१९ असार २०७७ शुक्रबार
अन्य

'मौलिकता नबिगारी संरक्षण गर्न लागिरहेका छौं'

जनप्रतिनिधि चुनिनुभएको २० महिना बितिसक्यो ? के–के काम गर्नुभयो ? 
जनताको आवश्यकतालाई मध्यनजर गरी काम गरिरहेका छौं। जनप्रतिनिधि भएर आउँदा वडामा कतै पनि व्यवस्थित ढल थिएन। जताततै ढल फुट्ने समस्या देखिन्थ्यो। निर्वाचित भएपछि ढल निर्माण तथा मर्मतलाई पहिलो प्राथमिकता दियौं। अहिले वडाको करिव दुई किलोमिटरभन्दा बढी सडकमा ढल बिछ्याएका छौं। चालू आवमा ढल विस्तार गर्न करिव तीन करोड रूपैयाँ विनियोजन गरेका छौं। वडा कार्यालयले पुरानो वस्तीमा ढुंगा छाप्ने, खानेपानीको पाइप बिछ्याउने लगायतलाई प्राथमिकता दिएको छ। 

तपाईँको वडामा खानेपानीको समस्या कस्तो छ ?
वडामा माग अनुसार खानेपानी आपूर्ति गर्न सकिएको छैन। जसले गर्दा वडावासीलाई समस्या देखिएको छ। त्यसैले अहिले वडामा खानेपानीको पाइप धमाधम बिछ्याइरहेका छौं। अहिले नयाँ वस्तीमा खानेपानीको पाइप बिछ्याइरहेका छौं। 

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ ?
२०७२ सालको भूकम्पले वडाका करिब ७० घर पूर्ण क्षति भएका थिए। जसमध्ये ६० प्रतिशत घर तयार भइसके। अधिकांश भूकम्पपीडितको घर बनिरहेको छ। जग्गा विवादले एक भूकम्पपीडितले घर बनाउन सकेका छैनन्। दुई भूकम्पपीडितले भने पहिलो किस्ता वापतको रकम फिर्ता गर्ने तयारी गरिरहेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताले भूकम्पपीडितले अहिलेसम्म राहत रकम पाउन सकिरहेका छैनन्।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड रूपैयाँ बजेट विनियोजन भएको थियो। जसबाट १३ योजना अघि सारेका थियौं। तीमध्ये सबै योजना सम्पन्न भइसकेका छन्। वडा कार्यालयले ढल, सडक, कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर खर्च गरेका थियौं। बजेट न्यून भएकाले वडाको विकास पूर्वाधार निर्माणमा समस्या देखिएको हो। 

चालू आर्थिक वर्षको लागि पनि एक करोड ६५ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ। वडा कार्यालयले खानेपानी, पूर्वाधारलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ। 

सार्वजनिक जग्गा कसरी संरक्षण गर्दै हुुनुहुन्छ ?
वडामा करिव चार सय ५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा छ। तीमध्ये निलबराही जंगल करिव तीन सय ९० रोपनीमा फैलिएको छ। यहाँका सार्वजनिक जग्गा अतिक्रमणमा परेका छन्। वडा कार्यालयले सार्वजनिक जग्गा संरक्षणमा ध्यान दिइरहेको छ। 

तपाईँको वडामा आधा दर्जनभन्दा धेरै पोखरी छन्, कसरी संरक्षण गरिरहनुभएको छ ? 
वडामा दुई सार्वजनिक पोखरी छन्। समयमा नै पोखरी संरक्षणमा ध्यान नदिँदा समस्या भएको हो। पहिला पोखरीमा भैंसी आहाल बस्थे। तर, अहिले  बस्ती बढेसँगै पोखरीको अस्तित्व नै धरापमा परेको छ। वडामा रहेको खोपला पोखरीको पनि संरक्षण गरिरहेका छौं। पोखरीले वरपरको पर्यावरण बचाउन सहयोग गरेको छ। वडा कार्यालयले वडामा रहेका पोखरी संरक्षण गरिरहेको छ। 

