१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘चालिस कटेसी रमाउँला...’

निकै हतारमा देखिनुहुन्छ त !

असोज महिनाको तेश्रो साता साँझ चार बजे काठमाडौं, लाजिम्पाटस्थित करणको घरमा पुग्दा उनमा हडबडाहट बढी नै देखिन्थ्यो । भित्र विद्यात्री फोटोसुटका लागि मेकअपमा व्यस्त थिइन्, बाहिर करण उभिइरहेका थिए । 

देशकै ठूलो कर्पोरट हाउस चौधरी ग्रुपको सदस्य संस्था सिजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी र झापा विर्तामोडकी विद्यात्री पोखरेल तीन वर्षदेखि गहिरो प्रेममा थिए। त्यो तीन वर्षदेखिको प्रेम तीन महिना अघिमात्रै विवाहमा परिणत भयो। उनीहरु एकअर्कालाई निशर्त प्रेम गर्छन्। सम्बन्धलाई बलियो र स्वस्थ बनाउन उनीहरुसँग एउटा बलियो सूत्र छ–तीता कुरालाई भुलेर मीठा कुरामात्रै आत्मसात गर्ने।

‘हतारको त कुरै नगर्नुस्, अहिले ५ः४५ मा भिआइपी गेस्ट लिनलाई जसरी पनि एयरपोर्ट पुग्नु छ,’ यो जवाफमार्फत् कभर फोटोसुट र इन्टरभ्युको समयसीमा उनले सुरुमै तोकिदिए । 

उनले हामीलाई दिने समयबारे जानकारी गराइरहँदा हामीलाई भने उनले परिवारलाई दिने समयबारे जिज्ञासा भयो । अझ स्पष्टसँग भन्नुपर्दा, नवदुलहीलाई दिने समय ! 

‘मैले टाइम दिइनँ भन्ने उहाँको ठूलो कम्प्लेन हुने गरेको छ । म भने यही चिजलाई एउटा हिट नेपाली गीतसँग जोड्न चाहन्छु, चालीस कटेसी रमाउला ...,’ उनले समयको जिज्ञासा पनि रमाइलो पारामै मेटिदिए, ‘अहिले बिजनेसमा फोकस गरौँ भन्ने हो । अहिले नगरे कहिले गर्ने हो ? यो कुरा उनले पनि बुझेकी छन् ।’

एकछिनपछि विद्यात्रीलाई यसैबारे जिज्ञासा राख्दा उनी मुस्कुराइन् । त्यसपछि भन्न थालिन्, ‘उहाँको व्यस्ततालाई मैले बुझ्नुपर्ने हो । बिहे गरेको सुरुसुरुमा अपेक्षा त धेरै हुँदोरैछ तर जब म उहाँको अफिस जान थालेँ, उहाँले गरेको काम आँखैले देख्न थालेँ त्यसपछि बुझ्न थालेँ । वास्तवमा उहाँको काम हाम्रा साना अपेक्षाभन्दा ठूलो रहेछ ।’

तापनि उनलाई सकेसम्म ‘चालीस कटेसी रमाउने’भन्दा पनि अहिलेबाटै काम र रमाइलोलाई सँगसँगै लान पाए हुन्थ्यो भन्ने छ । भन्दै थिइन्, ‘मेरोतर्फको कोसिस भने यसैमा छ ।’

बिहे गरेको तीन महिना भइसक्दा पनि दुवैलाई पूरै बिहे गरेको अनुभव भएको रहेनछ । दुवैको कुरा सुन्दा लाग्थ्यो, उनीहरु अझै श्रीमान्–श्रीमती कम, प्रेमी–प्रेमिका ज्यादा हुन् । ‘हरेक दिन सँगसँगै भएपछि बिहे गरेको  फिल त भइहाल्छ तर मैले चाहेजति टाइम दिन नसकेको कारणले होला, बिहेको ‘एक्चुअल फिलिङ’आएकै छैन । अझ पनि मबिहान अफिस निस्कन्छु र राति घर ढिलै पुग्छु । फरक यत्ति हो,पहिले घर फर्कंदा एक्लै हुन्थेँ, अहिले घर फर्कंदा उनी हुन्छिन्,’ करणले भने । 

