२५ श्रावण २०७७ आइतबार
अन्य

सन्तानले पढाइमा कस्तो गर्लान्, कसरी थाहा पाउने ?

अध्ययनका मामिलामा हरेक बालबालिका फरक हुन्छन् । कोही पढाइमा तेज हुन्छन्, कोही भने पढेको कुरा बुझ्न समय लगाउँछन् । विद्यालयमा कुन बालबालिका पढाइमा तेज हुन्छन् र कुन औसत हुन्छन् अनि को अति कम पढ्छन् भन्ने कुरा तिनको ‘जिन’ले निर्धारण गर्छ।

जिनका आधारमा कुन बालबालिकाले प्राथमिक विद्यालयमा कस्तो प्रतिभा देखाउँछ र कुन विषयमा उसले चासो दिन्छ भन्ने कुरा अनुमान गर्न सकिने भएको छ । पढाइमा हाम्रो जिनको बनावटले मात्र फरक पार्ने होइन, हाम्रो वरपरको वातावरणले पनि उत्तिकै प्रभाव पार्ने देखिएको छ । वातावरणको प्रभावले बालबालिकाको व्यवहार र लेखपढमा प्रत्यक्ष प्रभाव पार्ने अध्ययनबाट देखिएको छ।

जुम्ल्याहामाथि शोध
आखिर यस्तो कसरी हुन्छ भन्ने विषयमा बेलायतका ६ हजार जोडी जुम्ल्याहा बालबालिकाको पढाइ र उनीहरुको घरको वातावरणका बारेमा शोध गरिएको थियो । अध्ययनको क्रममा के पाइयो भने जो बालबालिकाले बाल्यकालमा नै राम्रोसँग पढ्छन्, तिनले पछि पनि पढाइमा प्रगति नै गरेको पाइयो । तीव्र बालबालिकाहरु पछि पनि तीव्र नै हुन्छन् तर यसमा घर वरपरको वातावरण र उनीहरुलाई घरमा दिइने पढाइको महङ्खवले पनि उत्तिकै भूमिका खेलेको देखिएको छ।

बालबालिकाको पढाइमा जेनेटिक्सको असरको गहिराइ कति हुन्छ भन्ने कुरा मापन गर्न सकियोस् भनी यो शोध जुम्ल्याहा बालबालिकामाथि गरिएको थियो । उस्तै देखिने जुम्ल्याहा बालबालिकाको १०० प्रतिशत जिन्स उस्तै हुन्छ।

यस्तै जो जुम्ल्याहा बालबालिका उस्तै देखिदैनन्, तिनको जिनहरु औसतमा ५० प्रतिशत मात्र मिल्छ । यस अध्ययनले के देखाएको छ भने उस्तै देखिने जुम्ल्याहा बालबालिकाको पढाइको प्रभावमा उस्तै स्तर आउने गर्छ । यसका पछाडिको कारण उनीहरुको जिन नै रहेको अध्येताहरुको विश्वास छ । पढाइमा प्रभाव पार्ने भनेको जिन नै हो भन्ने यसले स्पष्ट पारेको छ । यस्तै उस्तै नदेखिने जुम्ल्याहाको औसत ५० प्रतिशत जिन उस्तै भए पनि पढाइमा तलमाथि भएको पाइएको थियो । उनीहरुको पढाइको स्तरमा फरक पर्छ भने यसका कारण बालबालिकाको डिएनएमा पनि फरक पर्न सक्छ भन्ने शोधकर्ताहरुको निष्कर्ष छ।

बालबालिकाको स्कुलको ग्रेड प्राथमिकदेखि सेकेन्डरीसम्म उस्तै रह्यो भने त्यसको पछाडिको कारण बालबालिकामा भएको जिनको सिक्वेन्सको भूमिका रहने अध्येताहरु बताउँछन् । बालबालिकाको पढाइको स्तरमा ७० प्रतिशत योगदान उनीहरुको डिएनए सिक्वेन्समा निर्भर हुन्छ । बाँकीको २५ प्रतिशत भने उनीहरुको वरपर र घरको वातावरणले भूमिका खेल्छ । बाँकी पाँच प्रतिशतको फरक भने भिन्दाभिन्दै साथीभाइ र शिक्षकका कारणले प्रभाव पार्ने गरेको अध्ययनले देखाएको छ।

जुम्ल्याहा बालबालिकाको ग्रेडमा निकै धेरै उतारचढाव आयो भने यसको ठूलो कारण ती बालबालिकाको पढाइ र रहन–सहनको बेग्लाबेग्लै वातावरणमा हुर्किए भन्ने बुझ्नुपर्ने शोधकर्ताको आग्रह छ।

