पौराणिक कथाहरूअनुसार महिषासुर नाम गरेको दानव थियो । उसका पिता रम्भ असुरहरूका राजा थिए । एकपटक जलमा रहने भैँसीसँग रम्भको प्रेम बस्यो र उनीहरूकै योगबाट महिषासुरको जन्म भयो । पुरूष र भैँसीको संयोगबाट जन्मिएकाले उसको नाम महिषासुर रहन गयो । त्यसैले आफ्नो इच्छाअनुसार उसले भैँसी र मान्छेको रूप धारण गर्न सक्थ्यो।
एकपटक उसले अमर हुने इच्छाले कठिन तपस्या गर्याे । उसको तपबाट ब्रह्मा प्रसन्न भए र इच्छा लागेको वर माग्न भने । महिषासुरले अमर हुने वर माग्यो । ब्रह्माले अमर हुने वर दिन मानेनन्– “कुनै पनि जीव जन्मेपछि मर्नैपर्छ । तिमी त्यसभन्दा अर्को कुनै वर माग ।” महिषासुरले केही समय सोच्यो र भन्यो– “मलाई देवता, असुर र मानवले मार्न नसकून् । कुनै स्त्रीको हातबाट मात्रै मेरो मृत्यु होस् । हजुरले मलाई यही आशीर्वाद दिनुहोस् ।” ब्रह्माले ‘तथास्तु’ भने।
वरदान पाएपछि महिषासुर सबै दैत्यहरूको राजा बन्यो । राजा बन्नेबित्तिकै उसले आफ्नो विशाल सेना प्रयोग गरेर पाताल र मृत्युलोकमाथि आक्रमण गरी आफ्नो अधिनमा लियो । देवताहरूको इन्द्रलोकलाई समेत जितेर आफ्नो नियन्त्रणमा लियो । ऊसँग युद्ध गर्दा देवताहरूलाई विष्णु र शिवले पनि साथ दिएका थिए, तर सबै मिलेर पनि उसलाई पराजय गर्न सकेनन् । यसरी महिषासुर सबै लोकको अधिपति बन्यो।
आफ्नो राज्य गुमेपछि देवताहरूले भगवान् शंकर र ब्रह्मालाई अगाडि लगाएर भगवान् विष्णुको शरण लिए र महिषासुरको आतंकबाट छुट्कारा पाउन दुर्गा महाशक्तिको आराधना गर्न अनुरोध गरे । त्यही प्रार्थना मान्दै विष्णु, ब्रह्मा र देवताहरूले समेत महिषासुरको वधका लागि आर्तस्वरमा प्रार्थना गरे । सबै देवताको शरीरबाट दिव्य तेज निस्केर एक परमसुन्दरी स्त्रीका रूपमा प्रकट भइन्।
भगवान् शंकरको तेजबाट देवीको मुख प्रकट भयो । यमराजको तेजबाट मस्तक, विष्णुको तेजबाट भुजाहरू, चन्द्रमाको तेजबाट स्तन, इन्द्रको तेजबाट कम्मर, वरूणको तेजबाट जाँघ, पृथ्वीको तेजबाट नितम्ब, ब्रह्माको तेजबाट चरण, ब्रह्माको तेजबाट खुट्टा, सूर्यको तेजबाट दुवै खुट्टा र हातका औँला, प्रजापतिको तेजबाट दाँत, अग्निको तेजबाट आँखा, सन्ध्याको तेजबाट आँखीभौँ, वायुको तेजबाट कान र अन्य देवताहरूको तेजबाट उनका भिन्नभिन्न अंग बने । दुर्गा उत्पन्न गरेपछि सबै देवताहरूले आफ्ना–आफ्ना हतियार उनलाई प्रदान गरे।
भगवान् शिवले त्रिशुल दिए । विष्णुले चक्र दिए । अन्य सबै देवताले अनेक प्रकारका शस्त्रअस्त्र दिए । हिमवानले भगवतीको सवारीका लागि सिंह दिए । दुर्गाले प्रसन्न भएर छिट्टै नै देवतालाई महिषासुरको भयबाट मुक्त गर्ने आश्वासन दिइन् । यता देवीको रूप देखेर महिषासुर उनीप्रति निकै आकर्षित हुन थाल्यो र दूत पठाएर विवाहको प्रस्ताव पठायो । महिषासुरको यस्तो व्यवहार देखेर देवी अत्यन्तै क्रोधित बनिन् र महिषासुरलाई युद्धका लागि बोलाइन् । उनले दूतमार्फत खबर पठाइन्– “या त पाताललोकमा गएर बस्, या आफ्नो मृत्युका लागि तयार बन्।”
