नेपालमा रोजगारी छैन त्यसकारण विदेशमा काम गर्न जानुपर्छ भन्ने मानसिकता राख्ने धेरै युवाका लागि एउटा उदाहरण बनेका छन्, भक्तपुरका हरिशंकर कुलुजूको परिवार। उनको परिवारले मादल बनाएरै महिनामा ४०–५० हजार रूपैयाँ आम्दानी गर्ने गरेको छ।
कक्षा १० सम्म मात्रै अध्ययन गरेका ४७ वर्षका उनी भक्तपुर नगरपालिका ६ मुलाछेंमा परिवारसहित यही पेशामा रमाइरहेका छन्। उनको नौ जनाको परिवार छ। उनीहरू परिवारसहित आफनै घरको छिडीमै मादल बनाउने पेशामा रमाइरहेका छन्। साथसाथै पर्यटकीय क्षेत्र पाँंचतल्ले मन्दिर नजिकै विदेशी पर्यटकलाई वेच्न मादल पसल पनि थापिराखेका छन्। ‘सामान्यतया दिनमा दुई तीन हजारको व्यापार हुन्छ, उनले थपे, ‘त्यो कहिले शुन्य पनि हुन्छ, कहिले पाँंच सात हजार पनि।’
यही कामबाट उनको परिवार पालिएको छ। यो कामबाट उनी खुुसी छन्। ‘यो काम गरेर म सन्तुष्ट छु,’ उनले नागरिकसँग खुसी साट्दै भने, ‘यही काम गरेर मैले परिवार पालिरहेको छु। छोराछोरीलाई पढाइरहेको छु।’ उनी अहिले त्यही काम गरेर दुई छोरी र एक छोरालाई शिक्षादिक्षासहित घर व्यवहार चलाइराखेका छन्।
उनको परिवार सदस्यहरूले नौ बाजा बनाउँछन्। नौबाजा अन्तर्गत धिमे, पछिमा, नगरा, ढोलक, नायखिं, धाँ, कोखिंचा, ढाचा र पस्त्र (कोटा) छन्। उनका अनुसार यी बाजाहरूमध्ये सबैभन्दा महँगो धिमे हो। उनका अनुसार एउटा धिमेको मूल्य घटीमा १५ हजार रूपैयाँ पर्छ।
उनले बुबा–बाजेबाट यो काम सिकेका हुन्। बुबा–बाजेदेखिको परम्परागत पेशालाई आफूले व्यवसायिकता दिएको उनले बताए। पहिला बुबा हुँदा आफूले बुबाबाट यो काम सिकेको स्मरण गर्दै उनले आफना छोराछोरीहरूले पनि काम सिकिरहेको सुनाए।
बाजा बनाउँदै गर्दा उनले बजाउन पनि सिके। तर, धिमे बाजा बजाउन मनपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘म बाजा पनि बनाउँछु अनि बजाउँंछु पनि।’ पहिला बाजागाजा बजाउन पनि बाहिर निस्कने गरेको तर आजभोलि काममै व्यस्त हुने भएकाले बाहिर जान नपाएको उनले सुनाए।
धिमेका अन्य सामानहरू पनि एउटाको न्युनतम एक हजार पाँच सय पर्ने गरेको उनी सुनाउँछन्।
बाजागाजाका सामग्री बनाउन कच्चा पदार्थको मुख्य समस्या रहेको उनले बताए। खोजेको बेला कच्चा पदार्थ नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ। विशेष गरी छाला पाउन समस्या हुने गरेको उनले बताए।
उनले कच्चा पदार्थहरू भक्तपुरसँगै धादिङ, मकवानपुरबाट ल्याउने गरेका छन्।
प्रकाशित: १७ मंसिर २०७५ ०४:०८ सोमबार