तिकै बिताउन चाहन्नँ, मेरो बानी काम गर्ने मान्छेलाई रुचाउने छ । काममा अल्छि गर्ने मान्छे मलाई मन पर्दैन । काम गर्न पनि मनपर्ने र काममा लगनशील भएकोले केही न केही गरौँ भन्ने लागिरहन्छ । यस अवधिमा हामीले राजनीतिक अन्योल चिरेका छौँ । एक किसिमले अस्थिर सरकार भयो भन्ने गुनासो सकेर स्थीर सरकार आइसकेको छ । देशविदेशमा पनि नेपाललाई हिजोसम्म गोर्खा मात्र भनेर चिन्थे, तर, अहिले नेपाली, सगरमाथा, बुद्धको देशका मान्छे भनेर चिन्न थालेका छन् । देशविदेशमा पनि नेपालीको नाम फैलिएको छ । त्यत्ति मात्र नभई नेपालीहरु एकदम खुसी रहने मान्छेमा पर्छन् । विदेशीहरु पनि नेपालीलाई निकै नै खुसी मान्छे देख्छन् । नेपालमा अहिले जहाँ हे-यो, त्यही काम छ । नेपाल र नेपालीको भविष्य मैले सुन्दर देख्छु । यतिधेरै कृषिका लागि खेतीयोग्य जमिन छ, अहिलेको प्रविधिअनुसार काम गर्ने हो भने त्यहीँ काम छ । पर्यटनमा त झनै अवसर छ । हामी सेवा नै धर्म मान्ने हुँदा पर्यटनमा अवसर छ । काम गर्न सक्नेलाई अहिले अवसरै अवसर छ ।
अहिलेको व्यापारमा केही चुनौती बढेको व्यवसायीकै गुनासो छ । ती कस्ता चुनौती हुन् ?
चुनौती पनि छन् । स्थिर र बहुमतको सरकार हुँदा उत्साही हुनुपर्ने ठाउँमा कताकता दलका नेताहरु अल्मलिएका छन् । जुन किसिमले भाषण दिएका थिए, त्यो अनुसार पूरा हुन सकेन । त्यो हेर्दा बहुमतको सरकार आउँदा जे भन्यो त्यो हुन्छ भन्ने थियो, तर, त्यो हुन सकेको छैन । सरकार बनेको ९ महिना बितिसक्दा पनि त्यो अवस्था देखिन सकेन । नेताहरु पनि एकठाउँ हुने र एकआपसमा तानातान नगरी जाने हो भने अवसर छ । त्यसैमा किचलो निकाल्ने हो भने विकास हुँदैन । सबैभन्दा ठूलो चुनौती नेपालको मानव संशाधन विदेश पलायन भएको छ, यो रोक्नुपर्छ । यो रोक्नका लागि सरकारले मात्र चाहेर हुँदैन, जनचेतना पनि विकास हुनुपर्छ । काम गर्नुपर्छ भन्ने मान्यता सबैले बोक्नुपर्छ । यहाँ काम गर्न अल्छि गर्ने, तर, विदेशमा गएर यहाँभन्दा कम पैसा र दुःखको काम गर्ने चलन भयो । यहाँ काम गरे सानो भइन्छ, ठूलो मान्छेले काम गर्नु हुँदैन भन्ने परिपाटी विकास भयो । यो नै सबैभन्दा ठूलो चुनौती हो ।
अहिलेको नयाँ पुस्ताले व्यापारलाई कुन खालको गति दिएको मान्नुहुन्छ ?
व्यापारमा सामाजिक र पारिवारिक अवस्था मिल्नुपर्छ । धेरैमा नयाँ र पुराना पुस्ताबीचको अन्तरविरोध हुने गरेको छ । नयाँ पुस्ताले पुरानो पुस्तालाई यी मेरा अग्रज हुन्, यिनीहरुमा केही अनुभव छ र यिनीहरुको सम्मान गर्नुपर्छ भनेर सोच्नुपर्छ । यस्तै अवस्था पुरानो पुस्ताले पनि सोच्नुपर्छ । म भन्दा यिनीहरु धेरै जान्ने छन्, विकसित छन् पढेलेखेका छन, पोख्त छन्् भनेर पुरानोले सोच्नुपर्छ । स्वच्छन्द रुपले नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ । त्यसो भयो भने नयाँपुस्ताले स्वतन्त्र भएर काम गर्न पाउँछन् । पुरानो पुस्ता पनि नयाँ पुस्ताले राम्रो काम गर्दा खुसी हुनुपर्छ । त्यो संस्कार नेपालमा अझै विकास भएको छैन । नयाँ र पुरानो पुस्ताबीचको संस्कार विकास हुन जरुरी छ ।
यतिबेला लगानीयोग्य पुँजीको कारण देखाउँदै बैंकले लगानी गर्न मान्दैनन् । यसले कत्तिको अप्ठेरो पारेको छ लगानीमा ?