अनेक भुजा भएकी र विशाल शरीरकी भगवती अस्त्रशस्त्रले सज्जित भएर सिंहमाथि बसी महिषासुरसँग युद्ध गर्न गइन् । उदग्र नामक महादैत्यले ६० हजार राक्षसहरू लिएर महिषासुरलाई सहयोग गर्याे। महानु नामक दैत्यले एक करोड, अशीलोमा नामक दैत्यले पाँच करोड र वास्कल नामक राक्षसले ६० लाख सैनिकसहित महिषासुरलाई सहयोग गरे।
देवताहरूले यस महायुद्धलाई कौतूहल हुँदै हेरिरहेका थिए । भगवती दुर्गाले हिमालयमा पुगेर अट्टहासपूर्वक घोर गर्जना गरिन् । महिषासुरका असुरहरूसँग उनको भयङ्कर युद्ध भयो । रणचण्डिका देवी दुर्गाले आफ्नो तलबारले केही समयमै सयौं असुरलाई मारिदिइन् । बिस्तारै सबै सेना मारिएपछि महिषासुरले बाध्य भएर देवीसँग युद्ध गर्याे । उसले नाना प्रकारका मायिक रूप धारण गरेर देवीलाई छलपूर्वक मार्ने प्रयास गर्याे । अन्त्यमा भगवतीले आफ्नो चक्रले महिषासुरको मस्तक काटिदिइन् र ऊ मर्याे। यही कारण हो दुर्गालाई ‘महिषासुर मर्दिनी’ भनिनुको।
उनैले मधु–कैटभ नाम गरेका दैत्यहरूको पनि वध गरेकी थिइन् । शुम्भ–निशुम्भको पनि उनैले वध गरेकी थिइन् ।
महिषासुरलाई मारेपछि सबै देवताहरूले उनको स्तुति गरे । भगवती दुर्गा उनीहरूलाई सधैँ सहयोग गर्ने आश्वासन दिएर अन्तरध्यान भइन्।
हिन्दूहरूको शाक्त सम्प्रदायमा ईश्वरलाई देवीका रूपमा पुजिन्छ । वेदहरूमा दुर्गाको व्यापक उल्लेख भएको पाइन्छ । उपनिषद्मा भने उमा हेमवती (उमा, हिमालयकी पुत्री) को वर्णन आउँछ । पुराणमा दुर्गालाई आदिशक्ति मानिएको छ, जसअनुसार दुर्गा शिवकी पत्नी आदिशक्तिकै एक रूप हो । शिवको त्यस पराशक्तिलाई प्रधान प्रकृति, गुणवती माया, बुद्धितत्वकी जननी तथा विकाररहित बताइएको छ । केन्द्रित भएपछि त्यो मायाशक्ति संयोगवश अनेक हुन्छ । त्यही आदिशक्ति देवीले नै सावित्री (ब्रह्माकी पहिली पत्नी), लक्ष्मी (विष्णुकी पत्नी), पार्वती या सती (शिवकी पत्नी) का रूपमा जन्म लिएकी हुन् । तीन रूप भएर पनि दुर्गा (आदि शक्ति) एकै हुन्।
दुर्गाका अन्य पनि कैयौं रूप छन्, तर उनको मुख्य रूप गौरी हो । गौरी अर्थात् शान्तमय, सुन्दर र गोरो रूप । उनको सबैभन्दा भयानक रूप काली हो । अर्थात् कालो रूप । उनका विभिन्न रूपहरू भारत र नेपालका कैयौं मन्दिर र तीर्थस्थानहरूमा पूजिन्छन् । केही मन्दिरमा त पशुबलि पनि दिने गरिन्छ । चैत्र र आश्विन शुक्लपक्षको पहिलो तिथिदेखि नवौं तिथिसम्म प्रत्येक दिन यिनै एक दुर्गाको अर्थात् नौ रूपको पूजा हुन्छ– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री।