हनुमन्ते खोला अतिक्रमणकै कारणले वर्षायाममा डुबानको समस्या देखियो, डुबान नियन्त्रणको लागि कस्तो योजना अघि सार्नुभएको छ ?
हनुमन्ते खोला अतिक्रमण गरेर वस्ती बसालेका कारण नै वडामा डुबानको समस्या देखियो। डुबानको कारणले वडामा करिव एक सय घर प्रभावित भए। वर्षायाममा आएको डुबानले मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै नै भयो। केही समयअघिसम्म हनुमन्ते खोला सहज ढंगले बग्थ्यो। मानवीय अतिक्रमण बढेसँगै पोखरी जोखिममा परेको हो। अहिले जताततै कंक्रिट नै कंक्रिटको जंगलजस्तै भयो। खोलानाला वरपर जभाभावी ढंगले पर्खाल तथा अन्य संरचना निर्माण हुँदा ले गर्दा खोला स्वतन्त्रपूर्वक बग्न पाएन, यसले डुबानको समस्या भएको हो। नगरपालिकाले हनुमन्ते खोला आसपासमा अतिक्रमण गरे बनाइएका संरचना भत्काउने योजना बनाएका छौं। प्लास्टिक तथा गिटी–बालुवाले हनुमन्ते खोलाको गहिराई घट्यो। अहिले हनुमन्ते खोलाको वरपर २०–२० मिटर दायाँबायाँ छाडेर सडक बनाउन लागेका छौं। कोरिडोर बनेसँगै हनुमन्ते खोलाकै कारणले हुने डुबानको समस्या अन्त्य हुनेछ।

हनुमन्ते खोला प्रदूषित भइरहेको छ, यसको संरक्षणमा ध्यान नपुगेकै हो त ? 
मानव बस्ती बढेसँगै हनुमन्ते खोला प्रदूषित भइरहेको छ। सेफ्टी ट्यांकी सोझै खोलामा मिसाउने गरेकाले पनि प्रदूषण बढेको हो। अहिले साताको दुई पटक (बुधबार र शनिबार) ‘हनुमन्ते खोला सरसफाइ अभियान’ सञ्चालन गरिरहेका छौं। मुहान नै सफा नगरेसम्म जनस्तरबाट गरिने सरसफाइबाट धेरै परिवर्तन नआउने रहेछ। त्यसैले विभिन्न निकायसँग समन्वय गरेर हनुमन्ते खोलामा ट्रिटमेन्ट प्लान्ट राखेर सरसफाइ गर्ने तयारीमा जुटेका छौं।

तपाईँको वडामा सडकको हालत कस्तो छ ?
वडामा रहेका अधिकांश सडक भत्किएका छन्। समयमा मर्मतसम्भार नगर्दा सडक लथालिंग अवस्थाबाट गुज्रिएको छ।  अहिले वडा कार्यालयले धमाधम ढल बिछ्याइरहेको छ। अबको केही समयमै वडाका मुख्य सडक कालोपत्रे गर्ने योजना अघि सारेका छौं। साढे तीन वर्षमा वडाका करिव ५० प्रतिशत सडक कालोपत्रे गर्ने योजना बनाएका छौं। बाँकी रहेका पुराना बस्तीमा कालोपत्रेभन्दा ढुंगा छाप्ने योजना बनाएका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
मेरो वडामा प्राचीन र आधुनिक गरी दुई खाले बस्ती छन्। प्राचीन बस्तीका ऐतिहासिक सम्पदाहरूको मौलिकता नबिगारी संरक्षण गर्न लागिरहेका छौं। आधुनिक बस्तीमा अत्याधुनिक सेवासहितको बस्ती बसाल्न लागिरहेका छौं।

प्रस्तुति : हिमाल लम्साल 

प्रकाशित: १६ पुस २०७५ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App