२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

म्याद थपिन्छ, काम सकिँदैन

- ठेक्का सम्झौताअनुसार त्रिपुरेश्वर–नागढुंगा (१२.६ किलोमिटर)को सडक २०७४ पुस मसान्तभित्रै सडक निर्माण भइसक्नुपथ्र्याे। सडक निर्माणको सम्झौता सकिएको एक वर्ष पुग्न लाग्दा पनि सडक अधुरै छ। ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि अहिलेसम्म सडकको ५० प्रतिशत काम मात्रै सकिएको छ।

- चाबहिल–जोरपाटी–साँघु (१२.५ किलोमिटर) सडक २०७४ असोज मसान्तभित्रै सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो। तर, ठेकेदारको ढिलासुस्तीका कारण थप गरिएको एक वर्षमा उक्त सडक बन्न सकेन। ठेकेदार कम्पनीले हालसम्म करिव ४५ प्रतिशत मात्रै निर्माण सम्पन्न गरेका छन्। उपत्यका सडक विस्तार आयोजनाले दुवै सडकका ठेकेदार कम्पनीलाई दोस्रो पटक म्याद थप्ने प्रक्रिया अघि बढाइसकेको छ।

ठेकेदार कम्पनीको लापरवाही र सरकारी निकायले समयमै अवरोध हटाउन नसक्दा सडक निर्माण पूरा हुन सकेको छैन।

राजधानीका यी सडक निर्धारित समयमै निर्माण सम्पन्न हुन नसकेका केही प्रतिनिधिमूलक सडक हुन्। यी सडकमा दैनिक हजारौं सवारीसाधनको आउजाउ हुन्छन्। ठेकेदार कम्पनीको लापरवाही र सरकारी निकायले समयमै अवरोध हटाउन नसक्दा सडक निर्माण पूरा हुन सकेको छैन।

यी मात्र होइन, उपत्यकामा सुरु भएका धेरै विकास आयोजना ठेकेदारको लापरबाही र सरकारी निकायको ढिलासुस्तीका कारण एक दर्जनभन्दा धेरै आयोजना पछि धकेलिइरहेका छन्। सडक निर्माण पछि धकेलिँदा सर्वसाधारण र सवारीचालकले सास्ती भोगिरहेका छन्।

चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले राजधानी भित्रिने मुख्य प्रवेशद्वार लामो समयदेखि बन्न नसक्दा काठमाडौंकै बेइज्जत भएको बताउँछन्। ‘नागढुंगा–कंलकी उपत्यका भित्रिने मुख्य प्रवेशद्वार हो।जहाँ धुलाम्मे सहरको पहिचान बनाएको छ,’ उनले भने, ‘हिलाम्मे र धुलाम्मे सडकले राजधानी जस्तो सहरकै बेइज्जत भएको छ।’

उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले दुवै सडक खण्डका ठेकेदारले समयमा नै काम सम्पन्न नगरेकाले फेरि म्याद थप्ने प्रक्रिया अघि बढेको बताउँछन्। ‘गत साउन १० गते बसेको मन्त्रीपरिषद् बैठकले चालू आर्थिक वर्षमा उपलब्ध सडकमा कालोपत्रे गरेर ठेक्का टुंगाउन निर्देशन आएको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले नै चालू आवसम्म सक्ने म्याद दिएकाले नै हामीले ठेकेदारको म्याद थप गर्नको लागि सिफारिस गरेका छौं।’ सडक विभागले ठेकेदारको म्याद थप गर्ने या नगर्ने विषयमा भन्न नसकिने उनले बताए।

निर्धारित समयमा सडक निर्माण नगर्ने ठेकेदारलाई सडक विभागले कारवाही गर्नुको सट्टा म्याद थपेर उल्टै प्रोत्साहन गरिरहेको देखिन्छ। त्रिपुरेश्वर–नागढुंगा सडक र चाबहिल–साँखु सडक खण्डका ठेक्का सम्झौता अनुसार काम गर्न त सकेनन् नै। म्याद थप गरिएको एक वर्षसम्म अपेक्षाकृत प्रगति हासिल गर्न सकेका छैनन्। सडक विभागले समयमा नै काम नगर्ने ठेकेदारको कारवाही गर्नुको सट्टा फेरि म्याद थप गरेर पुरस्कृत गर्ने जमर्काे गरेको छ।

सार्वजनिक खरिद ऐन ०६३ मा समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का रद्द गर्न सक्ने प्रावधान छ। सडक विभागले भने त्यस्ता ठेकेदार कम्पनीलाई कारबाही अघि बढाउन सकेको छैन। ऐनअनुसार ठेकेदार कम्पनीका कारण समयमै तोकिएको काम सम्पन्न गर्न नसके ढिलाइ भएको दिनको गणना गरेर ०.०५ प्रतिशत हर्जना तिराउन सक्ने प्रावधान  छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले काम नगर्ने ठेकेदारलाई बारम्बार म्याद थप गरिदिने प्रवृत्ति गलत रहेको बताउँछन्। ‘निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई बारम्बार म्याद थप गर्नु गलत कार्य हो,’ उनले भने, ‘समयमा नै काम नगर्ने ठेकेदारलाई कारवाहीको सट्टा उल्टै पुरस्कृत गर्ने परिपाटी  छ।’ उनका अनुसार बिनातयारी ठेक्का प्रक्रिया अघि बढाउनु, निर्माण व्यवसायीको चरम लापरबाही र  ठेकेदारलाई बारम्बार म्याद थपिदिने प्रावधानले निर्धारित समयमा नै सडक बन्दैनन्।

‘चालू आवमै कालोपत्रे गर्छाै’
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कंलकी–नागढुंगा सडक खण्ड र चाबहिल–साँखु सडक चालू आर्थिक वर्षमै कालोपत्रे गर्ने जनाएको छ। प्रवक्ता श्रेष्ठले उपलब्ध चौडाई अनुसार कालोपत्रे गर्ने गरी काम अगाडि बढाएको बताए।

‘चाबहिल–साँघु सडकमा अहिले धमाधम सबग्रेड र ढल निकासको काम गरिरहेका छौं,’ उनले भने, ‘पुससम्म सवग्रेड तयार पारेर पहिलो लेयरको कालोपत्रे गर्ने तयारीमा जुटेका छौं।’

ठेकेदार कम्पनीलाई चालु आर्थिक वर्षको अन्त्यसम्म सडक तयार पार्न निर्देशन दिएको उनले बताए। ‘मन्त्रीपरिषद्को निर्णय अनुसार अहिले सडक निर्माणले गति लिएको छ,’ उनले भने, ‘मन्त्रीपरिषद्को बैंठकले विवादित क्षेत्रबाहेक अन्यत्र काम गर्ने बाटो खोलेकाले अव सहज ढंगले सडक निर्माण हुनेछ।’

क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले ठेकेदार कम्पनीलाई चालू आवको अन्त्यसम्म ती सडक कालोपत्रे गर्न निर्देशन दिएको बताए। ‘ठेकेदारले दुवै सडकमा कामको गति बढाइरहेका छन,’ उनले भने, ‘दुवै सडकमा सवग्रेड तयार पार्ने तथा ढल निर्माण गर्ने काम तीव्र गतिमा भइरहेको छ। त्यसैले चालू आवको अन्त्यसम्म दुवै सडक कालोपत्रे गरेर नै छाड्नेछौं।’

प्रकाशित: १४ मंसिर २०७५ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App