उता विद्यात्रीलाई पनि बिहे भएजस्तो महसुस अझै भएकै छैन । ‘साँच्चिकै बिहे भाको हो र भन्ने पनि लाग्छ ?’ करणकै कुरामा उनी थप्दै थिइन्, ‘मलाई त तीन महिना बितेको पनि पत्तै भएन । आफ्नै घरमा आएर बसेजस्तो लागेको छ । परिवार पनि बुझक्की हुनुहुन्छ । केही अप्ठेरो महसुस भएको छैन ।’

पहिलो भेट 

साढे तीनवर्षअघि ललितपुर जावलाखेलको हिमालयन जाभा कफी सपमा साथीहरुको सानो जमघट थियो । जहाँ करण र विद्यात्री पनि पुगेका थिए । पहिलोपल्ट उनीहरुको आँखा त्यहीँ जुध्यो । सायद त्यहाँ उनीहरुको आँखामात्रै जुधेन, मन पनि जुध्यो । 

त्यसैले त त्यो पहिलो भेट, पटक–पटकको भेटमा परिणत भयो । ‘सुरुमा १० जना भएर भेट्थ्यौँ भने त्यो घट्दैघट्दै हामी दुई जनामा परिणत भयो,’ करणले रमाइलो पारामा जवाफ दिए, ‘त्यसपछि त हामी तीन वर्ष भेटेको भेटै भयौँ । अनि त्यसपछि घरमा कुरा चलायौँ । इन्गेजमेन्ट ग-यौँ । अनि बिहे पनि भयो । अनि अहिले सँगै बस्छौँ ।’

छेउमा रहेकी विद्यात्री यो जवाफ सुनेर एकछिन मुस्कुराइन् । अनि बोलिन्, ‘हो, त्यसरी क्याजुल्ली नै भएको थियो ।’

देखभेट भएको तीन महिनापछि करणले विद्यात्रीलाई प्रेम प्रस्ताव राखे । तर कसरी ?

कारमै प्रेम प्रस्ताव

कल्पना गर्नुस् त, कुनै फिल्मको दृश्य । आफूलाई मनपर्ने मान्छे अर्थात् विद्यात्री फिल्म हेर्न हल पुगेकी हुन्छिन् । काममा बिजी भइरहेकै बेला करणलाई उनीसँग भेट्न मन लाग्छ। कार लिएर पुग्छन्, उनलाई पिकअप गर्न हलसम्मै । अनि सुरु हुन्छ कारभित्रै रोमान्टिक गफगाफ । 

गफैगफमा करणले विद्यात्रीलाई भन्दिए, ‘म तिमीलाई मनपराउँछु, तिमी मलाई मनपराउँछाँै ?’

प्रस्ताव सुनेर विद्यात्रीको अनुहार लाजले रातोपीरो हुन्छ । केही बोल्दिनन् उनी तर धेरै कुरा उनको मौनताले बोलिसकेको हुन्छ । तैपनि उनको मुखबाट केही जवाफ आओस्, यही अपेक्षा राख्दाराख्दै आइपुग्छ विद्यात्रीको ओर्लने समय । 

बिना जवाफ घर फर्कन्छन् करण । आठ घन्टापछि अर्थात् भोलि बिहान उनीहरुको फेरि भेट हुन्छ । अनि विद्यात्रीले भन्छिन्, ‘तिमीले हिजो सोधेको प्रश्नको जवाफ ‘यस’ हो है !’ 

त्यसपछि दुवै मुस्कुराउँछन् । वरिपरिको माहोल मुस्कुराउँछ । जहाँ मुस्कान हुन्छ, त्यहाँको वातावरण त्यसै प्रेमिल हुने नै भयो !

अब भन्नुस्, कुनै फिल्मको दृश्य भन्दा कम छ त उनीहरुको प्रेम प्रस्तावको कहानी ?

केले लोभ्यायो ?

विद्यात्रीले करणमा त्यस्तो के देखिन् र आठ घण्टा लगाएपछि प्रेम प्रस्ताव स्वीकार गरिन् ? जिज्ञासा राख्नासाथ विद्यात्रीको ओठमा मुस्कान छायो । गला अवरुद्ध भयो । ‘गाह्रो प्रश्न सोध्नुभयो,’ त्यसपछि उनले भनिन्, ‘चिनाजानी हुँदै गयो । भेट हुँदै गयो । विस्तारै मन पर्न थाल्यो । सबै नेचुरल्ली भयो जसरी अरु केटाकेटीको लभ पर्छ ।’