नौ दिन व्रत बस्ने सम्बन्धमा एउटा पौराणिक कथा छ । जसअनुसार प्राचीनकालमा दुर्गम नामक राक्षसले कठोर तपस्या गरेर ब्रह्मालाई प्रसन्न ग¥यो । ब्रह्माबाट वरदान लिएर उसले चारै वेद र पुराणहरूलाई कब्जामा लिई कतै लुकाइदियो । जसका कारण पूरै संसारमा वैदिक कर्महरू बन्द भए । चारैतिर घोर अकाल लाग्यो । रुखबिरुवा सुक्न थाले । नदीनालामा पानी बग्न छाड्यो । चारैतिर हाहाकार मच्चियो । जीवजन्तु मर्न थाले । सृष्टिको विनाश हुन थाल्यो । सृष्टिलाई बचाउनका लागि देवताहरूले व्रत राखेर नौ दिनसम्म माता दुर्गाको आराधना गरे र सृष्टि बचाउनका लागि बिन्ती गरे । तब दुर्गा र असुर दुर्गमबीच घमासान युद्ध भयो । दुर्गाले दुर्गमको वध गरिन् र देवताहरूलाई निर्भय बनाइन्। त्यही बेलादेखि नवदुर्गा तथा नव व्रत प्रारम्भ भयो।
देवी दुर्गाका नौ रूप यसप्रकार छन्–
१. उनको पहिलो रूप शैलीपुत्रका नामले चिनिन्छ । पर्वतराज हिमालयका घरमा पुत्रीरूपमा उत्पन्न भएका कारण उनलाई शैलपुत्री भनिएको हो । नवरात्रको पहिलो दिन उनकै पूजा र उपासना गरिन्छ । यिनको वाहन भृषभ हो, त्यसैले वृषारुढा पनि भनिन्छ । यिनको दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल सुशोभित छ । यिनलाई सतीका नामले पनि चिनिन्छ । सतीका विषयमा एउटा मार्मिक कथा छ–
एकपटक दक्ष प्रजापतिले यज्ञ गरे । त्यसमा सबै देवता र विष्णुलाई निमन्त्रणा गरियो, तर शिवलाई बोलाइएन । सतीले आफ्ना पिताले यज्ञ गरेका र आफूहरूलाई नबोलाएको थाहा पाइन् । विशेषगरी आफ्ना पतिलाई नबोलाएकोमा चिन्तित बनेकी सती त्यहाँ जान चाहिन् । शिवले उनलाई त्यहाँ जानबाट रोक्न खोजे, तर उनले मानिनन् । उनको प्रबल आग्रह देखेर शिवले आज्ञा दिए।
यज्ञस्थलमा पुगेपछि उनका बुबा दक्ष प्रजापतिले शिवलाई तथानाम गाली गरे । उनको शिवप्रतिको अपमानजनक शब्दहरू सुनेर सतीलाई अत्यन्तै दुःख लाग्यो । त्यो अपमान उनले सहन सकिनन् र यज्ञको अग्निमा हामफालिन् ।
आफ्नी पत्नीले यज्ञाग्निमा प्राण त्यागेको सुनेर व्यथित भएका शिवले यज्ञमा विध्वंस उत्पन्न गराए र सतीको शरीर आफ्नो काँधमा बोकेर मृत शरीरका अङ्गहरू कुहिएर नझरुञ्जेल यात्रा गरिरहे । सतीका अङ्गहरू जहाँजहाँ खसे, त्यहीँत्यहीँ शक्तिपीठ स्थापित भए।
तिनै सती अर्को जन्ममा हिमालयकी छोरीका रूपमा जन्मिन् र शैलपुत्री कहलाइन् । उनको विवाह पनि शिवसँगै भयो । उनलाई पार्वती र हेमवती भनेर चिनिन्छ।
२. दुर्गाको दोस्रो रूप हो ब्रह्मचारिणी । ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने खालकी, अर्थात् तपको आचरण गर्ने खालकी । कठिन तपस्याका कारण उनलाई तपश्चारिणी अर्थात् ब्रह्मचारिणी नामले चिनियो । त्यसैले यिनको उपासना गर्नाले तप, त्याग, वैराग्य, सदाचार र संयममा वृद्धि हुन्छ।