अहिलेको अवस्था अप्ठेरो छ । बैंकको बानी हुँदैन नभन्ने, हुन्छ मात्र भन्ने, तर नगर्ने । हामी एउटा टार्गेट बनाएका हुन्छाैं, यो अवधिमा यस्तो काम गर्ने भनेर । तर, बैंकले हुन्छ भन्दै महिनौं झुलाउने गर्छन् । त्यसले गर्दा अप्ठेरो हुन्छ । हामी त बैंकले ऋण दिन्छ भनेर ढुक्क हुन्छौँ, तर, बैंकले ढिलाइ गर्दा गाह्रो हुन्छ । ऋण दिन्छाैं भनेर ठिक्क पारेका बैंकले पनि हामीलाई अन्तिम समयमा धोका दिएका पर्याप्त उदाहरण छन् । ऋण नदिएपछि प्रक्रिया सुरु भएका बैंकलाई पनि हामीले बीचमा छाड्याैं । तिमीले दिँदैनाैं भने हामी अन्यत्र जान्छाैं भनेर पनि गयाैं । तर अब यसरी देश चल्दैन, बैंकले पनि बैंकिङ सिस्टम चलाउनुपर्छ । देशमा आर्थिक गतिविधि बढे, व्यापार बढ्यो भने न बैंक चल्ने हुन् । बैंकले ठूलो लगानी गर्छन्, त्यसैले गर्दा कम नाफामा पनि उनीहरु चल्न सक्नुपर्छ । ठूलो आकारको लगानी हुने हुँदा १–२ प्रतिशत नाफा लिँदा पनि बैंक चल्न सक्छन् । अप्ठेरो बेलामा उद्योगसँग बैंकले कम नाफा लिएर पनि काम गर्नुपर्छ।
यस्तो खालको व्यवहारले उद्यमशीलतामा चुनौती बढ्छ कि बढ्दैन ? अहिले उद्यमशीलताको सम्भावना कत्तिको छ ?
जुन क्षेत्रमा आफूले काम ग-यो, त्यसकै अनुभव बढी हुने रहेछ । सामान्य रुपमा मैले पर्यटनमा सम्भावना देखेको छु । छिमेकी मुलुक भारत र चीनका उद्योगले गर्ने उत्पादनसँग प्रतिस्पर्धा गर्न हामीलाई निकै नै कठिन छ । ती मुलुकले ठूलो आकारमा उत्पादन क्षमता राख्छन्, धेरै उत्पादन गर्ने ती मुलुकका उद्योगसँग हामीले सानो आकारमा उत्पादन गरेर प्रतिस्पर्धा गर्न गाह्रो छ । धेरै उत्पादन गर्ने ती मुलुक नेपालमा सानो आकारमा बिक्री गर्दा पनि चल्न सक्छन् । तर, हामीले छिमेकी मुलुकको ठूलो उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । हाम्रो बजार अझै सानो छ ।
उद्यमशीलताका कुरा गर्दा हामीकहाँ परम्परागत कृषिबाट मात्र सम्भव छैन, किनकि धेरै ठूलो जनशक्ति पलायन भइसकेको छ । कृषिमा फड्को मार्न सकिन्छ तर, निकै नै ठूलो प्रविधिमा फड्को मार्नुपर्छ । कृषिमा सम्भावना छ, तर, मिहिनेत धेरै नै छ । जलविद्युतमा पनि सम्भावना छ तर, जलविद्युतमा केही वर्ष मात्र सम्भावना छ । नयाँ सौर्यऊर्जा, आणविक भट्टीको सम्भावना बाहिर आएको छ, त्यसले जलविद्युतमा प्रभाव पार्न सक्छ । आणविक भट्टीमा सुरुमा ठूलो लगानी भए पनि धेरै उत्पादन दिने भएकोले अबको लगानीको सम्भावना त्यसमा पनि जान सक्छ । आणविक भट्टिका कारण जलविद्युतमा अबको १०–१५ पछि सम्भावना कम हुनसक्छ ।
नेपालमा आर्थिक नीति प्रतिस्पर्धी छ, तर सिन्डिकेट लाद्ने काम भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
