१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नयाँ दुलही परिवारमा कसरी समायोजित हुन्छिन् ?

विवाह दुई फरक परिवेशमा हुर्केका केटा र केटीले एउटै परिवार बनेर सहयात्रा आरम्भ गर्ने बिन्दु हो । नेपालको सामाजिक परिवेशअनुसार विवाहपछि दुलही दुलाहाको घर जानुपर्छ। आफू जन्मेहुर्केको परिवार छोडेर नयाँ परिवारमा समायोजित हुनुपर्ने भएकाले उनलाई सुरुमा असहज लाग्नु स्वाभाविकै हो । यसरी नयाँ परिवारको सदस्य बनेर जाँदा त्यहाँ घुलमिल हुन कसरी सहज हुन्छ भन्ने कुरामा दुलहीको आफ्नै, दुलाहाको, दुलाहाका परिवारको र दुलहीका माइतीको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसबारेमा आफ्नो ठाउँबाट कसले कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा चर्चा गरौँ । 

दुलहीको भूमिका 

आफ्नो जन्मघर छोडेर एकाएक नयाँ परिवारको सदस्य हुन जाँदा सुरुसुरुमा अलि बढी डर लाग्ने, अतास लाग्ने हुनु स्वाभाविकै हो । तर अब दुलाहाको परिवार नै आफ्नो परिवार हो भन्ने कुरा मनन गरेर दुलहीले कत्ति नहडबडाइकन र अतास नमानिकन काम गर्नुपर्छ । दुलाहाका अभिभावक अब आफ्नै अभिभावक हुन्छन् । उनीहरू दुलहीका गल्ती खोज्न पर्खेर बसेका हुँदैनन् बरु उनको धैर्यको भने अपेक्षा राख्दछन् । 

आजको समाज हिजोको जस्तो रुढिग्रस्त छैन । अहिलेका अभिभावकहरूको चेतनाको स्तर हिजोभन्दा धेरै माथि उठिसकेको छ । उनीहरू बुहारीलाई पनि छोरीजस्तै व्यवहार गर्ने भइसकेका छन् । शिक्षा, सूचना र प्रविधि हिजोआज अधिकांशको हातमा पुगिसकेको छ । आजका सासू–ससुरा आफैं आधुनिक भइसकेका छन् भने बुहारी पुस्तालाई आफूभन्दा परम्परावादी बनाउन पनि चाहन्नन् र बुहारीलाई नोकर्नीजस्तो बनाएर राख्न पनि चाहन्नन् । 

आजको परिवार हिजोको जस्तो ठूलो पनि प्रायः हुँदैन । बढीमा दुई तीन जनासम्म छोराछोरी हुने भएकाले बाबुआमाले छोराछोरीको महत्व बुझेका हुन्छन् । उनीहरूको खुसीमा नै आफ्नो खुसी देखेका हुन्छन् । त्यसैले बुहारीलाई हेला गर्ने मनसाय सासू–ससुराको हुँदैन । 

नयाँ बुहारीले बुझ्नुपर्ने कुरा के पनि होे भने उनी मात्रै बुहारी होइनन् । उनी बुहारी बनेर गएको समाजमा अरू पनि उनीजस्तै बुहारी बनेर गएका छन् । तिनीहरूको चालचलन देखेर पनि सासू–ससुराले आफ्नी बुहारी कस्ती हुने भन्ने कल्पना गरिरहेका हुन्छन् । आफूले संकोच नमानेर निर्धक्क भई काम गर्नुपर्छ, परिवारको माया पाउन गाह्रो हुँदैन । 

मानिसलाई खुसी पार्न अरू केही गर्नुपर्दैन, नम्रता देखाउने र सम्मान गर्ने गरे पुग्छ । आफूभन्दा ठूलालाई मर्यादाअनुसारको सम्मान गर्ने र सानालाई माया गर्ने गरेपछि परिवारका सबै जना खुसी हुन्छन् । मीठो बोली, नझर्केर काम गर्ने बानी, नम्रता र आफ्नो हो भन्ने भावना भयो भने नयाँ परिवारमा घुलमिल हुन खासै गाह्रो पर्दैन । भड्किलो र उत्ताउलोपन भन्दा सरलता र सादापन नै सबैलाई मन पर्छ । लवाइखवाइ, बोलीचाली र काम गराइमा सादापन देखाउन सकियो भने अरूको मन चाँडै जित्न सकिन्छ । हजुरआमा हजुरबुबा हुनुहुन्छ भने नजिक बसेर उहाँहरूका कुरा सुनिदिने, थोरै बोल्ने, धेरै सुन्ने र सबैलाई माया ममता दिने, साना केटाकेटीसँग नझर्किने, मायालु व्यवहार देखाउने, अरूका खुसीमा खुसी मिसाउने र दुःखमा दुःख मिसाउने गर्दा परिवार नयाँ भए पनि झन् रमाइलो वातावरण बन्न जान्छ । 

बेहुलाको भूमिका कस्तो हुनुपर्छ ?