पूर्वजन्ममा यिनले हिमालयको घरमा पुत्रीका रूपमा जन्म लिइन् र नारदको उपदेश सुनेर भगवान् शङ्करलाई पतिरूपमा पाउनका लागि घोर तपस्या गरिन् । एक हजार वर्षसम्म यिनले केवल फलफूल खाएर बिताइन् । सय वर्षसम्म केवल जमिनमा रही सागपात खाएर बिताइन् । केही दिनसम्म कठिन उपबास बसिन् र खुला आकाशमुनि वर्षा र घामको पीडा सहिन् । फेरि तीन हजार वर्षसम्म खसेका बेलपत्र खाएर शिवको आराधना गर्दै रहिन् । पछि उनले त्यो पनि खान छाडिन् र कैयौँ हजार वर्षसम्म निर्जल र निराहार रहेर तपस्या गर्दै रहिन् । पातहरू खान छाडेका कारण यिनको नाम अपर्णा रहन गयो।
यसरी कठिन तपस्या गरेपछि यिनको शरीर एकदमै क्षीण बन्यो । देवता, ऋषि, सिद्धगण, मुनि आदि सबैले यिनको तपस्यालाई अभूतपूर्वक पुण्यको काम भएको बताए र सराहना गरे । उनीहरूका अनुसार आजसम्म त्यति कठिन तपस्या कसैले पनि गरेको थिएन । उनीहरूले उनको मनोकामना पूरा हुने र शिव पतिरूपमा प्राप्त हुने आशीर्वाद दिए । अब तपस्या छाडेर घर जान सल्लाह पनि दिए । उनको कथाबाट जीवनका कठिन संघर्षहरूमा पनि मनलाई विचलित गर्नुहुँदैन भनेर सिक्न सकिन्छ।
३. दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । यिनको उपासना गर्नाले साधकले मणिपुर चक्रको सिद्धि प्राप्त गर्छ भनिन्छ । उसलाई देवीको कृपाले अलौकिक वस्तुहरू दर्शन हुन्छ । उसले दिव्य सुगन्ध अनुभव गर्छ र कैयौँ खालका ध्वनि सुन्छ।
यिनको मस्टकमा घण्टा आकारको आधा चन्द्रमा छ । त्यसैले यिनलाई चन्द्रघण्टा भनिएको हो । यिनको शरीर सुनझैँ चम्किलो छ । यिनका दस हात छन् । ती सबै खड्ग तथा अन्य अस्त्रशस्त्रले विभूषित छन् । यिनी सिंहमाथि सवार छिन् । यिनको भयानक ध्वनि सुनेर अत्याचारी दानवहरू काँप्छन् । यिनको आराधना गर्नाले वीरता र निर्भयता आउँछ । साथै सौम्यता र विनम्रता विकास हुन्छ।
४. दुर्गाको चौथो रूप हो कुष्माण्डा । अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेका कारण यिनलाई कुष्माण्डा भनिएको हो । जब सृष्टि थिएन र चारैतिर अन्धकार थियो, यिनै देवीले ब्रह्माण्ड रचना गरेकी थिइन् । त्यसैले यिनलाई सृष्टिको आदिस्वरूपा या आदिशक्ति मानिन्छ।
यिनका आठ भुजा छन्, त्यसैले अष्टभुजा पनि भनिन्छ । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा छन् । आठौं हातमा जपमाला छ । यिनको वाहन सिंह हो । यिनी सौर्यमण्डलभित्रको लोकमा बस्छिन्, जहाँ रहने क्षमता उनमा मात्रै छ । यिनकै तेजले सबै दिशा आलोकित छन् । ब्रह्माण्डका सबै वस्तु र प्राणीहरूमा यिनकै तेज व्याप्त छ । यिनको उपासना गर्नाले रोग र शोक नाश हुन्छ । आयु, यश, बल र आरोग्य प्राप्त हुन्छ । विधिपूर्वक पूजा गर्ने हो भने साधकले सूक्ष्मभावको अनुभव गर्न सक्छ।