जिनले फरक पार्छ
सामान्यतः बालबालिकाको राम्रो या नराम्रो अंकका लागि उनीहरुको बुद्धिलाई जिम्मेवार ठहर्याइन्छ । सत्य त के हो भने बालबालिकाले स्कुलमा जुन ग्रेड ल्याउँछन्, त्यसको पछाडिको सबैभन्दा ठूलो कारण उनीहरुको जिन अथवा डिएनए सिक्वेन्स हुन्छ।

आमाबाबुमार्फत उनीहरुले जुन डिएनए सिक्वेन्स पाएका हुन्छन्, त्यसले नै पढाइमा प्रभाव तुल्याउने निष्कर्ष जिनोम–वाइड एसोसिएसन स्टडिजले गरेको अध्ययनमा पाइएको थियो । यस अध्ययनले बालबालिकाका केही खास गुणहरुलाई कुन जिनले फरक पार्दोरहेछ भनी अध्ययन गरिएको थियो । पढाइमा जुन जिनले प्रभावित तुल्याउँछ, त्यसको असर ०.१ प्रतिशत मात्र थियो।

बालबालिकाको पढाइमा जिनोमले कस्तो प्रभाव पारेको हुन्छ भनी एउटा अर्को शोध पनि गरिएको थियो । यसका आधारमा अहिलेका मितिसम्म जुन तथ्य आएका छन्, तिनका आधारमा ठोकुवा गरेर यति चाहिँ भन्न सकिने भएको छ– बालबालिकाको अध्ययनमा प्रभाव पार्ने जिनको कमजोरी पत्ता लगाएर सुरुमै तिनीहरु कमजोर छन् भने निरन्तरको सहयोग दिएर पढाइमा सुधार गर्न सकिन्छ।

मानौँ, कुनै बालबालिका पढाइमा कमजोर हुन्छन् भन्ने पहिल्यै थाहा पाउन सकिएको खण्डमा तिनलाई सुरुमै सचेतना अपनाएर पढाउन सकिन्छ । यसका लागि उनीहरुले ल्याएको ग्रेडको तुलना गर्ने र त्यस तुलनाका आधारमा उनीहरुको क्षमता आँकलन गर्ने गरिन्छ।

यस किसिमको तुलना वा परीक्षणलाई पोलिजेनिक स्कोर भनिन्छ । शोधमा पोलिजेनिक स्कोरको सहयोगले ६ हजार जुम्ल्याहा बालबालिकाको पढाइका बारेमा पूर्वानुमान गरिएको थियो । पूर्वानुमान गरिएका जुम्ल्याहाको पढाइको स्तरका बारेमा तुलनात्मक अध्ययन गरिएन बरु उनीहरुको विद्यालयमा आउने अंक (ग्रेड) कति फरक थियो भनी विश्लेषण गरियो।

यसपछि उनीहरुको निम्नमाध्यम शिक्षाको ग्रेड कस्तो हुनेछ भनी आँकलन गरियो । यो पोलिजेनिक स्कोरले उस्तै जिन भएका बालबालिकको पढाइमा लगभग कुनै अन्तर नदेखिने पाएको थियो । पढाइमा कमजोर हुनसक्ने बालबालिकालाई पहिल्यै सहयोग गर्न सके तिनको पढाइमा सुधार हुनेछ भन्ने पनि यही परीक्षणले देखायो । पछि हुने पोलिजेनिक स्कोर र बालबालिकाको वातावरण हेरेर पनि कुन बालबालिकालाई पढाइमा सहयोग चाहिन्छ भन्ने आँकलन पनि गर्न सकिन्छ । यस्ता बालबालिकालाई पढाइमा उन्नति गराउन सहयोग पनि दिन सकिन्छ।

डिएनए परीक्षणबाट पनि बालबालिका जन्मनेबित्तिकै कुनै बालबालिकाले स्कुले पढाइमा कस्तो प्रगति गर्छन् भन्ने जान्न सक्छौँ । पहिल्यै कमजोर हुने चाल पाइसकेपछि उसलाई पढाइमा उन्नति गराउन हामीले सहयोग गर्न सक्छौँ । डिएनएको यस किसिमको परीक्षण अहिले नै व्यापक रुपमा प्रचलनमा आइसकेको छैन।

निकट भविष्यमा भने यसको ठूलो बजार हुनसक्ने केही वैज्ञानिकको दाबी छ किनभने हरकोही आफ्ना सन्तानको बलियो भविष्य भएको हेर्न चाहन्छन् र तिनलाई सुरुदेखि नै सहयोग पुर्याउन दत्तचित्त हुनेछन् । त्यो विधि लोकप्रिय भएर नेपाल आइपुग्नुअघि हामीले आफ्ना सन्तानको पढाइको आँकलन गरिरहेकै हुन्छौँ र उनीहरुलाई बढीभन्दा बढी सहयोग गर्न सक्छौँ।
                       बिबिसी फ्युचरको रिपोर्ट

प्रकाशित: १ कार्तिक २०७५ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App