हरेक दुलहीका लागि नयाँ घरमा सबैभन्दा नजिकको साथी दुलाहा नै हो । दुलहीले दुलाहासँग जति मन खोलेर कुरा गर्न सक्छिन् त्यति अरूसँग गर्न सक्दिनन् । तर दुलहीले खोल्न नचाहेका कुरा खोल्न दबाब भने दिनुहुँदैन । हिजोआज प्रायः दुलाहाहरू त दुलहीका मनोभावना बुझ्ने नै हुन्छन्, छैनन् भने पनि दुलाहाले आफ्नो स्वभाव परिवर्तन गर्नै पर्ने हुन्छ । अबदेखि जीवनका हरेक पाइलामा साथ दिने साथी श्रीमती नै हुन् भन्ने कुरालाई मनन गरेर उनका समस्यामा पनि श्रीमान्ले साथ दिनुपर्छ । परिवारमा दुलहीलाई सहज होस् भन्ने किसिमले दुलाहाले नै सहज वातावरण बनाउनुपर्छ । आफैं गरिहाल्छन् नि भन्ने सोचाइ दुलाहाले राख्नुहुँदैन र संकोच मान्न पनि हुँदैन । परिवारबाहेक पनि आफ्ना नातागोता, दाजुभाइ, दिदीबहिनी, छर–छिमेक सबैसँग परिचय गराउने र हेलमेल गर्ने वातावरण बनाइदिनुपर्छ । परिवारका रीतिरिवाज, चालचलन, खानपान, शिष्टाचारजस्ता हरेक कुरा बुझ्न–बुझाउन दुलाहाले दुलहीलाई सघाउनुपर्छ। 

अभिभावकको भूमिका 

असल अभिभावकले नयाँ बुहारी आउँदा घरमा लक्ष्मी भित्रिएको महसुस गर्छन् । वास्तवमा बुहारी कुलको प्रतिष्ठा हो । बुहारीको अनुहारमा खुसी छाउँदा कुलको प्रतिष्ठा उज्यालो हुन्छ, उनको अनुहारमा मलिनता छायो भने कुलको प्रतिष्ठामा बादल लाग्छ । धर्मशास्त्रको मान्यताअनुसार त कुलको उत्थान वा पतन कुलवधूबाटै हुन्छ । वंशको निरन्तरता पनि उनैबाट हुन्छ । अर्कै परिवारमा जन्मेहुर्केर आफ्नो कुललाई हराभरा पार्न आएकी बुहारीलाई अभिभावकले आफ्नै छोरीसमान व्यवहार गर्नुपर्छ । पारिवारिक वातावरण सहज बनाउन र नवदम्पतीको जीवन उल्लासमय बनाउनमा अभिभावकको भूमिका सर्वोपरि हुन्छ । अभिभावकले नयाँ बुहारीलाई दिने वातावरणअनुसार नै त्यस परिवारको भविष्य निर्धारण हुने हो । सुरुदेखि नै मायालु वातावरण दिने हो भने परिवारमा मायालु वातावरण बन्दै जान्छ भने रुखो व्यवहार भयो भने कटुता नै बढ्दै जान्छ । 

अभिभावकले कसरी सहज वातावरण बनाइदिने ?

सासू–ससुरा र श्रीमान्ले नयाँ दुलहीलाई सुखदुःख सबैसँग सेयर गर्न प्रेरित गर्नुपर्छ । तिमी हाम्रै परिवारको सदस्य हौ, अप्ठारो मान्नुपर्दैन है भनेर आडभरोसा दिँदा नयाँ बुहारीलाई ढुक्क हुन्छ । थाहा नभएका कुरा सोध्न प्रेरित गर्ने र सोधेका कुरा मायालु बोलीमा सिकाउने गर्नुपर्छ । कुनै कुरा सोध्दा यति पनि नजानेकी भन्ने किसिमले खिसी गर्नुहुँदैन । हिजोआजका छोरीहरू विवाहभन्दा पहिले प्रायः पढाइमा व्यस्त हुने भएकाले घरेलु काम नजानेका हुन सक्छन् । यो कुरालाई मनन गरेर अभिभावकले घरेलु कामकाज, शिष्टाचार र व्यावहारिक जीवनका कुनै पनि कुरामा झर्को नमानेर उनलाई सिकाउँदै जानुपर्छ । साना–साना नानीहरू छन् भने नयाँ सदस्य थपिँदा रमाइरहेका हुन्छन् । नयाँ बुहारीलाई उनीहरूसित रमाउने समय दिनुपर्छ । साना नानीहरूसँग खेल्ने, उनीहरूलाई माया गर्ने, बोल्ने, हाँस्ने, कुरा गर्ने गर्दा उनीहरू पनि खुसी हुन्छन्, दुलही पनि फेमिलियर हुँदै जान्छिन् । 