५. दुर्गाको पाँचाैं रूप हो स्कन्दमाता । स्कन्दकुमार कार्तिकेयकी माता भएकी कारण यिनलाई स्कन्दमाता भनिएको हो । यिनको कृपाले मूढ व्यक्ति पनि ज्ञानी बन्छ । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो भुजामा स्कन्दलाई काखमा समातेकी छिन् । तल्लो भुजामा कमलको फूल छ।
बायाँतर्फको माथिल्लो भुजा वरदमुद्रामा छ र तल्लो भुजामा कमलपुष्प छ । यिनी कमलको आसनमा विराजमान रहन्छिन् । त्यसैले यिनलाई पद्मासना पनि भनिन्छ ।यिनको उपासना गर्नाले साधकको मनको सबै इच्छा पूरा हुन्छ । भनिन्छ, कालिदासले रघुवंश नामक महाकाव्य र मेघदूतको रचना यिनकै कृपाका कारण गर्न सकेका थिए।
६. दुर्गाको छैटौं रूपको नाम कात्यायनी हो । कात्य गोत्रमा प्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरेका थिए । उनले पुत्री प्राप्त होस् भनेर कठिन तपस्या गरेको फलस्वरूप भगवतीले उनको घरमा पुत्रीका रूपमा जन्म लिइन् । त्यसैले यिनलाई कात्यायनी भन्न थालियो।
श्रीकृष्णलाई पतिरूपमा पाउनका लागि ब्रजका गोपिनीहरूले यिनकै पूजा गरेका थिए । यिनको स्वरूप अत्यन्त भव्य र दिव्य छ । सुनजस्तै चम्किली छिन् । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रामा छ र तल्लो हात वरमुद्रामा । बायाँतर्फको माथिल्लो हातमा तलबार र तल्लो हातमा फूल छ । यिनको वाहन सिंह हो । यिनको विधिपूर्वक उपासना गर्नाले परमपद प्राप्त हुन्छ।
७. दुर्गाको सातौं शक्तिको नाम हो कालरात्रि । यिनको शरीर अँध्यारोजस्तै कालो छ । त्यसैले यिनलाई कालरात्रि भनिएको हो । यिनको रूप भयानक छ । कपाल छरिएका छन् । विद्युत् झैँ चम्किने माला धारण गरेकी छिन् । यिनका तीन तेत्र छन् । यिनको श्वासबाट अग्नि निस्कन्छ । यिनको उपासना गर्नाले निर्भयता प्राप्त हुन्छ । यिनको बायाँतर्फको माथिल्लो हातमा फलामको काँटा तथा तल्लो हातमा खड्ग छ । यिनको रूप भयानक भएपछि शुभ फल दिन्छिन् ।
यिनको स्मरण गर्नाले मात्रै असुरशक्तिहरू भाग्छन् । ग्रहहरूको बाधा हट्छ । हरेक प्रकारको भयबाट मुक्ति मिल्छ।
८. दुर्गाको आठौं शक्तिको नाम हो महागौरी । यिनका सबै आभूषण र वस्त्र सेतो भएका कारण यिनलाई श्वेताम्बरधरा पनि भनिएको छ । शिवलाई पतिका रूपमा पाउन महागौरीले कठोर तपस्या गरेकी थिइन् । तपस्याकै कारण उनको शरीर कालो बन्यो । पछि उनको तपस्याबाट खुशी हुँदै ब्रह्माले शरीरलाई गंगाको जलले धोएर कान्तिमय बनाइदिए । त्यस बेलादेखि यिनलाई महागौरी भन्न थालियो । यिनको उपासना गर्नाले सबै पापबाट मुक्ति मिल्छ।
९ दुर्गाको नवौँ रूप हो सिद्धिदात्री । नवरात्रि पूजाको नवौं दिन देवी सिद्धिदात्रीको उपासना गरिन्छ । शिवले पनि सिद्धिदात्रीको कृपाले सबै सिद्धि प्राप्त गरेका थिए । यिनकै कृपाले महादेवको आधा शरीर देवीको भएको थियो र अर्धनारीश्वरका नामले प्रसिद्ध भएका थिए । यिनको साधना गर्नाले लौकिक र पारलौकिक सबै प्रकारका कामना पूरा हुन्छन्।
