९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

स्टाइलिस उलन वेयर

काठमाडौंमा चिसो बढिरहेको छ। कपडा पसल न्यायो लुगाले भरिभराउ देखिन्छन्। जाडो मौसममा पश्मिना, कटन र उलनका लुगाहरू चल्तीमा रहेको व्यापारी बताउँछन्।  सवाह नेपालले चिसोमा विभिन्न डिजाइनका स्टाइलिस उलन ड्रेसहरू बजारमा ल्याइसकेको छ। पछिल्लो समय विभिन्न रंगका उलन कपडाहरूको फेसन चलेको व्यापारी बताउँछन्। 
भैँसेपाटीका रिकेश डंगोल ठमेलस्थित ट्रेडिसनल क्राफ्टबाट उलनको बाक्लो स्विटर किनिरहेका थिए। कालोे र सेतो धागोले बुनिएको हेन्ड मेड स्विटर उनको रोजाइमा पर्‍यो। ‘स्वदेशी उत्पादनसँगै स्टाइलिस पनि भएकाले उलनको स्विटर किनेको हुँ,’ उनले भने। 

चिसो मौसम होस् वा गर्मी, मौसम अनुसारका लुगाकपडाको माग बढिरहेको अनुभव सुनाउँछन्, सवाह नेपालका रविविक्रम शाह। ‘चिसो सिजनमा उलनबाट बनेका सामग्रीको निकै डिमान्ड हुन्छ,’ उनी भन्छन्। सवाह नेपालले चिसो मौसमका लागि विभिन्न डिजाइनका लुगा तयार पारेको उनले सुनाए। 

चल्तीमा रहेका उलन वेयरहरू 

चिसो मौसममा उलन वेयरहरूको माग बढेको पाइन्छ। समय अनुसार फेसन गर्नेहरूलाई पनि स्टाइलिस बन्न चिसो मौसमले समेत छेक्न सक्दैन। शरीरलाई न्यानो राख्ने मात्र नभएर फेसनेबल देखिन चाहने जमातको रोजाइमा पर्न सफल भएको छ उलन वेयरहरू। चल्तीमा रहेका केही उलन वेयरहरू।

लेग एन्ड हेन्ड वार्मर
लेग वार्मर, हेन्ड वार्मर हात र खुट्टालाई न्यानो बनाउन प्रयोग गरिन्छ। उनबाट हातले नै बुनेर तयार पारिएको वार्मरहरूको माग निकै रहेको व्यापारी बताउँछन्। कुर्कुच्चादेखि घुँडासम्म लगाउन मिल्ने लेग वार्मर विशेष पाइन्ट, लेगिञ्जको बाहिरपट्टि लगाइन्छ। हेन्ड वार्मर भने हातको नारीदेखि कुहिनासम्म वा त्योभन्दा छोटो पनि हुन सक्छ। पञ्जा लगाउन झन्झट मान्नेहरूले विशेष हेन्ड वार्मर प्रयोग गर्ने रविविक्रम बताउँछन्। सामान्यतया यसको मूल्य एक सय ५० रूपैयाँबाट सुरु हुन्छ। यो विभिन्न साइज र कलरमा पाइन्छ। 

उलन चोली 
केही वर्षअघिसम्म तुने चोली पाका महिलाहरूले मात्रै लगाउने गर्थे। अहिले भने तन्नेरीले पनि तुने चोली लगाउने गर्छन्। ठमेलका पसलहरूमा थरिथरिका बुट्टे चोली डिजाइनका उलन स्विटरहरू देख्न सकिन्छ। तन्नेरी महिलाहरूले तुने चोलीको डिजाइन मनपराएको व्यापारी बताउँछन्। उनीहरूका अनुसार चौबन्धी चोलीको डिजाइनको उलन चोली चल्तीमा छ।

सोह्रखुट्टेस्थित क्लोथिङ इन नेपालका सञ्चालक हरिबहादुर तामाङ उलनका स्विटरको माग बढिरहेको बताउँछन्। उनले सात वर्षदेखि स्विटर उत्पादन गरिरहेका छन्। 

‘सुरुमा बाहिरी देशमा सामान पठाउँथें। अहिले नेपालमा खपत भएको छ,’ उनी भन्छन्। देश अनुसारको साइज र डिजाइन फरक हुने उनको भनाइ छ। ‘विदेशमा ठूलो साइजको खपत हुन्छ भने नेपालमा सानो,’ उनले भने। चिसो मौसममा उलनको स्विटर र हुडी बनाउन भ्याइनभ्याइ हुने गरेको उनी बताउँछन्।

टोपी/मफलर 
चिसोबाट जोगाउन टोपी तथा मफलर पनि आवश्यक हुन्छ। बजारमा बजारमा थरीथरी डिजाइन र रंगका मफलर र टोपीका कलेक्सन देख्न सकिन्छ। टाउकोलाई चिसो स्याँठबाट बचाउन टोपी प्रयोग गरिन्छ। घाँटीलाई न्यानो बनाउन मफलर लगाउन सकिन्छ। उलनबाट तयार पारिएको टोपी र मफलरको माग बढेको व्यापारी बताउछँन्। उनीहरूका अनुसार उलनका टोपी न्यानो हुन्छन्। सामान्यतया उलनको बाक्लो टोपीको सात सय रूपैयाँसम्म पर्ने ट्रेडिसनल क्राफ्टका सञ्चालक लक्ष्मीप्रसाद अर्याल बताउँछन्। दुई चुल्ठी भएको डिजाइनको उलनको टोपी रुचाइएको उनको भनाइ छ। 

उलन पञ्चु
बजारमा विभिन्न डिजाइनका पञ्चु पाइन्छन्। साना नानीदेखि पाका उमेरका महिलासम्मका लागि हुने खालका पञ्चु देख्न सकिन्छ। हातले नै बुनेको पञ्चु विदेशमा पठाउने गरेको व्यापारी लक्ष्मीप्रसाद बताउँछन्। उनको धागोबाट बुनेको पञ्चु आरामदायी भएकाले माग बढेको व्यापारीको भनाइ छ। 

मजेत्रोको सट्टा पञ्चु प्रयोग गरिने व्यापारी बताउँछन्। यसको आकार त्रिकोणात्मक हुन्छ। बाइक तथा स्कुटर चलाउनेहरूका लागि सहज हुने भएकाले यसको माग बढेको व्यापारी बताउँछन्। 
रानीबुँ बस्ने गौरी नेपालीले पञ्चु लगाउँछिन्। उनी अहिले उलनको पञ्चु लगाउने गरेकी छन्। ‘शरीरलाई चिसो सिरेटोबाट जोगाउन पञ्चु लगाउन थालेकी हुँ,’ उनले भनिन्, ‘अरुभन्दा उलनको नै न्यानो हुने भएकाले यो प्रयोग गरेकी हुँ।’ 

आफूलाई लामो मजेत्रो ओढ्न झन्झट लाग्ने उनले सुनाइन्। पञ्चु लगाउन थालेपछि मफलर ओढ्न नपरेको उनी बताउँछिन्। ‘स्कुटर चलाउँदा पञ्चु सहज हुन्छ। अल्झिएला भन्ने चिन्ता पनि हुँदैन। शरीर पनि न्यानो हुन्छ,’ उनले भनिन्। 

 

प्रकाशित: १६ पुस २०७५ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App