नयाँ बुहारीलाई परिवारमा घुलमिल बनाउनमा सबैभन्दा बढी सासूको भूमिका महत्वपूर्ण हुन्छ । खानपानका कुरा, के सामान कहाँ राख्ने भन्ने कुरा, इष्टमित्र र छरछिमेकसँगको व्यवहारका बारेमा बुहारीलाई सासूले नै सिकाउने हो । सासूले जस्तो सिकाउँछिन् बुहारी त्यस्तै गर्दै जान्छिन् । त्यसैले परिवारलाई संगठित र प्रतिष्ठित बनाउनका लागि सासूले बुहारीलाई झर्को नमानेर छोरीका रूपमा व्यवहार गर्नुपर्छ । 

परम्परागत रीतिरिवाज भव्यरूपमा मनाउने 

विवाह गर्दा चलिआएका रीति–रिवाजले दुलाहादुलही र परिवारलाई नजिक्याउने काम गरिरहेका हुन्छन् । विवाहमण्डपमा गरिने हरेक कर्म र दुलाहाको घर आएपछि गरिने कर्म परिवार र नयाँ दुलहीलाई नजिक्याउन केन्द्रित भएका देखिन्छन् । विवाहमण्डपमा गरिने कर्म दुलाहादुलहीलाई नजिक्याउने खालका छन् भने दुलाहाको घर आएपछि गरिने आरती फाल्ने, दुलही भिœयाउने, दिदीबहिनीले ढोका छेक्ने, मुख हेर्ने, सासूबुहारीले चुल्ठो जोर्ने, पाथी भर्ने जस्ता क्रियाकलापले दुलहीलाई परिवारमा घुलमिल हुन र परिवारका अन्य सदस्यलाई नयाँ सदस्यमा अपनत्व बढाउन मद्दत पु-याउँछन् । विवाहपछि गरिने चतुर्थी कर्म पनि यस्तै पारिवारिकता बढाउने कर्म हो । 

 प्रीतिभोज दुलहीलाई परिवारमा घुलमिल गराउने अर्को अवसर हो । भोजमा आउने नातागोता, इष्टमित्र र छरछिमेकीले दुलहीलाई आफन्तका रूपमा स्वागत गर्छन् र सुखमय जीवनका लागि शुभकामना दिन्छन् । यस कार्यले नववधूमा अबदेखि म यस परिवारको सदस्य भएँ भन्ने मानसिकता विकास गर्छ र नयाँ जीवनलाई उल्लासमय पनि बनाउँछ । भोजभतेरमा हुने आफन्तहरूको उपस्थितिले परिवारमा नै रमाइलो छाइरहेकै हुन्छ । त्यसमा दुलाहादुलहीलाई त झनै रमाइलो हुन्छ नै । विवाहका रीतिरिवाज गरिसकेर सबैसँगै बसी गरिने हाँसोठट्टाले नवदुलही र परिवारका बीच समीपता अझ बढाउँछ । 

हिजोआज हनिमुन मनाउन नवदम्पती रमाइलो ठाउँमा जाने पनि गर्छन् । यो नयाँ जोडीबीच सम्बन्ध बलियो बनाउने उत्तम अवसर हो । त्यस्तै बिहेको केही दिनपछि द्विरागमन (दुरान) फर्काउने काम हुन्छ । यस कार्यले माइतीपक्षको र बेहुलापक्षको सम्बन्ध अझ फराकिलो बन्दै जान्छ । 

माइतीको भूमिका 

छोरीलाई घर पठाउने बेला यो काम यसरी गर्नू भनेर अह्राउने कुरा त परम्पराबाटै चलेको कुरा हो । यसरी माइतमा बाबु–आमा, दिदी, भाउजूहरूले सिकाएको कुरा नववधूका लागि मार्गदर्शन बन्दछ । कससँग कस्तो शिष्टाचार गर्ने, कसलाई कसरी सेवा–सत्कार गर्ने भन्ने कुरा माइतीमै सिक्ने कुरा हो । माइती पक्षले दुलाहा पक्षकालाई उचित आदर सम्मान गर्ने, उनीहरूका पारिवारिक मर्यादा र रीतिस्थितिको सम्मान गर्ने, बेला–बेलामा भेटघाटको वातावरण मिलाउने, गच्छेअनुसार परम्पराको पालना गर्ने गर्नाले दुलहीलाई नयाँ परिवारमा समायोजन हुन सजिलो हुन्छ । 

विवाह दुलाहादुलहीको मात्र नभएर दुई परिवारको सम्बन्ध गाँस्ने अवसर हो । सम्बन्ध बलियो बनाउनमा दुलाहादुलहीको जति भूमिका हुन्छ त्यसभन्दा बढी उनीहरूका परिवारको हुन्छ । एक परिवारले अर्को परिवारलाई आदर र सम्मानको व्यवहार गरेर परिवारमा सुमधुर सम्बन्ध विकास गर्न सकिन्छ । नववधूलाई नयाँ परिवारमा समायोजन हुनका लागि पारिवारिक वातावरणकै भूमिका सर्वोपरि हुन्छ । 

प्रकाशित: २७ मंसिर २०७५ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App