खासमा विद्यात्रीलाई करणको अनुशासित स्वभावले सबैभन्दा बढी लोभ्याएको रहेछ । भन्दै थिइन्, ‘उहाँ निकै अनुशासित हुनुहुन्छ । प्रस्ट हुनुहुन्छ । स्ट्रेट फर्वार्ड हुनुहुन्छ । डाउन टु अर्थ हुनुहुन्छ । अरु पनि धेरै क्वालिटी छन् जसले मलाई लोभ्यायो ।’

उता करणनले विद्यात्रीमा के देखेर प्रस्ताव राखे ? ‘सुन्दर त छँदैछिन् तर त्योभन्दा पनि बढी मलाई बुझ्ने खालकी छिन् । हरेक मान्छेले आफ्नो जोडी त्यस्तो खोज्छ, जसले उसलाई बुझोस् । उसको कमजोरीदेखि नभागोस्, बरु साथ दियोस् । कुल भएर रिएक्ट गरोस् । यो सब क्वालिटी मैले विद्यात्रीमा देखेँ र बिहे गरेँ ।’

करणलाई लाग्छ, विद्यात्रीलाई हँसाउन पनि आउँछ, रुवाउन पनि आउँछ, स्ट्रङ हेडेड पनि छ, हँसिलो पनि छ । भन्दै थिए, ‘त्यसैले त मलाई मनपर्छ । घरमा झगडै नहुने होइन तर म उसलाई सधैँ भन्छु झगडा हुनु भनेको रिलेसन अझै मजबुत हुनु हो, अझै अघि बढ्नु हो ।’

न डेटिङ, न हनिमुन 

पहिलोपल्ट डेटिङ बस्दाको क्षण याद छ ?करणलाई यसबारे जिज्ञासा राख्दा बडो अजिबको जवाफ आयो । ‘आजसम्म डेट भनेर कहीँ पनि गा’को छैन । म सामान्य भेटघाटलाई डेटिङ मान्दिनँ । डेट भनेपछि रोमान्टिक डिनर हुनुप-यो, माहोल त्यस्तै रामोन्टिक हुनुप-यो, जुन भाको छैन ।’

‘फुर्सद निमलेरै हो ?’

‘हो । न डेटिङ गयौँ, न हनिमुन जान पाएका छौँ । यहाँ फोटोसुटको टाइम मिलाउन त गाह्रो भयो, आफैँ भन्नुस् न हनिमुन कसरी जाने ? तर अब अँग्रेजी न्यु इयरतिर रारा जाउँ भन्ने सोच भने बनाएका छौँ, हेरौँ के हुन्छ !’ करणले भने । 

मोडलिङबाट समाजसेवा 

करणसँग प्रेममा हुनुअघि विद्यात्रीको रुची मोडलिङ थियो । -याम्प सोमा हिँड्थिन् । सौन्दर्य प्रतियोगितामा भाग लिन्थिन् । तर उनलाई अहिले त्यसमा रुचि छैन । भन्छिन्, ‘२०१३ तिर मैले मोडलिङ स्टार्ट गरेकी थिएँ, म बच्चै थिएँ । त्यो एज नै केही गरौँ भन्ने खालको हो । त्यसै गरियो । मैले बिहे नगरेको भएपनि त्यसलाई निरन्तता दिइरहन्थेँ भन्ने लाग्दैन । अहिले भने रुचि छैन ।’

अब उनको चाहना समाजसेवातिर छ । करणले आफ्नो कम्पनीको कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर)को जिम्मा उनलाई सुम्पिएका छन् । ‘मेरो ससुराको नाममा रहेको अरुण चौधरी फाउन्डेसनमा रहेर समाजसेवा गर्ने तयारीमा छु,’ विद्यात्रीले भनिन् । 

फेमिली प्लानिङ? 

फेमिली प्लानिङबारे करण–विद्यात्रीको के तयारी छ त ? सोध्नासाथ करणले यो प्रश्न विद्यात्रीतिर सोझ्याउन चाहे । भने, ‘बिहे भन्नासाथ बच्चा र त्यसपछि बच्चाको बिहे भन्ने कुरा आउँछ । यो निर्णय मैले उसको हातमा छोड्देको छु । बच्चा भएपछि सुरुका केही वर्ष बुबाभन्दा पनि बढी योगदान र त्याग आमाको हुन्छ । त्यसैले मैले यसको निर्णय गर्ने जिम्मा उसलाई दिएको हुँ ।’

उता विद्यात्रीले १–२ वर्षपछिमात्रै सन्तान जन्माउने सोच रहेको बताइन् । भनिन्, ‘निर्णय त दुवैले गर्ने हो तर पर्सनल्ली कस्तो फिल हुन्छ भने बच्चा जन्माएपछि चार–पाँच वर्ष नभइञ्जेल मैले पुरै समय दिनुपर्छ । आखिर हामीलाई पनि आमाबुबाले दिएकै हो । त्यसैले केही समय उहाँसँग (करण) टाइम बिताएपछि बच्चा जन्माउने सोच छ ।’

सम्बन्ध बलियो कसरी ? 