दसैंको कथा
श्रीराम रावणको राज्य लंकामाथि आक्रमण गर्ने तरखर गर्दै थिए । त्यसभन्दा पहिला उनले समुद्रतटमा नौ दिनसम्म देवीको पूजा गरे । यसरी पूजा गर्नका लागि ब्रह्माले उनलाई सल्लाह दिएका थिए।
रावणले रामको पूजामा व्यवधान उत्पन्न गर्ने प्रयास गरे । उनी आफैँले पनि विजयप्राप्तिका लागि देवीको पाठ सुरु गरे । रावणले पाठ गर्न थालेको कुरा वायुदेवले रामको कानसम्म पुर्याइदिए । रामले त्यसलाई सहज रूपमा लिए।
रावणको यज्ञमा ब्राह्मणहरूको सेवा गर्ने बहानामा हनुमान बटुकको रूप बनाएर गए । त्यहाँ उनले सक्दो सेवा गरे । उनीबाट खुसी हुँदै यज्ञमा मन्त्रोच्चारण गरिरहेका ब्राह्मणहरूले उनीसँग इच्छा लागेको कुरा माग्न भने । हनुमानले ब्राह्मणहरूले उच्चारण गरिरहेको मन्त्रको अगाडिको अक्षर आफूले भनेअनुसार बदलिदिन अनुरोध गरे । हनुमानको चाल ब्राह्मणहरूले थाहा पाउनै सकेनन् । ब्राह्मणहरूले सोच्दै नसोची ‘तथास्तु’ भनिदिए।
हनुमानले ‘जयादेवी... भूर्तिहरिणी’ मन्त्रबाट ‘ह’ को सट्टा ‘क’ उच्चारण गर्न भने । ब्राह्मणहरूले आफ्नो वचन हार्न सकेनन् र ‘भूर्तिकरिणी’ भनिदिए । प्राणीहरूको पीडा हर्ने खालकी ‘हरिणी’ को सट्टा पीडा दिने खालकी ‘करिणी’ हुन गयो । यस्तो मन्त्रोच्चारण देखेर रावणदेखि देवी रुष्ट भइन्।
यता रामले गर्न लागेको पूजा र हवनका लागि दुर्लभ एक सय आठ नीलकमलको व्यवस्था गरिएको थियो । रावणले आफ्नो यज्ञ सफल र रामको यज्ञ असफल पार्न विभिन्न षड्यन्त्र गरिरहेका थिए । उनले आफ्नो मायावी शक्ति प्रयोग गरेर रामले तयार गरेका नीलकमलमध्ये एउटा गायब पारिदिए । आफ्नो नीलकमल हराएको थाहा पाएपछि देवी रुष्ट होलिन् भनेर राम डराए । दुर्लभ नीलकमलको तत्कालै व्यवस्था गर्न सम्भव पनि थिएन।
रामलाई मानिसहरूले ‘कमलनयन नवकञ्च लोचन’ भन्ने गर्थे । उनले त्यही सम्झे र आफ्नो यज्ञ पूरा गर्नका लागि आफ्नै एउटा आँखा अर्पण गर्न तयार भए । बाणद्वारा आँखा निकाल्नै लाग्दा देवी प्रकट भएर उनलाई रोकिन् र उनको त्याग देखेर खुसी हुँदै विजयप्राप्तिको आशीर्वाद दिइन्।
नौ दिनको यज्ञ सकिएपछि दसौं दिन रामले लंकामाथि आक्रमण गरे । उनको आक्रमण सफल भयो । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको जित भएको मानियो र खुसियाली मनाइयो । त्यसै बेलादेखि सुरु भएको हो दसैं मनाउने चलन।
टीका लगाइदिँदा दिने आशिषः
आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु र दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् । भगवान् रामको जस्तो शत्रु नाश हुन् । नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत्त हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस्।
प्रकाशित: २ कार्तिक २०७५ ०४:४५ शुक्रबार