यसमा सबैभन्दा ठूलो कुरा राष्ट्रिय भावना जोडिन्छ । राष्ट्रिय भावना भएर देशका लागि केही गराैं भन्ने भावना हुनुपर्छ । त्यसपछि मैले मात्र होइन, सबैले गर्न पाउनुपर्छ । मै लाउँ, मै खाउँ नभनी अरुले पनि लगाउन र खान पाउनुपर्छ भन्ने सोचको विकास हुनुपर्छ । मैले होटल खोलेँ, अरु यही सरहको होटलको भन्दा मूल्य कम गरिदिने हो भने त्यसले अरुलाई मार पर्छ, उनीहरु पनि चल्न सक्ने हुनुपर्छ । अरुलाई बाधा पार्नुहुँदैन । मैले अरु पनि चल्न पाउनुपर्छ, सक्नुपर्छ, कमाइ खान पाउनुपर्छ भनेर अरुका लागि पनि सोच्नुपर्छ । मैले पनि गर्नुपर्छ, अरुले पनि गर्नुपर्छ, सबैले गर्नुपर्छ भन्ने भावना विकास हुनुपर्छ ।
कठिनका साथ अघि बढ्दा तपाईको उद्यम छोटो अवधिमा पनि निकै नै फस्टायो । के यसमा काम गर्ने शैलीले पनि फरक पार्छ ?
मलाई लाग्छ, काम गर्ने शैलीले पनि उद्यमको विकासमा फरक पार्छ । म आफूलाई अलि नरम र मिजास भन्छु तर, अरु देख्नेले के भन्छन् त्यो उनीहरुको कुरा हो । अरुले आफैंले आफैंलाई भन्ने गरेका छन् कि, कि म कडा हुँदा बिग्रियो तर, तपाई नरम हुनाले सप्रियो भनेर भन्छन् । केही साथीहरुले मलाई आफ्नो स्वरुप कडा हुँदा व्यवहार बिग्रेको गुनासो सुनाउँछन् । तर, उनै साथीहरु मलाई भने नरम स्वभावका कारण पनि मेरो व्यवसाय फस्टाएको भन्छन् । मेरो नरमपना मेरा लागि प्रकृतिले दिएको सम्पत्ति पनि हो कि जस्तो लाग्छ ।
नेपालमा कर्पाेरेट कल्चर कुन रुपमा अघि बढिरहेको छ ?
नेपालमा कर्पाेरेट कल्चर अझै विकास भएको छैन । त्यो संस्कार विकास हुन अझै केही समय लाग्छ । मेरा एकजना विद्यार्थी यहाँका धनाढ्यका छोरा थिए, उनलाई बाउले व्यापार गर्नै दिएनन् र ती छोरा विदेश पलायन भए । छोरालाई बाउले व्यापार हस्तान्तरण गरेनन् । कर्पाेरेट कल्चर विकास हुँदा परिवारका सबै सदस्य मिल्नुपर्छ । परिवारमा एकअर्कासँग मिल्ने र एकले अर्काको कुरा सुन्नुपर्छ । मेरै कुरा ठिक हो, मैले भनेको ठिक भन्ने हो भने त्यो सुधार गर्नुपर्छ । व्यापार व्यवसाय नयाँ पुस्तालाई हस्तान्तरण गर्न जान्नुपर्छ । त्यस्तो संस्कार अझै विकास हुन सकेको छैन, तर, सुधारोन्मुख देखिन्छ ।
तपाईको दैनिकी, बानी व्यहोरा, धर्मकर्म, कसरी चलेको छ ?
म सामान्य मान्छे हुँ, मेरो विशेष खाना केही छैन । म धर्मकर्म उतिसारो मान्दिनँ, म आफूलाई नास्तिक भन्छु, तर, अरुलाई सम्मान गर्छु । घर परिवारमा सबै आस्तिक छन्, उनीहरु पूजापाठ गर्छन्, तर म गर्दिन । मन्दिर जान्छु, बालबच्चासँग रमाउँछु तर पूजा गर्दिनँ, तर परिवारका सदस्यलाई पूर्णतया साथ दिन्छु । खानपिनमा ब्रेकफास्ट सामान्य हुन्छ, दिनमा सामान्य खाना र बेलुकी पनि साधारण खाना नै खान्छु । धर्मको कुरामा म हिन्दू हुँ ।
परिवारका सदस्य को–को हुनुहुन्छ ? उहाँहरु के गर्दै हुनुहुन्छ ?