करणलाई लाग्छ, बिहे भनेको खेलाँची होइन तर धेरैले त्यस्तै सम्झिइरहेका छन् । बिहेको निर्णयमा पुग्नमात्रै विद्यात्री र उनलाई चार महिना लागेछ । ‘तर यहाँ कतिपयले बिहेलाई हल्का सम्झिएर गर्छन्, धेरै सोचेर गर्नुपर्ने निर्णय हो किनभने यो सिरियस अफेयर हो,’ उनले भने, ‘दुवैतिरबाट पर्याप्त सम्झौता हुनुपर्छ । सम्बन्धमा अडान हुनुहुन्न ।’

सम्बन्धलाई सुमधुर बनाउन पतिपत्नीबीच आवश्यक हुने सहकार्यलाई करण–विद्यात्रीले राम्रोसँग बुझेका छन् । ‘एकअर्काको सल्लाह नभई जिन्दगी कसरी चल्छ र ? तर म कहिल्यै पनि कामलाई घरमा ल्याउँदिनँ । त्यो राम्रो होइन । किनभने घर भनेको घरजस्तै हुनुपर्छ । घर आउँदा छुट्टै फिलिङ्स हुनैपर्छ,’ करणले भने ।

उता विद्यात्रीलाई पनि त्यस्तै लाग्छ । भन्दै थिइन्, ‘म करणको काममा इन्टरफेयर गर्दिनँ । चाहिने सरसल्लाह र सहकार्य त भइहाल्छ नै ।’

ठूलो घरानाको बुहारी बनेर आउँदा कस्तो महसुस हुने रहेछ त ? उनीसँग जिज्ञासा राख्दा सहजै जवाफ दिइन्, ‘फेमिली भनेको फेमिली नै हो । पाइलटको होस्, बिजनेसम्यानको होस् या डाक्टरको । फेमिलीलाई फेमिलीकै रुपमा नर्मल लिनुपर्छ । अरु मान्छेले के सोच्छन् भन्ने अर्कै कुरा हो तर मेरो लागि सहज छ । परिवारमा सबै बुझ्ने हुनुहुन्छ ।’ 

अचेल सम्बन्ध छुटेका, परिवार टुटेका घटनाहरु खुब सुनिन्छन् । त्यसैले सम्बन्ध बलियो बनाउनलाई  विद्यात्री के सूत्र अपनाउदै छन् ? विद्यात्री भन्दै थिइन्, ‘जे हुन्छ, त्यसलाई हुन दिने । मिस अन्डरस्ट्यान्डिङ होला, वादविवाद होला तर त्यसलाई ठूलो नबनाउने, बिर्सिदिने । नराम्रा पललाई बिर्सदै जाने, राम्रा पललाई सँगै र सजाएर राख्ने । त्यो भयो भने सम्बन्ध सधैँ बलियो हुन्छ । हामी त्यही प्रयासमा छौँ ।’

कस्तो कपल ? 

आफूहरुको जोडीलाई कस्तो जोडी भन्न रुचाउनुहुन्छ ?करणलाई यो प्रश्न सोध्नासाथ उनी एकछिन् अड्किए । भने, ‘मसँग यसको जवाफै छैन ।’ त्यसपछि फेरि मौन भए । अनि फेरि भने, ‘ट्रेडिसनल येट मोडर्न । परम्परालाई नछाडेको आधुनिक जोडी हौँ हामी । रीतिरिवाजको कुरामा परम्परागत छौँ तर त्यसैमा अड्किने पनि होइनौँ र नयाँ कुरालाई पनि अँगाल्ने मोडर्न पनि छौँ ।’

उता विद्यात्रीले यसको खास जवाफ आफूसँग नभएको बताइन् । तर भनिन्, ‘जोडीबीच माया र समझदारी सधैँ हुनुपर्छ । मुख्य कुरा यही हो ।’

प्रकाशित: २९ कार्तिक २०७५ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App