१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बिहेअघि ध्यान दिनुपर्ने कुरा

हिजोआज बिहे र सम्बन्धका कुराहरु अधिकांशतः र प्राथमिक रुपमा फेसबुकमै सम्पन्न हुने गरेका छन् । भावि दम्पतिहरुले एकअर्कालाई त्यहीँ हेर्ने, उनीहरुका बारेमा जानकारी बटुल्ने, आफूसँग जोडा मिल्छ कि मिल्दैन भनेर चासो दिने कुरा फेसबुकबाट नै आँकलन गर्ने गरिन्छ ।

यसअघि बिहेका कुरा लमीले ल्याउँथे । हिजोआज आफन्तमार्फत् कुराकानी अघि बढ्न थालेको छ । जब आफन्तले बिहेका कुरा ल्याउँछन्, फेसबुकमार्फत् केटा वा केटीका बारेमा जानकारी बटुल्ने गर्न थालिएको छ । तर फेसबुक मात्र सम्पूर्ण सूचनाको केन्द्र होइन । त्यहाँ सबै किसिमका चारित्रिक प्रमाणपत्र पाइँदैन न त सूचना नै । कतिपयले त मानिसअनुसार विविध किसिमका फेसबुक आइडी बनाउने गरेका हुन्छन्, जसले भावि दम्पतिले आफूले सोचेजस्तो लायकको केटा वा केटी हो कि होइन भनेर ठम्याउन गाह्रो हुन्छ ।

एउटी दुलही जब परिवार छाडेर नयाँ घरमा पुग्छे, उसका चासाे र चिन्ता फरक हुन्छन्। उसका सासु-ससुरा हुन्, नन्द-देवर हुन्, जेठाजु-जेठानी सबैका अाफ्ना चासाे र सराेकार हुन्छन्। त्यस्ता चासाे र सराेकारलार्इ कसरी सम्बाेधन गर्ने ?

पछिल्लो समय अन्य देशमा बिहे–जासुसीको चलन बढ्न थालेको छ । भारतमै पनि यसको ठूलो व्यवसाय मौलाइसकेको छ । नेपालमा पनि आक्कलझुक्कल यसको प्रयोग गर्ने गरिएको छ ।

हालै भारतमा आएको एउटा समाचारअनुसार केटाले केटी वा केटीले केटाका बारेमा मात्र नभई एउटा परिवारले अर्को परिवारका बारेमा समेत जासुसी गर्न थालिएको छ । 

बढ्दो आर्थिक भार, बढ्दो पारपाचुके लगायतका समस्याका कारण दुलाहा वा दुलहीले एकअर्काका बारेमा सामाजिक, आर्थिक र अन्यान्य जानकारी बटुल्न चाहन्छन् । बढ्दो भ्रष्टाचार र जेल सजायका घटनाका कारण पनि हुनेवाला पति वा पत्नी कुनै अवैध कार्य, धन्दा वा अन्य कुरामा जोडिएका छन् कि भनेर चासो दिनका लागि बिहे–जासुसी आवश्यक पर्न थालेको हो ।

केटीका बारे के जान्न चाहन्छन् ?

- केटाहरु केटीको कतै अन्यसँग प्रेम सम्बन्ध त छैन भनी बुझ्न चाहन्छन् । जसका कारण अधिकांश केटाहरु केटीको फेसबुक आइडीको पासवर्ड माग्न चाहन्छन् र च्याट हिस्ट्री हेर्न चाहन्छन् ।

- घरको कामकाज ठीकसँग गर्न सक्छन् कि सक्तैनन् ? रिसाउने बानी कस्तो छ भनी जान्न चाहन्छन् ।

- खर्च गर्ने बानी व्यहोरा कस्तो छ ? बढी सपिङ गर्ने बानी पो छ कि ?

- अनलाइन च्याटिङ हिस्ट्री, सोसल नेटवर्किङ साइटहरुमा केटीका स्टाटस अपडेट, तस्बिरहरु कस्ता छन् ?

- पार्टीमा जाँदा कस्ता साथी छनोट गर्छे ? चुरोट–रक्सी वा लागू औषधको लत पो छ कि ?

केटाका बारे के जान्न चाहन्छन् ?

- केटाको अफिसमा कस्तो मानसम्मान छ ? तलब कति थाप्छ ?

- उसको कसैसँग प्रेम सम्बन्ध छ कि ? चरित्र कस्तो छ केटाको ?