मेरा दुईछोरा (विप्लव र वैभव) एक छोरी हुन् । दुई छोरा नै पर्यटन व्यवसायमा सहभागी छन् । छोरी विहाबारी पछि अमेरिका छिन् । छोराहरुले नै अहिले व्यापार पूर्णरूपमा धानेका छन् ।
भविष्यको योजना के छ ? उमेरको हिसाबले अब आराम गर्ने बेला भएन ?
यतिधेरै काम गरेँ, अब त थाकियो भन्ने चाहिँ हुने रहेछ, तर फेरि मनले नमान्ने रहेछ, काम गर्न मन लागिहाल्ने । कति तनाव लिने भन्ने हुने रहेछ, तर, मनले मान्दैन, अनि फेरि काम गर्न मन लाग्ने रहेछ । अप्ठेरो आउँदा विश्राम लिन मन लाग्ने, तर, फेरि काम गर्न पनि मन लाग्ने रहेछ । यो सोच्दा व्यापारमा विश्राम हुँदैन, उद्योगमा पनि हुँदो रहेनछ । त्यसैले हामीले पोखरा र चितवनपछि सराङकोटमा ३०, काठमाडौंमा १ सय र लुम्बिनीमा ५० कोठाका होटल खोल्ने योजना बनाएका छाैं । पोखरा र चितवनमा होटल चलिसकेका छन् ।
पोखराले पर्यटकीय सहरको साख जोगाउन के गर्नुपर्छ ?
पोखराले प्राकृतिक सुन्दरता जोगाउनुपर्छ । जस्तै फेवाताल जोगाउनुपर्छ । लेकसाइड त बिग्रियो नै । फेवाताल जोगाउन कुनै कसर बाँकी राख्नु भएन । अब योजनाबद्ध तरिकाले काम गर्नुपर्छ । डाँडाकाँडामा होटल बनाउने हो भने समथर मैदानलाई अरु काममा उपयोग गर्न सकिन्छ । छेउछाउँका डाँडा विकास हुने हो भने मान्छे पोखरा झर्दैनन् । समथर भूभागलाई बचाउनुपर्छ, समथर भूभागमा खेतीपाती गर्न सकिन्छ, डाँडाकाँडामा होटल खोल्ने हो भने सबै सन्तुलन हुन्छ ।
पोखरामा सफल भएको व्यापार अन्यत्र विस्तार गर्नुपर्ने कारण ?
मनले नमानेरै हो । यति सम्पत्ति भयो, अब त बेचेर खाए पनि पुग्छ भन्ने लाग्छ, अनि बेलाबेला छलफल पनि हुन्छ । तर, मनले मान्दैन फेरि गर्न मन लाग्छ । यो यात्रा यसैगरी चलेको छ । त्यही कारणले पनि व्यापार विस्तार भएको हो ।
पोखरा पर्यटकीय सहर, अनि प्रदेशको राजधानी । अहिलेको पर्यटक आगमनको हिसाबले हामी सन्तोषजनक अवस्थामा छाैं वा छैनाैं ?
पर्यटक आगमनको हिसाबले ठिक देखिए पनि हामी सन्तोषजनक अवस्थामा छैनाैं । किनकि पोखरालाई सस्तो गन्तव्यको रुपमा प्रचारबाजी गरियो, त्यो निकै नै दुःखलाग्दो भयो । विदेशीले पनि पोखरा सस्तो गन्तव्यको रुपमा बुझे, त्यसले गर्दा विदेशीले कम खर्च गरेका छन् । हामीले आफ्नो चिजको मूल्य लिन सकेका छैनाैं । कतिपय पर्यटकलाई सुविधाभन्दा पनि मूल्यसँग सम्बन्ध छ तर, ती पर्यटक ल्याउन सकेनाैं । पूर्वाधारमा सडक, हवाईमार्ग महत्वपूर्ण छन् । यी दुवै पूर्वाधारमा लाजमर्दाे अवस्था छ । हवाईमार्ग पनि भरपर्दाे हुन सकेको छैन, घन्टाैं आकाशमा पर्खिन बाध्य हुन्छौँ ट्राफिक जाम भएर । त्यस्तै सडक मार्ग पनि भरपर्दाे छैन । यस्तो अवस्थामा पाहुना आउन गाह्रो छ । अनि आएका पाहुनालाई हामीले सेवा बेच्नै सकेका छैनौँ ।
प्रकाशित: २४ पुस २०७५ १४:५८ मंगलबार