- केटाका साथीभाइ कस्ता छन् ? चुरोट–रक्सी तथा लागू औषधको लत त छैन ?

- कति खुला दिल र मस्तिष्कको छ ?

- ऋणपान कस्तो छ ? सम्पत्ति कत्तिको छ ? हिनामिना केसमा फँसेको त छैन ?

- करियरका बारेमा कत्तिको गम्भीर छ ?

- आमाबाबुको भनाइमा लाग्छ कि आफ्नो स्वतन्त्र निर्णय गर्न सक्षम छ ?

- केटाले आफ्नो आम्दानी कसरी खर्च गर्छ ? सबै आम्दानी घरमा बुझाउँछ कि भविष्यका लागि भनेर साँच्ने पनि गर्छ?

- केटाका भाइबहिनी कति छन् ? तिनको स्वभाव कस्तो छ ?

बुहारी सासूका बारेमा के जान्न चाहन्छन् ?

- भावि सासूको स्वभाव कस्तो छ ? बढी रिसाउने, बिना कारण कराउने र ज्यादा अन्धविश्वासी त छैन ?

- घरमा सासूले मात्र भनेको चल्छ कि अरु कसैको ?

- सासूको सोच कत्तिको खुला छ ?

- सासूलाई सपिङ गर्न कत्तिको मनपर्छ ?

- घरको कामकाज आफैँ गर्छिन् कि अरुलाई गराउँछिन् ?

सासूले भावि बुहारीबारे के जान्न चाहन्छन् ?

- भावि बुहारी कत्तिको नियन्त्रणमा हुन्छे ?

- बढी बोल्ने त छैन ?

- बढ्ता खुला विचारकी त छैन ?

- कतै बढी खर्चालु त छैन ?

- घरको काम कत्तिको गर्न सक्छे ?

- बढ्ता करियरलाई मरिहत्ते गर्ने किसिमकी पो छ कि ?

विज्ञहरु के भन्छन् ?

पहिलाको बिहे हुँदा धेरैजसो कुरा लमीमा भर पथ्र्यो । कतिपय अवस्थामा घरपरिवार नै संलग्न हुन्थ्यो । हिजोआज फेसबुक र यस्तै अन्य सामाजिक सञ्जालमार्फत् भेट हुने, कुरा अघि बढ्ने, परिवारले स्वीकृति वा अस्वीकृति दिनेजस्ता क्रियाकलाप बढ्न थालेकाले र त्यहाँबाट आउने सूचना वा जानकारी उति भर पर्दो नहुनाले हिजोआजका बिहे अलि पेचिलो बन्दै जान थालेको छ । यस्तो अवस्थामा ‘बिहे–जासुसी’को क्रम बढेर गएको छ ।

खासगरी पारपाचुकेको दर अत्यन्त बढिरहेको अवस्थामा ‘बिहे–जासुसी’को क्रम बढेको हो । हुन पनि बिहेजस्तो महत्वपूर्ण निर्णय आँखा चिम्लेर गर्न सकिँदैन ।

शिक्षाको स्तर बढ्नुका साथै सर्वसाधारणमा जागरुकता बढेको छ । यस्तोमा बिहेजस्तो महङ्खवपूर्ण निर्णय गर्दा उचित जीवनसाथी फेला परोस् र यो सम्बन्ध जीवनभर टिकाउ होस् भन्ने चाहना सबैको छ । 

बिहे–जासुसीमा कम्पनीहरुले चरित्र, अफेयर, आर्थिक अवस्था, विगतका बिहे–पारपाचुके, स्वास्थ्यको अवस्था, मानसिक डिसअर्डर, आपराधिक पृष्ठभूमि, शिक्षा, करियर, खराब लत आदिका बारेमा जानकारी लिइन्छ । यस्तो जासुसीमा कतिपयले एचआइभी र अन्य गोप्य कुराका पनि माग गर्दछन् । र, जासुसी कम्पनीले ती जानकारी उपलब्ध गराउने गर्छन् ।

नेपालमा भने यस्ता कम्पनी भएको दाबी गरे पनि तिनले खुला रुपमा यस्तो सेवा दिने गरेको पाइँदैन । कतिपय वेडिङ एजेन्सीले यस्ता कामको जिम्मा लिए पनि गहिरो गरी शोध–अनुसन्धान गर्ने गरेको पाइँदैन ।

प्रकाशित: २४ मंसिर २०७५ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App